प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अधिकारीहरूले इरानविरुद्ध चलिरहेको युद्धको पहिलो ६ दिनमै अमेरिकाले कम्तीमा ११ दशमलव ३ अर्ब अमेरिकी डलर खर्च गरेको अनुमान गरेका छन्। यसबारे जानकारी राख्ने एक स्रोतका अनुसार यो तथ्याङ्क मंगलबार अमेरिकी सिनेटरहरूका लागि गरिएको गोप्य ब्रिफिङमा प्रस्तुत गरिएको थियो।
उक्त रकमले युद्धको सम्पूर्ण खर्च भने समेट्दैन, तर द्वन्द्वबारे थप जानकारी मागिरहेका सांसदहरूलाई प्रारम्भिक विवरणका रूपमा दिइएको बताइएको छ।
कांग्रेसका केही सहयोगीहरूले ह्वाइट हाउसले चाँडै नै युद्धका लागि थप बजेट माग्दै कांग्रेसमा प्रस्ताव पेश गर्ने अपेक्षा गरिएको बताएका छन्। केही अधिकारीहरूले यो अनुरोध ५० अर्ब डलरसम्म हुन सक्ने अनुमान गरेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले केन्टकी भ्रमणका क्रममा बोल्दै आफुहरुले युद्ध जितेको भएपनि काम पूरा गर्न अमेरिका अझै लडाइँमा रहने बताएका छन्।
इरानविरुद्धको सैन्य अभियान फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणबाट सुरु भएको थियो। हालसम्म यस द्वन्द्वमा करिब २ हजार मानिसको ज्यान गएको बताइएको छ, जसमा अधिकांश इरानी र लेबनानी नागरिक रहेका छन्।
प्रशासनका अधिकारीहरूले सांसदहरूलाई दिएको जानकारीअनुसार, आक्रमणको पहिलो दुई दिनमै ५ दशमलव ६ अर्ब डलर बराबरको हतियार र गोला–बारुद प्रयोग गरिएको थियो।
कांग्रेसका केही सदस्यहरूले भने युद्ध लामो समयसम्म चल्दा अमेरिकी सैन्य भण्डार घट्ने र रक्षा उद्योगमाथि दबाब बढ्ने चिन्ता व्यक्त गरेका छन्। यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पले गत हप्ता रक्षा ठेकेदार कम्पनीका कार्यकारीहरूसँग भेट गरी सैन्य सामग्रीको आपूर्ति बढाउने विषयमा छलफल गरेका थिए। – न्युयोर्क टाइम्सको सहयोगमा