उपचारमा विज्ञानसँगै अध्यात्म


विज्ञान सदैव क्रिया र प्रतिक्रियामा विश्वास गर्छ। निश्चित मात्रामा विषादी सेवनपछि व्यक्तिको मृत्यु हुन्छ। विषले शरीरका अत्यावश्यक अंगमा प्रहार गर्ने भएकाले मुख्य अंगहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्दैनन्। मुटु, मस्तिष्क अनि फोक्सोले काम गर्न नसक्दा मानिसको मृत्यु हुन्छ।

विष र शरीरको सम्बन्ध प्रष्ट छ, विज्ञानको व्याख्या सरल छ। तर अब अर्को उदाहरण हेरौँ। कोभिडका कारण केही मानिसको मृत्यु भयो, अधिकांश बिरामी हुन्थे भने केहीलाई भाइरसले छुँदै छुँदैनथ्यो। केही व्यक्तिलाई भने कोभिड निको भएपछि पनि लामो समयसम्म विविध स्वास्थ्य समस्याले सताएको देखिन्छ। वर्षौँको प्रयासपछि पनि किन संक्रमणले सबैलाई समानरूपले सताउँदैन त भन्ने प्रश्नको ठोस जवाफ प्राप्त हुन सकेको छैन।

आखिरमा के कारण भाइरसले कसैलाई थलाउने, कोहीलाई छुँदै नछुने अनि कोही मृत्युको मुखमा पर्छन् भन्ने प्रश्नको सम्बन्धमा अन्वेषणकर्ताले जवाफका लागि शारीरिक प्रतिरक्षा प्रणालीको सहारा लिन्छन्। प्रतिरक्षा प्रणालीले मानिसलाई जीवाणुबाट जोगाउने भएकाले चिकित्सकको बनिबनाउ उत्तर वैज्ञानिक हिसाबले अन्यथा होइन। यथार्थमा प्रतिरक्षा प्रणालीको स्तर र संक्रमणको चरणबीच तालमेल देखिएन।

एकै घरमा विभिन्न रोगले थलिएका अनि प्रतिरक्षा प्रणालीसँग सम्झौता गर्न बाध्य व्यक्तिले कोभिडलाई सजिलै जितेको अनि उमेरदार हट्टाकट्टा छोराले कोरोनासँग परास्त हुनुको उत्तर दिन असमर्थ हुन्छ विज्ञान। मातापिताको आनुवांशिक साझेदारी गरेका अनि एकै परिवारमा बस्नेहरूबीचको अतुलनीय स्वास्थ्य विभेदको उत्तर सहज छैन विज्ञानसँग। जब विज्ञानको सामथ्र्य सकिन्छ तब अव्यक्त शक्तिको तागत सुरु हुन्छ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा लगानी अनि मार्गदर्शन गर्ने संसारको सबैभन्दा ठूलो संस्था हो अमेरिकाको न्यासनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)। अर्बौं डलरको वार्षिक बजेट रहेको उक्त संस्थाको एक दशकसम्म प्रमुख कार्यकारी थिए चिकित्सक फ्रान्सिस कोलिन्स। अग्रजहरूभन्दा फरक ढंगले सोच्ने डा. कोलिन्सले परम्परागत ओखतीभन्दा अन्य उपायमार्फत पनि मानवलाई अझ बढी स्वस्थ बनाउन सकिन्छ भन्ने सोचका कारण अन्वेषण लगानीलाई फराकिलो पारे। परम्परागत वैकल्पिक उपचार पद्धति र विज्ञानले ठम्याउन नसकेका पृथक माध्यमबाट ओखतीले गर्न नसकेको काम गर्न सक्छ भन्ने मान्यता थियो उनको।

आफ्नै सक्रियतामा ओखतीले ठीक पार्न नसकेको मानसिक रोग तथा अन्य विसंगति संगीतमार्फत सन्चो हुने तथ्यांक प्रस्तुत गरे। संगीतमामार्फत रोगको इलाज गर्ने नवीन उपचार पद्धति ध्वनि उपचार (साउन्ड हेल्थ)को सुरुआत गरे कोलिन्सले। विज्ञानका विद्यार्थी भए पनि धार्मिक आस्था, भगवान अनि धामी झाँक्री जस्ता पृथक् उपचार विधिले पनि काम गर्न सक्छ भन्ने सोच थिएन उनमा। आफ्नो पुख्र्यौली धर्मका अटल विश्वासी कोलिन्स विज्ञान र आस्था एकअर्काका परिपूरक ठान्छन्। आयुर्विज्ञानको सबैभन्दा ठूलो आश्चर्य हो प्लेसिबो इफेक्ट (प्लेसिबो प्रभाव)। विभिन्न किसिमका रोगीलाई जानकी मन्दिरमा बेच्ने चिनीको डल्लालाई ओखतीको बट्टाबाट निकालेर खान दिँदा सञ्चो हुनु नै प्लेसिबो इफेक्ट हो। दबाइको चरित्र नै नभएको चिनीको ट्याब्लेट सेवनपछि एक स्थान र निश्चित वर्गका मानिस मात्र होइन संसारभर नै बिरामीको ठूलो हिस्सा सञ्चो भएको महसुस गर्छन्।

अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयका प्लेसिबो वैज्ञानिक डा. टेड क्याप्चुक ओखतीले निको पार्छ भन्ने आत्मविश्वासलाई नै प्लेसिबो इफेक्टको कारक ठान्छन्। माइग्रेन, बेचैनी, दिमागी अशान्ति जस्ता धेरै किसिमका रोगको इलाजमा यो छद्म उपचार विधि प्रभावकारी रहेको ठान्छन् क्याप्चुक। पेटको समस्या लिएर आएका बिरामीहरूलाई ओखती जस्तो देखिने कुनै पनि वस्तु सेवन गर्न दिए पनि आधा रोगी सन्चो भएर घर फर्कने तथ्यांकले देखाएको बताउँछन् क्याप्चुक।

पेटका बिरामीलाई नक्कली ओखतीले साँच्चिकै सञ्चो बनायो कि मानिसको भ्रम हो भन्ने पत्ता लगाउने क्रममा फङ्सनल एमआरआई स्क्यान विधि प्रयोग गरियो। पेटमा दर्द हुँदा दिमागको एक भाग सक्रिय हुन्छ अनि उक्त कुराको एकिन गर्न एमआरआई गरिन्छ। स्क्यानले दुखेर अस्पताल जचाउन आएका बिरामीको सुरुमा चलायमान मस्तिष्कका विभिन्न भागहरू कृत्रिम ओखती सेवनपछि सञ्चो हुँदा विगतका सक्रिय दिमागका खण्डहरू सुषुप्त देखिन्छन्। अथवा एमआरआईले बिरामीले बहाना बनाएको नभई उसको दुखाइ साँच्चिकै सन्चो भएको पुष्टि गर्यो। प्लेसिबो इफेक्टले रोग हरण गर्ने पुष्टि भयो। दिमागलाई ओखती खाएको भान पार्दा सञ्चो हुन्छ भने त्यस्तै अन्य गैरआयुर्वैज्ञानिक विधिले मस्तिष्कलाई ढाडस दिन सक्ने हो भने बिराम ठिक हुन्छ भन्ने सोच राख्नु अन्यथा भएन।

मस्तिष्कले स्नायु संयन्त्रमार्फत शरीरका मुटु, फोक्सोलगायतका सबै अंग प्रत्यंगलाई नियन्त्रण गर्छ। दिमागले दुःख, पीडा, मानसिक थकान जस्ता दिमागी समस्यामा मात्र होइन, बरु प्रतिरक्षा प्रणालीको सबलीकरणमार्फत हामीलाई भाइरस, ब्याक्टेरियालगायतका सूक्ष्माणुको संक्रमणबाट हामीलाई सदैव जोगाउँछ। इन्डोक्राइन सिस्टमलाई नियन्त्रणमा लिई हर्मोन तथा प्रोटिनको मात्रा हेरफेर गरी आनुवांशिक रोगमा पनि मस्तिष्कले भूमिका खेलेको देखिन्छ। तसर्थ, मस्तिष्कले आफ्नो दायित्व निर्वाहमा नचुक्ने हो भने धेरै किसिमका शारीरिक तथा मानसिक समस्या पछि धकेलिने निश्चित छ। दिमागलाई स्वस्थ बनाउने सबैभन्दा उत्तम उपाय भनेको मस्तिष्कलाई सबै कुरा ठिक छ भन्ने भरोसा जगाउनु नै हो।

स्टानफोर्ड युनिभर्सिटीकी प्राध्यापक टान्या लर्रम्यानकाअनुसार धार्मिक विश्वास मस्तिष्कलाई स्वस्थ राख्ने सबैभन्दा उत्तम उपाय हो। भगवान तथा अदृश्य शक्तिप्रतिको विश्वासले व्यक्तिको दिमागलाई तन्दुरुस्त राख्ने ठान्छिन् उनी। विश्वासका साथ भगवानको मन्दिरमा गएर गरिने प्रार्थना मात्रले पनि मानसिक स्वास्थ्यलाई दुरुस्त राख्ने ठान्छिन् डा. लर्रम्यान। त्यस्तै अमेरिकाको ड्युक विश्वविद्यालय मेडिकल स्कुलका डा. हेरोल्ड कोनिगले सन् १८७२ देखि २०१० का बिच प्रकाशित पियर रिभ्युड अनुसन्धानात्मक आलेखहरूको विश्लेषण गरी आध्यात्मिक विश्वासका साथ सकारात्मक सोच मात्र पनि राख्ने हो भने व्यक्ति मानसिक तथा शारीरिक हिसाबले स्वस्थ रहने निचोड प्रकाशित गरे सन् २०१२ मा। भगवानको कृपाले सबै राम्रो हुन्छ भन्ने सोच राख्ने मानिसले नकारात्मक कुरा गर्ने व्यक्तिको तुलनामा असल जीवन व्यतित गर्ने उक्त आलेखको निचोड थियो।

त्यस्तै जोन्स हप्किन्स युनिभर्सिटीका प्राध्यापक रोनाल्ड थोर्प नेतृत्वको अनुसन्धान समूहले सन् २०२० मा प्रकाशित गरेको एक अनुसन्धानका अनुसार धार्मिक विश्वास भएको मानिसलाई रोगको सम्भाव्यता मात्र कम हुने होइन बरु क्यान्सर जस्तो महारोग लाग्दासमेत जीवनको उत्तरार्ध कम पीडादायी हुने देख्यो। त्यस्तै मेक्सिकी मूलका अमेरिकी नागरिकमा गरिएको पृथक् अध्ययनले नियमित चर्च जाने समूह अर्को पक्षको दाँजोमा शारीरिक तथा मानसिकरूपले स्वस्थ मात्र देखिएनन् बरु त्यही रोग लाग्दासमेत भगवानमा विश्वास हुने समूहको अस्पताल बसाइ छोटो रहेको पायो। त्यस्तै चिकित्सक एवम् ‘हिलिंग बर्डस’का लेखक डा. ल्यारी डोसीको विचारमा आधुनिक आयुर्विज्ञानलाई आध्यात्मवादसँग जोड्न सक्ने हो भने चिकित्सा प्रणाली थप प्रभावकारी हुने ठान्छन्। अस्पतालको इलाज र भगवानप्रतिको भरोसा दुवैको शक्तिले बिरामी छिटो घर फर्कन्छन् भन्ने ठान्छन् डा ल्यारी।

ओखती र चिकित्सा उपकरणले आयुर्विज्ञानलाई नयाँ उचाइमा पुर्‍यायो। धर्मलाई पनि सँगै लान सक्ने हो भने अहिलेकै चिकित्सकीय अन्वेषणबाट समेत थप उपलब्धि हासिल गर्न सक्ने देखियो। शरीरका अवयवलाई नियन्त्रण गर्ने भएकाले मानसिक र शारीरिक स्वस्थ दुरुस्त रहनका लागि मस्तिष्कमा सकारात्मक ऊर्जा र विश्वासको खाँचो देखियो। गर्न सकिन्छ र हुन्छ भन्ने भरोसाले दिमागी स्वास्थ्यलाई नियन्त्रण गर्छ। भगवत् विश्वास र आध्यात्मिक चिन्ता दिमागलाई सुमार्गमा हिँडाउने सहज र परीक्षण भएका बाटा भएकाले धार्मिक आस्थामार्फत स्वस्थ जीवन बिताऔँ। ओखती खाएको भान पार्दा सञ्चो हुन्छ भन्ने प्लेसिबो प्रभावको आधार हो भने भगवानको आराधनाले मेरो रोग निको हुन्छ भन्ने मस्तिष्कलाई ढाडस दिन सक्ने हो भने व्यक्ति स्वस्थ हुन्छ भन्ने कुरामा सन्देह रहेन। धर्म र आध्यात्मले स्वस्थ रहन मद्दत गर्ने भएकाले त्यसको प्रवर्द्धन गरौँ।

–पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School