लघुकथाकार खेमराज पोखरेल २०१३ साल भदौ ३ गते पिता उद्धवप्रसाद पोखरेल र माता दुर्गादेवी पोखरेलको कोखबाट सप्तरीमा जन्मिएका हुन्। उनी हाल सान मार्कोस, टेक्सस, अमेरिकामा बस्छन्। उनका इतिहास विषयका १० पुस्तक, १ निबन्धसंग्रह २, कथासंग्रह ८ लघुकथासंग्रह, १ कवितासंग्रह, २ लघुकथासंग्रह सम्पादन ,१ नियात्रा ,१ समीक्षासंग्रह, सहलेखन २ कथा संग्रह गरी जम्मा २८ पुस्तक प्रकाशित छन्।
यसका साथै उनी हाल लघुकथाका साथै अन्य विधाका कृति तथा पुस्तकहरूको समीक्षा गर्छन्। स्रष्टा साँझ अमेरिका तथा अन्य कुनै कार्यक्रममा उनलाई अन्त्यमा बोलाउने गरेको हुँदा उनको सर्वोच्चता सबैले मानेको देखिन्छ। सबैको कुरा सुनिसकेपछि उनले गहन दृष्टिबाट सर्जक तथा कृतिको सटिक मूल्याङ्कन गर्छन् तथा सल्लाह सुझाव दिएर मार्गनिर्देशन गर्छन्। यस्ता व्यक्तिको बारेमा र उनको पुस्तक एकालाप लघुकथासङ्ग्रहबारे केही कुरा लेख्न पाउँदा मैले आफूलाई गौरवान्वित महसुस गरेको छु।
विषय प्रवेश
बहुमुखी प्रतिभाका धनी इनरुवा निवासी साहित्यकार स्वर्गीय उपेन्द्र पागल जो पूर्वको एउटा नक्षत्र हुनुहुन्थ्यो। उहाँले खेमराज पोखरेल ईश्वरको मृत्यु लघुकथासङ्ग्रह दिनुभएको थियो जुन पढेर म अहिले लघुकथाकार भएको छु। खेमराज सरको विश्लेषण पनि सुन्दा उनको व्यक्तित्व जादुइ जस्तो लाग्थ्यो र उनीसँग भेट्ने रहर पलाएको थियो।
संयोगवश उनको अगुवाइमा २०८१ साल भदौ ३ गते २५ लघुकथासंग्रहका विमोचन भए। त्यसमा मेरो लघुकथा डोरी पनि समावेश भएको थियो। र त्यतिखेर खेमराज सरसँग प्रत्यक्ष भेट्न पाएको थिएँ। दुईचार दिनको भेटघाटमा उनी मनमौजी र स्वतन्त्रता प्रिय व्यक्ति लागेको थियो। यस्ता व्यक्तिको लघुकथासंग्रह एकालापको विश्लेषण गर्न पाउँदा मलाई आफू भाग्यमानी जस्तो लागेको छ।
२०८१ कार्तिक ३ गते लघुकथा प्रतिष्ठानले तेस्रो वार्षिक उत्सवको उपलक्ष्यमा सप्तरीको कञ्चनपुरमा कार्यक्रम राखेको थियो। त्यहाँ खेमराज सरको एकालाप लघुकथासङ्ग्रहको चर्चा हुने भएको थियो। त्यसमा मलाई पनि सैद्धान्तिक पक्षको विवेचना भन्ने शीर्षक दिइएको थियो। त्यो पुस्तकको तत्त्वको आधारमा गरेको विवेचनाको वाचन पनि गरिसकेको छु। त्यसको परिमार्जित र संशोधित रूप यहाँ प्रस्तुत गरेको छु।
लघुकथाको सैधान्तिक पक्ष
जसरी नाटक र एकाङ्कीमा फरक हुन्छ कविता र मुक्तकमा फरक हुन्छ। त्यसैगरी कथा र लघुकथामा पनि केही कुरा फरक हुन्छन्। यो कुरा थाहा पाएन भने लघुकथा होइन छोटो कथा हुन जान्छ। तसर्थ लघुकथाका तत्त्वहरूबारे जानकारी लिनु जरुरी हुन्छ।
उपन्यास र कथामा भए जस्तै लघुकथामा पनि निम्न तत्त्व रहेका हुन्छन्: शीर्षक, कथावस्तु,पात्र, उद्देश्य,परिवेश, भाषाशैली, सम्वाद, दृष्टिबिन्दु आदि। अरूबाट लघुकथालाई छुट्ट्याउने तत्त्वहरू कथावस्तु (उठान, विकास, समापन), पात्र, उद्देश्य ,परिवेश हुन्। प्रसंगअनुसार यिनीहरूलाई प्रष्ट पारिंदै लगिनेछ।
यहाँ एकालापमा लघुकथाका तत्वहरूको आधारमा छोटो विवेचना गरिएको छ।
१) किताबको शीर्षक
‘एकालाप’ हो। एकालाप भनेको एक+अलाप हो। यसको अर्थ कसले के भन्छ,कसले के सोच्दछ, त्यसको कुनै मतलब नहुने ,आफ्नो मनको अलाप हो। र सम्पूर्ण किताब हेर्दा खेमराज सरको व्यक्तित्व त्यस्तै झल्किन्छ।
२) पाठहरूको शीर्षक
यस लघुकथा संग्रहमा ७१ लघुकथा सङ्गृहीत छन्। सबैको शीर्षक एकबाट सुरु गरिएको छ। यो एउटा नयाँ प्रयोग हो भन्न सकिन्छ। जस्तै एक सूर्य, एक पुल, एक समय आदि। सबै शीर्षक रोचक छन्। एकालाप लघुकथासंग्रहमा केही अंग्रेजी शब्द शीर्षक रहेका छन्। जस्तै एक एमब्यासडर, एक भर्जिन, एक लाइक, एक स्टाइल, एक डस्टबिन, एक भेटरान ,एक जेनेरेसन, एक फर्मुला, यी आठवटा लघुकथा अंग्रेजीमा रहेका छन्। यिनीहरूलाई नेपालीमा राखिएको भए अझ राम्रो हुनेथ्यो। त्यस्तै एउटा शीर्षक एक अट्टाहास भन्ने छ। यो लघुकथा पढ्दा एक स्वतन्त्रता राखिएको भए राम्रो हुनेथ्यो। त्यस्तै एक स्टाइल र एक शैली एउटै अर्थ दिने दुई शीर्षक देखियो। यसलाई विचार पुर्याउनुपर्ने फेखिन्छ।
३) कथावस्तु :
कथावस्तु भनेको घटनाहरूको श्रृङ्खला हो। मेरुदण्ड हो, राजमार्ग हो। कथावस्तुलाई तीन भागमा बाँडिएको छ। क) उठान, ख) विकास, ग) समापन
क) उठान
धेरै विद्वानले भन्छन्, लघुकथाको उठान आकस्मिक हुनुपर्दछ। यसको अर्थ एकैचोटि घटना घटाएको देखिनुपर्छ। यसमा पृष्ठभूमि पनि हुँदैन, कसैको चित्रण गरिएको हुँदैन, एक वाक्यको रहेको हुन्छ। कुनै कार्यक्रम उद्घाटन गर्दा पढेर होइन कपडाले छोपेको उघारे जस्तै एकैचोटि उघार्नुपर्दछ। त्यस्तै बेहुलीको अनुहार एकएकवटा अङ्ग उघारे जस्तो नभएर एकैपटक उघार्नुपर्दछ। त्यसैगरी लघुकथामा एकैपटक घटना घटेको देखाउनुपर्दछ।
अब ‘एकालाप’ लघुकथाहरूलाई उठानको आधारमा विवेचना गरिन्छ। उठानको लक्षण आकस्मिक, एक वाक्य र समय लगातार गएको हुनुपर्दछ। यस्ता खालका लक्षणहरू ‘एकालाप’ मा ३१ लघुकथा छन्।
अन्यमा आकस्मिक भएर पनि वर्णन गरिएको छ। उठान मिलेका लघुकथाहरू निम्न रूपले उल्लेख गर्न सकिन्छ। एक पुल, एक समय, एक अस्तित्व, एक एम्बासडर, एक वरदान, एक सिर्जना, एक वरदान, एक पीडा, एक आनन्द, एक सिकन्दर, एक आरक्षण, एक अप्राप्ति, एक भोग, एक लाइफ, एक नाटक, एक युद्ध, एक शैली, एक श्राप, एक घर, एक दान, एक दायित्व, एक नियम, एक भ्यागुतो, एक चस्मा, एक रङ्गा,एक माया, एक दर्शन, एक साथी, एक मनोविज्ञान, एक भेटरान, एक दुदानी, एक अपाङ्ग,एक स्वतन्त्रता आदि
ख) विकास
यस खण्डभित्र लघुकथा लेखेका विषय, द्वन्द्व ,सङ्घर्ष, रहस्य, रोचकता, एकुन्मुखता, घटनाहरूको श्रृङ्खला आदि पर्दछन्। ‘एकालाप’ मा कस्ताकस्ता विषयका कस्ताकस्ता घटनाहरू रहेका छन् त्यसको विवचना तल गरिन्छ।
एक सूर्यमा पाकिस्तानी बाउ र अमेरिकामा जन्मेको छोरोको बीचमा गर्लफ्रेन्ड राख्ने कुरा र छोराले पैसा उडाउने कुरामा विवाद देखाइएको छ, एक पुलमुनि बस्ने माग्नेले पनि गर्लफ्रेन्ड छोडेर अर्की गर्लफ्रेन्ड राखेको रोचक कथा छ, एक भेदमा चराहरूको माध्यमबाट नरनारीको विभेद वर्णन गरिएको छ।
एक समयमा समयको बारेमा थाहा नपाएको कुरा आएको छ। एक अस्तित्वमा मुर्दा उठेर नारीको अस्तित्वबारे कथा लेखिएको छ, एक अट्टहासमा गाईको मासु खान कर गरेका साथीहरूले पछि नखान भने ,एक यात्रामा डिभोर्स गरेको एक्लो व्यक्ति मस्त रहेको देखाइएको छ।
परिवार देश सबै यात्रामा भेटिएका यात्री हुन् भनिएको छ। एक एम्बेसडरमा जोन्सनले नेपालको पहाड ताल धाउँदा खुसी भएको तर पछि भित्तामा मुतेको प्रदूषण हिमाल देखाएर नेपालको विकृतिको चित्रण गरेको छ। एक विजयमा पुरुष सत्ताले महिलाको अधिकार कुण्ठित पारेको कुरा छ। एक सिर्जनामा महिलालाई सम्मान गर भन्ने, एक राष्ट्रियतामा एक्काइसौँ शताब्दीमा राष्ट्रियता असम्भव छ भन्ने कुरा देखाइएको छ।
एक वरदानमा अमेरिकामा कल गर्लले पनि म सहजै ग्राहक कहाँ पुगेर आएको भन्न सक्ने वातावरण छ। एक पीडामा नेपाल सबै कुराले सुन्दर भए पनि चुनावमा झगडा भएकाले विकृत देखाइएको छ। एक भर्जिनमा अमेरिकामा बसे पनि नेपालीहरूको धारणा लिभिङ टुगेदर र भर्जिनबारे कडा धारणा छ। एक नातामा अमेरिकामा स्वास्नीलाई डिभोर्स दिने र अर्कालाई अँगाली हाल्ने चलन देखाइएको छ।
एक चिच्याहाटमा लोग्नेलाई डिभोर्स दिएर पुरुष सत्तालाई व्यङ्ग हानिएको छ। एक आनन्दमा स्वास्नीले गर्लफ्रेन्डबारे सोध्दा पुरुषले ढाँट्ने, ३०/३५ वर्ष हुँदा पनि भर्जिन हुनुपर्ने बाध्यताको बारेमा छ। एक सिकन्दरमा जीवनसँग हारेको कुरा गरिएको छ, एक आरक्षणमा पुरुषले विभिन्न जाल रचेर लैङ्गिक विभेद गरेको कुरा गरिएको छ।
एक अप्राप्तिमा जिन्दगी अगाडि आएर तैले मेरो लागि केही गरिनस् भन्छ। म पात्रले यत्रो सिर्जना गरें भन्दा यो त अर्काका लागि गरेको होस् भन्ने रोचक कहानी छ। एक भोगमा जीवनको बारेमा जटिल कुराहरू सोचिरहेको मानिस भेटिन्छ। एक लाइफमा राम्रो जिन्दगी खोज्न अमेरिका आएको कुरा छ।
एक पश्चगमनमा श्रीमतीले घर,नक्सा ,घडेरी ,आय आदिबारे आफूलाई मतलब नभएको कुराको व्याख्या छ। एक नाटकमा जिन्दगी नै एक नाटक हो भन्ने कुरा छ। एक बुझाइमा सबैसँग ठिक हुन खोज्दा आफ्नो चाहिँ बन्न सकिएन भन्ने कुरा छ। एक युद्धमा जिन्दगीलाई जित्न खोज्दा हारिने कुरा उल्लेख छ।
एक शैलीमा छोराछोरी घडरी आदिबारे श्रीमान श्रीमतीमा झगडा हुँदै आइरहेको कुरा छ।एक श्रापमा छोराछोरी सबै विदेश जाउन भन्ने देउसिरीले दिएको शुभकामनामा वृद्धहरूले यो श्राप हो भन्छन्। एक घरमा नेपालीलाई घर भएन भनेर टेन्सन तर विदेशीलाई टेन्सन छैन। एकदानमा जिउँदो हुँदा गाईको दुध खान पाएन मरेपछि गाईको दान दिएको कुरा छ।
एक दोषमा महिला पुरुषबारे अधिकारको कुरा र विभेदको कुरा छ। एक दायित्वमा सबै छोराहरू विदेश गएपछि सरकार खोज्न रसिद ल्याएर खोजेको कुरा छ। एक गद्धारमा दुर्घटना भएको बिरामीलाई पार्टीगत रूपले खोजेर उद्धार नगरेको कुरा छ। एक नियममा क्लबमा महिला भेट भयो कि यौनका कुरा सुरु भएको छ।
एक भ्यागुत्तोमा नयाँ मान्छे आएर रैथानेलाई भगाएको कुरा गरिएको छ। एक चस्मामा सरकार नदेखेको कुरा छ। एक रङ्गामा जनताको र नेताहरूको कुनै विचार नभएको कुरा छ। एक मायामा बुढीसँगको माया गरेको कुरा छ। एक आकांक्षामा छोराछोरीको कुरा सुनेर चाँडै मर्ने आकांक्षा प्रकट गरिएको छ। एक दर्शनमा नारीलाई अभियन्ता भएको देख्न नसक्ने समाजको चित्रण छ।
एक साथीमा आफन्त जति सबै स्वार्थी देखाइएको छ। एक मनोविज्ञानमा फ्रायड आएको छ र महिलाको कुरा खोतलेको छ। एक सत्यमा भोक तृप्तिले सत्य ल्याउँछ कि लोक भनाइले भन्ने कुराको व्याख्या छ।
एक रखौटामा श्रीमतीसँगको असन्तोष र उपायको बारेमा खोजिएको छ। एक याचनामा मागेर अमेरिका जान्छु भन्दा मलाई पनि अमेरिका जाने व्यवस्था मिलाइदेउ भन्छ। एक गोरुमा गुरु गुरु होइन गोरु हो भन्ने उदाहरण देखाइएको छ। एक अवसरमा नारीको लागि अमेरिकामा धेरै अप्सन छ भन्ने कुरा देखाइएको छ। एक राजनीतिमा नेपाली राजनीतिको कुरा छ। एक डस्टबिनमा बिहे गर्ने केटीले केटाको घरमा भएका रोगी बुढाबुढीलाई डस्टबिन भनेको कुरा छ। एक आग्रहमा केटीले किचेन नजाने ,लुगा नधुने ,बच्चा नजन्माउने ,क्लब जाने जस्ता कुरा भए बिहे गर्ने कुरा छ। एक रगतमा विभेदको उदाहरण छ।
एक भेट्रानमा अमेरिकामा भेट्रान प्रतिको श्रद्धा देखाइएको छ। एक आसनमा सहिदको परिभाषा छ। एक दुदानीमा बर्थडेमा हजुरबालाई भोक लाग्यो भन्दा हकारिएको छ। एक यन्त्रमा कम्प्यूटरबाट ईश्वर निस्केको छ। एक जेनरेसनमा जेनेरेसन जीको चर्चा छ, जहाँ स्थायी पार्टनरको आवश्यकता छैन भन्ने कुरा छ।
एक रुवाइमा छोराको साटो सबै दुःखमा आमा रुने कुरा छ। एक अपाङ्गमा कम्प्यूटर चलाउन नजान्ने अपाङ्ग हो भनिएको छ। एक मुर्छानामा जिन्दगीको परिभाषा अझै काम बाँकी छ भन्ने छ। एक पूजामा आमा छोरीलाई र छोरी आमालाई छलेर पोर्न सिनेमा हेर्न गएका छन्।
एक मुक्तिमा बन्दुक उठाएर सत्तामा जाने कुरा छ। एक अ गलतमा असन्तुष्ट हुँदा लोग्ने स्वास्नी अर्कैसँग जाने कुरा गरिएको छ। एक कथामा छोटा छोटा संवादको उदाहरण दिइएको छ। एक फर्मुलामा जिन्दगीको फर्मुला खोजिएको छ। एक स्वतन्त्रतामा डराएरै जिन्दगी बिताइएको कुरा गरिएको छ। एक वैराग्यमा मलामी जाँदा बैराग लागेको अरू बेला सम्पत्तिको पछि कुदेको देखाइएको छ। एक सम्भोगमा अमेरिकन केटीको विचार पानीले प्यास मेटाए जस्तै सम्भोग गर्नुपर्छ तर प्रेमपूर्व गर्नुपर्छ भन्ने छ।
विकास खण्डमा आएका एकहत्तर लघुकथाका विषयवस्तु र घटनाहरूका आधारमा निम्न बमोजिम चर्चा गर्न सकिन्छ:
१) अमेरिकी समाज
एकालापमा अमेरिकी समाज, पात्र,चालचलन रहेका केही लघुकथा छ, जुन निम्न छन्: एक पुल, एक समय, एक अस्तित्व, एक एम्बेस्डर, एक राष्ट्रियता, एक वरदान, एक भर्जिन, एक भोग, एक लाइभ, एक नाटक, एक घर, एक नियम, एक भेटरान ,एक जेनेरेसन, एक अगोलत, एक सम्भोग।
माथिका लघुकथाहरूबाट अमेरिकी समाज बारे केही कुरा बुझ्न सकिन्छ। जस्तै, सहजै डिभोर्स हुने, कल गर्ल भन्न लाज नमान्ने, मन मिले सम्भोग सामान्य हो मन नमिले ठूलो अपराध,गर्ल फ्रेन्ड ब्वाइ फ्रेन्ड अनिवार्य हुने, माग्नेसँग पनि गर्ल फ्रेन्ड हुनै पर्ने, एक्लै महिला वा पुरुष भेट्यो कि कुरा यौनमा पुगि हाल्ने, लाग्छ अन्तिम लक्ष्य नै सेक्स हो तर फेरि बाँधिएर नबस्ने। न जन्मिंदा घर न मर्दा दुबै अस्पतालमा हुने, घरको कुनै टेन्सन छैन, श्रीमान, श्रीमती दुवैको एक अर्कामा यौन असन्तुष्टि हुने, भेट्रानको घर पनि ढोग्ने यहाँचाहिँ डन्ठे भनेर हियाउने आदि विशेषताहरू अमेरिकी समाजमा हेर्न पाइन्छ।
२) पाकिस्तानी समाज:
पाकिस्तानी बुवा र अमेरिकामा जन्मेको छोरा बीच द्वन्द्व चर्केको छ। छोरो गर्ल फ्रेन्ड, क्लब र फ्री भएर पैसा उडाउने बुवा परम्परा अनुसार पेशा सम्हाल भन्ने। एक सूर्यमा यो छ।
३) नेपाली समाज
नेपालमा सबै राम्रो तर चुनावको बेला झगडा हुने,अमेरिका बस्ने पुरानो नेपाली पुस्तामा लिभिङ टुगेदर र भर्जिन बारे कडा धारणा भएको, नेपालमा ३०/ ३५ वर्ष सम्ममा पनि भर्जिन हुनुपर्ने बाध्यता, कुनै निर्णयमा स्त्रीले आफ्नो शेयर नखोज्ने, तर्कमा हार्दा पुरुषले हकार्ने, कम्तीमा एउटा छोरा गोल्ज्याङ्रे होस् विदेश नजाने, जिउँदोमा दुध खान नपाउने मरेपछि गाई दान, छोराहरू विदेशमा भएको र वृद्ध बाउले रसिद ल्याएर सरकार खोज्ने, सरकार देखिने गरी प्रस्तुत नभएको ,नेता र जनताको विचार स्पष्ट नभएको, अमेरिका भनेपछि धेरै पढेका केटीहरू पनि कम पढेका र जागिर नभएका केटासँग बिहे गर्न हुरुक्कै हुने र उता गएर प्राय स् छोडिदिने,अमेरिका गएपछि जेनेरेसन जीमा फस्ने स (बिहे, छोराछोरी नचाहने,स्थायी सेक्स पार्ट्नर नचाहने) जस्ता विकृति तथा विसंगतिहरू नेपाली समाजका देखिएका छन्।
४) स्वैरकल्पना
स्वैरकल्पना भनेको असम्भव जस्तो लाग्ने घटना देखाएर वर्तमान सन्दर्भमा जोडिएको हुन्छ। ‘एकालाप’ मा त्यस्ता घटनाहरू दस लघुकथामा देखाइएको छ। एक समयमा समय देव भएको, एक विजयमा महिलाहरूको आत्मा आएको, एक सिकन्दरमा सिकन्दर उठेर आएको, एक दोषमा महिला पुरुषको आत्माको वार्ता, एक आकङ्क्षामा मरेको लास ईश्वरसँग बोलेको, त्यस्तै एक दर्शनमा मरेको लास उठेर हिर्काउन थालेको, सिन्दुर, पटुका र बाह्र हातेले बेरेर हत्या गराएको भनेको, एक साथीमा दिव्य शक्ति उठेर जादुको छडी दिएको, एक मनोविज्ञानमा फ्रायड उठेर आएको, एक आसनमा चित्रगुप्त र मृत आत्मा बोलेको, एक यन्त्रमा कम्प्युटरबाट ईश्वर निस्केको आदि घटनाहरू रहेका छन्। यी लघुकथाहरूमा स्वैरकल्पनाको नमूना पाउन सकिन्छ।
५. विचार
खेमराज पोखरेल एक परिपक्व र विचारवान् लेखक हुन्। ‘एकालाप’ मा उनका निबन्धमय विचारहरू आएका छन्। हरफैपिच्छे उनका विचारहरू छताछुल्ल भएर छरिएका छन्। उनले जीवनलाई विभिन्न कोणबाट हेरेर आफ्नाे मनमा छरिएका विचारहरूलाई एकत्रित गर्ने प्रयास स्वरूप यो ‘एकालाप’ लघुकथा आएको छ भन्ने लाग्छ।
हामी जीवनमै रङ्गिएर जीवनलाई भोग्छौं उनी जीवन बाँचिरहेको तहबाट माथि, पर उभिएर अवलोकन गर्छन्। हामी भोगिरहेका छौं उनी अवलोकन गर्छन्। यसका लागि कहिले जिन्दगी, कहिले आत्मा आएर उनका अगाडि प्रश्न गर्छन्।
यसरी दर्शन, मनोविज्ञान, यौनमनोविज्ञान, दाम्पत्य, परिवार वृद्ध ,राजनीति, विभेद आदिबारे विचारहरू छ्यापछ्याप्ती छरिएका छन्।
प्रस्तुत लघुकथा संग्रहमा द्वन्द्व, उत्सुकता,रोचकता सबै गुण रहेको पाइन्छ।
ग) समापन
लघुकथामा समापन महत्वपूर्ण हुन्छ। लघुकथा त्रिभुज जस्तो हो। (खेमराज पाेखरेल ईश्वरको मृत्यु) एउटा बिन्दुमा सुरु हुन्छ र त्यो बिन्दुबाट सिधै माथि जान्छ अनि उत्सुकतापूर्वक माथिबाट एकैपटक झट्टै तल झर्छ र एउटा त्रिभुजको रूप धारण गर्दछ। हातमा समातेको वस्तु एकैपटक भुइँमा झारे जस्तो झ्वाट्टै झर्नुपर्दछ। क्रमश: शनै: शनै: झर्ने होइन। यसको लागि धेरै वाक्य राख्ने होइन एक वाक्य राख्नुपर्दछ। धेरै वाक्यमा क्रमश: झरे जस्तो हुन्छ। एक वाक्यमा झ्वाट्टै झरेको महसुस हुन्छ। एक वाक्य भनेको बीज वाक्य पनि हो। बीज वाक्यमा लघुकथाको अन्त्य हुनुपर्दछ। धेरै वाक्यमा अन्त्य गर्नु हुँदैन। यही एक वाक्यमा रहस्य उद्घाटन, उद्देश्य प्रस्तुत , शीर्षक सार्थक भएको हुनुपर्दछ।
खेमराज पोख्रेलको ‘एकालाप’ मा यस्ता १६ लघुकथा देखिन्छन्। एक पुल, एक सिर्जना, एक पीडा, एक भर्जिन, एक आनन्द, एक आरक्षण, एक पश्चगमन, एक श्राप, एक चस्मा, एक रङ्गा, एक माया,एक साथी, एक भेटरान, एक स्वतन्त्रता आदि
४. पात्र
यस पुस्तकका पात्रहरू प्राय प्रथम पुरुषमा रहेका छन्। धेरै लघकथामा कथाकार आफै पात्रको रूपमा उभिएका छन्। यो नयाँ प्रयोग हो। केही अङ्ग्रेजी नामहरू छन्। जस्तै, एन्डी जेनिफर, जर्जलिना, हड्सन, जेन्सन, मिका, चार्ल्स, जस्टिन, फायर आदि। गैर मानव पात्रमा भ्यागुता र चराचरी छन्। पाकिस्तानी पात्र शौकल छन्। अन्यमा तृतीय पुरुष पात्र छन् जसमा एउटामा रमेन्द्र मेरो नाम र एउटा मा भोले र रबिया मधेसी पात्र छन्।
५. परिवेश
परिवेशलाई देश काल वातावरण पनि भनिन्छ। अन्य कुरा स्वत: मिल्ने गरेको देखिएकाले समय र स्थानको ठूलो महत्त्व छ। लघुकथामा स्थान र समय एउटै हुनुपर्दछ। अमेरिका र नेपाल दुई देश आए पनि लेखनको परिवेश एउटै छ। केहीमा भने लामो परिवेश छ।
६. भाषाशैली
भाषा शैली, रोचक,परिपक्क र परिस्कार गरिएका छन्। वर्णविन्यासगत त्रुटि देखिंदैनन्। कुनै कुनै क्रियाविनाका वाक्य छन्। जस्तै: एक कथा।
७. उद्देश्य
यस लघुकथा संग्रहमा अमेरिकामा बाहिरका मान्छे गएर बसेका र अमेरिकामै जन्मेका सन्तानबीच द्वन्द्व, माग्नेले पनि देशको माया गरेको, लैङ्गिक विभेद, महिलाले आफ्नो अस्तित्व आफै निर्माण गर्नुपर्ने, नेपाली सुन्दरता तथा दुर्गति बेचेर अमेरिकाका मान्छे धनी हुने, मानिस देखिन्छ एक भनिन्छ अनेक, अमेरिकी स्त्रीको धारणा प्रकृतिले दिएको शरीर आफूखुसी गर्न पाउनुपर्ने भन्ने छ।
अमेरिकामा डिभोर्स, स्वतन्त्रता, क्लब, गर्लफ्रेन्ड ,यौन जस्ता कुराहरू सामान्य रहेको देखाइएको छ। नेपालमा वृद्ध पीडा ,सरकारी विकृति, नेताको अकर्मन्यता ,जनता र नेताको स्पष्ट विचार नभएको , पुरुष सत्तालेनारीको अधिकार कुण्ठित भएको, विभेद गरेको , अमेरिकन केटा भनेपछि नेपाली केटीहरू हुरुक्कै भएको देखाइएको छ। जेनेरेसन जीको कुरा उल्लेख छ जसको विशेषता फोनमा रम्ने ,उच्च स्वतन्त्रता ,विवाह, परिवार गौण, स्थायी सेक्स पार्टनर नमान्ने आदि रहेको छ।
सुझाव
यस पुस्तकमा लेखक कुनै विषयमा समस्या उठाएर उत्तरको नजिकनजिक पुगेका छन्। ठोस उत्तर नदिएको कुरा एक बाटोमा म पात्रले यसरी भनेको छ, “अचेल त म गन्जागोल बाटोमा आफैलाई हिँडाउन नसक्ने चिन्तक भएको छु। तिमीलाई अब म कुन बाटो बताइदिउँ। “जुन लेखकको विचार हो भन्न सकिन्छ। उनी पृष्ठ १४७ मा जीवनका बारेमा भनेका कुरा कसैले सुन्दैनन् तर पनि एकालाप गर्न नछाड्ने कुरा बताउँछन्। पृष्ठ १४८मा जीवनको अर्थ खोज्दा असमाधानीय विषय हुन्छ भन्छन्। समस्या वा समाधान कुनै अपेक्षा भित्र खोजिन्छ र सोही अपेक्षा भित्र निरपेक्षता खोजिनु नै जीवन हो भन्छन्।
यसरी जीवनप्रति शङ्का, असन्तोष देखाउँछन् जुन लघुकथाहरूबाट पनि पुष्टि भएको। यो हो कि अर्को हो कि भन्ने अन्योलका कुराहरू गरिएको छ। शायद दार्शनिक तहमा पुगिसकेको मान्छे भएकोले जीवन पर्गेल्न अझै बाँकी छ कि भन्ने सोचेका हाेलान्। जीवनबारे ठोस रूपले बोल्नुपर्छ कि पर्दैन भन्ने कुराको निर्णय उनलाई छोड्दै लघुकथाको सैद्धान्तिक कुरामा चाहिं मोटामोटी कुरा नभनेर ठोस र वस्तुगत रूपले व्याख्या गरेर मार्ग निर्देश गरिदिन्छन् भन्ने अपेक्षा राख्न सकिन्छ।
अन्त्यमा उनको संसर्ग र ‘एकालाप’ को अध्ययनपछि लघुकथाकार खेमराज पोखरेल एउटा दार्शनिक, अवलोकनकर्ता, प्रयोगकर्ता, उच्च स्वतन्त्रताप्रेमी, स्पष्टवक्ता, रसिक, व्याख्याता, मिलनसार, मार्गनिर्देशक आदि भएको स्वीकार्न सकिन्छ।
– रमेन्द्र कोइराला