‘उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’



गत चुनावअघि नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं–५ मा उम्मेदवार बनेका प्रणयशमशेर राणाले साढे तीन वर्षपछि उक्त दल त्यागेका छन् ।

पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठका विज्ञ सल्लाहकार भएर काम गरेका राणा रास्वपाको केन्द्रीय एनआरएन विभागको उपप्रमुखको भूमिका निर्वाह गरे । एनआरएन विभागलाई प्रवास विभागमा मर्ज गरियो । पछिल्लो समय उनी रास्वपाको गुनासो व्यवस्थापन विभागमा कार्यरत थिए ।

पार्टी सञ्चालन प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाउँदै राणाले बिहीबारबाट रास्वपा त्यागेका छन् ।

राजीनामा गर्नुमा मूलतः आसन्न प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोटको नाममा आर्थिक घोटाला भएको जनाउँदै उनले पार्टी परित्याग गरेका छन् । उनै राणासँग अनलाइनखबरले गरेको कुराकानीः

२०७९ सालको चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर काठमाडौं–५ मा उम्मेदवार हुनुभएको थियो । आज रास्वपा परित्याग गरेको घोषणा गर्नुभयो । साढे तीन वर्ष आवद्द रहेको दल छोड्ने निर्णयमा किन पुग्नुभयो ?

पार्टीभित्र भएका बेथिति, महाधिवेशन गर्ने कुराहरू लगायत धेरै विषयमा पार्टी कहिले पनि जवाफदेही देखिएन । आन्तरिक लोकतन्त्रमा पनि पार्टीले आफ्नो अभ्यास राम्रो गरेन । मैले राजीनामा दिएको पत्रमा सबै कुरा लेखेको छु ।

निर्वाचन गरेर नेतृत्व चुनिएको क्षेत्रीय समितिमा आफ्नो अनुकूल मान्छे भएन भनेर कहिले समिति नै विघटन गर्ने काम भएको छ । निर्वाचित भएर आएको क्षेत्रीय समितिलाई बचाउनुपर्छ भनेर लडें । लोकतान्त्रिक पद्धतिबाट बनेको निर्वाचन क्षेत्रलाई हटाउनु हुन्न भनें । विधान संशोधन गरेर अलोकतान्त्रिक पद्दति बनाउने काम भयो ।

प्राइमरी इलेक्सनको मतभार ५० प्रतिशत बनाएर अरु अतिरिक्त ५० प्रतिशत राख्न हुँदैन भनेर संगठनको तर्फबाट राष्ट्रिय भेलामा मैले बोलेको हुँ ।

प्रारम्भिक मतदानबाट प्राप्त अंकलाई नै फाइनल गर्नुपर्छ भन्दै आएको हुँ । प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने विधान राखिएको छ । आन्तरिक लोकतन्त्रिक प्रक्रिया अबलम्बन गरिएन ।

अर्को विषय, विभिन्न बहनामा पार्टीको महाधिवेशन सार्ने काम भयो । एमाले र कांग्रेसले महाधिवेशन गर्ने हिम्मत गरे । रास्वपाको महाधिवशेनको मिति सारेको सार्‍है गरियो । आन्तरिक लोकतन्त्र र पार्टीभित्रको सुशासनको लागि लाख कोसिस गर्दा पनि सुधार गर्न सकिएन ।

पार्टीमा जवाफदेहिता र विशेष गरी आर्थिक पारदर्शिता देखिएन । आर्थिक पारदर्शिताका कुराहरू केहि समय अगाडि देखि उठाईरहेको थिएँ । रास्वपाको सदस्य हुँदा लाग्ने एक हजारबाट ३०० रुपैयाँ पालिका समितिमा जाने भनिएको थियो ।

प्राइमरी इक्लेसनबाट उम्मेदवार छनोट गर्न समानुपातिकमा ५० हजार रुपैयाँ तोकिएको थियो । समानुपातिकबाट उम्मेदवार हुन इच्छुक भएर आवेदन दिएकाहरूको कसको कति नम्बर आएको बारेमा जानकारी नै दिइएन । समानुपातिकमा १० प्रतिशत प्रवासी नेपालीबाट उम्मेदवार बनाउने नीति बनाइएको थियो । तर, प्रवासीबाट समानुपातिकमा उम्मेदवार शून्य छन् ।

बालेन र कुलमानतिरबाट आएकाहरुका लागि समानुपातिकमा भागबण्डा गरिँदा रास्वपाले आफ्नो तर्फका उम्मेदवारमा विधि लागु गर्न सक्थ्यो नि । बालेनजीको ४० र कुलमानजीको १४ जना छोडेर बाँकीमा पार्टीले बनाएको विधि लागु गरेको भए हुने थियो । रास्वपा तर्फबाट प्राप्त हुने संख्यामा किन आन्तरिक प्रतिस्पर्धा गर्न सकिएन ?

पार्टीभित्र यो अवधिमा जति खबरदारी गर्दा पनि सुधार भएन । आफ्नो क्षेत्रको उम्मेदवार त्यही क्षेत्रले छान्न सक्ने संगठनको अधिकारी पनि लुटियो । उहाँहरुलाई संगठन पनि नचाहिने, केहि पनि नचाहिने, विधि–विधान भन्दामाथि रहेर जुन बेला मन लाग्यो त्यहि बेला सचिवालयबाट मनपर्ने निर्णय गर्ने गरियो । केन्द्रीय समिति पनि उहाँहरुलाई चाहिएन । एउटा केन्द्रीय सचिवालय छ, त्यहाँबाट जे पनि निर्णय गराउने अत्यँत अलोकतान्त्रिक पद्दति बसाइयो ।

पार्टी स्थापनाका गर्नुको लागि जे हामीलाई बुझाइएको थियो, त्यो फाउण्डेसन नै नरहेपछि बस्न उपयुक्त लागेन । यो पार्टी फरक र राम्रो हुन्छ भनेर आएकोमा त्यसमा औचित्यता नै नरहेपछि र अनेक कोसिस गर्दा पनि सुध्रिने अवस्था नदेखेपछि राजीनमा दिएँ ।

पार्टी सुधारका लागि ‘तपाईंले उठाएका एजेण्डा ठीक हुन् यसमा सुधार गर्नुपर्छ’ भन्ने बुझाईमा नेतृत्व कहिले पनि रहेन ?

राष्ट्रिय भेलामा त्यति धेरै कुरा उठायौं । प्राइमरी इलेक्सनलाई शतप्रतिशत मान्नुपर्दछ भन्ने कुरालाई सबैले अनुमोदन गरेको विषय हो ।

चितवनको विस्तारित बैठकमा अर्ली अधिवेशन गर्ने हो कि भन्ने कुराहरु पनि भएका थिए । चुनावको एक महिना अघि महाधिवेशन गर्ने कुराहरु उठेका थिए । चितवनमा हामी भालुपुराण सुन्न गए जस्तो मात्रै भयो । भेलामा प्रस्तुत गरिएको दस्तावेजमा पाँच समूहमा छलफल हुँदा अधिकांशले अर्लि महाधिवेशनमा जानुपर्ने भएको थियो । कार्यवाहक सभापतिले भोलिपल्ट अधिवेशन हुँदैन मात्र भन्नुभयो । विस्तारित बैठकमा आएका प्रतिनिधि आफ्नो मत पनि राख्न पाएनन् ।

पार्टी केन्द्रले संगठनको कुरा सुन्ने लोकतान्त्रिक तरिका कहिले देखाएन । पार्टी सुधारका लागि पटक-पटक कोसिस गरियो । तोसिमा कार्कीले धेरै आवाज उठाउनु भएको थियो । उहाँलाई भित्रैबाट खेद्ने काम भयो । साइबर अट्याकहरु भए ।

बेथितिको अन्त्य गरेर थिति बसाउने भनेर आएको रास्वपा बेथितिको सुरुवात गर्न आएको रहेछ भन्ने तपाईंको निश्कर्ष हो ?

बाहिर सुनाउनका लागि सुशासन, जवाफदेहिता, पारदर्शिता भनिरहनु भएको छ । चुनावको मुखमा त्यत्रो प्राइमरी इलेक्सनमा स्क्याम गर्नुभएको छ । हामीसँग चुनावको बेला प्राइमरी इलेक्सन गर्ने भनेर प्रत्यक्ष पैसा उठाइ सकेपछि अब यो विधि हुँदैन भन्ने भन्नुहुन्छ ।

जतिबेला जे मन लाग्यो, त्यतिबेला जेपनि गर्न पाइने रहेछ । त्यसो भए, निर्वाचन आयोगलाई बुझाएको विधानमा प्राइमरी इलेक्सन गर्ने भनेर किन लेखिएको ? अहिले विशेष परिस्थिति भनिएको छ । राजनीतिमा विशेष परिस्थिति आकलन गरेर सम्भावित सबै कुराहरु यस्तो हुन सक्छन् भनेर विधि विधान बनाउने हो ।

चुनावको मुखमा आएर प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोटको नाममा आर्थिक घोटला गरिन्छ भोलि यो दलले सुशासन गर्छ भनेर कसरी पत्याउने ?

काठमाडौं–५ को उम्मेदवार हुन आकांक्षी तपाईंले पार्टीले टिकट नदिएपछि यो आरोप लगाएको भनिरहेका पनि छन् नि ?

मैले यो कुरा राष्ट्रिय भेला देखि उठाएको हुँ । मेरो ट्वीटर अकाउन्टमा गएर अढाई वर्ष अगाडि ट्विट हेर्नुभयो । त्यतिबेला पनि प्रश्न उठाएको छु ।

राष्ट्रिय भेलामा बोलाइसकेपछि निर्णयका ड्राफ्ट पनि हामीले पढ्नै नपाइकन पारित गर्ने ? संगठनका सबैजना मान्छेहरुको बौद्धिकताको स्तर समान त हुँदैन । दस्तावेजका दुई बुँदा प्रस्तुत गरेर बाँकी विषय देखाउने वा वितरण गर्ने पनि गरिएन ।

प्राइमरी इलेक्सनको काम भर्खर भएको हो । भर्खरको बेथितिलाई देखेर म बोलें । टिकट नपाएको भनेर यो कुरा उठाएको भन्ने हो भने त सदस्यले बुझाएको तीन सय रुपैयाँ पालिका समितिले प्राप्त गर्नुपर्ने पहिले भन्दै आएको हुँ । खबरदारी त मैले गर्दै आएको हुँ । संगठनमा जथाभावी गर्ने कामको रोक्न खबरदारी गरेकै हुँ । प्राइमरी इलेक्सनलाई शतप्रतिशत मानेर निर्णय गर्नुपर्ने बैशाखको राष्ट्रिय भेलामा खबरदारी गरेको हुँ ।

तपाईंले राजीनामा दिएको विषयलाई कतिपयले अलि फरक तरिकाले विश्लेषण पनि गरेका छन् । तपाईं पूर्व कांग्रेसमा फर्कनका लागि रास्वपा त्याग्नु भएको चर्चाबारे के भन्नुहुन्छ ?

मैले पहिला राजीनामा दिनुभयो भनेको यो पार्टीले आर्थिक विषयमा नागरिकलाई के भन्छ भनेर पनि हो । समयको हिसाबले उम्मेदवार हुन पाएन भनेर अर्थ लगाए पनि भयो । आफ्नो स्थानबाट सुध्रिने छाँटकाँट नदेखिपछि राजीनामा दिएको हुँ । रास्वपामा बसेर समय खर्च गर्न उपयुक्त लागेन ।

कसैले कांग्रेस जान छोडेको भन्लान्, कसैले एमाले भन्लान्, कसैले राप्रपा भन्लान् । अहिलेसम्म कुनै पनि पार्टी प्रवेश गरेको पनि छैन । केही निर्णय गरेको पनि छैन । राजनीति त म गर्छु नै । फुटबल खेलाडी मेस्सीले बार्सिलोनाबाट खेले । त्यहाँ नमिलेपछि पीएसजी गए, त्यसपछि उनी इन्टरमियामी गए । म पनि एउटा राजनीतिको एउटा कुशल खेलाडी हुन चाहन्छु । म खाली बस्न सक्दिन, मेरो त्यो नेचर छैन । तर अहिलेको समयमा मैले कुनै पनि डिसिजन लिएको छैन ।





Source link

Leave a Comment