इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत

इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत


१० वैशाख, इलाम । खासमा यो उपचुनावको तयारी हो, तर राष्ट्रिय राजनीतिमा कुन दलका कुन शीर्ष नेता बढ्ता सान्दर्भिक छन् भन्ने ‘न्यारेटिभ’ को महाभिडन्त हुन गइरहेको छ इलाम–२ मा ।

चियाकिसानदेखि ओलन उत्पादकसम्म, सहरी बुद्धिजीवीदेखि सवारी चालकसम्म अनलाइनखबरले पछिल्लो पाँच दिन सयौं सर्वसाधारणसँग समूहमा तथा एक्लाएक्लै बातचित गर्‍यो, जसबाट इलाम २ मा २०४८ सालदेखि २०७९ सम्म खस्दै आएको मतको परम्परागत धारमा ठूलै उथलपुथल आइरहेको आकलन सहजै गर्न सकिन्छ ।

एमाले र कांग्रेस यो उथलपुथललाई बलियो पार्टी–संगठनको बलमा ‘चेक’ गर्न चाहन्छन् । नयाँ दलहरु इलाम २ को सुस्त विकास र कतिपय ठाउँमा अविकासको इतिहास देखाएर जनलहर सिर्जना गर्न चाहन्छन् ।

१५ वैशाखमा हुने उपचुनावमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मंगोल नेशनल अर्गनाइजेशन, राप्रपा नेपाल, जनमुक्ति पार्टीजस्ता पहिलेदेखिका शक्तिहरुका बीच उदाएका नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुले विमर्शलाई जबर्जस्त आफूतर्फ खिच्ने प्रयास गरिरहेका छन् ।

उम्मेदवारी दिने परम्परादेखि प्रचारशैलीसम्मै परेको प्रभाव र दबाब हेर्दा इलाम २ को राजनीतिमा बाहिरबाट सोचेभन्दा निकै चलायमान अवस्था छ भनी बुझ्न सकिन्छ ।

इलाम २ मा इलाम नगरपालिकाको वडा १० बाहेक सबै, देउमाई नगरपालिकाका सबै वडा र माई नगरपालिकाका ६, ७ र ८ वडा छन् भने चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वटा वडा छन् ।

१२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार इलाम २ को उपनिर्वाचनमा उत्रिएका छन् । इलाम नगरपालिकामा (१० वडा बाहेक) ३४ हजार ४५, देउमाई नगरपालिकामा २६ हजार ३६५ र माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् । यसैगरि चुलाचुली गाउँपालिकामा १८ हजार ५४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५३६, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३०२ गरी कुल १ लाख १५ हजार ८८९ मतदाता छन् ।

कुल मतदातामध्ये पुरुष ५९ हजार १८ जना, महिला ५६ हजार ८६९ जना र अन्य २ जना रहेका छन् । प्रत्येक पालिकामा पनि महिला भन्दा पुरुष मतदाताकै संख्या बढी छ ।

हामी यो उपचुनावी क्षेत्र घुम्ने क्रममा दक्षिण इलामका ग्रामीण क्षेत्रबाट अघि बढ्न थालेका छौं ।

हातले बुनेका मुढाहरु थचक्क बस्नका लागि हुन्, तर इलामको माई नगरपालिका वडा ७ लक्ष्मीचोकका तारमा लहरै मुढा झुन्ड्याइएका छन् । झापासँग सिमाना जोडिएको सुखानीबाट लारुम्बा जाने बाटोमा महमाई पर्छ, जसको छेवैमा लक्ष्मीबाँध छ ।

तारमा टाँगिएका मुढाको लस्कर देख्दा गाउँलेहरुको मनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको अनुहार आइरहेको छ । उपचुनावको तयारी क्रममा थेगिमसँगै उभिन आइपुगेका थिए धरान उपमहानगर मेयर हर्क साम्पाङ ।

उपचुनाव एमालेका उम्मेदवार सुहाङ नेम्बाङका लागि भन्दा पार्टी अध्यक्ष केपी ओलीका लागि बढ्ता महत्वपूर्ण बन्न गएको छ । कांग्रेसका डम्बर खड्का भन्दा बढ्ता दबाबमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा देखिन्छन्, भलै टिकट छिनोफानो गर्ने बैठकमा उनीहरु आफ्ना भिन्न मतहरुसहित गएका थिए ।

अब उनीहरुलाई आफ्नो पार्टीको खातामा एक सिट थपेर ८९ बनाउनेमात्रै होइन, उदाउँदा नयाँ दलहरुको प्रवाहलाई रोक्ने र कांग्रेसकै वर्चस्व निर्माण प्रयास गर्ने दबाब छ । सत्ता सञ्चालक माओवादी केन्द्रको छुट्टै उम्मेदवार त यहाँ छैन, तर प्रधानमन्त्री प्रचण्डका लागि नयाँ गठबन्धनअन्तर्गत एमालेको उम्मेदवार जिताउनु आफ्नोसमेत प्रतिष्ठाको विषय बन्न गएको छ ।

अनलाइनखबरको स्थलगत टिमसँग जितपुरमा भेटेका स्वतन्त्र उम्मेदवार थेगिमले गरेको दाबी अनुसार उनलाई काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयर बालेन शाह, धनगढीका अर्का स्वतन्त्र मेयर गोपी हमाललगायतको पनि सद्भाव छ ।

कट्टरपन्थी पृष्ठभूमिका स्वागत नेपालदेखि लेखक युग पाठकसम्म, अनि पहिचानवादी प्राध्यापक महेन्द्र लावतीदेखि आदिवासी जनजाति महासंघका पूर्वमहासचिव गोविन्द छन्त्यालसम्म थेगिमका लागि भोट मागिरहेका छन् ।

‘हेर्दाखेरि कांग्रेस र एमालेको मुख्य भिडन्तजस्तो देखिए पनि जित्नेचाहिँ मैले हो’, थेगिम दाबी गर्छन्, ‘ठूलो संख्यामा मत परिवर्तन हुने मैले बुझेको छु । साझा स्वतन्त्र उम्मेदवार भएकाले मलाई सजिलो पनि छ ।’

इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत
पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ।

थेगिमले यस्तो दाबी गर्दैगर्दा आदिवासी मतको रुझान उनीतर्फ मज्जैले आकर्षित देखिन्छ । तर खस–आर्य समुदाय भने उनीसँग आश्वस्त हुन सकेको देखिँदैन । कांग्रेस या एमालेमध्ये एक रोज्ने मतदाताहरुका बीच थुप्रैको रोजाइमा ‘घण्टी’ अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी पर्न थालेको देखिन्छ ।

कांग्रेस या एमालेका आमसभा र भेलाहरुमा सहभागी हुन पुगे पनि हामीसँगको कुराकानीमा उनीहरुले मत परिवर्तन हुने स्पष्ट संकेत गरेका छन् । इलाम–२ का विभिन्न ठाउँका मतदाताको कुरा सुन्दा चुपचाप मत परिवर्तन हुन सक्ने देखिन्छ । देउमाई–३ पानीटारका चियाकिसान निमा तामाङ भन्छन्, ‘पहिला जुन दल वा नेतालाई निरन्तर विश्वास गरेर जनताले एकछाप लगाइरहेका थिए, त्यसमा फेरबदल आउने देखिन्छ ।’ निमाकै शैलीमा कुरा गर्ने मतदाताहरुको संख्या हामीले निकै ठूलो मात्रामा पायौं ।

काठमाडौंमा नेताहरुले इलाम–२ को यो बदलिँदो मुडलाई चुनावअगावै पढ्न सकेका छन्, तर तात्कालिक समाधान उनीहरुसँग पनि छैन । त्यसैले एमाले अध्यक्ष केपी ओली आफैं दुईपल्ट इलामको यात्रामा छन् ।

अघिल्लो बुधबार आफ्ना उम्मेदवार सुहाङ नेम्बाङका लागि ओली देउमाई नगरपालिकामा भोट माग्न आइपुगे । उनले विगतमा कांग्रेस लक्षित टिप्पणी गर्थे, जबकि अहिले उनको नरम अभिव्यक्ति स्वतन्त्र पार्टी वा पहिचान पक्षधर उम्मेदवारतिर बढ्ता लक्षित थियो ।

उनले विकास र स्थिरताका लागि मिसन ०८४ को कुरा गरे । फाल्गुनन्दलाई विभूति घोषणा गर्नेदेखि पहिचानका लागि एमालेले काम गरेको भन्दै कोशी नामकरण ताकाको असन्तोष खुकुल्याउने कोसिस गरे । ओलीको एउटै आग्रह थियो, ‘तपाईंहरु सुहाङलाई जिताउनुहोस् । इलाम–२ को विकासको जिम्मेवारी म लिन्छु, एमालेले लिन्छ ।’

इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत
इलाम सुन्तलाबारीस्थित निवासमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ।

ओली १२ वैशाखमा फेरि चुलाचुली पुगेर भोट माग्नेछन् । बलियो राष्ट्रिय शक्तिबेगर देशको भविष्य सुदृढ नहुने धारणा स्थापित गर्न खोजिरहेका ओली यो उपचुनावमा आफ्नो वैचारिक आधारको परीक्षण गर्न चाहन्छन् ।

०५१ को मध्यावधि चुनावमा बाहेक यो क्षेत्रमा सधैं एमालेले जित्दै आएकाले पनि ओलीका लागि यो उपचुनाव प्रतिष्ठाको विषय बन्न गएको छ । सुहाङ आफैंले नयाँ पुस्तालाई बढ्ता अपिल गर्ने रणनीति बनाएका छन् । फेसबुकमा युवा मतदातासँगको तस्वीरलाई प्राथमिकतासाथ राखेका छन् ।

गाउँसम्मै चल्ने स्मार्टफोनसँगै फेसबुक लगायत सामाजिक सञ्जाल उपलब्ध छन्, जहाँ मतदाताको धारणा घरमा फहराएको पार्टीविशेषको झण्डाले होइन, डिजिटल डिस्प्लेमा देखाइएका प्रचार सामग्रीले बढ्ता प्रभावित पारिरहेका छन् ।

अरु उम्मेदवारभन्दा सुहाङको प्रचार रणनीति कमजोर देखिँदैन । फेसबुकका विभिन्न ग्रुप र पेजमा गाउँका बुढापाकाहरुको भिडियो र तस्वीर देखिन्छ । सुहाङ भाषण सकभर गर्दैनन् । अन्तर्वार्ता दिँदैनन् । बरु इमोसनल अपिलका लागि कहिले संगीत, कहिले दिवंगत बुवा तथा यस क्षेत्रमा ०५६ यता निरन्तर विजयी नेता सुवास नेम्बाङसहितका तस्वीर त कहिले भूपी शेरचनका कविता पोस्ट गर्छन् ।

मंगलबारेको सभामा त लिखित मन्तव्य नै दिए र त्यसलाई एकसरो व्याख्या गरे । अध्यक्ष ओलीले आमसभाको समीक्षा गर्ने क्रममा सुझाव नै दिए, ‘तपाईले अलिक लामो बोल्नुहुन्छ भन्ने आशा थियो ।’

सुहाङका लागि एमाले केन्द्रले तुलनात्मक रुपमा कम नेताहरु खटाएको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकका कारण जस्तो देखिए पनि पहिचान राजनीतिको दबदबाबीच नेताहरु ठूलो संख्यामा देखा पर्दा प्रतिक्रियात्मक माहोल बन्न सक्ने भएकाले एमालेले सतर्कता अपनाएको हो ।

बरु ओली स्वयं एक किसिमले इलामको चुनावलाई प्रत्यक्ष हाँकिरहेका छन् । अघिल्लो साता इलाम सदरमुकाम र देउमाई आएका बेला उनले गाउँ तहसम्मका कार्यकर्ताहरुलाई आफैं दुई दिनसम्म भेटेर गुनासा र असन्तोष सुने ।

उनले विगतमा पार्टी राजनीतिको अनुभव र इतिहासको विरासत नभए पनि कुन विशेष परिस्थितिमा युवा उम्मेदवार लिएर पार्टी गइरहेको छ भनी बुझाउने प्रयास गरे । अरु बेलाझैं कडिकडाउ भाषण गर्लान् भनी सुन्न आएका दर्शक उनको नरमपना देखेर छक्कै परे ।

इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा त २ वैशाखयता इलाममै बसिरहेका छन् । एमाले पक्षधरलाई सक्दो फकाउने, पहिचान पक्षधरलाई नचिढ्याउने, स्वतन्त्र पार्टीतर्फको प्रवाहलाई रोक्ने उनको रणनीति देखिन्छ ।

०७९ को चुनाव क्रममा कांग्रेस पार्टीभित्र उत्कर्षमा पुगेको मनोमालिन्य साम्य पार्न शर्माले यतिबेला सम्पूर्ण ऊर्जा खर्चेका छन् । कांग्रेसतर्फको परम्परागत मताधार बचाउन सके, अनि विपक्षीतर्फको मतलाई धेरथोर आफूतिर केन्द्रित गर्ने, नत्र तीनतिर अर्थात् स्थानीय भाषामा सूर्य, घण्टी र मुढातिर छरपष्ट हुन दिए जित्न सकिन्छ भन्ने शर्माको बुझाइ देखिन्छ । ‘चुनावका बेला उम्मेदवारहरुलाई कम आँक्न मिल्दैन, तर हाम्रो मुख्य प्रतिस्पर्धा एमालेसँगै हो’, शर्माले भने, ‘कांग्रेसलाई यसपल्ट तुलनात्मक सहजता छ ।’

अर्का महामन्त्री गगन थापाले शर्मासँगै इलाम नगरपालिका, देउमाई, फाकफोकथुममा पुगेर उम्मेदवार डम्बर खड्काका लागि मत मागे । उनले इलामले यसपल्ट राजतन्त्रलाई अनुमोदन नगर्ने आशा गरेको भन्दै घुमाउरो पारामा सुहाङको विपक्षमा मतदातालाई अपिल गरे । सहकारी ठगीका मुद्दामा रास्वपा नेताहरु मुछिएको भन्दै कांग्रेसको अपरिहार्यताबारे बोले ।

शर्माजसरी ढुक्कै इलाम नबसे पनि थापाको ओहोरदोहोर हेर्दा कांग्रेसलाई परेको दबाब प्रष्टै बुझ्न सकिन्छ । ०७९ मंसिरको आम चुनावमा संविधानसभा अध्यक्ष तथा एमालेका शीर्षस्थमध्ये एक नेता सुवास नेम्बाङसँग ११४ मतमात्रैले हारेका डम्बर खड्का फेरि प्रतिस्पर्धामा छन्, जसको पक्षमा जित निकाल्न महामन्त्री शर्मालाई पार्टीले चुनावी कमाण्डर खटाएको हो ।

रोचक के छ भने शर्माले पार्टी केन्द्रका नेताहरु कम, कोशी प्रदेशका नेताहरु बढ्ता परिचालन गरिरहेका छन् । शशांक कोइराला र शेखर कोइराला पुगेर मतदातासँग मत माग्नेबाहेक प्रादेशिक स्तरकै नेताहरुको बाहुल्य छ । कोशीका १४ जिल्लाबाटै आएका नेताहरु यति बेला इलाम बजार र पालिकामा खटिएका छन् । जस्तो कि ताप्लेजुङबाट आएकी कांग्रेस नेतृ लीला बोखिमलाई अनलाइनखबरको टिमले माङ्सेबुङमा भेटेको थियो ।

सोलुखुम्बुदेखि सुनसरीसम्मका नेताहरु यति बेला स्पोर्टस् जुत्ता लगाएर गाउँ पसिरहेका छन् । सभाहरुमा निर्वाचन क्षेत्रबाहिरबाट समेत गाडीमा कार्यकर्ता ओसारिरहेका छन्, जबकि मतदातालाई अपिल गर्न सामाजिक सञ्जाल बढ्ता प्रभावशाली औजार बनिरहेको छ । पुरानो प्रचार रणनीतिले इलाम २ मा उस्तो काम गरिरहेको छैन ।

उपप्रधानमन्त्री, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पटक पटक इलाम ओहोरदोहोर गरे । पछिल्लोपल्ट पनि उनी बिहीबार माङ्सेबुङ हुँदै गजुरमुखी प्रवेश गरे । उम्मेदवार मिलन लिम्बुका लागि मत माग्न उनी फाकफोकथुमका विभिन्न वडा पुगे ।

इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत

पाँचथरसँग सिमाना जोडिएको राँके बजारमा उनले शनिबार साँझ अबेरसम्म आमसभा गर्दा टर्चलाइट बालेर दर्शकहरु सहभागी थिए । उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री सुमना श्रेष्ठ, तोसिमा कार्की, रमेश प्रसाईलगायत नेता इलाम २ लाई मुकाम बनाएर खटिएका छन् ।

रास्वपा नेता रमेश प्रसाई लारुम्बामा तथा केन्द्रीय सदस्य राजन गौतम राँके बजारमा थिए । इलाम–२ मा कोशीभन्दा बाहिरको नम्बरप्लेट भएका गाडी, मोटरसाइकलको ताँती छ । होटलका कोठा खाली भेट्न मुश्किल पर्छ । भाडाका गाडीहरुले चर्को मोल तोक्दा पनि भ्याइनभ्याई कुदिरहेका छन् । पेट्रोल पम्पहरुमा पेट्रोल र डिजलकै अभाव हुन थालेको स्थानीयहरु सुनाउँछन् ।

विभिन्न जिल्लाका रास्वपा नेता कार्यकर्ता यति बेला इलाममा केन्द्रित छन् । स्वयंसेवी ढंगले आउने, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा पालिका र वडामा बाँडिने रास्वपा शैली छ ।

सुदूरपश्चिम प्रदेशसम्मकै नेताहरु इलाममा आइपुगेको उपसभापति स्वर्णिम वाग्लेले सुनाए । ‘तनहुँको टिमलाई मैले नै लिएर आएको छु, सुदूरपश्चिमका सभापति लगायत नेता यहीँ हुनुहुन्छ’, उनले भने, ‘माहोल हामीले सोचेभन्दा पनि राम्रो छ । त्यसैकारण तीनवटै ठूला भनिएका पार्टीले हामीलाई विश्वसनीय चुनौती (क्रेडिबल थ्रेट) का रुपमा लिन थाल्नुभएको छ ।’

चुनावको मौन अवधि नजिकिँदै जाँदा नेताहरुको ध्यान चुलाचुलीतर्फ खिचिएको छ । रवि, स्वर्णिम लगायत नेता पनि चुलाचुलीको सभा र घरदैलोहरुमा सहभागी हुने कार्यक्रम छ । इलाम–२ मा इलाम नगरपालिकालाई छाडेर दोस्रो बढ्ता मतघनत्व भएको पालिका चुलाचुली हो । इलाम नगरको मतदातासंख्या ३४ हजार ४५ छ भने चुलाचुलीको १८ हजार ५४५ छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टी अध्यक्ष सीके राउत पनि इलाम आउने नेतामा पर्छन् । प्रेमदीप थाम्सुहाङ उनी समर्थित उम्मेदवार हुन् । गत बिहीबार दुर्गा प्रसाईं पनि इलाम आए, जसको कुनै उम्मेदवार छैन । तर दर्जनौं भारतीय नम्बरप्लेटका गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै उनी इलाम सदरमुकाम पुगे । उनले कुनै उम्मेदवारको पक्षमा होइन, चुनावमा भोट नहाल्न अर्थात् नो भोट अभियान चलाउँदै मतविरोधी मत मागे ।

यसरी हेर्दा इलामको उपचुनावमा जोसुकै उम्मेदवार उठेका होउन्, वास्तविक भिडन्त काठमाडौंका शीर्ष नेताहरुबीच भइरहेको बुझ्न सकिन्छ । उनीहरुको तयारी हेर्दा आफ्नै निर्वाचन क्षेत्रमा गरेको मिहिनेतभन्दा कुनै पनि हालतमा कम देखिँदैन ।

इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत
माङसेबुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ।

देउमाई नगरपालिकामा अघिल्लो साता एमाले अध्यक्ष ओलीले त्यसै भनेका होइनन्, ‘सुहाङले हार्दा सुहाङलाई होइन, इलामलाई घाटा हुन्छ ।’

पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिमले आफ्नो पक्षमा जबर्जस्त माहोल बनाउने कोसिस गरेका छन् । स्थानीयहरुमध्ये धेरैले गरेको आकलनअनुसार यसपल्ट उपचुनावमा हारजित जोजसको भए पनि १० हजार मत सहजै कटाउन सक्ने उम्मेदवारमध्ये थेगिम पनि पर्न सक्छन् । किनभने उनलाई कोशी प्रदेश पुनःनामांकन संघर्ष समितिमा आवद्ध धेरै जनजाति आदिवासी घटकहरुको समर्थन छ ।

त्यसैले कांग्रेस उम्मेदवार डम्बर खड्का निकै रणनीतिक रुपमा प्रस्तुत हुन खोजेका छन् । कट्टर पहिचानवादीहरुले विगतमा दिएका चर्का नाराबाट त्रस्त क्षेत्रीबाहुन समुदायलाई उनले एकातर्फ अपिल गर्न खोजिरहेका छन्, अर्कातर्फ कोशी प्रदेश पुनःनामांकन गर्दा बहुपहिचानको सम्बोधन हुन सक्ने भन्दै जनजाति समुदाय पनि रिझाउन खोजिरहेका छन् ।

‘म आदिवासी जनजाति समुदायदेखि सबैको पहिचान सम्बोधन हुनुपर्छ भन्नेमा छु, त्यसका लागि प्रदेशको नाम कोशी होइन, अरु नै हुनुपर्छ भन्ने ठानेको छु,’ खड्का भन्छन् ।

इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत
इलाम बजारमा कांग्रेस उम्मेदवार डम्बर खड्का ।

त्यसैले वास्तविक लडाई ती शीर्षहरुको हो, जो ०८४ को आम चुनावका लागि आफ्नो सान्दर्भिकता सिद्ध गरिराख्न चाहन्छन् । ओली, शर्मा–थापा, लामिछाने, साम्पाङ, लिङ्देनलगायतको बीचमा भाष्यहरुकै भिडन्त हुन गइरहेको छ, जहाँ उनीहरु ०८४ को चुनावका लागि को बढ्ता सान्दर्भिक छ भन्ने मान्यता स्थापित गर्न चाहन्छन् । सुहाङ डम्बर, मिलन, डकेन्द्र त देखिएका स्थानीय उम्मेदवार मात्रै हुन् ।

०८४ को आम चुनाव आउन अझै तीन वर्ष बाँकी छ, जबकी यसबारे अहिल्यै सघन परिचर्चा छ । ०७९ को आम चुनावमा रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलको उदयले पनि ठूला दलहरुलाई झस्काइदिएको छ ।

अर्कातर्फ कतिपय स्वतन्त्र उम्मेदवारहरुले ०७९ वैशाखको स्थानीय चुनावमा ल्याएको विजयी मतले पनि परम्परागत मताधारमा प्रश्नहरु उठाउन थालेका छन् । तसर्थ ओली अझै पनि कतिपय कमजोरीहरुका बाबजुद पार्टीमा र राष्ट्रमा आफू नै सान्दर्भिक छु भन्ने सावित गर्न चाहन्छन्, यसका लागि उनले मिसन ग्रासरुट, मध्यपहाड यात्रा, मिसन ८४ लगायत अभियान चलाइरहेका छन् ।

कांग्रेसमा एकलौटी गर्दै आएका सभापति देउवा पनि उदीयमान महामन्त्रीहरुलाई सम्पूर्ण रुपमा बाइपास गरेर होइन, विश्वासमा लिएर फेरिँदो जनमतलाई नजिक्याउन चाहन्छन् । पुरानै शैलीमा संगठन गरेर अब कांग्रेस अघि बढ्न सक्दैन भन्ने तथ्यलाई उनले घुमाउरो पारामा विश्वास गर्न थालेको अनुभूति हुन्छ ।

अर्कोतर्फ ०७९ मै मिसन पीएम, प्रोजेक्ट गर्भमेन्टजस्ता अभियान चलाएर सत्तारोहणको आकांक्षा राखेका गगन थापा यात्रामा सम्भावित तगारो बनेर आउन सक्ने रास्वपालाई साइजमा राख्न चाहन्छन् । कांग्रेसमा उनले चलाएको समुदायमा कांग्रेस लगायत पुनर्जागरण र रुपान्तरण कार्यक्रम कामयाब थियो भनी प्रमाणित गर्ने मौकाका रुपमा उपचुनावलाई प्रयोग गर्न खोजेका छन् ।

इलाममा ०६४ यता नै तेस्रो स्थानमा रहेको माओवादी केन्द्र पछिल्ला वर्षहरुमा भने कहिले कांग्रेस त कहिले एमालेलाई सघाउने अवस्थामा छ । संसदीय चुनावमा संघीय संसदतर्फ उसको कुनै छुट्टै राजनीति छैन, तर कांग्रेसले असहयोग रहेको बुझाईसहित एमाले गठबन्धनमा आउँदा उसका लागि समेत नेम्बाङको विजय आफ्नो सान्दर्भिकता प्रमाणित गर्ने चुनौतीका रुपमा अघि आएको छ ।

यस अर्थमा यो उपचुनाव तीन ठूला पार्टीहरुका लागि आफ्नो सान्दर्भिकता प्रमाणित गर्ने औजारका रुपमा आइपुगेको छ, जसलाई नयाँ पार्टी र उम्मेदवारहरुको उदयले बलियो चुनौती पेश गरिरहेको छ ।

इलाममा भेटिएका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले यो उपचुनावलाई आफ्नो दलको सामर्थ्य परीक्षण गर्ने अर्को मौकाका रुपमा व्याख्या गरे । पोहोर वैशाखको उपचुनावमा तनहुँ–१ बाट जितेका वाग्लेले त्यस्तै अर्को उपचुनावले सुदुरपूर्वमा रास्वपाको परीक्षा हुन गइरहेको विश्लेषण गरे ।

वाग्लेले थ्री डी, अर्थात् डेमोग्राफी, डिजिटल र डायस्पोराबाट पाएको साथका कारण यो उपचुनावमा जित निकाल्न सकिने आशा व्यक्त गरे । युवा जनसंख्याको बढोत्तरी, सामाजिक सञ्जालको प्रयोगसँगै प्रवासमा रहेका नागरिकले परिवारलाई गर्ने आग्रहमार्फत् मत पाउन सकिने उनको विश्वास छ । उनले भने, ‘दुई वर्षअघि हाम्रो भोट जम्मा १३ सय थियो, यसलाई १३ हजार पुर्‍यायौं भने पनि १० गुणाभन्दा ठूलो मत पाउनेछौं, त्यही नै हाम्रो विजय हुनेछ ।’

०७९ मंसिरमा चुनाव जित्दा सुवास नेम्बाङले ३० हजार २० मत पाएका थिए । उनीभन्दा ११४ मत कम पाएर डम्बर खड्का पराजित थिए । यसपल्ट ठूलो संख्यामा मत बाँडिँदा उम्मेदवारले जित्न चाहिने मत कम भए पुग्ने आकलन छ । तर वाग्लेले भनेझैं रास्वपालाई सहजतामात्रै छैन ।

खासगरी पहिचान आन्दोलनको केन्द्र नै मानिएको इलाम–२ मा रास्वपा लड्न जाँदा विगतमा प्रदेश संरचना खारेजीका लागि उसले लिएको अडान नकारात्मक कारक बन्न सक्ने छ । वाग्ले भने आफूहरु संघीयताविरोधी नभएको, अहिलेकै शैलीमा प्रदेश चलाउँदा भने क्षति भोग्नुपर्ने तर्कसहित बचाउ गर्छन् ।

देशैभरिको राजनीतिक शक्ति इलाममा केन्द्रित हुँदा मेला, महोत्सव र पर्वजस्तो माहोल पनि देखिन्छ । यथार्थमा इलामको समृद्ध नक्साभित्र यस्ता दुर्गम भेग पनि छन्, जसको बारेमा सिंगो राष्ट्र उति जानकार नहुन सक्छ, र ती क्षेत्र इलाम २ मै पर्छन् ।

त्यसैले मतदाताहरुको अनुभूति चुनावी भ्रमणमा आउने आगन्तुकको जस्तो मिठोमात्रै भने पक्कै छैन । सडक स्तरोन्नतिको काम धिमा गतिमा छ । अधिकांश सडकमा वर्षायाममा गाडी चल्दैनन् ।

यो चुनावमा धेरैजसो उठेको मुद्दा हो विकास र डेलिभरीको । त्यसलाई छाड्ने हो भने नीतिगत रुपमै परिवर्तन गर्नुपर्ने खास एजेण्डाहरुमा पनि मतदातालाई उतिसाह्रो चासो छैन । उनीहरुले बर्खाको बेला पनि सहजै सामानको ढुवानी गर्न सकिने खालको सडक, श्रमको उचित मूल्य, आफूले उत्पादन गरेको कृषि उपजको मूल्य, बेचिसकेको दूधको भुक्तानीका कुराहरु उठाएका छन् ।

नित्य श्रम गर्दागर्दै भेटिएका मतदाताहरु आफ्नो बच्चाले गुणस्तरीय स्वास्थ्य र शिक्षा सहज रुपमा पाउनुपर्ने बताउँछन् । चुनावको समयमा आम जनताका माग के के हुने भन्ने सबै उम्मेदवारलाई थाहा नै भएपनि उम्मेदवार र पार्टीहरुले बुझ पचाउने गरेको एक चिया मजदुरले बताए ।

‘हामीलाई साच्चै के चाहिएको छ भन्ने कुरा त उम्मेदवारलाई थाहा नै हुन्छ नि, हामीले भनिरहनुपर्ने कुरा नै होइन’, उनले भने, ‘थाहा पाई पाई पनि केही गर्दैनन्, अनि फेरि भोट माग्न आउछन् ।’

चिया मजदुरको अपेक्षा पनि हरियो चियाले उचित बजार मूल्य पाउनुपर्ने र चिया मजुदरले श्रमको उचित मूल्य पाउनुपर्ने भन्ने मात्र छ । दूध उत्पादक किसानहरुले पनि दूधको मूल्य समयमा पाउनुपर्ने माग राखेका छन् । ५ महिना अघि बेचेको दूधको पैसा हालसम्म नपाएको उनीहरुको गुनासो छ । समुदायमा भएका आम समस्याका बारेमा राजनीतिक दल र नेताहरुलाई थाहा भएपनि नागरिकका मसिना समस्यामा दलहरुले चासो नदिएको मतदाताको गुनासो छ ।

इलाम-२ मा ठूलो संख्यामा मत परिवर्तनको संकेत

गाडी चालकहरुले सुनाएका आकांक्षा पनि त्यस्तै प्रकारका छन् । विगत एक महिनादेखि सार्वजनिक सवारी, मूलतः इलाममा अधिकतम चल्ने जिप र अन्य साना सवारीका यात्रुहरुले गन्तब्यसम्म नै चुनावको मात्र चर्चा परिचर्चा गर्ने गरेको सवारी चालक साङ्गे शेर्पाले बताए ।

सामान्यतया राजनीतिक दलका कार्यकर्ता र नेता बाहेकका आम जनताहरु यस पटक मत बदल्ने चर्चा गर्नेहरुको संख्या अत्यन्तै धेरै रहेको शेर्पाको भनाइ छ । यात्रामा हुने कुराकानीका क्रममा एक यात्रुले अन्य यात्रुहरुलाई समेत मत बदल्न प्रेरित गर्ने गरेको शेर्पाको अनुभव छ ।

निर्वाचनको मिति तोकिएको सुरु सुरुमा त इलाम काठमाडौं माइक्रोबस चलाउने सुशील विश्वकर्मा यात्रुहरुको चुनावी गफ सुन्दा सुन्दा वाक्क भएका थिए । ‘सुरु सुरुमा त राजनीतिक गफ सुन्दा सुन्दा वाक्क दिक्क हुन्थ्यो, आजकल बानी भयो’, उनी भन्छन् ।

फरक मत भएका यात्रुहरु एकैपटक चढेको समयमा त कहिलेकाहीँ वादविवाद नै हुने गरेको उनले सुनाए । विश्वकर्माका अनुसार विगतका बर्षहरुमा यात्रुहरु जसरी पुराना दलको पक्षपोषण गरेर गफिन्थे, अहिले ठीक उल्टो भएको छ । आम मान्छेले संगठन नै नभएको पार्टी र स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्न थालेको उनले महसुस गरेका छन् ।

प्राध्यापक दीपक लुंगेलीले हिजोका मुख्य दलहरु इलामको निर्वाचनको सन्दर्भमा आफ्ना कदमहरुको बचाउ गर्ने अवस्थामा पुगेको, नयाँ पार्टीहरु आक्रामक देखिएको विश्लेषण गरे । मतदातासामू पहिले सीमित पार्टीहरुको वर्चस्व रहेकामा अहिले छनोटको सुविधा वृद्धि भएको उनको विश्लेषण छ ।

‘मतदाताहरुसँग अब विकल्प भयो, पुरानै छान्ने कि नयाँमा पनि जान सक्ने भन्ने सुविधा छ’, उनले भने, ‘परिणाम रोचक आउन सक्छ ।’

एमालेले आफ्नो ५ देखि ७ प्रतिशतसम्म मत पहिचान पक्षधर उम्मेदवार थेगिमलाई जान सक्ने आकलन गरेको छ । कांग्रेसतर्फको करिब १५ प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने बुझाइमा रहेको एमालेतर्फकै मतसमेत रास्वपा उम्मेदवारतर्फ संक्रमण हुने संकेतहरु प्राप्त छन् ।

अर्कातर्फ विगतमा कांग्रेससँग गठबन्धनमा रहेको माओवादी केन्द्रले एमालेसँग नयाँ गठबन्धनमा रहे पनि त्यसका समर्थकमध्ये कतिपयले थेगिमको चुनाव चिह्न मुढामा, कतिपयले अन्यत्र मत हाल्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

एमालेसँग आफ्नो मुख्य प्रतिस्पर्धा हुने ठानिरहेको कांग्रेसको आकलन पनि एमालेकै जस्तो छ । अर्थात् कांग्रेसले रास्वपालाई, एमालेले स्वतन्त्र उम्मेदवार थेगिमलाई आफ्नो चुनौती मानेका छन् । विश्लेषकहरु भने लहर चल्ने अवस्था आयो भने कुनै पनि आकडा र अनुमानले काम नगर्ने ठान्छन् ।

अर्का प्राध्यापक अरुण नेपाल इलाम–२ को मतपरिणाम अनपेक्षित आउनेमा विश्वस्त हुँदै भन्छन्, ‘पुरानो मतको तथ्यांक हेरेको भरमा निष्कर्ष निकाल्न सम्भव छैन । जनताले परिवर्तन चाहेको संकेत मिलेको छ, जित्न त कसले जित्छ, मलाई थाहा छैन, तर रिजल्ट हिजोको जस्तो चाहिँ नआउन सक्छ ।’

तस्वीर र भिडियो : आर्यन धिमाल





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School