प्रकाशित मिति : पुस ८, २०८१ सोमबार
रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको मृत्यु भएको आशंका गरिएको छ ।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ ९जेसीएस० ले युद्धमा उत्तर कोरियाका १ हजार १ सय सैनिकको ज्यान गएको बताएको हो ।
सियोलको जासुसी निकायले गत हप्ता सांसदहरूलाई बुझाएको एक रिपोर्टअनुसार डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा १ हजार उत्तर कोरियाली सैनिक मारिएका छन् ।
प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ कोरियाली सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा क्षेत्र कब्जा गरेको कुस्र्क सीमा क्षेत्रमा रहेका विश्वास गरिएको छ ।
सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार १०० उत्तर कोरियाली सैनिक जना हताहत भएको आँकलन गरेका छौँ जेसीएसले भनेको छ ।
जेसीएसका अनुसार प्योङयाङले पूरानालाई फिर्ता बोलाई नयाँ सैनिक वा थप सैनिक तैनाथ गर्ने तयारी गरिरहेको छ ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा मस्कोलाई थप सहयोग पु¥याउन ‘ड्रोन उत्पादन र उपलब्ध गराइरहेको’ दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ ।
उत्तर कोरियाले रुस–युक्रेन युद्धको अनुभवका आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको सियोलले जनाएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ ।
प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ ।