उम्मेदवारलाई चुनाव चिह्न : जुँगासहितको अनुहारदेखि महिलासम्म


निर्वाचन आयोगले इलाम क्षेत्र-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई महिलादेखि जुँगासहितको अनुहारसम्मका चुनाव चिह्न दिएको छ।

१२ दलका चुनाव चिह्नबाहेक सात स्वतन्त्र उम्मेदवारलाई उनीहरूले रोजेका चुनाव चिह्न प्रदान गरिएको हो। पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमलाई मुडा चुनाव चिह्न दिइएको छ।

अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले महिला चुनाव चिह्न पाएका छन् भने स्वतन्त्र उम्मेदवार राज बस्याललाई जुँगासहितको अनुहार चुनाव चिह्न प्रदान गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अर्का स्वतन्त्र उम्मेदवार अर्जुन शाहीले डोजर, दीपेश बोहोराले सिरिन्ज, योगेन्द्र गुरुङले कैँची र मनोज निरौलाले माछा चिह्न पाएका छन्।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले उम्मेदवारले चुनाव चिह्न पाएपछि मतपत्र छपाइ हुने बताए। उपनिर्वाचनका लागि २० दल दर्ता भएकामा १२ दलले उम्मेदवार बनाएका छन् भने स्वतन्त्र उम्मेदवारको संख्या सात छ।

एक जनाको उम्मेदवारी फिर्ता

उपनिर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाले फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार केशवप्रसाद चापागाईंले उम्मेदवारी फिर्ता लिएका हुन्।

अब निर्वाचनमा भिड्ने उम्मेदवारको संख्या १९ भएको छ। कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार चैत २८ देखि वैशाख १२ सम्म चुनाव प्रचार अवधि तोकिएको छ।

प्रकाशित: २७ चैत्र २०८० २०:३८ मंगलबार





Source link

Leave a Comment