काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनको मिति नजिकिदै जाँदा विभिन्न पदका लागि नेताहरूको दौडधुपले तीव्रता पाएको छ । पार्टी विधानअनुसार १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको चयन हुनेछ ।
१०औं महाधिवेशनः
पदाधिकारी तथा सदस्यका लागि नेताहरू आन्तरिक छलफल, भेटघाटमा व्यस्त भएका छन् । अध्यक्षका लागि माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसालले भेटघाटलाई तीव्रता दिएका छन् ।
अगामी नेतृत्वका लागि महाधिवेशनबाट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पुनः अध्यक्षमा सर्वसम्मत आउन खोजेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री रहेका खनालसमेत अगामी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् । एमालेबाट साढे दुई वर्षअघि विभाजन भएको एकीकृत समाजवादीको अगामी नेतृत्वका लागि नेपाल र खनाल प्रतिस्पर्धाबाट भए पनि नेतृत्वमा आउन खोजेका छन् ।
नेपाल र खनाल दुवैले एमालेको नेतृत्व गरिसकेको र पूर्वप्रधानमन्त्री भएर सरकारसमेत चलाइसकेका अनुभवी नेता हुन् । १०औं महाधिवेशनबाट दुवै नेताले अध्यक्षमा आउने अकांक्षा आफूनिकटका नेतासँग राख्ने गरेका छन् ।
नेपाल र खनालले नेतृत्वका लागि आन्तरिक जोडघटाउमा लागेकै बेला पार्टीका महासचिव घनश्याम भुसालसमेत अगामी नेतृत्वका लागि तयारी अवस्थामा रहेका छन् । नेपाल र खनाल दुवै नेता नेतृत्वका लागि जोडबलका साथ लागिरहेका बेला भुसालले आफू सर्वसम्मत अध्यक्षमा आउन खोजेका छन् ।
एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि भुसाल एमालेमै रहेका थिए । एमालेले गत आमनिर्वाचनमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्दै महासचिवको जिम्मेवारी पाए ।
एमालेको सौराहामा भएको महाधिवेशनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए तर पराजित भए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्पर्ण नगरेका भुसालले ओलीको कार्यशैली एवं गलत क्रियाकलापको सधैं चर्को रूपमा विरोध गरिरहेका थिए । पार्टीमा खनालनिकट मानिने भुसाल वैचारिक नेतामा पर्छन् । एकीकृत समाजवादीमा सर्वसम्मत अध्यक्ष चयन नभएको अवस्थामा खनालले भुसाललाई समर्थन गर्ने चर्चासमेत भइरहेको छ ।
यस्तै, अध्यक्षपछिको कार्यकारी भूमिका रहने महासचिव पदका लागिसमेत नेताहरूको दौडधुप तीव्र रूपमा भइरहेको छ । अध्यक्षजस्तै महासचिवका आकांक्षी पनि धेरै भएकाले सहमति जुट्ने सम्भावना कम रहेको छ ।
महासचिवका लागि जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला र डा. विजय पौडेल आकांक्षी रहेका छन् । यी चारै जना नेताहरू अहिले पार्टीमा उपमहासचिवको जिम्मेवारीमा रहेका छन् ।
यस्तै, राजेन्द्र राई, रामकुमारी झाँक्रीसमेत महासचिवका आकांक्षी छन् । दुवै जना अहिले पार्टीमा सचिवको जिम्मेवारीमा रहेका छन् । राई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् भने झाँक्री संघीय सरकारको पूर्वमन्त्री हुन् ।
उपाध्यक्ष, उपमहासचिव, सचिवका लागि ५० भन्दा बढी आकांक्षी देखिएका छन् । केन्द्रीय सदस्यका लागि सयौंले आकांक्षा राखेका छन् । अहिलेकै पदाधिकारी रहेका कतिपय नेताहरू आफू सोही पदमा दोहिरिन खोजेका छन् भने कतिपय नेताहरूले एक तहमाथि उक्लिन खोजेका छन् ।
एकीकृत समाजवादीको आगामी १६ देखि २० असारसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । त्यसका लागि प्रतिनिधि छनौटसँगै अन्य व्यवस्थापनका कार्यहरू तीव्र रूपमा अगाडि बढेको छ । १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट चयन हुने पोलिटब्युरो सदस्य दिलु पन्तले जनाएकी छन् ।
विधानबाट ७० वर्षे उमेरको हदबन्दी हटेको छ । युवालाई २० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । महिला, मधेसी, दलित, जनजातिलगायतका क्षेत्रमा समेत आरक्षणको व्यवस्था गरिएको छ । महाधिवेशनमा १ हजार ८ सय ४९ जना प्रतिनिधि सहभागी हुनेछन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् ९५ जना मनोनीत गर्न बाँकी रहेको छ ।
पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघीय संसद्को प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।
महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको सो प्रतिवेदनमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्धन गर्ने विषय प्राथमिकता छ ।
‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरूप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रूपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय उल्लेख छन् । मुलुक र जनताको प्रगतिको बाधक तत्वका रूपमा पुँजीवादी व्यवस्थालाई चित्रण गरिएको छ ।
कम्युनिस्ट आन्दोलनमा विद्रोहको आँट ग-यौं : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेपालको कम्युनिस्ट आन्दोलनमा विद्रोहको आँट गरेको बताएका छन् । मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनमा देखापरेका विकृति र विसंगतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएको बताए ।
‘नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौं, विद्रोह गर्ने आँट गरेका छौं,’ नेपालले भने, ‘कम्युनिस्ट आन्दोलनमा देखापरेका विकृति र विसंगतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएका छौं, एक्लै भए पनि अगाडि बढ्ने हिम्मत गरेका छौं ।’
आफूहरू एक्ला–एक्लै भए पनि अगाडि बढ्ने हिम्मत गर्दा अहिले एकीकृत समाजवादीले वडा–वडासम्म संगठन, जनसंगठनहरू निर्माण गरेको पनि उनले बताए । अध्यक्ष नेपालले देशव्यापी रूपमा सांस्कृतिक अभियान सञ्चालन गर्न निर्देशनसमेत दिए ।
निराशालाई हटाएर एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरव बोध गर्न आवश्यक रहेको पनि उनले बताए । उनले नेता तथा कार्यकर्तालाई आशावादबाट ओतप्रोत भएर अरूलाई पनि आशावादी बनाउन आग्रह गरे । उनले एकीकृत समाजवादीले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिका सबै शक्तिलाई राम्रोसँग चिनेको दाबी गरे । उनले समाजवादको यात्रामा नेपालका दलहरूभन्दा एकीकृत समाजवादी पार्टी अगुवा रहेको पनि ठोकुवा गरे ।
‘राष्ट्रिय राजनीतिका सबै शक्तिलाई राम्रोसँग चिनेका छौं, अन्तर्राष्ट्रिय राजनीतिका पनि प्रत्येक शक्तिहरूलाई हामीले बुझेका छौं,’ अध्यक्ष नेपालले भने, ‘यस अर्थमा हामीले समाजवादी क्रान्तिको जुन कार्यक्रम हाम्रो पार्टीले यही समाजवादको यात्रालाई अघि बढाउनका लागि अगाडि सारेको छ । निःसन्देह अरू पार्टीले यसरी व्यवस्थित कार्यक्रम ल्याएका छैनन्, यस अर्थमा हाम्रो पार्टी अगुवा हो ।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १०औं महाधिवेशनले सहमतिका साथ नीति र दृष्टिकोणका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । उनले नीति र दृष्टिकोणका आधारमा नेतृत्व चयन गर्न सकेको खण्डमा नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ तरंग पैदा हुने बताए ।
‘यस महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर हामीले अगाडि बढ्नुपर्छ,’ नेता खनालले भने, ‘यसरी हामी अगाडि बढ्यौं भने नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ तरंग सिर्जना हुनेछ ।’
अहिले दक्षिणपन्थी अवसरवाद र यथास्थितिवाद हावी भइरहेको पनि नेता खनालले बताए । नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण भएमा कम्युनिस्ट आन्दोलनमा भूकम्प सिर्जना हुने उनको भनाइ छ । उनले एकीकृत समाजवादीको १०औं महाधिवेशनले रूपान्तरण र परिवर्तनको सुरुवात गर्ने बताए ।
(Visited 3 times, 3 visits today)