ऋचा

ऋचा


ऋषिकान्त सरको कलम नभेटिंदा सिर्जित तनावको वितरण परिवारका तीनै जना सदस्यहरूमा भएको छ। सितिमिति सरसामान राखेको ठाउँ बिर्सिहाल्ने व्यक्ति होइनन्, तर हिजोआज कलम, मोजा, छाता जस्ता सामानसँग सरको लुकामारी चल्न थालेको छ।

सूर्योदय मावि चिसापानीमा हेडसरले पनि पूरै क्लास पढाउँछन्, सँगसँगै १५ जना शिक्षक र ६५० विद्यार्थी भएको संस्था पनि चलाएकै छन् भन्ने चर्चा एकाध महिना अगाडिसम्म नारायणचौर क्षेत्रमा स्थापित थियो।

सरले हिजोआज ९ कक्षाका विद्यार्थीलाई मात्र पढाउँछन्। खास कारण त उनै जानुन् तर ‘छोरी ऋचा ९ कक्षामै नपढ्ने भएको भए गुरुले त्यही क्लास पनि लिन्थेनन्’ भन्ने सहकर्मीहरू उनकै स्कुलमा छन्।

घरबाट स्कुल पुग्न लाग्ने करिब ४५ मिनेटको समयमध्ये ५ मिनेट त कलम खोजी कार्यले नै खाइदियो। ऋचासँग मागेर कमिजमा डट्पेन उनेपछि छोरीसँगै हतारिंदै पिंढीमा निस्किन खोजे। उति नै बेला आँगनको छेउमा गोठको अगाडि चिलाउनेका दाउरा र डालेघाँस मिसिएको एउटा भारी गर्ल्याम्म झार्‍यो गोमनेले।

गोठमा बाँधिएको गाईले ज्यान घुमायो र बाँऽऽऽ गर्दै भारीतिर मुन्टो तन्कायो। सर्लक्क अग्लो, हल्का कालो वर्णको, खँदिला पाखुरा, बाक्ला र फेस्सिएका ओठ अनि घुम्रे कपाल सहित लोर्के देखिन्छ धर्से कामीको कान्छो छोरो गोमने। पसिनाले भिजेको, थोत्रो र झोलिएको टिसर्टलाई नाइटोमुनिदेखि दुई हातले उचालेर चिल्लो अनुहार पुछ्दै गर्दा पेटमा बिस्कुट जस्ता मांसपेशी प्रस्टै देखिए।

काठमाडौंबाट डिग्री सकेर गाउँ फर्किंदा ऋषिकान्त सर उमेरले ३० काटिसकेका थिए र कार्जेको काम समेत सँगसँगै सुरु गरेका उनले गरेको पहिलो कार्जे भनेको गोमनेको न्वारान थियो। सुनारटोलमा पहिलोपटक कुनै शिशुले अर्थपूर्ण नाम प्राप्त गरेको थियो ‘गीर्वाण’। त्यतिबेलासम्म गुरुका आफ्ना बच्चाबच्ची थिएनन्, राम्रो नाम राखिदिएँ भन्ने लागेको थियो उनलाई। त्यो शब्द नामको रूपमा स्थापित हुनै पाएन, गिर्वाणे, गिमन-गिमने हुँदै स्कुल पढ्ने बेलासम्म आइपुग्दा सरकै अगाडि उसको नाम गोमनेमा परिणत भयो।

पचासको दशकको अन्तिम अन्तिम भइसक्दा समेत गाउँमा फाट्ट-फुट्ट मात्र पक्की घर देखिन्थे। कसैको पक्की घर नहुँदै ऋषिकान्त गुरुका बुवा मणिरत्न शर्माले सिमेन्टी र ढुंगाको जोडाइमा २०३० सालतिरै बनाएको पारिलो घाम पर्ने दुईतले घर, १४ रोपनी बारी, हिसाबै नभएका पाखा र माझी फाँटमा १५ रोपनी खेत छोडेर २०४२ सालतिर बिदा भएका थिए।

जन्मिएका तीन वटा मध्ये ऋषिकान्त सर एक मात्र जीवित सन्तान हुन्। औधी माया र सुविधाजनक हुर्काइमा परेका ऋषिकान्तले बुवाका मूल रूपमा दुईवटा आग्रह मानेनन्, पहिलो छिटो बिहे गर्ने र दोस्रो नजिकै पोखरा वा उतै काठमाडौंमै घर बनाएर बस्ने। क्याम्पसतिर प्रजातन्त्र ल्याउने बैठक-भेलामा देखिन्छन् रे भन्ने खबर काठमाडौंबाट गाउँसम्म आइपुग्थ्यो कहिलेकाहीं। पढाइ सकेर गाउँ फर्किएको केही समयमै बुवालाई गुमाएका उनलाई बुवाले जोगाएर राखेको विरासतको मलमली पृष्ठभूमि र उनको आफ्नै क्षमताको संयोजनबाट स्कुलमा छिर्न, स्थापित हुन र नेतृत्व गर्न कुनै सकस परेन।

‘जाऊ भित्र गएर आन्टीसँग पानी मागेर खाऊ, हामी निस्कियौं’ सरले भन्न नपाउँदै भित्रैबाट ‘त्यहीं बस्दै गर’ भन्दै एक लोटा पानी सहित लक्ष्मी आन्टी ढोकामै झुल्किइन्। आन्टी अलिकति कर्कश छिन्— तर्क–कुतर्क गरेर आफ्ना कुरा माथि पार्नै खोज्ने खालकी। ‘अल्लि भने जस्तो भारी ल्याउन छोडिस् त केटा, किन हो?’ लोटाको पानीले आँतभरि चिसो सञ्चार गरिरहेकै बखत आन्टीको प्रश्न भने गोमनेको मस्तिष्कमा गएर टिनिन्न ठोकियो। मेटिन लागेको तिर्खा मेटिएन, गोमने झनक्क भयो। सवालजवाफ गर्ने र आफ्ना कुरा दृढतापूर्वक राख्ने बानी छ गोमनेको। ‘चित्त बुझेन भने आफैं गए पनि हुन्छ आन्टी, आमैले कर गर्ने भएर मत्रै आउने हुँ म यहाँ। साह्रै अपजसे हुनुहुन्छ तपाईं’ तितो जवाफ फर्कायो गोमनेले। अल्लि बढी नै भनें कि भन्ने भएर होला अनुहार लत्रक देखियो आन्टीको। मनकी उतिसाह्रो नजाती पनि छैनन् उनी।

‘मुखमुखै किन लाग्न पर्‍यो तिम्लाई? मन छैन भने नआउ न त भोलिबाट। आमासँग जहिल्यै कचकच् नगर के गोमने’ चार पाइला जति पल्तिर पुगिसकेकी ऋचाले फर्किएर जवाफ फालिन्। उतिसाह्रो बोलिहाल्ने केटी हैनन् ऋचा। गिमने र आमाको परिरहने भनाभन सामान्य जस्तै हो। जेहोस् ऋचा आज कडै रूपले प्रस्तुत भइन्। आमाको चिसिएको मुहारले उनलाई उद्वेलित गर्‍यो शायद। गिमने चुप बस्यो। परिस्थिति संवादविहीन सन्नाटा जस्तो पो देखियो। ‘खै लोटाले, भयो अब जाऊ तिमीहरू’ भनेर लक्ष्मी आन्टी आफैंले नै सजिलो बनाइन् वातावरण। ऋषिकान्त सर तुलसीको मठ नजिक आँगनमा अडिएर मुसुमुसु हाँस्दै यो सब हेरिरहेका छन्। उनलाई लाग्छ संसारका सबै मान्छेहरू आ-आफ्ना तर्क अनुसार सही नै हुन्छन्।

यस्ता प्रकारका भनाभन र बाझाबाझ गाउँघरमा चलिरहन्छन्। मान्छेका सम्बन्धहरूलाई यस्ता घटनाहरूले निषेध गर्ने स्तरमै प्रभावित भने गर्दैनन्। माघ महिनामा हानाहान होला झैं गरेर बाझेका दाजुभाइ असारमा यौटै खेतमा भेटिन्छन्। बाउ–छोरी स्कुलतर्फ तन्किए। सुनारटोल स्कुल जाने मूलबाटोमै पर्छ। भारीको थान्कोमान्को गरेर गोमनेले पनि घर जाने मेसो गर्‍यो। जे सुकै होस्, जाने बेलामा ‘आन्टी गएँ है’ भन्न छोड्दैन उसले। ‘ल ल जा जा’ घरको भित्री भागबाट आन्टी गुन्जिइन्। गिमने हुँइकिहाल्यो। घरमा पुगेर भात खाएर उसलाई पनि त्यही स्कुल पुग्नु छ। ऋषिकान्त सर र ऋचालाई बाटोमै भेट्टाइहाल्यो। सरसँग फ्याट्ट-फुट्ट गफ गर्‍यो र उछिनेर सुनारटोलतिर सोझियो। ऋचाले खासै चासो दिइनन्।

ऋचा पढाइमा अब्बल छिन्। फर्स्ट आउने मात्र होइनन् अनुशासन र सरसफाइमा समेत सधैं पुरस्कार ल्याउँछिन्। सर्लक्क अग्लो ज्यानमा ड्रेस मिलाएर लगाउँछिन, चश्मा चैं आठ कक्षामा हुँदा देखि नै लगाउन थालेकी उनको मुहार रिसाहा खालको त हैन तर निकै कम हाँस्छिन्। देब्रे गालामा डिम्पल छ जो हाँस्दा मात्र देखिन्छ तर जब देखिन्छ उनी अद्भुत देखिन्छिन्।

नारायणचौर गाविसको जिम्रेडाँडाको सिरानमा फराकिलो सम्म परेको भागमा माथिबाट हेर्दा अंग्रेजी ‘एल’ आकारमा फैलिएको सूर्योदय माविको कक्षा नौको कोठामा ३५ जना विद्यार्थी छन्। यादव सरले गणित पढाइरहेका छन्। कालोपाटीको दाहिनेपट्टि केटीहरू बस्ने बेञ्चहरूको लहर छ भने देब्रेपट्टि केटाहरू बस्ने बेञ्चको लहर छ।

अगाडिबाट दोस्रो बेन्चको देब्रेपट्टिको छेउमा बस्छिन् ऋचा। कक्षामा कसैसँग पनि झांगिएको मित्रता छैन उनको। पहिलो कक्षा सकिनै लाग्दा ‘मेआईकमिन सर’ भन्दै कोठाभित्र छिर्‍यो गोमने। हरेक दिनजसो ढिलो गरी कक्षामा आउने गोमनेको ‘मेआईकमिन सर’ अनुमतिको नभई जानकारीको सूचक मात्र हो। गोमने भलिबल खेल्छ, उमेरले उन्नाइस हाराहारीको ऊ नौ कक्षामा फेल भएर दोस्रो वर्ष दोहोरिएर पढ्दैछ। तीन चार कक्षासम्म गिमने पढाइमा अब्बल र कक्षामा नियमित थियो। उसलाई पढाइमा रुचि नभएको पनि होइन तर घरायसी उल्झन र कैयन् बाध्यात्मक अवस्थाका कारण पढाइमा प्रगति गर्न सकेन।

केटाहरूलाई थर्कमान बनाउने, रिसाउनासाथ हात छोडिहाल्ने र खेलकुद क्रियाकलापमा अग्रसर रहने ऊ स्वरूप र स्वभावले कक्षामा खम्बा जस्तो छ। शिक्षकहरूसँग स्पष्ट सवाल-जवाफ गर्छ उनीहरूसँग भने सापेक्षिक शिष्ट देखिन्छ। तीन हप्तापछि माघेसंक्रान्तिको अवसरमा जिम्रेडाँडामा अन्तर मावि भलिबल प्रतियोगिता हुँदैछ। नौ र दश कक्षालाई मिलाएर गिमनेको कप्तानीमा एउटा टिम बनेको छ। उसले डेढ वटा पिरियड पढ्यो र भलिबलको तयारीमा चौरतिर उक्लियो।

*****

आज महिनाको अन्तिम शुक्रवार, विद्यालय व्यवस्थापन समितिको बैठक छ। सदस्यसचिव हुनाको नाताले सर चाँजोपाँजो मिलाउन व्यस्त छन्। सबै तयारी पूरा भयो तर जिल्लाबाट आउने भनिएका शिक्षा कार्यालयका प्रतिनिधिलाई कुर्दा चैं बैठक ढिलो हुने देखियो। सशस्त्र युद्धको समय छ, पोखरा नजिकैको गाउँ भएकाले त्यतिसारो प्रभाव त छैन तर जिल्लाबाट सरकारी मान्छेहरू यहाँसम्म आउन हिच्किचाउँछन्। स्कुलमा, स्कुल मात्रै हैन सिंगो गाउँमै संचारको नाउँमा एउटा कर्डलेस फोन छ। त्यो पनि नचलेर जिल्लातिर सम्पर्क हुनसकेको छैन। निर्धारित समय भन्दा एक घन्टा ढिलोसम्म पनि बैठक सुरु हुने मेसो नभएपछि अफिसमा पढेर बुवालाई कुरिरहेकी ऋचालाई सरले घर जान आग्रह गरे। स्कुलबाट एक्लै घर जान-आउन ऋचाको लागि ठूलो कुरो त हैन तर आज उनलाई अल्लि विसन्चो छ। अनुहारमा छायाँ छ, शरीरले केही अनौठो क्रियाहरू देखाइरहेको छ। सुनसान भइसकेको स्कुलबाट ऋचा एक्लै बाहिर निस्किइन्। मूल गेटसँगै जोडिएर ठाडै तन्किएको उकालो सिंढी पाँच मिनेट जति उक्लिएपश्चात् डाँड्डाँडै-डाँड्डाँडै सोझो बाटोमा पुगिन्छ।

‘अप्ठेरो मान्न पर्दैन, म बाहिर जान्छु कट्टु खोलेर राख्नु है’ भन्दै निस्किई र बाहिरबाट ढोकाको चुकल कुइक्क लगाई। झोलुंगोमा घोप्टो परेर भान्जासँग जिस्किरहेको छ गोमने। यो बीचमा गोमनेकी आमाले सतही खबर पाइसकेकी छन्। उनको अगाडि कराहीमा दाल भकभक उम्लिरहेको छ

आफैंले आफैंलाई तान्दै डाँडासम्म निस्किइन् र लामो सास फेर्दै अगाडितर्फ लागिन्। केटाहरू तल्तिर चौरमा भलिबल खेलिरहेका छन्। गिमनेले चर्को गरी बोलेको, केटाहरूलाई झपारेको डाँडासम्मै सुनिएको छ। दिन ढल्किंदैछ। डुब्न लागेको घामको किरणले पहेंल्याइदिएको आकाशको बृहत् पृष्ठभूमिमा डाँडैडाँडा हिंडिरहेकी ऋचाको कालो गरी देखिएको लम्ब आकृति क्यानभासको चित्र जस्तो सुन्दर देखियो। धकेलिंदै धकेलिंदै १५ मिनेट जति अगाडि पुगेपछि ऋचा लत्रक्क परिन्, खुट्टा थरर्र काँपे, नाभिभन्दा थोरै तल पछाडि पट्टि पेटमा कुलुलु चलेजस्तो भो र एक्कासी योनीबाट केही बगेजस्तो भान भो। सँगसँगै चिरिक्क आवाज निकालिन्, यताउता हेरिन् र तुरुन्तै सम्हालिन खोजिन्। छाती र घाँटीको बीच भागबाट पीडा मिश्रित मधुरो आवाजमा कुईंकुईं निस्किरह्यो। सम्भावित रजस्वलाका बारेमा बुबाले यसअघि नै कुरा गर्नुभएको, ‘महिनावारी सुरु गर्न किन ढिलो गरी यसले’ भनेर आमाले बेला-बेलामा चिन्ता गर्नुभएको जस्ता स्मरणले यो रजस्वला नै हो भनेर ऋचालाई बुझ्न बेर लागेन तर यो उनको लागि पहिलो पटक थियो र अप्रत्यासित भयो।

२० पाइला जति हिंडेपछि चौतारो आउँछ। चौतारोमा पुगिन्, चौतारोमा उक्लिन बनाइएका पाँच वटा सिंढीमध्ये तेस्रो सिंढीमा पुठोलाई थचक्क बसालिन्। अत्यास अनि अन्योलको अनुभूति अनुहारमा अँधेरो हुने गरी फैलियो जसरी साँझको फैलावटले आकाश छोप्दै थियो। बाटो सुनसान भइसकेको छ। फटाफट हिंडेको भए घरमा पुगिसक्ने बेला हो यो। यो बीचमै दुईपटक रक्तस्राव भएको अनुभूति गरिरहिन् उनले। कट्टुलाई छिचोल्दै जाँघबाट बग्न सुरु गरी तिघ्रामा धर्को बनाउँदै घुँडासम्म एकथोपा रगत टुप्लुक्क आइपुग्यो।

जीवनमै पहिलो पटक रजस्वलाको रङ देखिन ऋचाले। ट्वाल्ल परेर हेरिन् र थोरै भक्कानिइन्। स्कर्टको गोजीबाट रुमाल निकालिन् र रगत पुछिन्। बाहुलाको शर्टलाई चाहिं रसाएका परेलामा लगेर धसारिन्। पुछिएका आँखालाई झिमझिम गर्दै उघार्दाका बखत ठिक अगाडि एउटा पुरुष आकृति देखियो। ‘किन बसिछ्यौ ह्याँ?’ आवाज सहित गोमने प्रकट भयो। आकृतिसँग झस्किएकी उनी आवाजसँग भने शान्त भइन्।

सन्ध्याकालीन शीतल बतासले चौतारोको पीपलका पातहरूलाई हल्लाइदियो। सर आत्तिंदै हुनुहुन्थ्यो, ‘ऋचा घर पुगिन क्यारे ! घरसम्मै पुगेस् है भनेर पठाउनु भएथ्यो। तिमी त ह्याँ पो रैछौ’ गोमने थप बोल्यो।

सर आफैं बैठक कोठाबाट बाहिर निस्किएर भलिबल सकी केटाहरूसँग छलफल गरिरहेको गोमनेलाई ऋचा घरसम्म पुगेको बारे खबर लिन पठाएका थिए।

ऋचा अकमकिइन्, बोल्न खोजिनन् अथवा भनौं बोल्न सकिनन्। गोडाहरूलाई चपक्क जोडेर टसमस नगरी बसिरहिन्। गोमनेले उति नै बेला लख काट्यो र फ्याट्ट भन्यो ‘मिन्स भैछ्यौ क्या?’ उसको घरमा दिदी बहिनीहरू महिनावारी भएको कैयौंपटक मेसो पाएको छ उसले। गिमनेको प्रश्नले सतर्क बनायो ऋचालाई। उनी बाहेक यो घटना थाहा पाउने दोस्रो व्यक्ति थियो गोमने।

उसले देखाएको स्वाभाविक प्रतिक्रियाले असहजताको सिंढीबाट थोरै तल झार्‍यो ऋचालाई। चौतारोको पीपलमा चराचुरुङ्गीहरू बाक्लिंदै गए। केही चराहरू भने अझैसम्म घुमेको घुम्यै छन्। मान्छे देखेर होला डालीमा बस्न हिच्किचाइरहेका छन्।

‘मेरो घरमा हिंड’ हाउभाउ सहित आग्रह गर्‍यो गोमनेले। उसको घर त्यहाँबाट नजिकै छ। ‘स्कुलबाट सर फर्किनुहुन्छ अनि सँगै जाउली, हिंड’ भन्दै झोला माग्न हात थाप्यो उसले।

माटोले बनेको जीर्ण घरसँगै जोडिएको पाली सहितको सानो कटेरोमा धुवाँको बीचमा चुलोनजिक रुमल्लिएको आकृति गोमनेकी आमाको हो। दैलोमाथि पालीमा हालिएको झोलुंगोमा ११ महिनाको छोरोलाई हल्लाइरहेकी छ गोमनेकी बहिनी कालीले। गोमने र ऋचा आँगनमा उक्लिए। आमाले देखिहालिन्, एकप्रकारले तरंगित भइन्। जर्‍याक-जुरुक उठेर ‘नमस्ते नानी’ भन्दै नजिकै पुगिन्। ऋचाले पहिलो पटक त्यो घरको आँगन टेकेकी थिइन्। कता ? के ? किन ? कसरी ? जस्ता हर्ष मिश्रित कौतूहलताका भावहरूको सहृदयी स्वागत प्राप्त गरिन् ऋचाले ।

गोमने अल्लि हुत्तिंदै अगाडि गयो र बैनी कालीसँग खासखुस गर्‍यो। बैनी काली गोमनेभन्दा कान्छी तर ऋचा भन्दा थोरैले जेठी केटी हो। चार हो कि पाँच कक्षासम्म त उनीहरू सँगै पढेको याद पनि छ एकअर्कालाई। विस्तारै काली स्कुल आउन छोडी। १४ वर्षमै बिहे भयो उसको। बुढाले पोखरा भैरवटोलको सुन पसलमा काम गर्छन्। हप्तादिन जतिलाई माइत आएकी ऊ तीनवटी बहिनीमध्ये अलि सुकिलीमुकिली छ। संयोगवश मिहिनेती बुढो पाएकी छ उसले। बिहे हुनासाथ पोखरा हान्निएका उसका दुई जना दुखम्-सुखम् गर्दै उतै रमाएर बसेका छन्। मिलाएर कुरा गर्न सिकेकी छे। माइत आउँदा नयाँ-नयाँ बजारिया सामान लिएर आउँछे।

‘यता आउनुस् त’ भनेर ऋचालाई विस्तारै डोर्‍याउँदै कालीले घर भित्र लगी। गोमने झोलुंगोको भान्जासँग जिस्किन लाग्यो। मूलढोका डम्म बन्द गरेर भित्तामा झुन्ड्याएको झोलाबाट स्यानिटरी प्याडको पोको निकाल्दै ‘अब तपाईंले यो लाउनुपर्छ’ कालीले ऋचालाई भनी। ऋचा ट्वाल्ल परिन्।

‘अप्ठेरो मान्न पर्दैन, म बाहिर जान्छु कट्टु खोलेर राख्नु है’ भन्दै निस्किई र बाहिरबाट ढोकाको चुकल कुइक्क लगाई। झोलुंगोमा घोप्टो परेर भान्जासँग जिस्किरहेको छ गोमने। यो बीचमा गोमनेकी आमाले सतही खबर पाइसकेकी छन्। उनको अगाडि कराहीमा दाल भकभक उम्लिरहेको छ।

‘भयो ऋचा?’ ढोकामा कान टँसाएर कालीले सोधी। एकाध सेकेन्डपछि भित्रबाट ‘उम’ सुनियो। कालीभित्र छिरी। ‘अर्को कट्टु छैन, धन्न यो जातिविधि भिजेको रैनछ’ प्रशिक्षकवाला भावमा कुरा गर्दै कालीले पोकाबाट एउटा स्यानिटरी प्याडको पत्ता निकाली। पत्ता ठूलो साइजको हेन्डी-प्लास्ट जस्तो छ। एकापट्टि गम जस्तो टाँसिने भागलाई स्टिकर जस्तो चिल्लो कागजले छोपेको छ भने अर्कोपट्टि सूतीको मुलायम कपडा जस्तो छ। गम जस्तो भागबाट स्टिकर उप्काई र कट्टुको बीच भागमा जुत्तामा सोल लगाए जसरी चिपिक्क टाँसी अनि ऋचालाई भनी ‘ल अब यो लाउनु त।’

यो सब क्रियामा कालीको मुहारमा किञ्चित अप्ठ्यारो वा संकुचन प्रकट भएन। बरु ऋचालाई सहयोग गर्न पाउँदाको आत्मविश्वासी उत्साह देखिन्थ्यो उसको हाउभाउमा। ऋचाले पनि विस्तारै खुकुलो महसुस गर्दै गइन्।

४५ मिनेट जति बित्यो। कालीले ऋचाको झोलामा केही थान प्याड राखिदिई, आमाले एक बटुको दाल खुवाइन्। हल्का-फुल्का कुरा भए। स्कुलका, घर-गाउँका, पोखराका इत्यादि। खै किन हो, यो बीचमा गोमनेको अनुहारमा उसले थाहा नपाउने गरी पुलुक्-पुलुक् हेरिरहिन् ऋचाले।

ऋषि सर बाटोमुनि आउनै लागेको छनक पायो गोमनेले। डिलनिरै गएर बोलायो। हुनत गोमनेको घरतिर हेर्दै र हतारिंदै आइरहेका थिए सर। बुबालाई भेट्नासाथ गर्ल्याम्म अँगालो हालिन् ऋचाले। वातावरण भावुक बन्यो।

****

टर्च बालेर अगाडि हिंडिरहेको गोमनेलाई बाबु-छोरीले पछाडिबाट पछ्याइरहेका छन्। महत्वपूर्ण समयमा छोरी सँगै हुन नपाएको र आफ्नो कारणले छोरी एक्लो परिन् भन्ने ग्लानिबोधका भावहरूले सरलाई बाटैभरि पिरोलिरहे। ‘सर, घर आइपुग्यो। म फर्किन्छु है’ टर्चको प्रकाशले कुरेर बसेकी लक्ष्मी आन्टीका आँखा चम्किएपछि गोमनेले विदा माग्यो।

गीत गुनगुनाउँदै गोमने सुनारटोलतर्फ फर्कियो। परिवारका तीन सदस्य भने गुनगुन गर्दै घरतर्फ लागे। ऋचा हत्तपत्त आँटीमा उक्लिइन् र झ्यालबाट बाटोको परसम्म हेरिरहिन्। अँधेरो बाटोमा टर्चको प्रकाश झल्याकझुलुक गर्दै परपर गइरह्यो र केहीबेरमै हरायो।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School