उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ


२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ ।

१ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो ।

भारतले मार्च अन्तिममा विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्दा खुला बजारबाट दिनको समय मात्रै विद्युत् आयात गर्न पाउने किसिमको व्यवस्था गरेको छ ।

रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाउँछ, जुन खुला बजारभन्दा महँगो पर्न जान्छ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ ।

महँगोमा विद्युत् आयात गरेर नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको हो ।

‘भारतबाट राति विद्युत् किन्दा महँगो पर्ने भन्दै मुलुकलाई अँध्यारोमा राख्ने विकल्प प्राधिकरणले रोजेको छ,’ एक उद्योगीले अनलाइनखबरसँग भने ।

अहिले वीरगञ्ज क्षेत्रका उद्योगमा मात्रै होइन, सर्वसाधारणका घरमा पनि अनियन्त्रित लोडसेडिङ भइरहेको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोककुमार टेमानीले बताए ।

‘उद्योगहरूमा त दिनको कम्तीमा १२ घण्टा लोडसेडिङ भइरहेको छ, तर कुन बेला बत्ती जान्छ भनेर प्राधिकरणले अग्रिम जानकारी गराउँदैन,’ उनले भने, ‘सामान्यतया साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत् गइरहेको छ ।’

तर, कुनै क्षेत्रमा मध्यरात १२ देखि दिउँसो १२ बजेसम्म, कुनैमा साँझ ६ देखि बिहान ९ बजेसम्म पनि लोडसेडिङ भइरहेको उद्योगी बताउँछन् ।

अहिले मुलुकमा उद्योगलाई अनेक समस्या आइरहेका बेला विद्युत् कटौती पनि सामना गर्नुपरेको उनले बताए । ‘उत्पादन बढाउन महँगो नै परे पनि विद्युत् उपलब्ध गराउनुपर्ने हो,’ उनले भने ।

प्राधिकरणले लोडसेडिङ नै गर्नुपरे पनि तालिका नै निकालेर गरिदिए काम गर्न सजिलो हुने टेमानीले बताए ।

‘कुन बेला बिजुली जान्छ भन्ने विषयको जानकारी पहिले नै भयो भने उद्योगीले पनि कुन बेला उद्योग चलाउने, कामदार बोलाउने भन्ने योजना बनाउन पाउँछन्,’ टेमानीले भने, ‘अचानक विद्युत् जाँदा ठूलो समस्या भइरहेको छ ।’

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल पनि तालिका विना लामो समय लोडसेडिङ हुँदा उद्योगी मारमा परेको बताउँछन् ।

‘विद्युत् कटौतीका विषयमा प्राधिकरणले तालिका बनाएर दिएको छैन,’ उनले भने, ‘एकदिन यति बेला काट्नू भन्ने निर्देशन छ भन्दै विद्युत् काट्छ, अर्को दिन अर्कै समयमा काट्छ ।’

यसो गर्नुको सट्टा लोडसेडिङ तालिका नै निकालेको भए सजिलो हुने उनी बताउँछन् । ‘घरमा जोडेको विद्युत् पनि गइरहेको छ, एकपटक काटिएपछि डेढ दुई घढण्टासम्म जाने गरेको छ,’ उनले भने, ‘विद्युत् लोड व्यवस्थापन गर्न त्यसो गरिएको होला । तर, उद्योगमा भने धेरै नै ठूलो समस्या छ ।’

प्रमुख औद्योगिक क्षेत्र मोरङ–सुनसरी, वीरगञ्ज–सिमरा, हेटौंडा, भैरहवा–बुटवल, नेपालगञ्ज लगायतमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ भइरहेको उद्योगी बताउँछन् ।

भारतबाट रातको समयमा विद्युत आयात हुन नसक्दा साँझ ६ बजेदेखि १२ बजेसम्मको समयमा केही मात्रामा विद्युत कटौती गर्नु परेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन् । ‘हामीले लोडसेडिङ नै भनेर गरेका छैनौँ । तर, रातको १२ बजेसम्म लोड व्यवस्थापनमा समस्या परिरहेको छ,’ उनले भने, ‘मौसममा सहयाेग गर्ने देखिएकाले यो  समस्या पनि केही दिनमा समाधान हुने अपेक्षा छ ।’

पूर्वी क्षेत्रमा भने विद्युतको अभाव भन्दा पनि प्रसारण लाइनको समस्याले विद्युत कटौती भएको उनको भनाइ छ । ‘पूर्वलाई जोड्ने प्रसारण लाइन निर्माणमा अवराेध भइरहेकाले समस्या भएको छ,’ उनले भने ।

वीरगञ्ज क्षेत्रमा भने भारतबाट १३३ केभी प्रसारण लाइनमार्फत आइरहेको विद्युत रोकिएकाले बिजुली आउने जाने समस्या भएको उनले बताए । ‘सानो क्षमताको प्रसारण लाइनबाट १ सयदेखि १ सय ५० मेगावाट बिजुली आइरहेको थियो । अहिले भारतले त्यो रोकिदिएको छ ,’ उनले भने, ‘त्यो बिजुली कहिलेबाट दिने भन्ने भरपर्दो कुरा पनि आएको छैन ।’

प्राधिकरणले उद्योगीहरुलाई जोडिएको भन्दा कम क्षमता प्रयोग गर्न अनुरोध गरे पनि त्यो प्रभावकारी नभएको उनले बताए ।

भारतबाट महँगो दरमा ग्यासमा आधारित बिजुली आयात गरेर वितरण गर्ने कि नगर्ने भन्ने चाहिँ नेपाल सरकारले नै निर्णय गर्नुपर्ने उनी बताउँछन् । ‘महँगोमा बिजुली किन्दा जाने भनेको त करदाताकै पैसा हो । त्यसो हुँदा सरकारले नै केही धारणा बनाउनु उचित हुन्छ,’ उनले भने ।

प्राधिकरणले त्यसअघि नै माघ पहिलो सातादेखि उद्योगलाई दैनिक ८ देखि १० घण्टासम्म लोडसेडिङ गरिरहेको थियो । डेडिकेटेड र ट्रंक लाइन विवादमा २३ ठूला उद्योगमा काटिएको लाइन जोडिदिएपछि तत्कालै प्राधिकरणले लोडसेडिङ गर्न सुरु गरेको थियो ।

त्यसबेला बिहान ५ देखि ११ सम्म र बेलुका पनि साँझ ५ देखि राति १० बजेसम्म लोडसेडिङ गर्ने गरिएको थियो ।

लाइन काट्नुअघि चाहिँ दैनिक चार घण्टाका दरले लोडसेडिङ भइरहेको थियो । तर, २४ उद्योगमा लाइन काटेपछि विद्युत् उपभोग घटेका कारण प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ हटाएको थियो ।

तर, त्यसपछि पुनः सुरु भएको लोडसेडिङ पुनः पिकमा पुग्ने क्रम देखिएको हो । गत वर्ष उद्योगमा अधिकतम् ७ देखि ८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो ।

अहिले पिक समयमा १ हजार ८ सय ३३ मेगावाट विद्युत् माग रहेको प्राधिकरणले जनाएको छ । तर, दिनको समयमा कुल विद्युत् आपूर्ति १ हजार ३ सय ४३ मेगावाट छ । भारतबाट दिनको समयमा ४ सय मेगावाट विद्युत आइरहेकोमा राति त्यो आउँदैन । त्यसो हुँदा रातको समयमा विद्युत्को चरम अभाव भइरहेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School