प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार

इरान–अमेरिका–इजरायल युद्ध थप चर्किँदै गएको छ। यस युद्धमा हालसम्म हजारौँको मृत्यु भएको अनुमान गरिएको छ। इरानले अमेरिकी दूतावास र इजरायलतर्फ निरन्तर मिसाइल प्रहार गरिरहेको छ।
अमेरिकी सैन्य अधिकारीहरूका अनुसार युद्धमा मारिने अमेरिकी सैनिकको संख्या कम्तीमा १३ पुगेको छ भने घाइते हुने सैनिकहरूको संख्या बढेर करिब २०० पुगेको छ।
मध्यपूर्व क्षेत्रमा फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेयता ३,००० भन्दा बढी मानिसको ज्यान गएको अनुमान छ। मृतकमध्ये १,३५१ जना सर्वसाधारण नागरिक र १,१२६ जना सैन्यकर्मी रहेका छन्।
लेबनानमा पनि युद्धको प्रभाव गम्भीर देखिएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६७ महिला र १११ बालबालिकासहित ८८६ जनाको मृत्यु भइसकेको छ। यस युद्धका कारण संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरेबिया, बहराइन र ओमानमा समेत मानिसहरूको मृत्यु भएको रिपोर्टहरू सार्वजनिक भएका छन्।
यसैबीच, इजरायली सेनाले इरानबाट प्रहार गरिएका मिसाइलहरू इजरायलतर्फ आउँदै गरेको चेतावनी दिएको छ। टेलिग्राममार्फत जारी आपतकालीन सन्देशमा नागरिकहरूलाई तुरुन्त सुरक्षित आश्रयस्थल (बन्कर) मा जान आग्रह गरिएको छ। इजरायली सेनाका अनुसार ती मिसाइलहरूलाई रोक्न र नष्ट गर्न रक्षात्मक प्रणाली सक्रिय गरिएको छ।
अर्कोतर्फ, इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमाथि पनि पुनः ड्रोन र रकेट आक्रमण भएको छ। इराकी सुरक्षा स्रोतहरूका अनुसार युद्ध सुरु भएयता अमेरिकी दूतावासमाथि भएको यो “सबैभन्दा तीव्र आक्रमण” हो। यसअघि बग्दादस्थित अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि नयाँ सुरक्षा चेतावनी जारी गरेको थियो।
उक्त चेतावनीमा इरान समर्थित मिलिसिया समूहहरूले बग्दादको केन्द्रमा रहेको ‘इन्टरनेशनल जोन’ मा पटक–पटक आक्रमण गरिरहेको उल्लेख गरिएको थियो।
अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणमा सर्वोच्च नेता अली खामेनीलगायत वरिष्ठ अधिकारीहरूको मृत्यु भएपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्र तथा इजरायलविरुद्ध जवाफी हमला जारी राखेको छ।