कुनै एउटा काममा अत्यधिक समयसम्म एक टक लागेर बस्ने बानीले अप्रत्यक्ष रूपमा मस्तिष्कघातको जोखिम बढाउन सक्छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- मनोचिकित्सक डा. ऋत पौडेलका अनुसार हाइपरफोकस भनेको दिमाग एउटै काममा यति गहिरो रूपमा डुब्नु हो कि समय र शरीरको आवश्यकता बिर्सिन्छ।
- स्नायुरोग विशेषज्ञ डा. सुरेश सापकोटाले एडीएचडी भएका व्यक्तिहरूमा ध्यान नियन्त्रण गुम्ने र रुचिको काममा अत्यधिक डुब्ने समस्या बढी हुने बताउनुभयो।
- विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रम संगठनको अध्ययनले हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्दा मुटु रोग, मस्तिष्कघात र मानसिक समस्या बढ्ने जोखिम देखाएको छ।
काममा एकचोटि जमेपछि छोड्नै मन लाग्दैन । समय कहाँ गएको थाहै हुँदैन ।
भोक–निन्द्रा र प्यास सबै बिर्सिन्छ । न सुत्ने, न खाने न अरू केही ठेगान हुन्छ । ध्यान अन्त कतै जाँदैन, मात्र एकहोरो एकै काममा लागिरहन मन लाग्छ ।
यस्तो अनुभव धेरैलाई हुन्छ ।
विशेषगरी काम, पढाइ, लेखन, डिजाइन, कोडिङ, गेमिङ वा सामाजिक सञ्जालमा डुबिरहँदा समयको हेक्का नै हुँदैन ।
सुरुमा यस्तो अवस्था निकै राम्रो जस्तो लाग्छ, काम पनि धेरै हुन्छ, उपलब्धि पनि बढ्छ । तर यही बानी दीर्घकालीन रूपमा मानसिक र शारीरिक स्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्ने विज्ञहरू बताउँछन् ।
सुरुमा यस्तो अवस्था निकै राम्रो जस्तो लाग्छ, काम पनि धेरै हुन्छ, उपलब्धि पनि बढ्छ । तर यही बानी दीर्घकालीन रूपमा मानसिक र शारीरिक स्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्ने विज्ञहरू बताउँछन् ।
विशेषगरी ‘एटेनसन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ भएका व्यक्तिहरूमा यो अवस्था अझ सामान्य हुन्छ । मनोचिकित्सामा यसलाई ‘हाइपरफोकस’ भनिन्छ, जहाँ दिमाग एउटै काममा यति गहिरो रूपमा डुब्छ कि बाहिरको संसार नै हराएजस्तो हुन्छ ।
पश्चिमी मुलकमा यो समस्या छ, जो १२-१५ घण्टा काम गर्छन् । त्यस्तै, नेपालमा पनि कामको चाप, प्रतिस्पर्धा र डिजिटल जीवनशैलीका कारण यस्तो बानी बढ्दो छ । विज्ञहरूका अनुसार लगातार काम गर्ने बानीलाई धेरैले सफलताको संकेत ठान्छन्, तर यही बानीले बिस्तारै मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
‘हाइपरफोकस’ के हो ?
हाइपरफोकस भनेको यस्तो अवस्था हो, जहाँ दिमाग पूरै एउटै काममा ‘लक’ भएर बस्छ । समयको चेत हराउँछ । शरीरको आवश्यकता बिर्सिन्छ । ध्यान एकै ठाउँमा लागिरहन्छ ।
मनोचिकित्सक डा. ऋत पौडेलका अनुसार हाइपरफोकस सुरुमा निकै सकारात्मक जस्तो देखिन्छ, किनकि मानिसले धेरै काम छोटो समयमा गर्न सक्छ । तर लामो समयसम्म यही बानी दोहोरिरहँदा दिमाग र शरीर दुवैमा थकान जम्दै जान्छ, जसको असर पछि मात्र देखिन्छ ।
‘समस्या तब हुन्छ जब मानिसलाई ब्रेक लिनै गाह्रो हुन्छ’ डा. पौडेल भन्छन्, ‘शरीरले आराम माग्दा पनि दिमाग काममै अड्किरहन्छ । सुरुमा यो अवस्था उत्पादकता बढाउने जस्तो देखिन्छ । तर समयसँगै निन्द्रा बिग्रिने, खानपान अव्यवस्थित हुने, चिडचिडापन बढ्ने र मानसिक थकान बढ्ने जस्ता समस्या देखिन सक्छन् ।’
कसलाई बढी हुन्छ ?
व्यस्त जीवनशैलीमा धेरै मानिसहरू लगातार घण्टौं काम गर्छन् ।
कार्यालय, पढाइ, डिजिटल काम, सिर्जनात्मक काम वा सामाजिक सञ्जाल, जहाँ पनि मानिसहरू ब्रेक बिना काममा डुबिरहन्छन् ।
सुरुमा यसले उत्पादकता बढाएको जस्तो देखिन्छ । तर समयसँगै दिमाग र शरीर दुवै थाक्न थाल्छन् । शरीर थाकेको संकेत बुझ्न सजिलो हुन्छ, तर दिमाग थाकेको संकेत बुझ्न गाह्रो हुन्छ । डा. पौडेल भन्छन्, ‘दिमाग थाक्दा मानिस झिजिने हुन्छ, ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ र सानातिना कुरामा रिस उठ्छ । धेरैले यसलाई सामान्य तनाव ठान्छन्, तर यही अवस्था विस्तारै एन्जाइटी, डिप्रेसन र बर्नआउटमा बदलिन सक्छ ।’
कामको दाबब वा डिजिटल लतका कारण जसमा यो बानीकै रुपमा विकास भएको हुन्छ, ती व्यक्तिमा हाइपरफोकसको समस्या बढी हुने उनको भनाइ छ । यो समस्या विशेषत एडीएचडी भएकाहरूमा बढी देखिन्छन् ।
एडीएचडी के हो ?
स्नायुरोग विशेषज्ञ डा. सुरेश सापकोटाका अनुसार यो एक प्रकारको न्यूरोडेप्लपमेन्टल अवस्था हो, जसले व्यक्तिको ध्यान केन्द्रित गर्ने क्षमता, व्यवहार नियन्त्रण र सक्रियताको स्तरमा असर गर्छ । यो मानसिक रोग होइन, बरु दिमागको कार्यशैलीसँग सम्बन्धित अवस्था हो ।
यो प्रायः बाल्यकालमै देखिन सुरु हुन्छ, तर यसको असर किशोरावस्था र वयस्क अवस्थामा पनि रहिरहन सक्छ । केटाहरूमा बढी देखिए पनि केटीहरूमा पनि यो समस्या हुन्छ, तर प्रायः पहिचान ढिलो हुन्छ ।
यो अवस्था आनुवंशिक कारण, दिमागको रासायनिक सन्तुलन र वातावरणीय प्रभावसँग सम्बन्धित मानिन्छ । यो समस्या हुँदा व्यक्तिहरू सबै एउटै प्रकारका हुँदैनन्, केही अत्यधिक चञ्चल हुन्छन् भने केहीमा ध्यान अभाव मात्र देखिन्छ ।
यो समस्या हुँदा व्यक्तिमा ध्यान दिन नसक्ने भन्दा पनि ध्यान नियन्त्रण गर्न नसक्ने हुन्छ । अर्थात्, जुन काम रोचक छैन त्यसमा ध्यान टिकाउन गाह्रो हुन्छ, छिट्टै अल्मलिन्छन् । तर जुन काम अत्यन्तै रुचिको छ, जस्तै मोबाइल, गेम, लेखन, डिजाइन, रिसर्च– त्यसमा भने दिमाग अत्यधिक केन्द्रित हुने डा. सापकोटा बताउँछन् ।
अमेरिकन साइक्रियाटिक एशोशिएसनका अनुसार ध्यान व्यवस्थापन नै यो समस्या हुनेहरूको मुख्य समस्या हो । त्यसैले व्यक्तिले मन नपर्ने वा नियमित गर्नुपर्ने काममा ध्यान राख्न सक्दैन, तर मन पर्ने काममा घण्टौंसम्म टाँस्सिएर बस्न सक्छ । यसलाई नै हाइपरफोकस भनिन्छ ।
उदाहरणका लागि, पढाइमा ध्यान नलाग्ने विद्यार्थीले मोबाइल गेम खेल्दा ३–४ घण्टा बितेको थाहा नपाउन सक्छ ।
हाइपरफोकस किन हुन्छ ?
हाइपरफोकसको मुख्य कारण दिमागमा हुने ‘डोपामाइन’ नामक रसायन हो । डोपामाइनलाई खुसीको हर्मोन पनि भनिन्छ । नेशनल लाइब्रेरी मेडिशिनमा प्रकाशित एक अध्ययन अनुसार जब हामी रुचिको काम गर्छौं, नयाँ कुरा सिक्छौं वा सफलता महसुस हुन्छ, तब डोपामाइनको मात्रा बढ्छ । यही रसायनले दिमागलाई त्यही काममा टिकाइराख्छ ।
डा. पौडेलका अनुसार ‘रुचिको काम हुँदा दिमागको ध्यान टाँसिने खालको हुन्छ । छोड्न गाह्रो हुन्छ । यही अवस्थालाई हाइपरफोकस भनिन्छ । काममा केन्द्रित हुनु समस्या होइन, तर नियन्त्रण गुमाउनु समस्या हो ।’
रुचिको काममा डुबिरहँदा दिमागले निरन्तर डोपामाइन पाउँछ । त्यसैले, काम छोड्न मन लाग्दैन । यही कारणले घण्टौं बितेको थाहा हुँदैन ।
रुचिको काममा डुबिरहँदा दिमागले निरन्तर डोपामाइन पाउँछ । त्यसैले, काम छोड्न मन लाग्दैन । यही कारणले घण्टौं बितेको थाहा हुँदैन ।
त्यसोभए, के काममा ध्यान दिने सबैमा यो समस्या छ भन्न मिल्छ, त भन्ने प्रश्नमा डा. पौडेल भन्छन्, ‘त्यस्तोे पक्कै होइन, काममा ध्यान दिनु स्वभाविक र सामान्य हो । सामान्य फोकस र हाइपरफोकसबीच फरक छ ।’
सामान्य फोकस र हाइपरफोकसबीचको फरक
सामान्य फोकसमा मानिस काममा गहिरो ध्यान दिन सक्छ, तर चाहेको बेला ब्रेक लिन सक्छ । मानिस नियन्त्रणमा हुन्छ । तर हाइपरफोकसमा दिमागले नै मानिसलाई नियन्त्रण गर्छ । काम छोड्न निकै गाह्रो हुन्छ ।
घण्टौं बितिसकेको थाहा हुँदैन । शरीरले आराम माग्दा पनि दिमाग काममै टाँसिरहने रहने मनोचिकित्सक डा. पौडेल बताउँछन् ।
स्नायुरोग विशेषज्ञ सापकोटाका अनुसार एडीएचडी भएका व्यक्तिहरूमा डोपामाइनको सन्तुलन फरक हुने भएकाले उनीहरू रुचिको काममा अत्यन्तै डुब्छन् । त्यसैले, यसलाई कहिलेकाहीँ ‘सुपर पावर’ पनि भनिन्छ । तर सन्तुलन नमिल्दा यही बानी मानसिक र शारीरिक थकानको कारण बन्छ ।
आफूलाई हाइपरफोकस भएको कसरी थाहा पाउने ?
केही स्पष्ट संकेतहरू देखिन्छन्, जस्तो की, दैनिक जीवनमा आफूलाई मन पर्ने काम गर्दा समयको ख्यालै नहुने, वरिपरि के भइरहेको छ भन्ने बेवास्ता हुने र कसैले बोलाउँदा पनि तुरुन्त प्रतिक्रिया दिन नसक्ने अवस्था देखिएमा यो हाइपरफोकसको संकेत हुन सक्छ ।
डा. ऋत पैडेलका अनुसार यस अवस्थामा व्यक्तिको दिमाग एउटै काममा यति धेरै केन्द्रित हुन्छ कि उसले खानपिन, आराम वा अन्य जिम्मेवारीसमेत बिर्सन सक्छ ।
उदाहरणका लागि, मोबाइल गेम, लेखन वा कुनै अनुसन्धानमा डुब्दा घण्टौं बितिसकेको थाहा नहुनु यसको प्रमुख संकेत हो ।
डा पैडेल भन्छन्, ‘यदि बारम्बार एउटै काममा अड्किएर बस्ने, काम परिवर्तन गर्न कठिन हुने र ध्यान हटाउन खोज्दा झर्को लाग्ने जस्ता लक्षण देखिन्छन् भने हाइपरफोकस भएको हुन सक्छ ।’
नेपालमा बढ्दो समस्या
नेपालमा कामको चाप, प्रतिस्पर्धा, डिजिटल जीवनशैली र ब्रेकको अभावका कारण मानिसहरू लगातार काम गर्ने बानीमा अभ्यस्त हुँदै गएका छन् ।
विशेषगरी आईटी क्षेत्र, मिडिया क्षेत्र, बैंकिङ, स्वास्थ्य क्षेत्र र प्रवासी कामदारहरूमा यस्तो अवस्था धेरै देखिन्छ । मनोचिकित्सक डा. पौडेलका अनुसार काममा सफल हुनुपर्ने दबाब र लक्ष्यले धेरैलाई ब्रेक लिन नदिने अवस्था बनेको छ ।
धेरैले ब्रेक लिनुलाई आलस्य ठान्छन्, तर ब्रेक नलिने बानी दीर्घकालीन रूपमा खतरनाक हुन्छ ।
अध्ययनले के भन्छ ?
काम र मानसिक स्वास्थ्यबीचको सम्बन्धबारे विश्वभर विभिन्न अध्ययन भएका छन् । पहिलो अध्ययन विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्त रूपमा गरेको थियो ।
उक्त अध्ययनअनुसार हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्ने मानिसहरूमा मुटु रोग, मस्तिष्कघात, तनाव र मानसिक समस्या बढ्ने जोखिम उल्लेखनीय रूपमा उच्च देखिएको छ ।
अध्ययनले लामो समय लगातार काम गर्दा शरीर मात्र होइन, दिमाग पनि गम्भीर रूपमा प्रभावित हुने निष्कर्ष निकालेको छ ।
दोस्रो अध्ययन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ मेंटल हेल्थसँग सम्बन्धित अनुसन्धानमा गरिएको थियो ।
उक्त अध्ययनले लगातार ब्रेक बिना काम गर्ने व्यक्तिहरूमा मानसिक थकान, ध्यान केन्द्रित गर्न समस्या र एन्जाइटीको जोखिम बढी हुने देखाएको छ ।
यस अध्ययनले ९० मिनेटभन्दा बढी लगातार काम गर्दा दिमागको कार्यक्षमता घट्न थाल्ने र गल्तीहरू बढ्ने निष्कर्ष निकालेको थियो ।
डा. सापकोटा भन्छन्, ‘अध्ययनहरूले स्पष्ट देखाएका छन्, ब्रेक बिना लगातार काम गर्नु उत्पादकता बढाउने होइन, दीर्घकालीन रूपमा घटाउने कारक हो ।’
मस्तिष्कघातको जोखिम
कुनै एउटा काममा अत्यधिक समयसम्म एक टक लागेर बस्ने बानीले अप्रत्यक्ष रूपमा मस्तिष्कघातको जोखिम बढाउन सक्छ । लामो समयसम्म लगातार बसिरहँदा शारीरिक गतिविधि कम हुन्छ, रक्तचाप बढ्न सक्छ र रक्तसञ्चार सुस्त हुन्छ । यी सबै कुरा स्ट्रोकका प्रमुख जोखिम कारक मानिन्छन् ।
अमेरिकन हार्ट एसोसियसनका अनुसार लामो समयसम्म निष्क्रिय बस्ने जीवनशैलीले उच्च रक्तचाप, मोटोपन र टाइप–२ मधुमेहको जोखिम बढाउँछ । यी तीनै कारक स्ट्रोकसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् ।
हाइपरफोकस व्यक्तिहरूले काममा डुबेर घण्टौंसम्म नउठ्ने, पानी नपिउने र शरीर नचलाउने हुँदा यस्तो जोखिम झन् बढ्न सक्छ ।
सन् २०१८ मा प्रकाशित एक अध्ययनले पनि दिनमा ८–१० घण्टा भन्दा बढी लगातार बस्ने व्यक्तिमा रक्तनलीसम्बन्धी समस्या र स्ट्रोकको सम्भावना बढ्ने देखाएको थियो ।
त्यस्तै, विश्व स्वास्थ्य संगठनले पनि लामो समयसम्म निष्क्रिय बस्ने बानीलाई ‘साइलेन्ट रिस्क फ्याक्टर’ अर्थात् मौन जोखिम कारक मानेको छ, जसले मुटु र मस्तिष्क दुवैमा असर पार्छ ।
यसैले, हाइपरफोकस आफैंमा रोग नभए पनि, यसले निम्त्याउने निष्क्रिय जीवनशैली, तनाव र अनियमित दिनचर्याले दीर्घकालमा स्ट्रोकको जोखिम बढाउन सक्छ ।
त्यसैले, नियमित ब्रेक, पानी पिउने र शरीर चलाउने बानी आवश्यक छ, जसले यस्तो जोखिम घटाउन मद्दत गर्छ ।
फाइदा पनि छन्
हाइपरफोकस सधैं नकारात्मक मात्र हुँदैन । सही सन्तुलनमा रहेमा यसले धेरै फाइदा पनि दिन सक्छ । हाइपरफोकस हुँदा मानिसले घण्टौं बिना थकान काम गर्न सक्छ । रचनात्मक काममा गहिरो सोच आउँछ । लेखन, अनुसन्धान, डिजाइन वा प्रोग्रामिङ जस्ता क्षेत्रमा उत्कृष्ट परिणाम दिन सक्ने डा. पौडेल बताउँछन् ।
कुनै विषयमा विशेषज्ञ बन्न सजिलो हुन्छ । नयाँ सीप सिक्न र जटिल समस्या समाधान गर्न मद्दत गर्छ । ‘धेरै सफल व्यक्तिहरूमा हाइपरफोकसको गुण देखिन्छ । तर उनीहरूले सन्तुलन कायम गरेका हुन्छन् । सन्तुलन नभए यही गुण समस्या बन्छ’ डा. पौडेल भन्छन् ।
बेफाइदा : जब दिमागले शरीर बिर्सिन्छ
हाइपरफोकसको सबैभन्दा ठूलो बेफाइदा भनेको समय बिर्सिनु रहेको मनोचिकित्सक डा. पौडेल बताउँछन् । । ‘काममा डुबिरहँदा मानिसले खाना खान, पानी पिउन वा आराम गर्न बिर्सन्छ’ उनी भन्छन्, ‘निन्द्रा कम हुन्छ । शरीर थाक्छ तर दिमाग अझै काम गर्न खोज्छ । परिवार, साथीभाइ र व्यक्तिगत जीवन ओझेलमा पर्छ । सामाजिक दूरी बढ्छ । लामो समयसम्म यस्तो हुँदा थकान, चिडचिडापन, निरासा र डिप्रेसनका लक्षण देखिन सक्छन् ।’
स्ट्रेस र एन्जाइटीको जोखिम
लगातार काम गर्दा दिमागलाई आराम नदिँदा तनाब बढ्छ । दिमाग थाक्दा चिडचिडापन बढ्छ । काममा मन नलाग्ने हुन्छ । सानातिना कुरामा रिस उठ्छ । मनोचिकित्सक डा. पौडेल भन्छन्, ‘दिमागलाई आराम नदिँदा एन्जाइटी डिसअर्डरको जोखिम बढ्छ । धेरै मानिसहरू आफू थाकेको नै थाहा नपाई काम गरिरहन्छन् ।’
बर्नआउट : चरम मानसिक थकान
बर्नआउट भनेको कामको निरन्तर तनावले हुने चरम थकान हो । यसमा मानिस अत्यधिक थाक्छ । कामप्रति रुचि हराउँछ । दैनिक गर्नुपर्ने गतिविधिमा प्रदर्शन कम हुन्छ ।
विश्व स्वास्थ्य संगठनले बर्नआउटलाई कामसँग सम्बन्धित सिन्ड्रोमका रूपमा वर्गीकरण गरेको छ ।
नेपालमा पनि यस्तो समस्या विस्तारै बढ्दै गएको मनोचिकित्सकहरू बताउँछन् ।
हाइपरफोकस कसरी व्यवस्थापन गर्ने ?
मनोचिकित्सकहरूका अनुसार हाइपरफोकसलाई पूर्ण रूपमा हटाउन आवश्यक छैन । यसलाई सन्तुलित रूपमा प्रयोग गर्न सकिन्छ ।
– ९० मिनेट कामपछि १५–२० मिनेट ब्रेक लिनु राम्रो हुन्छ ।
– बाहिर टहल्नु, गहिरो सास लिनु, पानी पिउनु वा स्ट्रेचिङ गर्नु प्रभावकारी हुन्छ ।
– टाइमर सेट गरेर ब्रेक सम्झिन सकिन्छ ।
– माइन्डफुलनेस र ध्यान अभ्यास उपयोगी हुन्छ ।
डा. अधिकारी भन्छन्, ‘यदि कामले जीवनलाई नै नियन्त्रण गर्न थालेको छ भने, त्यो चेतावनीको संकेत हो । समयमै ब्रेक लिनु र आवश्यक परे विशेषज्ञसँग परामर्श लिनु महत्वपूर्ण हुन्छ ।’
