उमागौरी सहकारीको बदमासी, बैंकबाट १० लाख झिक्ने, ऋणीलाई २ लाख मात्र दिने

उमागौरी सहकारीको बदमासी, बैंकबाट १० लाख झिक्ने, ऋणीलाई २ लाख मात्र दिने


३१ भदौ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ का मासु व्यवसायी सेराज अन्सारी पछिल्लो तीन वर्षयता लिँदै नलिएको ऋणको किस्ता तिर्नुपर्ने बाध्यतामा छन् ।

उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारले झुक्याएका कारण उनले नलिएको ऋणको भारी बोक्नुपरेको छ ।

अन्सारीलाई सहकारीका अध्यक्ष रौनियार जिजाजी (भिनाजु) भन्ने गर्थे । २०७८ सालमा सस्तो ब्याजदरमा महिला उद्यमशील कर्जा दिने आश देखाए, चिनजान राम्रै भएका कारण उनी श्रीमती खुश्बु खातुनको नाममा ऋण लिन तयार भए । कागजात बुझाएको एक–डेढ महिनापछि सहकारीका कर्मचारीले उनलाई २ लाख रुपैयाँ ऋण दिए । उनले मासिक १० हजार रुपैयाँका दरले किस्ता बुझाइरहे ।

८–९ महिनापछि विराटनगरको महेन्द्र चोकस्थित नबिल बैंकको शाखाबाट किस्ता किन नतिरेको भन्दै फोन आयो, उनले सहकारीमा मासिक १० हजार बुझाइरहेको सुनाए, तर बैंकका कर्मचारीले १० लाख ऋण लिएदेखि किस्ता तिरेको छैन, तिरिहाल्नु भन्दै फोन काटे ।

सेराजलाई आफूले नबिल बैंकबाट ऋण लिएको थाहै छैन । तर कागजात हेर्दा उनले बैंकबाट १० लाख लिएको देखियो । सेराजले सोधीखोजी गरेपछि उमागौरीका अध्यक्ष रौनियारले १० लाख ऋण लिएर ८ लाख आफूले चलाएको स्वीकार गरे । दुई जनाबीच भनाभन भयो ।

अध्यक्ष रौनियारका भाइ विनोदले बाहिर नभन्नू भन्दै ३ लाख रुपैयाँको चेक दिएका छन् । तर त्यो चेक ११ माघ २०८१ मा मात्र साटिने लेखिएको छ ।

‘बैंकबाट १० लाख निकालेर ८ लाख उसले खाएछ, हामीलाई २ लाख मात्रै दिए’, अन्सारी भन्छन्,‘ सहकारीमा किस्ता एक लाख ६० हजार जति तिरेको छु । त्यसपछि तिरेको छैन ।’ रौनियारबाट ठगिएका सेराजको नाममा नबिल बैंकमा ऋण ११ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

****

कर्सिया बजारको रविन ज्वेलर्सका सञ्चालक राजेश साहलाई पनि सहकारीका अध्यक्ष रौनियारले सेराजलाई झैं ठगी गरेका छन् । सस्तो ब्याजमा महिला उद्यमशीलता कर्जा दिने भन्दै साहकी पत्नीको नाममा नबिल बैंंकबाट १० लाख रुपैयाँ लिएको पाइएको छ ।

१० लाखको ऋण लिने कागजमा हस्ताक्षर गराएर २०७८ फागुनमा साहलाई रौनियारले एक लाख रुपैयाँ दिए । बैंकबाट ऋण स्वीकृत भएको छैन भन्दै झुलाएका उनले पाँच महिनापछि पाँच लाख ४२ हजार रुपैयाँको चेक दिए । यसरी कुल ६ लाख ४२ हजार रुपैयाँ पाएका साहले त्यस ऋणबापत उमागौरी सहकारीमा मासिक २६ हजार रुपैयाँ बुझाइरहे ।

एक वर्षपछि नबिल बैंकका कर्मचारीले फोन गरेर उनलाई किस्ता किन नतिरेको भन्दै प्रश्न गरे । सहकारीलाई बुझाइरहेको बताएपनि बैंकका कर्मचारीले बैंकमा बुझाउन भने । बैंकमा गएर बुझ्दा उनको नामको ऋण २०७८ चैतमा लक्ष्मण साहले लिएको भेटियो ।

‘मेरो नामको चेक कर्मचारी मार्फत भजाएछन्, तर मलाई पैसा आएको छैन आइहाल्छ भन्दै झुलाइरह्यो’, उनी भन्छन्, ‘मैले मासिक २६ हजार किस्ता तिरिरहे ।’ उनले पटक पटकको किस्ता गरी सहकारीमा तीन लाख रुपैयाँ बुझाइसकेका छन्, ऋण दिने बेलामा सहकारीले एक लाख रुपैयाँ सेयर खरिद बापत भनेर कटाएको थियो ।

कपडा पसल विस्तारका लागि नारायण खनालले २०७७ सालमा छोरीको नाममा १० लाख रुपैयाँ महिला उद्यमशीलता कर्जा लिएका थिए । सहकारीको कार्यालय र उनको पसल नजिकै छ । सहकारी अध्यक्ष रौनियारले उनलाई ऋण दिनुअघि एक लाख रुपैयाँको सेयर खरिद गर्न लगाए ।

बैंकबाट पाएको पैसामध्ये एक लाख सेयर किनेर बाँकी रहेको ९ लाख रुपैयाँ उनले पसलमा लगाए । मासिक २६ हजारका दरले सहकारीमा २२ किस्ता रकम बुझाए । पछि उनलाई पनि बैंकबाट फोन आयो । त्यसपछि उनले बैंकमा तिर्न थाले । सहकारीमा बुझाएको रकम ठगिएपछि उनी अहिले बैंकमा किस्ता तिर्दैछन् ।

उमागौरी सहकारीको बदमासी, बैंकबाट १० लाख झिक्ने, ऋणीलाई २ लाख मात्र दिने

‘सहकारीमा तिर्दा हुन्छ भनेपछि मैले नियमित तिरेँ, उसले (सहकारीले) सुरुमा दाखिला गरेछ, पछि बैंकमा दाखिला गर्न छाड्यो’, उनले भने,‘ बैंकले फोन गरेपछि अहिले बैंकमा तिर्दैछु ।’

उमागौरी सहकारीबाट महिला उद्यमशीलता कर्जा लिएर ठगिएका उनीहरु मात्रै होइनन् । नबिल बैंकसँगको सम्झौतापछि उमागौरीले २०७७ सालदेखि महिला उद्यमशील कर्जा दिन थालेको थियो ।

कोषाध्यक्ष शम्भुप्रसाद सिंहका अनुसार सहकारीले ८५ जनालाई महिला उद्यमशीलता कर्जा लगानी गरेको छ । नेपाल सरकारले ब्याज अनुदान दिने यो योजनामा सुरुसुरुमा सहकारीले सदस्यबाट किस्ता उठाएर बैंकमा बुझाएको थियो, पछिल्लो समय बुझाएको छैन ।

नविल बैंकले सहकारी मार्फत ऋण लगानी गर्दा सुरुमा एकमुष्ट रकम बैंकले दिने र सहकारीले किस्ता संकलन गरेर बुझाउने सम्झौता भएको थियो । तर अध्यक्ष रौनियारले सहकारीको रकम आफ्नो व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको ठगिएकाहरु बताउँछन् ।

पाँच हजार शेयर सदस्य रहेको सहकारीले अहिले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ देखाइएको छ ।

बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष रौनियार भने सहकारीको कार्यालय बन्द गरेर विराटनगर बस्न थालेका छन् । सहकारीमा ऋण माग्न आउने सदस्यको जग्गा धरौटी राखेर अध्यक्ष रौनियारले चार वटा बैंक र एउटा लघुवित्तबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको पाइएको छ ।

लेखा समिति सभापति भन्छन् : म पनि पीडित हुँ

कर्सियामा २०६८ सालमा स्थापना भएको सहकारी संस्थामा २०७७ सालदेखि समस्या सुरु भएको थियो । यो सहकारीमा २०७२ देखि २०७८ माघ ५ गतेसम्म एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला पोखरेल पनि सञ्चालक समिति सदस्य थिइन् ।

कोइरालाले २०७८ माघ ५ गते राजीनामा दिएकी थिइन् । त्यसको १० दिनपछि माघ १५ गतेको १० औं साधारणसभाले उनको राजीनामा स्वीकृत गरेको थियो ।

शिक्षण पेशामा आवद्ध कोइरालाले सहकारीमा आर्थिक समस्या देखिएपछि राजीनामा दिइकी थिइन् । तर उनी सञ्चालक हुँदा आरएसडिसी लघुवित्त वित्तीय संस्थाबाट लिएको करिब ३ करोड ऋण नतिरेपछि लघुवित्तले अध्यक्ष रौनियार, सांसद पोखरेल पत्नी अञ्जलासहित सञ्चालक समितिमा रहेकाहरुलाई कालोसूचीमा राखेको थियो ।

उमागौरी सहकारीको बदमासी, बैंकबाट १० लाख झिक्ने, ऋणीलाई २ लाख मात्र दिने
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार ।

बुटवलस्थित आरएसडीसी लघुवित्तको ऋण नतिरेपछि राष्ट्र बैंकको कर्जा सूचना केन्द्रले २०७९ पुस १३ गते उमागौरी र त्यसका पदाधिकारीलाई कालोसूचीमा राखेको थियो । लघुवित्तले सहकारी र सञ्चालक विरुद्ध दायर गरेको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ ।

सहकारीले सदस्यको कर्जा धितो राखेर अन्य बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको छ । त्यो ऋण नतिरेका कारण धनौटीमा जग्गा दिने सदस्यहरु समस्यामा छन् ।

कोषाध्यक्ष शम्भुकुमार सिंहका अनुसार संस्थामा ठूलो ऋण माग्न आउने सदस्यको जग्गा बैैंकमा धितो राखेर सहकारीले ऋण निकालेको छ ।

‘ठूलो ऋण लिन आउँदा सहकारीले सदस्यको धितो बैंकमा राखेर मागेको भन्दा बढी पैसा निकालेर सदस्यलाई मागेजति दिएको छ’, उनले भने, ‘सदस्यले आफूले चलाएको ऋण तिरेपछि सहकारीले पनि चलाएको ऋण चुक्ता गरिदिन्छ ।’

अध्यक्ष रौनियारको एकल निर्णयमा चल्ने सहकारी भएको भवन उनको निजी जग्गा हो । सहकारी सुरु गरेपछि उनले जग्गा खरिद गरेका थिए ।

‘अहिले अफिस भएको जग्गा २ कट्ठा जति छ, अफिस भन्दा अगाडि (हुलाकी मार्ग उत्तर) को घडेरी पनि उसैको हो, यही सहकारीको पैसाले विराटनगरमा दुई तले घर पनि बनाएको छ’ रौनियारको अस्वभाविक आम्दानी देखेका एक स्थानीयले भने ।

लेखा समिति सभापति ऋषिकेश पोखरेल उमा गौरी कृषि सहकारीबाट आफू पनि पीडित भएको बताउँछन् ।

‘मेरो मेडमलाई उसले (शम्भु रौनियारले) सदस्य बनाएको रहेछ, पछि थाहा पाएँ,’ अनलाइनखबरसँग उनले भने, ‘सहकारी पीडितमध्ये एउटा म पनि हो, पाँच वर्ष भयो छाडेको, स्कुल पढाइरहेको मान्छेलाई भाउजु बस्दा सजिलो हुन्छ भन्दै सही (हस्ताक्षर) गराएर झुक्याए ।’

अञ्जला पनि आफूलाई अध्यक्ष रौनियारले ठगी गरेको बताउँछिन् । शिक्षण पेशामा रहेकी उनले अध्यक्ष रौनियारले आफ्नो नक्कली हस्ताक्षर प्रयोग गरेको बताइन् ।

सांसद पत्नी कोइराला विराटनगर–८ की बासिन्दा हुन् । स्थापना हुँदा उनी जोडिएको उमागौरी सहकारीको कार्यक्षेत्र कदमाहा, दादरबैरिया, सोराभाग, रंगेली र बबियाविर्ता थियो ।

विराटनगर कार्यक्षेत्र नभए पनि उनी सञ्चालक समितिमा बसिन् । सहकारी ऐनमा कार्यक्षेत्र बाहिरकालाई सदस्य बनाउन नमिल्ने प्रावधान छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School