इरानविरुद्ध जारी युद्धमा मारिएका यी ४ अमेरिकी सैनिक



प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार

इरानविरुद्ध जारी युद्धमा मारिएका यी ४ अमेरिकी सैनिक

तस्वीर स्रोत : अमेरिकी सेना रिजर्भ कमाण्ड

अमेरिकी सेनाले मंगलबार इरानविरुद्ध जारी युद्धमा मारिएका अमेरिकी सैनिकमध्ये चार जनाको पहिचान सार्वजनिक गरेको छ।

अमेरिकी सेनाका अनुसार आइतबार कुवेतको पोर्ट शुआइबा स्थित अमेरिकी सैन्य अड्डामा ड्रोन ठोक्किँदा चार सैनिकको मृत्यु भएको हो। हालसम्म इरानसँगको युद्धमा अमेरिकी सेनाका कुल ६ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

मृतक चारै जना आयोवा राज्यको डेस मोइन्सस्थित १०३औँ सस्टेनमेन्ट कमान्डअन्तर्गत अमेरिकी आर्मी रिजर्भका सदस्य थिए। उनीहरूको उमेर २० देखि ४२ वर्षबीच रहेको पेन्टागनले जनाएको छ।

मृतक सैनिकहरूमा क्याप्टेन कोडी ए. खोर्क (३५), सार्जेन्ट फर्स्ट क्लास नोआ एल. टिटजेन्स (४२), सार्जेन्ट फर्स्ट क्लास निकोल एम. आमोर (३९) र सार्जेन्ट डेक्लान जे. कोडी (२०) रहेका छन्।

७९औँ थिएटर सस्टेनमेन्ट कमान्डका प्रमुख मेजर जनरल टोड एर्स्किनले मृतकका परिवार र सहकर्मीप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

अधिकांश सैनिकहरू पहिले पनि विदेशमा तैनाथ भइसकेका थिए। खोर्क साउदी अरेबिया, क्युबाको ग्वान्टानामो बे र पोल्यान्डमा खटिएका थिए भने आमोर कुवेत र इराकमा तैनाथ भएकी थिइन्। टिटजेन्स दुईपटक कुवेतमा खटिएका थिए। कोडी भने सन् २०२३ मा मात्रै आर्मी रिजर्भमा भर्ना भएका थिए र उनलाई मरणोपरान्त पदोन्नति गरिएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार इरानले अमेरिकी र इजरायली आक्रमणको प्रतिशोधस्वरूप मध्यपूर्वभरि ५०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र र २,००० भन्दा बढी ड्रोन प्रहार गरिसकेको छ।

मंगलबार आयोजित बन्द सत्रको बैठकमा रक्षामन्त्री, सुरक्षा अधिकारी र गुप्तचर प्रमुखहरूले सांसदहरूलाई अमेरिकी फौजमाथिको जोखिमबारे जानकारी गराएका थिए। डेमोक्र्याटिक सिनेटर क्रिस मर्फीले बैठकपछि अझै धेरै अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिइएको बताएका छन्।

कुवेतस्थित उक्त सैन्य अड्डा कंक्रिटका ब्लास्ट वालले सुरक्षित गरिएको भए पनि मजबुत छाना नरहेको र ड्रोन नजिकिँदा चेतावनी सायरनसमेत नबजेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी सेनाले जनाएको छ।





Source link

Leave a Comment