एउटै चौरका दुई दृश्य: एकातिर राप्रपाको ‘एकता उत्सव’, अर्कातिर कांग्रेसको ‘विद्रोही हुंकार’


राजधानीको मुटुमा रहेको भृकुटीमण्डपको खुला चौरमा आइतबार नेपालको समकालीन राजनीतिका दुई विपरित ध्रुव र विरोधाभासपूर्ण दृश्यहरू एकसाथ मञ्चन भए।

एउटै आकाशमुनि र उही चौरको दुई छेउमा इतिहास, परम्परा र वर्तमान राजनीतिका नितान्त फरक आवाजहरू एकसाथ ठोक्किएर गुन्जिरहे।

एकातिर बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्बिर अगाडि उभिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता-कार्यकर्ताहरूले राष्ट्रिय एकताको मन्त्रोच्चारण गरिरहेका थिए भने ठीक अर्को छेउबाट मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको विशेष महाधिवेशनको मञ्चबाट विद्रोही हुंकार गुन्जिरहेको थियो।

आइतबारको भृकुटीमण्डप केवल एक प्रदर्शन स्थल मात्र रहेन। नेपाली राजनीतिमा देखिएको अस्थिरता र कांग्रेसको सामूहिक मनोविज्ञान प्रतिबिम्बित गर्ने एक ऐनाका रूपमा देखा पर्‍यो।

एकै समय र स्थानमा राष्ट्रिय एकता दिवसको उल्लास र कांग्रेसभित्रको असन्तोषको ज्वाला एकसाथ देखिनु आफैँमा अनौठो संयोग थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान र एकता दिवस मनाइरहँदा, उही चौरको अर्को कुनामा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले संगठनभित्र गुम्सिएको असन्तोष, नेतृत्वप्रतिको आक्रोश र रूपान्तरणको अपेक्षालाई स्वर दिइरहेको थियो।

नेपाली कांग्रेसको इतिहास आफैंमा संघर्ष, त्याग र परिवर्तनको पर्यायवाची हो। राणा शासनको अन्धकारविरुद्ध लड्नेदेखि पञ्चायती निरङ्कुशतालाई ढाल्दै मुलुकमा बहुदलीय व्यवस्था र लोकतन्त्रको स्थापना गर्न निर्णायक भूमिका खेलेको इतिहास यस दलसँग सुरक्षित छ।

तर, विडम्बना नै भन्नुपर्छ- हिजो तानाशाही व्यवस्थासँग लडेको कांग्रेस आज आफ्नै छायाँसँग लडिरहेको प्रतीत हुन्छ।

कांग्रेसभित्र आज जे-जस्तो बहस र रस्साकस्सी चलिरहेको छ, यसलाई केवल गुटगत द्वन्द्व वा पदलोलुपताको सीमित घेराबाट मात्र हेर्नु अन्यायपूर्ण हुनेछ। यो बहस र विद्रोह पार्टीलाई अझ सक्षम, गतिशील, पारदर्शी र जनउत्तरदायी बनाउने अन्तर्निहित चाहनाबाट जन्मिएको देखिन्छ। स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेको पार्टी आज आफ्नै विधान, आफ्नै प्रतिनिधि र आफ्नै नेतृत्वबीचको त्रिकोणात्मक द्वन्द्वमा फसेको छ।

पार्टीको विधानको धारा १७ (२) ले व्यवस्था गरेअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको खण्डमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।

तर, ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाउँदा पनि संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेपछि सुरु भएको यो शृङ्खलाले कांग्रेसलाई वैधानिक जटिलता र नैतिक सङ्कटको डिलमा पुर्‍याएको छ।

संस्थापन पक्षले विशेष महाधिवेशन अस्वीकार गर्नुका पछाडि पार्टी एकता जोगाउने, अस्थिरता नबढाउने र प्रतिकूल राजनीतिक परिस्थितिलाई कारण देखाएको छ।

यी चिन्तालाई पूर्णतः खारेज गर्न नसकिएला, तर बहुमत सदस्यहरूको वैधानिक मागलाई रद्दीको टोकरीमा फाल्नुले लोकतान्त्रिक पार्टीको साखमाथि नै प्रश्न उठाएको छ।

यही अस्वीकारको परिणाम हो, राष्ट्रिय एकता दिवसकै दिन कांग्रेस आन्तरिक विभाजन र विद्रोहको विन्दुमा उभिन पुगेको छ।

नेपाली कांग्रेसको राजनीतिमा दशकौं बिताएका, सत्ता र शक्तिको केन्द्रमा रहेका सभापति शेरबहादुर देउवा आफ्नै कार्यकर्ताको यो विशाल भेलामा उपस्थित भएनन्। उनी भृकुटीमण्डपको कोलाहलबाट टाढा महाराजगञ्जस्थित निजी निवासमा निकटका नेताहरूसँग रणनीतिक छलफलमा व्यस्त रहे।

सभापति देउवा भृकुटीमण्डपमा उपस्थित नहुनु धेरैका लागि प्रतीकात्मक विषय बनेको छ। तर यसलाई केवल दूरीका रूपमा मात्र बुझ्नु न्यायोचित हुँदैन। फरक यति हो- भृकुटीमण्डप र महाराजगञ्जबीच संवादको पुल अझै मजबुत हुन सकेको छैन।

यो विशेष महाधिवेशनले कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्व शैली र पार्टी सञ्चालनको विधिबारे गम्भीर बहसको ढोका खोलेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अगाडि सारेको एजेन्डा केवल अनुहार परिवर्तनमा सीमित छैन। यो संगठनलाई सक्रिय, पारदर्शी र जनमुखी बनाउने आकांक्षासँग जोडिएको छ।

यसमा सबैभन्दा रोचक पक्ष गुटगत समीकरणमा आएको फेरबदल हो। विगतमा देउवाका कट्टर प्रतिस्पर्धी मानिने डा. शेखर कोइराला यो विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।

उता, संस्थापन समूहकै प्रभावशाली नेताहरू गोपालमान श्रेष्ठ, पुष्पा भुसाल, डा. चन्द्र भण्डारी लगायतका नेताहरू विद्रोहको मञ्चमा देखिनुले देउवा क्याम्पभित्रै पनि असन्तुष्टिको आगो सल्किएको प्रस्ट हुन्छ।

यसले के संकेत गर्छ भने, कांग्रेसभित्र विचार राख्ने र नेतृत्वलाई खबरदारी गर्ने मत अझै जीवित छ र संवादको सम्भावना पूर्णतः समाप्त भइसकेको छैन।

भृकुटीमण्डपमा हजारौंको संख्यामा महाधिवेशन प्रतिनिधिहरू उपस्थित त भए, तर उनीहरूको अनुहारमा कुनै उत्सव वा उल्लासको भाव थिएन।

थियो त केवल, गहिरो चिन्ता, अन्योल र आक्रोश। देशको सबैभन्दा ठूलो दल आज जितको पार्टी होइन, प्रश्नको पार्टी बनेको छ। हरेक प्रतिनिधिको आँखामा ‘अब के हुन्छ?’ भन्ने अनुत्तरित प्रश्न नाचिरहेको देखिन्थ्यो।

इतिहासको कस्तो क्रूर व्यंग्य ! एकातिर राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्ने राप्रपाले उल्लासपूर्ण वातावरणमा चियापान गरिरहेको थियो भने अर्कोतिर लोकतन्त्रको मसिहा ठान्ने कांग्रेस आफ्नै लोकतान्त्रिक अधिकारका लागि सडकमा संघर्ष गरिरहेको थियो।

जुन पार्टीले राजतन्त्रसँग लडेर लोकतन्त्र ल्यायो, आज त्यही पार्टी आन्तरिक लोकतन्त्रको अभ्यासमा चुक्दा कार्यकर्तामा निराशा छाउनु स्वाभाविक हो।

भृकुटीमण्डपबाट उठेको यो विद्रोहको स्वरलाई संस्थापन पक्षले केवल विरोधीको हल्ला मात्र ठान्ने हो भने त्यो ठूलो भूल हुनेछ। यो टकरावलाई अवसरका रूपमा बदल्न सक्नुपर्छ। कांग्रेसको भविष्य कुनै एक गुट वा व्यक्तिको हठले होइन, समग्र पार्टीको सामूहिक विवेकले निर्धारण गर्नुपर्छ।

अनुभवी नेतृत्वको स्थिरता र नयाँ पुस्ताको ऊर्जालाई संयोजन गर्न सके मात्र कांग्रेसले आफ्नो गुमेको साख फर्काउन सक्नेछ। समस्या केवल पात्र परिवर्तनको होइन, विधि, पारदर्शिता र निर्णय प्रक्रियामा सहभागिताको हो। इतिहास साक्षी छ, जब-जब कांग्रेसले निर्मम आत्मसमीक्षा गरेको छ, तब–तब यो पार्टीले नयाँ जीवन पाएको छ।

आजको विशेष महाधिवेशन पनि त्यही प्रक्रियाको एउटा अध्याय हुन सक्छ, यदि सबै पक्षले धैर्य, संवाद र परिपक्वता देखाए भने।

त्यसैले, भृकुटीमण्डपबाट उठेको प्रश्नको जवाफ महाराजगञ्जले दिनुपर्छ। गाली र आरोप प्रत्यारोप भन्दा माथि उठेर सहमति र सहकार्यको बिन्दु खोजिनुपर्छ।

कांग्रेसले यो विशेष महाधिवेशनलाई विभाजनको कारक होइन, पुनर्संरचना र पुनर्जागरणको प्रस्थानविन्दु बनाउन सक्नुपर्छ। समग्र पार्टीको सामूहिक बुद्धि र इच्छाशक्तिमा निर्भर छ।

यही बिन्दुमा आइपुगेर भृकुटीमण्डपको प्रश्न इतिहासको प्रश्न बनेको छ- के कांग्रेस यो अवसरलाई आत्मपरीक्षणको बाटो बनाउँछ ?, कि चुकाइदिन्छ।

प्रकाशित: २७ पुस २०८२ २०:०१ आइतबार





Source link

Leave a Comment