ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा



प्रकाशित मिति : भाद्र १९, २०८१ बुधबार

व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।

गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिनुभयो । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उहाँको भनाइ छ ।

“पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ”, किसान कठेतले भन्नुभयो, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।”

विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी रु सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी रु एक सय ५० मा बिक्री हुने उहाँको भनाइ छ । ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उहाँले जानकारी दिनुभयो । त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताउनुभयो । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ ।

ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उहाँले बताउनुभयो । राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उहाँको भनाइ छ ।

किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताउनुभयो । भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उहाँको भनाइ छ । आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उहाँको भनाइ छ । गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताउनुभयो । ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उहाँको भनाइ छ ।

हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उहाँले जानकारी दिनुभयो । एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ ।

भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताउनुभयो । सामुदायिक वनमा चरिचरनको लागि शुल्क तिर्नुपर्दा किसान थप मारमा परेको उहाँको भनाइ छ । विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुख्र्यौली व्यवसाय धान्न मुस्किल पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

“भेडापालन व्यवसायमा धेरै समस्या छन्” उहाँले भन्नुभयो, “लेकाली भेगमा गरिने पेशा भएकाले दुःख धेरै छ । त्योसँगै ऊन बिक्री हुन छाडेको अवस्था छ । विभिन्न रोग तथा घरपालुवा कुकुर, भालुलगायत जङ्गली जन्तुले भेडा मारिदिँदा धेरै क्षति हुन्छ ।” ऊन बिक्री हुन छाडेपनि भेडाको मासु, घ्यू तथा भेडाको बोका (बल्याख्रा) को बिक्रीबाट घरपरिवार चलाउँदै आएको उहाँ बताउनुहुन्छ । भेडाको घ्यू डढेको, पोलेको घाउमा औषधिका रूपमा प्रयोग हुने उहाँले जानकारी दिनुभयो । भेडाको मासु प्रतिकेजी रु एक हजार पाँच सयदेखि दुई हजारसम्म र घ्यू प्रतिमाना रु दुई हजारमा बिक्री हुने उहाँले बताउनुभयो ।

भेडाको चार–पाँच महिनाको बोका रु १५ हजारदेखि १८ हजारसम्ममा बिक्री हुने उहाँको भनाइ छ । भेडाको बोकाको भने धेरै माग हुने उहाँले बताउनुभयो । भेडापालनमा नयाँ पुस्तालाई आकर्षित गर्न राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । भेडापालन व्यवसायलाई संरक्षण नगरिएमा केही समयपश्चात पेशा नै सङ्कटमा पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । रासस





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School