प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार

तस्वीर स्रोत : अमेरिकी सेना रिजर्भ कमाण्ड
कुवेतको पोर्ट शुआइबा स्थित अमेरिकी सैन्य अड्डामा मार्च १ मा भएको इरानी ड्रोन आक्रमणमा परी ज्यान गुमाउने ६ जना नै अमेरिकी सैनिकको पहिचान खुलेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले थप दुई सैनिकको पहिचान सार्वजनिक गरेसँगै मृतक ६ वटै अमेरिकरी सैनिकको पहिचान खुलेको छ ।
पेन्टागनका अनुसार ज्यान गुमाउनेमा ४५ वर्षीय मेजर जेफ्री आर. ओ’ब्रायन रहेको पुष्टि गरिएको छ। उनी आयोवाको डेस मोइन्सस्थित १०३औँ सस्टेन्मेन्ट कमाण्डमा कार्यरत थिए।
त्यसैगरी ५४ वर्षीय चीफ वारन्ट अफिसर–३ रोबर्ट एम. मार्जानको घटनास्थलमै मृत्यु भएको व्यक्ति हुन सक्ने जनाइएको छ। उनको औपचारिक पहिचान मेडिकल एग्जामिनरमार्फत पुष्टि गरिने पेन्टागनले जनाएको छ। मार्जान पनि १०३औँ सस्टेन्मेन्ट कमाण्डमै कार्यरत थिए।
यसअघि पेन्टागनले उक्त आक्रमणमा मारिएका अन्य चार सैनिकको नाम सार्वजनिक गरिसकेको थियो। मार्च १ मा क्याप्टेन कोडी ए. खोर्क (३५), सर्जेन्ट फर्स्ट क्लास नोआ एल. टिटजेन्स (४२), सर्जेन्ट फर्स्ट क्लास निकोल एम. अमोर (३९) र सर्जेन्ट डेक्लान जे. कोडी (२०) को पनि मृत्यु भएको थियो।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) अनुसार इरानविरुद्धको सैन्य कारबाहीका क्रममा केही सैनिक गम्भीर घाइते भएका थिए। घाइतेमध्ये एक सैनिकको उपचारका क्रममा मृत्यु भएको र प्रारम्भिक आक्रमणपछि बेपत्ता भएका दुई सैनिकको शव पछि फेला परेको जनाइएको छ।
अमेरिकी आर्मी रिजर्भका प्रमुख लेफ्टिनेन्ट जनरल रोबर्ट हार्टरले मृत सैनिकहरूलाई श्रद्धाञ्जली दिँदै उनीहरूको बलिदान राष्ट्रले सधैं सम्झिरहने बताएका छन्।
यसैबीच, अमेरिका र इजरायलले इरानमाथि निरन्तर सैन्य कारबाही गरिरहेका बेला इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र संरचनाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरिरहेको छ।
सेन्टकमका अनुसार अमेरिकी तथा साझेदार सेनाले शनिबार बिहान १ः१५ बजेबाट इरानविरुद्ध सैन्य अभियान सुरु गरेका थिए। उक्त अभियानको मुख्य उद्देश्य इरानी शासनको सुरक्षा संयन्त्रलाई कमजोर बनाउनु तथा तत्काल खतरा पैदा गर्ने सैन्य संरचनाहरूलाई निशाना बनाउनु रहेको बताइएको छ।
यस कारबाहीका प्रमुख लक्ष्यहरूमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्ड केन्द्रहरू, इरानको हवाई रक्षा प्रणाली, मिसाइल तथा ड्रोन प्रक्षेपण स्थलहरू र सैन्य हवाई अड्डाहरू रहेका छन्।