हिन्दूहरूले भारतको इलाहबादस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणीस्थललाई ‘प्रयागराज’ तीर्थमा लिनेगरेका छन् । प्रयागराज, राजा दशरथले भगवान् रामको जन्मपश्चात् तीर्थाटन गर्नुभएको तीर्थस्थलसँग जोडिएको स्थान हो । किंवदन्तीअनुसार भगवान् रामले आफ्ना बुबा दशरथ र पूर्खाहरूको तर्पण यही त्रिवेणीको किनारमा गरेका थिए । यसरी विभिन्न श्रद्धालुहरू र आफ्ना पितृमोक्षका लागि नेपालीहरूसमेत प्रमुख मोक्षधाम भनी पूर्णज्ञानको अभावमा इलाहबादको प्रयागराजमा तर्पण दिन जान्छन् । त्यसो भएर भारतका विभिन्न तीर्थहरू र प्रयागराजमा बस्ने पण्डा (पुरेत)हरूले समेत ‘शिर छोडकर पाउमे आगए’ भन्छन् ।
माथिको भनाइ ठीक हो किनकि ४० भन्दा बढी हिन्दू तथा बौद्ध मन्दिर र २८ भन्दा बदी ठूला चाडपर्वले सुसज्जित बस्ती र सुमेरु पर्वत (दलिञ्चोक÷गोरखनाथ डाँडा)को काख र पद्मावती (पार्वती), लीलावती (लक्ष्मी)को बीच विशाल अश्म (चट्टान)को पुछार दुई नदीको दोभानमा ब्रम्हाको अनुपन श्रृष्टि, सुन्दरी अप्सरा अहिल्याका साथ उनैका प्रियपात्र गौतम ऋषिले तपस्या गरेका र पछि रुद्रावती (महादेव)को समेत प्रवेश भई त्रिवेणी बनी स्वर्गका राजा इन्द्रले समेत मोक्ष पाएको स्थान हुँदा ‘उत्तर प्रयाग’ले पनि चिनिन्छ । राजा इन्द्रसहित हजारौं, लाखौंले मोक्ष पाएको यस्तो ‘उत्तर प्रयाग तीर्थ’लाई हामीले सदुपयोग, सम्मान दिन सकेनौं, व्यवस्थित गर्न सकेनौं, हामी कर्तव्यनिष्ठ र जवाफदेही नहुँदा यसको महत्व र अस्तित्वमा ठूलो ह्रास आएको छ ।
किरातकालमा पाञ्चाल देश, नेपाल राज्यमा गाभिएको र सो क्षेत्रको नाम शाके सम्बत् ४३१ तिर लिच्छवी राजा बसन्तदेवको पालामा ‘पुनांगु’ रहेको पाइन्छ । राजा शंकरदेव (ठकुरी)की छोरी वीरमादेवीले इन्द्रेश्वर मन्दिरको सुरु गरेको सो समय ने.सं. २०२ मा स्थानको नाम ‘श्री इन्द्रमूलस्थान’ राखिएको देखिन्छ । पुनः २७० बाट ‘पन्नगविषय’ रहेको पाइन्छ ।
१५ जुलाई १२५५ को महाभूकम्पबाट पाञ्चाल राजधानी क्षेत्र ध्वस्त भएको र सो क्षेत्रमा उडुस आतंक पैmलिएर मानवबस्ती बस्न गाह्रो भयो । भूकम्प र उडुस आतंकबाट प्रभावितलाई स्थानान्तर गर्ने क्रममा राजा आनन्द देवको पालामा रोशी उपत्यकामा सातवटा बस्तीहरू सार्ने वा बसाल्ने क्रममा पाञ्चाल सहरलाई लीलावती, पद्मावती र रुद्रावतीको संगमनजिक सारियो र बस्तीको नाम ने.सं. ४८१ मा राजा जयअर्जुनदेवको पालादेखि पुण्यमतीको किनारमा रहेको बस्तीको नाम ‘पूर्णमती’ रहेको देखिन्छ । यसरी पुण्यमती नाममा केही तलमाथि गर्दै करिब ३०० वर्ष अर्थात् ने.सं. ७८८ सम्म लिखत कामकाजमा एउटै नदीको नाममा रह्यो । तत्पश्चात पानवतीले केही स्थान पाए पनि पुण्यमतीले अग्रता लिइरह्यो ।
हालसम्म पनौतीका धेरै नाम पाइन्छन् । जस्तै– पाञ्चाल, पानवती, पुण्यवती, पुण्यावती पुरी, पुर्णावती, अश्मपुर, अश्मनगर, पलाःती, पलाँती, पन्ति आदि । जे–जस्तो भनिए पनि मल्ल राजा आनन्ददेवले बसालेको पूर्णमती बस्तीलाई कर्णाटक वंशीय शासक जयसिं रामबरदानले विकास गरेको पलाःतीलाई १५औं शताब्दीमा राजा यक्ष मल्लका माइला छोरा बनेपा राजधानी गरेर बसेका सात गाउँका राजा रन मल्लले (?) आफ्ना देशका जनताको जीवनमा मुक्तिमार्गका लागि धार्मिक क्षेत्रहरूको विकास गरी सो क्षेत्रमा पाइला राख्न पलाःती नामकरण गरेका थिए ।
पलाःती नाममा तीनवटा नदीहरूका अक्षरहरू, पद्मावतीबाट ‘प’, लीलावतीबाट ‘ला’ र रुद्रावतीबाट ‘ती’बाट मिल्नु संयोग मात्र हो भन्न मिल्दैन होला ? मल्लकालमा मानव जातिको हितहेतु प्राकृतिक बरदान पाएको स्थानमा आद्यात्मिक र तान्त्रिक विद्यासहित अनुपम आदर्श नगरीको निर्माण गरेका थिए । यस स्थानको सामाजिक तथा आर्थिक उत्रतिमा सघाउ पु¥याउन तथा देशभरका जनताहरू आवत–जावतमा जागरुक ल्याउन, अहिलेको भाषामा भन्ने हो भने पर्यटक व्यवसाय विकास गर्न बाह्य आगन्तुकलाई निम्त्याउन यस ठाउँको नाम नै ‘पलाःती’ राखे । नेवारी भाषामा ‘पला’ पाइला र ‘ती’ राख अर्थात् ‘पलाःती’को अर्थ पाइला राख्न आग्रह गरिएको हो ।
त्यस्तै, गोदा रंगनाथ, खोपासीमा सुरक्षित राखिएको शिलालेखमा छैठौं शताब्दीका लिच्छवी राजा शिवदेव प्रथमले ‘कैलाश यात्रामा ५० डल्लाका दरले कमेरा लिएर आउनु’ भनी लेखिएकाले पर्यटनलाई बढावा दिएको देखिन्छ । पलाःतीको अन्तिम शासक भूपतिन्द्र मल्लकी बहिनी गंगालक्ष्मी मल्ल थिइन् । पलाःतीलाई नेपालमा एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहलाई अप्ठ्यारो परेको थियो । एकीकरण एकप्रकारको धार्मिक युद्ध थियो । पृथ्वीनारायण शाहले पलाःतीका शासक महिला भएको सुने तर एकिन भएन, उनी पनौती (असमञ्जस्य)मा परे । तास खेल्दा, अवसरको खोजीमा कमजोर खेलाडीले आफ्नो भागमा परेको कमजोर तासलाई पनौती भन्दै अवसरको पर्खाइमा घोप्टयाएर बस्छन्् । लडाइँ गरी जिते महिलासँग जितेको र हारे महिलाबाट हारेको दाग लाग्ने भएपछि उनले अवसरको खोजीमा लागे । एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाह योजना मुताविक बिहानै केही सैनिकहरूका साथमा ब्रह्मायणी मन्दिर अगाडि सुमेरु पर्वतको काखमा त्रिवेणी घाटमा स्नानका लागि आउने शासकको प्रतीक्षामा बसे ।
पलाःतीका शासकले आफ्ना सुसारेहरूका साथ त्रिवेणी घाटमा आएर दुवै हातको अञ्जुलीले त्रिवेणीको जल उठाएर स्नान गर्न थालेपछि पृथ्वीनारायण शाहले उनीहरू महिला भन्ने एकिन गरे । बाघले मृगलाई छोपेजस्तै सुमेरु पर्वतमा बसेका पृथ्वीनायण शाहको फौजले बन्दुक पड्काए । बन्दुकको आवाजसँगै महारानी र सुसारेहरू पनि भागे । बन्दुक हान्दै खोला तरेर सहर पसे । जथाभावी बन्दुक हात्रे क्रममा इन्द्रेश्वर मन्दिरको गजुरमा पनि हानेका र गजुरमा सो निसान रहेको बताइन्छ । नाङ्लो ठटाएर हात्ती तर्साएजस्तै महारानी र उनका अंगरक्षकहरू भागेको कहावत रहेको छ । पृथ्वीनारायण शाहले एकीकरण गरेपश्चात पलाःतीको आधिकारिक नाम पनौती हुनआएको देखिन्छ । हुनसक्छ नेवारी नाम पलाःती उच्चारणमा कठिन भएर खसभाषामा पनौती भनियो कि ?
उत्तर प्रयाग हुनुको कारण
समुन्द्र मन्थनमा कालकुट विषबाट छटपटिएर कैलाश फिर्ती सवार नीलकण्ठ (देवादिदेव महादेव)सँग फर्किएका मन्दराचल पर्वतका नेती बासुकी नाग कुञ्ज पर्वत (फुलचोकी)बाट पनौतीका राजा दीर्घरथको अनुनय विनयमा भगवती माईको आग्रहमा पार्वतीको सहायताले पनौती समृद्धिका लागि बहनुभएकी लीलावती (लक्ष्मी) र नालाका राजा दीर्घरथले दुर्गा मातासँग मनमाया पर्वत (तपोवन) अर्थात् रत्नागिरि पर्वत मागी ल्याएको हालको नगरकोटको पूर्वबाट बहेर आउनुभएकी नन्दीमती (भगवती)को संगम (दोभान)मा राज हुनुभयो । शरद ऋतु (कात्तिक)को अष्ठमीका दिन नन्दीमतीमा स्वर्गका अप्सराहरू उपासना बस्न आउने गरेका र राजा दीर्घरथले दुःख दिएका कथा सुन्ने सुनाउने गरेको पाइन्छ । पनौती र नाला दुवै सहरका मानिसहरू राजा दीर्घरथको नाम लिन्छन्, राज्य एउटै थियो कि ?
नीलकण्ठले आफ्नो यात्रा निरन्तर नन्दीमतीको उभोतर्पm गर्नुभयो । हालको नालाबाट नीलकण्ठ पश्चितर्पm लाग्नुभयो । उकालो लाग्ने क्रममा प्यास लागेर पानी खान खोज्दा पार्वतीले पृथ्वीबाट पानी निकाली कुण्डको सिर्जना गरी पानी बहाइदिनुभयो । स्थानीय कथनअनुसार नीलकण्ठले प्यास बुझाएर केहीबेर आराम गरेर गाँजा सेवनपछि अगाडि बढ्नुभयो । सो कुण्डबाट निरन्तर नदीका रूपमा पानी बहन थाल्यो । कुण्डको नाम महादेव पोखरी र बगेको नदीको नाम पुण्यमाता रहन पुग्यो । पुण्यमाता नदी नालाअगावै पूर्वबाट आएको नन्दीमतीसँग मिलेपछि पद्मावती नदीको नामले कहलिन थाल्यो । तर, केही समुदायले पार्वतीलाई सम्मान गर्दै दोभानपश्चात् पनि पुण्यावती नै भन्ने गरेका छन् ।
दैवलाई पनि शत्रु लाग्छ भनेझैं सुमेरु पर्वतको फेदीमा रहेको पद्मावती र लीलावती दोभानमा बसेका बासुकी नागलाई पनि गरुडले आक्रमण ग¥यो । बासुकी नाग कहिले पद्मावती खोला माथिल्लो भागतर्फ भाग्ने तथा कहिले रोशी (लीलावती) खोला माथितिर दौडिन थाल्नुभयो । नाग पानीभित्र दौडन थालेसँगै खोलाको ढुंगा पनि नागसँगै फर्कन थाल्यो । गरुडलाई नाग कता भागेका छन् भन्ने पत्ता लगाउन गाह्रो भएन । यो कुरा थाहा पाएर बासुकी नागले आफ्नो बासस्थानबाट लीलावती खोलैखोला माथि लाग्नुभयो । खोलाका ढुंगाहरू माथितिर खोला आएतर्पm फर्किए ।
गरुडले नदेखेको मौका छोपी हालको काथंगणेश नजिक, बासुकी नागले मनुष्यको रूप धारण गरी जमिनमा हिँड्दै आफ्नो बासस्थान दोभानमा नागरूप धारण गरी पस्नुभयो । अनि फेरि पद्मावती खोला माथितिर बहन थाल्यो, खोलाका ढुंगा माथितिर खोला आएतर्पm फर्किए । गरुडले नदेखेको मौका छोपी सतिवन काटेपछि हालको ठाडोबाटो नजिक बासुकीले मनुष्यको रूप धारण गरी जमिनमा हिँड्दै आफ्नो बासस्थान दोभानमा नागरूप धारण गरी पस्नुभयो ।
खोलाको ढुंगा उल्टो फर्किएपछि गरुडलाई बासुकी नाग बसेको स्थान पत्ता लगाउन गाह्रो भयो । गरुड थाकेर फर्कियो भने, नाग सुरक्षित साथ सो स्थानमा बस्नुभयो । अफसोच ती पद्मावती र लीलावती नदीहरूका ऐतिहासिक प्राकृतिक सम्पदाका ढुंगाहरूलाई २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् २०५३ सालमा स्थापित नगरपालिकाले मास्ने कामको सुरुवात ग¥यो र हाल आएर सो अमूर्त सम्पदा निमिट्यान्न हुँदै छ ।
छैटौं शताब्दीका राजा नरेन्द्रदेवको पालामा गोरखनाथले नागराज कर्कोटकसहित सबै नागलाई थिचेर बस्दा काठमाडौं उपत्यकामा अनावृष्टी भई कृषिकार्य हुन सकेन, हाहाकार हुन थाल्यो । गोरखनाथबाट नागहरूलाई छुटाउन काठमाडौंमा वृष्टि गराउन कामरूपा (कामरू कामाक्ष)बाट मच्छिन्द्रनाथ ल्याउनुपर्ने निष्कर्षमा पुगे । तत्कालीन भक्तपुरका लिच्छवी राजा नरेन्द्रदेवले काठमाडौंका तान्त्रिक बन्धुदत्त र पाटनका ललित भरिया मिलेर पनौती त्रिवेणी धाममा बसेका बासुकी नागराजलाई छक्याएर आफ्नो जालमा पारेर मच्छिन्द्रनाथ ल्याउन लागे ।
मच्छिन्द्रनाथ ल्याएपछि बासुकी नागराज आफूलाई बोकेर हिँड्ने ललितसँगै पाटनमा गई बस्नुभयो । तर पनि नागराज ज्याःपुन्ही जात्रा हेर्न हरेक वर्ष जात्राको चार दिनअघि हावाहुरी र पानीसहित पनौती आउने र जात्रा सकिएको चार दिनपश्चात् हावाहुरी र पानीसहित उही बाटो पाटन फर्कने किंवदन्ती छ । किंवदन्ती मात्र होइन, अभैm पनि जात्राको चार दिनपहिले हावाहुरी र पानी आउने चार दिनपछाडि हावाहुरी र पानी रोकिने गरेको देख्न र अनुभव गर्न सकिन्छ ।
अर्को किंवदन्तीअनुसार पनौती सहरभित्र ढिकी राख्ने चलन छैन । यसमा एकथरि भन्छन्– ‘धनञ्जय बासुकी नागराज सहरभित्र डुलेर हिँड्ने हुँदा उनीमाथि कुनै चोट नपुगोस् ।’ अर्कोथरि भन्छन्– ‘एउटै ढुंगामाथि बनेको र गहिरो जग नभएको सहरमा छिमेकको घर हल्लिने हुँदा ढिकी नराख्ने चलन रहेको छ ।
भद्रकाली र उन्मत्त भैरव– अर्को रोचककथा हिन्दू पुराणहरूमा दैत्य अत्याचारको अन्त्य गर्न मातापार्वतीलाई विभिन्न देवीहरूले आ–आफ्नो शक्तिहरू दिएर भद्रकाली बनाए । महाशक्ति भद्रकालीले अत्याचारी दैत्यहरूलाई विभिन्न विधि लगाएर छिट्टै परास्त गर्नुभयो । विजयबाट खुसीले उन्मत्त भद्रकालीले अन्य विध्वंशहरू पनि गर्न थाल्नुभयो । देवादिदेव महादेवले अन्तरध्यान गरेर हेर्दा भद्रकालीमा यौन उत्तेजना कारक भएको थाहा पाउनुभयो । उनको कामुतालाई शान्त पार्न देवादिदेव महादेव अगाडि बढ्नुभयो । यौन सन्तुष्टी दिन नसक्दा भद्रकालीबाट महादेव लखेटिनुभयो र भागेर बासुकी नागराजको सहयोग लिन त्रिवेणीमा पसेर तुरुन्तै यथोचित अंगसहित बलवान् उन्मत्त भैरवको अवतारमा निस्किनुभयो । उनै उन्मत्त भैरवीरूपी महादेव फर्केर कालीको खोजीमा जाँदा हालको लायकु दरबार अगाडिको डबलीमा भेट्टाउनुभयो । भैरवले भद्रकालीलाई अप्रत्याशित चरम यौन सन्तुष्टि दिनुभयो । भद्रकाली भैरवको समागमबाट छुट्टिन नसकेको थाहा पाएका इन्द्रेश्वर महादेव आएर उनीहरूलाई छुट्ट्याएका र त्यहाँबाट भद्रकाली भागेको किंवदन्ती रहेको छ ।
अर्को कथा उग्रचण्डी (नाला) भगवती उन्मत्त भैरवसँग आकर्षित भइन् र भैरव बेलाबेला नाला गएर बस्न थाले । पनौतीका बासिन्दाले भैरव हराउनसक्ने अर्थात् पनौती छोडेर जानसक्ने सम्भावना देखेर पनौतीमै राखिराख्न तन्त्रविद्याले बाँधिराखे । यही कथनअनुसार उनलाई खुट्टामा सिक्री लगाइएको छ ।
स्वर्गका राजा इन्द्रको मोक्ष प्राप्ति– ज्ञान प्राप्तिका लागि लीलावती र पुण्यमाताको दोभानमा तपस्या गरेर बसेकी गौतम ऋषिपत्नी अहिल्याको रूपमा लोभिएका स्वर्गका राजा इन्द्रले छल गरी व्यभिचार गरे । त्यो दृश्य देखेका ऋषिको श्रापले अहिल्या रातो ढुंगामा परिणत भइन्, जुन अहिले इन्द्रेश्वर मन्दिरको उत्तर–पूर्वमा रहेको छ । ऋषिका श्रापबाट शरीरभरि योनी बनेर कुरूप भएका राजा इन्द्र लाज र पश्चातापले छटपटाउन थाले । यत्तिकैमा स्वर्गबाट आकाशवाणीले पाप मोचनका लागि लीलावती र पुण्यामाता दोभानछेउ निगालो गाडेर टुसा नआएसम्म महादेवको आराधना गर्न सुझाए ।
राजा इन्द्र पापमोचन गर्न नदीको दोभानमा तपस्या गरेर बसे । धेरै वर्षसम्म पनि आफ्ना पति नफर्किएपछि खोजीमा पनौती पुगेकी रानी साची (इन्द्रायणी)ले राजाको दुर्दशा देखिन् । पतिको याचना र आग्रहलाई स्विकार्दै रानी साची पनि राजाको पाप मोचनका लागि देवादिदेव महादेवको कठोर तपस्यामा समाहित भइन् । दोभानसँगै जोडिएको सानो ढिस्को रहेको छ, जसलाई सुमेरु पर्वत भनिन्छ । किंवदन्तीअनुसार हनुमानले लक्ष्मणलाई सञ्जीवनी बुटी पत्ता लगाउन नसक्दा पर्वत नै बोकेर ल्याउँदा सानो भाग खसेको कहावत रहेको छ ।
अर्कोतर्फ समुन्द्र मन्थनबाट निस्किएको अमृतको घडा तानातानमा उछिट्टिएका अमृतका थोपा यस पर्वतमा परेको हुनसक्ने आँकलन गर्ने गर्छन् । सूर्यनारायण कुम्भबाट मकर राशिमा प्रवेश गरेको मकर संक्रान्तिको दिन साचीको तपस्याबाट खुसी भएकी पार्वतीले महादेवसँग सो पापमोचनका लागि कृपा गर्न अनुरोध गर्दा महादेवले रुद्ररूप धारणा गरी तेस्रो आँखा खोली सुमेरु पर्वतको गर्भबाट दुग्धजल (सञ्जीवनी बुटी वा अमृतका लवणहरू) प्रवाह गरिदिनुभयो । भगवान् श्रीरुद्रको तेस्रो आँखाको तेजबाट उत्पन्न भएको सो बहावलाई रुद्रावती नामले पुकारियो । लीलावती र पद्मातीको संगममा रुद्रावतीको सेतो बहाव मिसिएर त्रिवेणी बन्यो र संगम सेताम्मे बन्यो ।

सुमेरु पर्वतको गर्भबाट आएको सेतो जलधारा कुञ्ज पर्वतबाट आएको रोशी (लीलावती–लक्ष्मी) र रत्नागिरि (तपोवन)बाट आएको पद्मावती (महाकाली पार्वती) नदीको संगममा रुद्रावतीको मिलन भएपछि राजा इन्द्रमा अलौकिकता प्राप्त भयो साथै गाडिएको निगालोमा टुसा पलायो । आकाशवाणी भएबमोजिम राजा इन्द्रले हत्त न पत्त सो त्रिवेणीमा डुबुल्की मारी पापमोचन गरेर रानी साचीसहित स्वर्गमा फिर्ता भए । सुमेरु पर्वतबाट जल (दूध) प्रवाह निरन्तर भइरह््यो । राजा इन्द्रको पापमोचनको खबरले ’roundका मानिसहरू आ–आफ्नो पाप तथा रोगहरू पखाल्न त्रिवेणीमा आएर नुहाए । यो खबर टाढाटाढासम्म पैmलियो । धैरै मानिसले आ–आफ्नो दुःख तथा पापमोचन गरे । सुमेरु पर्वतबाट माघ महिनाभर सेतो जलधारा आएर मसान्तमा बन्द भयो र केही जलको मात्रा मात्र रहिरह््यो ।
रुद्रावतीको सेतो जलधाराको अन्त्य भएपछि त्रिवेणीले प्राप्त गरेको पापमोचन र रोग निदानको शक्तिमा ह्रास भयो । फेरि १२ वर्षपछि सोही तिथिमा सूर्यनारायण कुम्भबाट मकर राशिमा प्रवेश गरेको, मकर संक्रान्तिको दिन सुमेरु पर्वतबाट दूध प्रवाह भयो र त्रिवेणीको अलौकिक शक्ति महिनाभर कायम रह्यो । वैज्ञानिक भाषाबाट भन्ने हो भने पनि सूर्यनारायण कुम्भबाट मकर राशिमा प्रवेश गरेका बेला पृथ्वीको तापक्रममा भएको परिवर्तनले सुमेरु पर्वतबाट मानव स्वास्थ्यलाई लाभकारी लवणहरू निस्केको हुनुपर्छ । त्यसबेला पनि मानिसहरूले त्रिवेणीमा डुबुल्की मारेर स्नान गरी आफ्ना शरीरका रोगहरू र शरीरजन्य कर्मबाट सिर्जित पापहरू मोचन गरे ।
प्रत्येक १२ वर्षमा रुद्रावतीबाट दूध प्रवाह केहीपटक मात्र रह्यो र मानिसहरूले यसको फाइदा उठाए । पछि आएर सोही तिथिमा रुद्रावतीको जलधाराको मात्रा (आयतन)मा अरुबेला भन्दा वृद्धि भएको देखिन्छ र मासिहरू यस जुनीमा भएका पाप कर्मबाट मोक्ष प्राप्त हुने विश्वासमा मकर मेलामा त्रिवेणीमा स्नान गर्ने संस्कृति स्थापना भएको छ । मल्लकालमा रुद्रावती संरक्षणार्थ बिनाजगमा पैगोडा शैलीको तीनतले ब्रम्हायणीको मन्दिर बनाई जलमार्गको संरक्षण गरिएको छ । आराध्यदेवी ब्रह्मायणी माताको शिलासँगैका दुईवटा खाल्टोमा रुद्रवतीको प्रवाहलाई कहिलेकाहीँ देख्न सकिन्छ । १२ वर्षे मकर मासमा सो जल प्रवाह बढ्ने जनविश्वास रहिआएको छ ।
हनुमानले बोकेर ल्याएको सुमेरु पर्वतको सानो अंश त्रिवेणीनजिक खस्नु । रामायण पुराणअनुसार गौतम ऋषिको श्रापले हाल इन्द्रेश्वर मन्दिरको उत्तर–पूर्व कुनामा रातो ढुंगामा परिणत अहिल्या राम वनवासको क्रममा स्पर्श हुँदा मानव जुनीमा आएका थिए । यसले वनवासको क्रममा रामले पनौतीमा पनि पदार्पण गरेको देखिन्छ । संयोग भनौं या वास्तविकता महर्षि बाल्मीकिले नालाको कलम–मसी गुफामा बसेर रामायण लेखेको किंवदन्ती छ ।
नःम बुद्ध
राजा दीर्घरथका सन्तान हुन् वा अन्य कुलका, आजभन्दा करिब ६००० वर्षअघि द्योःलाँ (हालको जेलाँ, टौखाल)मा करिब ५००० जनसंख्याको पाञ्चाल देश थियो । राजा महारथ, रानी सत्यवती र तीनजना राजकुमार महदेव, महाप्रणव र महासत्वका साथ पाञ्चाल देशमा राज गरेर बसेका थिए ।
कात्तिक महिनामा राजारानी र तीन राजकुमार हिरण्यगिरि गन्धमान पर्वतमा राजकीय सिकारका लागि गए । एक दिन पूर्णिमाको रात सिकार खेल्दै शाही शिविर फर्कने क्रममा कान्छा राजकुमार महासत्वले भर्खरै बच्चा जन्माएर भोकले चल्न नसक्ने भएर बसेको दुब्लो बाघलाई आफ्नो शरीर अभयदान गरी बोधीसत्व प्राप्त गरे । राजपरिवारले उनका बचेका हड्डीहरू, कपडा र गहनाहरू ल्याएर सिकार शिविरनजिकै अन्त्येष्टि गरी समाधि बनाए । करिब ३५०० वर्षपछि शाक्यमुनी गौतम बुद्धले एक महिना ध्यान गरी सो समाधिलाई आफ्नो ‘पूर्वजन्म’ भन्दै तीनपटक परिक्रमा गरी ‘नःम’ भनी ढोगे । त्यस समयदेखि सो स्थान र राजकुमार महासत्वको नाम ‘नःम बुद्ध’ रहन गयो ।
प्राचीनकालमा पाञ्चाल नरेश दीर्घरथ जसलाई झेली राजा पनि भनिन्छ, जसले प्रजा हितका लागि पूmलचोकी माईलाई झुक्याएर लीलावती (लक्ष्मी) ल्याएका थिए । उनै राजाका सन्तती ? महारथको राजधानी हालको द्योःलाँ (जेलाँ वा ज्याला च्याती– टौखाल) र दरबार भगवान् डाँडा हालको पनौती नगरपालिका क्षेत्रमा रहेको भनाइ छ । राजा महारथका कान्छा छोरा युवराज महासत्वले भर्खर सुत्केरी भएकी बघिनी र उनका डमरुलाई आफ्नो शरीर अभयदान गरी बचाए र बोधिसत्व प्राप्त गरेको इतिहास छ । त्यसै भएर होला नःम बुद्घ तीर्थाटनमा जाने बौद्घमार्गी द्योःलाँमा पर्ने भगवान्् डाँडा पनि बत्ती चढाउन जान्थे । खासगरी, त्यसमा तिबतियन, चिनियाँ, ताइवानी र नेपाली बौद्धगुरु हुन्थे । तर, केही दशकदेखि भगवान् डाँडामा बत्ती दिने चलन हराएको छ । द्योःलाँको अवशेषमा बाँसडोलमा लिच्छवीकालीन ढुंगेधारा, किरातकालीन जलद्रोण तथा पौराणिक सामान पाइन्छन् ।
तत्कालीन पनौती बुद्घमय र तन्त्रमय थियो भन्ने काठमाडौं स्वयम्भूको काख, भचाखुसी र विष्णुमती नदीको दोभान निर्मल तीर्थ (कर्ण द्विप) नजिक पाञ्चाल देश (पनौती)बाट आएका बौद्धमार्गी बज्रनाद गुभाजु (बज्राचार्य)ले ध्यान शक्तिले बालुवाबाट स्वयम्भू चैत्य खडा गरी ‘स्वां बहा’ बनाएका थिए । जुन स्थान शोभा भगवती शक्तिपीठ क्षेत्रले प्रख्यात रहेको छ । यसले पनौती क्षेत्र बौद्धमय थियो भन्ने बुझ्न सकिन्छ ।
विराट राजा
नागराज बासुकीले राज गरेको र गौतम ऋषिले तपस्या साथमा स्वर्गका राजा इन्द्रले सुमेरु पर्वतको फेदी, लीलावती, पद्मावती र रुद्रावती नदीहरूको संगम त्रिवेणीमा स्नान गरी मोक्ष प्राप्त गरेको पवित्र तीर्थस्थल उत्तम धाममा हरेक दिन स्नान गर्न द्वापरयुगमा राजा विराट आफ्नो कैलाश (दरबार), हालको खोपासी तल्लो बजारबाट ४० घोडे बग्गीमा सवार गर्ने किंवदन्ती छ ।
उत्तर प्रयागको संरचना
७ जुन १२५५ का दिन काठमाडौं केन्द्र बनाई ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले काठमाडौं तथा रोशी उपत्यकामा ठूलो क्षति हुन पुग्यो । रोशी उपत्यकाका बस्तीमा उडुसले आतंक मच्चाएको थियो । तात्कालीन नेपालका राजा आनन्ददेव मल्लले काठमाडौं तथा रोशी उपत्यकाका भूकम्पपीडितहरूको उद्धार गर्न रोशी उपत्यकामा साँगा, नाला, बनेपा, धुलिखेल, चौकोट, खडपु र पनौतीको बस्तीलाई बिस्तार गरे ।
राजा आनन्ददेवले बिस्तार गरेको पलाःतीमा १३औं शताब्दीमा कर्णाटक वंशीय राजा हरिसिंहदेवसँग आएका जयसिं राम बरदान परिवारले स्थानीय पहरी कलाकारहरूको संयोजनमा नेपालमा पेगोडा शैलीका पूर्वाधार, इन्द्रेश्वरको मन्दिर, मन्दिरको टुँडालमा काष्ठकलाबाट चारयुग (सत्य, त्रेता, द्वापर र कली) झल्कने कलाकृतिको निर्माण गरी स्वर्णिम युगको इतिहास सुरु भएको देखिन्छ । १५औं शताब्द्वीतिर काठमाडौं उपत्यका, रोशी उपत्यका र यस आसपासका बस्तीमा तन्त्र–मन्त्र व्यापक प्रचलनमा आयो ।
तत्कालीन शासकहरूले कृषि व्यवसायका अतिरिक्त देव, देवीहरूको मूर्ति, मन्दिर, धारा, पाटी, पौवा, डबली, बाटो, खनिज पदार्थको उत्खनन तथा प्रशोधनजस्ता सार्वजनिक सरोकार र सेवा क्षेत्रको विकास गरेको पाइन्छ । यसैक्रममा इन्द्रेश्वर मन्दिर अगाडि र पछाडि सात कलात्मक नारायणहरू १) सत्यनारायण, २) लक्ष्मीनारायण, ३) गौरीनारायण, ४) शेषनारायण, ५) सूर्यनारायण, ६) श्रीकृष्णनारायण, ७) तोलानारायणका मूर्तिहरू बने ।
इन्द्रेश्वर महादेवको पश्चिम र तोलानारायणको अगाडि ऋतुहरूको स्मरण गराउने अष्टमात्रिका, पृथ्वी प्राणी जिउन सम्भव बनाउने सूर्यनारायण सोभन्दा अगाडि अवस्थित शिवलिंग, जसलाई स्थानीयहरू देवताका पनि देवता महानारायण पनि भन्छन् ।
त्रिवेणीमा हिन्दूहरूको उत्तमधाम बनाउन केदारनाथ, बद्रीनाथ, रणमुक्तेश्वर, पञ्चमुक्तेश्वर, राधा, कृष्ण, रुक्मणी, दुई तह जलाधारसहितको शिवलिंग, बासुकी नाग, ब्रह्मायणी, शीतलामाई, वंशगोपाल, रामलक्ष्मण, संकटानारायण, मत्स्यनारायण, चारनारायण आदि देवदेवीहरूका मूर्ति र मन्दिरहरू स्थापना भएका छन् । भारतस्थित चारधाम जान नसक्ने÷नमिल्नेहरू यस त्रिवेणीधामलाई नै चारधाम तीर्थका रूपमा स्वीकार गरी सोहीबराबरको आत्मिक एवं मानसिक सन्तोष र पुण्य मिलेको सुखानुभूति प्राप्त गर्छन् । अभय मल्लले बस्ती बिस्तारक्रममा ७ सय धुरी पु¥याइएको सहरलाई १५औं शताब्दीमा तत्कालीन आदर्श बस्तीका विकासप्रेमी इमानदार शासकले दूरदृष्टिबाट तान्त्रिक विधिद्वारा यात्राको प्रकृतिअनुसार सहर भित्र–बाहिर गर्न विभित्र स्थानमा लायकु, सि, कार्य आदि ध्वाका (द्वार)हरू बनाउनुका साथै प्राकृतिक तथा दैवी सुरक्षार्थ सहरबाहिर अष्टमात्रिकाका मानेश्वरी, काथंगणेस र ईतावरी र अन्य पाँच मातृकालाई सहरभित्र स्थापना गरेका थिए ।
त्रिवेणीको महिमा र महत्व बुझेका राजाले सहरका तान्त्रिक र अन्यस्थानका तान्त्रिक आचाजुहरूसँग सल्लाह गर्दा त्रिवेणीको विकासमा एक रातमा थप कार्य गर्नसके मानव जीवन मोक्षधाम बत्रसक्ने सुझाव प्राप्त भयो । उत्तम धान बनाउने प्रयास गर्दा एकरातमा सुझाएका त्रिवेणी घाटको सम्पूर्ण विधि विधान त पूरा गरे तर धामबाट उत्तरतर्पmको गौरीशंकर हिमशृंखला दर्शन गर्नसक्ने व्यवस्थाका लागि प्रयास गरिरहेको अवस्थामा कुखुराको भालेले बिहान भएको संकेत दिएकाले सो कार्य सफल भएन ।
तसर्थ, धर्मालम्बीहरू १२ वर्षे मकरमेला तथा अन्य मेलापर्वहरूमा त्रिवेणीको जल आफ्नो दायाँ हातको बूढीऔंलाको पिठ्यूँ वा हातको हत्केलामा लिएर सुमेरु पर्वतको शिरानीमा पुगेर गौरीशंकर हिमाल पर्वततिर फर्केर शिवको नाममा जल चढाई उत्तर प्रयाग तीर्थ यात्राको कार्यलाई पूर्णता दिने निरन्तरता कायम रहिआएको छ । तर, इतिहास तथा संस्कृति थाहा नपाएकाहरू २०१८ सालमा कालीबाबाले प्रतिस्थापन गरेको गोरखनाथ बाबाको मूर्तिमा जल चढाउने गर्छन् । सुमेरु पर्वत ‘कैलाश’ भनेर चिनिने हालको दलिनचोकमा तीनतले दरबार भएको र दरबारबाहिर ‘दलानचोक’ थियो, शब्द अपभ्रंश भई ‘दलिनचोक’ भएको भनाइ रहेको छ । नेपाल इतिहासको स्वर्णिम युगको अनुभूति पलाःती दे (पनौती सहर)ले गरेको थियो भन्ने यहाँको विद्यमान कला कौशल र ऐतिहासिक प्राकृतिक संरचनाले पुष्टि गर्छ ।
अफसोच ! शाहकालमा केही कला कौशलहरू चोरी भए, बहुदल र गणतन्त्रले विकासका नाममा कला र कौशलतामा आधिकारिक तवरले मौलिकतामा आँच पु¥याउनुका साथै नगर आम्दानीका लागि अलौकिक प्राकृतिक सम्पदा (उल्टो फर्केका ढुंगा तथा जग्गाहरू) नष्ट गरे । घाइते सहरलाई १० वर्षे हतियार द्वन्द्वले दन्त्यकथाको बिमार सहर बनायो । १० वर्षपहिले २०७२ सालमा गएको भुइँचालो र २ वर्षे कोरोना माहामारीले गर्दा बढ्दो आध्यात्मिकताबाट आउँदा दिनहरूमा सुषुप्त उत्तर प्रयाग तीर्थले जिवन्तता पाउने आशा राख्न सकिन्छ ।
१२ वर्षे मकरमेला
सूर्यनारायण कुम्भबाट मकर राशिमा प्रवेश गरेको दिन, माघे संक्रान्तिका दिन, पाप प्रक्षालन, शरीरमा आरोग्य, मनमा शान्ति, तनमा कान्ति चाहनेले खासगरि दुई खोलाको संगम दोभान र तीन खोलाको संगम त्रिवेणीहरू डुबुल्की मार्दै शरीर नुहाएर विशेष मेला भर्ने गर्छन् । वातावरण्ीाय दृष्टिकोणबाट सो दिन स्नानबाट स्वास्थ्य लाभ हुने भएकाले होला श्रद्धालुहरूले खोलामा पसेर नुहाउने गर्छन् । नेपालको देवघाट, बाराहक्षेत्र, मुक्तिक्षेत्र, वेत्रावती, शालिनदी, गौरीघाट, विष्णुमती, बाग्मती, पनौती, दोलालघाट, गोदावरी, शंखमूल आदि स्थानका नाम चर्चामा छन् । यी घाटमध्ये पनौतीको त्रिवेणी र ललितपुरको गोदावरी कुण्डमा प्रत्येक १२–१२ वर्षको अन्तरालमा मकर संक्रान्तिबाट एक महिनाका लागि मेला लाग्ने गर्छ । तर, दुवै स्थानमा १२ वर्षे मेला एकैपटक नलागेर ६–६ वर्षको अन्तरालमा पर्छन् । जस्तै– पनौतीमा लागेको मकर मेलाको ५ वर्ष ६ महिनापछि सूर्य सिंह राशिमा प्रवेशका साथ भाद्र संक्रान्तिबाट एकमहिने गोदावरीमा ‘सिंहास्थ महामेला’ लाग्ने गर्छ । संयोगबस दुवै मेलाको सिर्जनामा ब्रह्माका प्रियपात्र गौतम ऋषिको संलग्नता देखिन्छ ।
प्रत्येक १२ वर्षमा माघे संक्रान्तिबाट एक महिना, सुमेरु पर्वतको फेदीमा रहेको पद्मावती, लीलावती र रुद्रावतीको संगममा स्नान गर्न मेलामा नेपालभित्रका भक्तजन मात्र नभई भारतका बिहार र उत्तर प्रदेश खासगरी इलाहाबाद प्रयागराजबाट समेत आउने गरेका छन् । इतिहास बुझेका, संस्कृतिलाई सम्मान गर्ने र सभ्यताको जगमा योगदान गर्ने संस्कार बोकेका लिच्छवी राजाका पालामा खासगरी राजा मानदेवका पालादेखि १२ वर्षे मेलाले स्थायित्व पाएको भनाइ छ ।
विकास क्रम
यहाँनेर कलाकारिताको व्याख्या नगरे कलाकौशलको इतिहास अधुरो रहनेछ । हरिसिंहदेवसँग आएका बरदान परिवारका ज्योति रामका नाति जयसिं राम बरदानका परिवारहरू पनौतीमा बसेको देखिन्छ । उनी शासनको साथमा कला कौशलमा पनि रुची राख्ने थिए भन्नेको उदाहरण पनौतीको इन्द्रेश्वरको मन्दिर १३औं शताब्दी अर्थात् ई.सं. १३८३÷४ मा उनको पालामा बनेको थियो । प्यागोडा शैलीको मन्दिर तत्कालीन इतिहासमा तराईका साथ हिन्दुस्तानतिर र पहाडतिर नहुनुले कलाकार बरदान र कलाकार पहरीहरूको संयोजनबाट सहर संरचनामा नवीनतम सिर्जना भएको र यसको देखासिकीपछि आएर काठमाडौं उपत्यका खासगरी भक्तपुर, कान्तिपुर र ललितपुर आदिले अनुसरण गरेका हुन् कि ?
किरातकालमा तान्त्रिक विधि थियो या थिएन ? स्पष्टता छैन । मातृगमनको दोष लागेका विरुपाक्षलाई ‘ने’ मुनीले पनौतीको त्रिवेणीमा स्नान गर्न जानू भन्ने ‘पटन’ ठ्यासफुमा उल्लेख छ । विरुपाक्ष त्रिवेणीमा स्नान गरी इन्द्रेश्वरको ध्यान तथा आराधना गर्न माघकृष्ण अष्ठमीमा पुगेका थिए । श्रुतश्रवा भन्ने एक ब्राह्मणले भाद्र शुक्लपक्षमा तप गरे जाग्राम बसेपछि उनले शिवलोक प्राप्त गरेको चर्चा स्कन्द पुराणमा वर्णित छ ।
हरेक वर्ष माघ महिनामा साँखु र भक्तपुरका माधवनारायण देवता त्रिवेणीमा ल्याई दुई दिनसम्म राखिन्छ । त्रिवेणी संगममा जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप गरिन्छ । उत्तमधाम भएको हुँदा मृत शरीरको दाह संस्कार गर्न उत्तर–पश्चिम भक्तपुर, उत्तर–पूर्व पाँचखाल, नेपालथोक, दक्षिण भुग्देउ, च्याल्ती र दुर्लुङ आदि स्थानबाट उत्तर प्रयाग ल्याइन्थ्यो । उत्तर प्रयागको बिग्रँदो अवस्था र अव्यवस्थित व्यवस्थाको परिणाम यो चलन हराउँदै गएको छ ।
लिच्छवीकाल खास गरेर राजा नरेन्द्रदेव तिब्बतबाट फर्कंदा तान्त्रिक विद्या सिकेर आएका थिए । उनैको पालामा बन्धुदत्तजस्ता तान्त्रिकको उदय भएको थियो । कर्णाटकीय वंशहरू पनि तुलजा भवानीभक्त र शाक्त सम्प्रदाय र तन्त्रमा विश्वास गर्थे । लिच्छवीकालदेखि मल्ल नेृतत्वमा परिवर्तित शासक तन्त्र संस्कृति तथा वैज्ञानिक कलाकारिताको संरचनामा योगदान तथा सहयोगका लागि अगाडि बढेको इतिहासले देखाउँछ । यही संस्कारमा बढेका १४औं शताब्दीमा काठमाडौंका विद्वान् राजा प्रताप मल्लले १७२७ सालबाट ५ वर्ष लगाई बनाएको रानीपोखरीमा विभिन्न तीर्थस्थलको जल ल्याएर राख्ने क्रममा पनौती त्रिवेणीघाटको जल पनि ल्याएर राखेका थिए । उनले तन्त्र विद्या व्यवहारमा ल्याएका थिए ।
यता, भक्तपुरमा पनि विद्वान् राजा जगतप्रकाश मल्ल थिए, जो संस्कृति र कलाकारिताका पुजारी थिए । यिनैको पालामा पनौतीको त्रिवेणीमा चारधाम निर्माण तथा उत्तर प्रयागका लागि पहल भएको त थिएन ? खोजी विषय रहेको छ । जे भए पनि मल्लकालमा पनौतीको विकासले निरन्तरता पायो । अझ राजा भूपतेन्द्र मल्लले आफूलाई सहयोग गरेको हुँदा पनौतीको विकासका लागि आफ्नी बहिनी गंगालक्ष्मीलाई पनौती देशको रानी बनाउने निर्णय गरेका थिए । यसले पनौतीको इतिहासमा एक महत्वपूर्ण मोड ल्यायो ।
राजा भूपतिन्द्र मल्लको निगाहमा पनौतीलाई छुट्टै देशको सम्मान प्राप्त भएको थियो, जसले यस क्षेत्रको सामाजिक र सांस्कृतिक विकासमा योगदान पु¥यायो । त्यस समयमा पनौतीले उल्लेखनीय विकास र समृद्घि देख्यो तर नेपाल एकीकरणपश्चात् पनौतीको विकासमा ठेस पुग्यो । पनौती अन्य स्थानको तुलनामा बढी विकसित थियो, केन्द्रीकृत सरकारबाट यसलाई उचित समर्थन र प्राथमिकता प्राप्त भएन, जसले विकासमा ताला लाग्यो ।
२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् स्थानीय सरकारमा केही अधिकार मिलेको थियो तर दीर्घकालीन दृष्टिकोणका साथमा विकासको दिशा तय गर्न सकेन । १० वर्षे हतियारको द्वन्द्वले झनै पछाडि धकेलियो । २०६३ सालको राजनीतिक परिवर्तनले अन्यत्रजस्तै सार्वजनिक सम्पत्ति दोहन गर्ने काम मात्र भयो र यथार्थमा यसले विकासको गति रोक्यो । २०७२ सालको संविधानले स्थानीय सरकारलाई मजबुत अधिकार दिए पनि लिन जानेनन् । प्राकृतिक स्रोत दोहनले निरन्तरता पायो । तसर्थ, व्यवस्थित विकासका लागि जनप्रतिनिधिहरूले आफ्नो दायित्व र जिम्मेवारीलाई इमानदारीपूर्वक र व्यवस्थित रूपमा निर्वाह गर्नसके भविष्यमा यस क्षेत्रले ठूलो प्रगति हासिल गर्नेछ ।
प्राकृतिक तथा सम्पदाको संरक्षण
उत्तर प्रयागलाई केन्द्रीकृत गरी पनौती नगरपालिकासँगै रोशी उपत्यकाका अन्य पालिकालाई समेत समेटेर सामुदायिक पर्यटनको विकासको लक्ष्यमा नदीहरू, वन, जंगल र कला संस्कृति संरक्षण र सम्बद्र्धनसहितको धार्मिक पर्यटनको गन्तव्य बनाउनु धेरै कारणहरूले सफलता सुनिश्चित गर्छ ।
पवित्र नदी संरक्षण
सभ्य र सुखी समाजको बस्ती राम्रो नदी किनार वा असल पानीको पहुँच भएको स्थानमा हुन्छ । रोशी उपत्यकामा पनि मानिसहरूको जीविकामा पानीको सुनिश्चितताका कारण पवित्र नदीहरू पद्मावती (नन्दी र पुण्यमती)को किनारमा नाला, बनेपा, खडपु र चौकोटजस्ता राम्रा बस्ती बसेका थिए । अफसोच अव्यवस्थित बस्ती विकासका कारण तथा नदीको महत्व नबुझ्दा नदीहरू मात्र प्रदूषित होइन कि बासिन्दाको मानसपटलमा संकीर्णताको विकास भएभैंm लाग्छ अर्थात् ती नदीतटका बस्तीहरू कुरूप देखिन्छन् ।
यस्तै, लीलावतीको किनारमा सभ्य र सुन्दर बस्ती बनेकामा हाल आएर ढुंगाखानीका कारण पानी होइन हिलो, लेदो बग्ने तथा ढुंगा बोक्ने गाडीको धुलो उडाइले जमिनले पानी सोस्नसक्ने क्षमतामा ह्रास आएको छ । तसर्थ, यी नदीमा ठाउँठाउँमा बाँध बनाएर सार्वजनिक निजी व्यवस्थापनमा व्यापारिक प्रयोजनका आराम तथा जलक्रीडास्थल र मत्स्य व्यवसाय चलाउनसके सार्वजनिक जग्गाको संरक्षणका साथमा नदीको जल प्रवाहमा शुद्घता र नदीले निरन्तरता पाउने थियो ।
सरोकारवाला तथा सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारी र जवाफदेहितामा इमानदारिता अपनाए अवश्य पनि अवसर पर्खेर बसेको पनौतीले १२ वर्षको एकमहिने मकर मेला, वर्षको एकपटक एकदिने मकर संक्रान्तिमा मात्र होइन राष्ट्रिय अन्तर्राष्ट्रिय तीर्थयात्रीहरूलाई वर्षको ३ सय ६५ दिन नै प्रयाग तीर्थको सेवा दिने थियो ।
संरक्षण र सुदृढीकरण
रोशी उपत्यका वरिपरिका डाँडा खास गरेर पूmलचोकी र रत्नचुदेश्वरका डाँडाहरू जलभण्डारण क्षमताका बिरुवाहरूका कारणले पद्मावती र लीलावती खोलाका स्रोतहरू राम्रा थिए । २०३६ सालको राजनीतिक प्रभावले यी दुवै जंगल पनि अछुतो रहन सकेनन् । २०४० सालको समयका सल्ला वन विकास क्रान्तिले जलभण्डारणलाई विस्थापित ग¥यो । पहाडहरूबाट जल उत्पादनमा ह्रास आयो । खोलाहरूको आयतनमा कमी भयो । २०४६ सालको राजनीतिक परिवर्तनबाट उपत्यकामा बाह्य बसाइँ सराइले जंगल तथा जल भण्डारण क्षेत्रमाथि अतिक्रमण भयो । सल्लाका बिरुवाले अन्य स्थानीय प्रजातिका राम्रा रूख तथा सजावती वनस्पती र जडिबुटीको पनि निमिट्यात्र बनायो ।
जंगलका बिरुवाहरूको प्रतिस्थापनले जंगली पन्छी र जनावरहरू पनि प्रतिस्थापन भएर स्थानीय जैविक विविधतामा प्रभाव पारेको छ । आर्थिक, मानवीय तथा प्राकृतिक दृष्टिकोणबाट जंगललाई पहिलेकै बिरुवाहरू प्रतिस्थापन गरी प्रकृतिप्रेमी बनाउनु श्रेयष्कर हुनेछ ।
धार्मिक र सांस्कृतिक महत्व
रोशी उपत्यकामा परापूर्वकालदेखि मानव आवादी भएको, साथमा देवदेवीहरूको आवतजावत भएको तथा तत्सम्बन्धी धार्मिक र सांस्कृतिक विकास भएको इतिहास र दृष्टान्तहरू छन् । जस्तै, सतिदेवीको भाल पतन भएको भालेश्वर र दाहिने कान पतन भएको धनेश्वर, समुद्र मन्थनबाट फर्केका धनञ्जय बासुकी नागले राज गरेको त्रिवेणी, महर्षि गौतम र अप्सरा अहिल्या, स्वर्गका राजा इन्द्र र रानी साचीले तपस्या गरेको स्थान । अभयदान दिने नःम बुद्घ जन्मिएको, चन्देश्वरी माईको आशीर्वादबाट राजा आनन्ददेवले सात गाउँ (बस्ती) बसाले र हरेक बस्तीहरूमा मन्दिरहरूको स्थापना तथा बिस्तार गरेर संकृतिको संस्कार बसालेका थिए ।
८ सय वर्षपहिले बनेका बस्तीहरू, अहिले कल्पना गरेको प्रबुद्घ सहर (स्मार्ट सिटी) भन्दा धेरै उम्दा आदर्श नगर थिए भन्ने प्राकृतिक तथा दैवी प्रकोपबाट प्रभाव नपरेको तथा समाजमा संस्कृति र संस्कारले निरन्तरता पाएको बाट रोशी उपत्यकाको कति महत्व छ भन्ने स्पष्ट हुन्छ ।
समुदायको सहभागिता
ऐतिहासिक रचनात्मक सक्रिय समाज, अव्यवस्थित प्राकृतिक स्रोत व्यवस्थापन र अपारदर्शी सम्पदामाथिको आक्रमणबाट शिथिल हुँदैगएको छ । समाज परिचालन स्रोत भनेका युवा हुन् । सक्रिय युवा तथा जागरुक समाज भएको अन्य स्थानमा स्थानीय वा प्रादेशिक वा केन्द्रीय सरकारको स्रोत परिचालन गरी नयाँ कलाकृतिका संरचनाहरू बनाएर स्थानीय जीविकोपार्जनमा बढावा दिएका छन् । रोशी उपत्यकाका नगरपालिकाहरू यस सन्दर्भमा पछि परेको देखिन्छ । तसर्थ, स्थानीय समाजले युवा परिचालनका लागि स्रोतको पहिचान गरी सदुपयोग गर्नसके मानव स्वास्थ्यमा लाभ पु¥याउने प्राकृतिक स्रोतहरू नदी र जंगलको संरक्षण हुने थियो भने सम्पदाको निर्माण र संरक्षण, प्रवर्धनले जीविकोपार्जनमा बढावा दिने थियो । यस सन्दर्भमा ढुंगा खानीबाट जल जंगलमा प्रभाव पार्नुको साथमा धुलो उडाउँदै बस्तीका मानवको स्वास्थ्य र सम्पदाहरूमा पनि हानी गरेकामा ढुंगा ओसार्ने व्यवसायी र स्थानीयका बीचमा छलफल नै भएको छैन । यसका अलावा ढुंगा ओसार्ने व्यवसायी र स्थानीय विभिन्न विषयका कचमच हुने गरेको छ ।
ढुंगा ओसार्ने व्यवसायी र स्थानीयबीच मैत्रीसम्बन्ध बनाउन तथा जल जंगल तथा मानव स्वास्थ्यमा पर्न गएको प्रभावको क्षतिपूर्तिबापत हरेक वडाले ढुंगा बोक्ने टिपरसँग नगरपालिकाको अनुमतिमा हरेक सम्बन्धित वडाका क्लबहरूले ढुंगा बोक्ने ट्रिपरहरूसँग प्रतिट्रिप सय रुपैयाँका दरले उठाई सार्वजनिक सम्पदा र वन जंगल तथा सामुदायिक स्वास्थ्यचौकीको सेवा बिस्तारमा खर्च गरेमा एउटा जवाफदेही समाजको सिर्जना हुनेछ ।
निष्कर्षमा भन्नुपर्दा, उत्तर प्रयाग र नःम बुद्घलाई केद्रीकृत गर्दै पनौती नगरपालिका र रोशी उपत्यकालाई सामेल गरी हिन्दू र बौद्घ धार्मिक पर्यटनको गन्तव्य बनाउने अवधारणाले नेपाललाई पर्यटन क्षेत्रको एक महत्वपूर्ण गन्तव्य बत्रसक्छ । यसबाट स्थायित्व र समृद्घि प्राप्तिका लागि स्थानीय समुदाय, सरकारी निकाय र निजी क्षेत्रको सहकार्यको आवश्यकता छ ।
(Visited 17 times, 1 visits today)