सङ्गत जीवनको एउटा महत्त्वपूर्ण कडी हो, जसले अँध्यारो वा उज्यालो जता पनि लान सक्छ। हुन त कृत्रिम बौद्घिकता (एआई) ले चाहेजस्तो जे पनि गर्न थालेपछि आश्चर्य भन्ने हराउँदै गएको अवस्था छ। प्रविधिले एकपछि अर्को वस्तु विस्थापित गर्दै लाँदा एल्बममा फोटो राख्ने चलन हराइसक्यो, तर पनि इतिहास बोकेका पुराना फोटाले बेलाबेला सम्झाउने, रुवाउने वा खबरदारी गर्ने रहेछन्। एल्बमभित्र च्यापिएका त्यस्ता अतीतलाई कथा–कहानी बनाएर ग्रन्थाकार दिनुमा लेखनशिल्प निकै खारिएको हुनुपर्छ। बेथिति, विसङ्गति र भ्रष्टचारीलाई तह लगाउन वीर क्रान्तिकारी सहिदको फोटोलाई साक्षी राखी प्रकाश तिवारीले उपन्यासमार्फत राज्यको प्रशासनिक संयन्त्रको गुदीलाई ‘९६ गड्डी’मा छताछुल्ल पोखेका छन्।
मानिसले जन्म लिएपछि एकखाले रसिक उमेर जसले पनि पार गरेको हुन्छ। त्यो रङ्गीन समयलाई कसरी प्रयोग गरिन्छ वा कस्तो सङ्गत गर्छ, त्यसले निर्धारण गर्छ। त्यो उमेरले नौलो कुरा सिक्ने या त नयाँ साथी बनाउने? ढुङ्गाको गड्डी खेल्ने कि पैसाको गड्डीमा लोभिने हो या रक्सीको गड्डीतिर लत बसाल्ने? कि गीत कविताबाट मायाभाव पोख्ने? यस्ता प्रश्नलाई थाती राखेर अल्लारे मनले लेखेका प्रेमपत्रहरू सुरुमा कविताजस्तै बन्छन् तर पनि प्रेमपत्रको लय आफैंले मिलाउनुपर्ने हुन्छ।
पटकपटक च्यात्दै फ्याल्दै गरेर तयार पारेको प्रेमपत्र आफूले चाहेकी प्रियालाई दिन झन् गाह्रो। त्यो चञ्चले उमेरको विज्ञानले धेरै पटक कोसिस गरेर एउटा प्रेमपत्र तयार गरेपछि मुकुदाको हातमा थमाइदिन्छ। तर आमाबुबाले थाहा पाएर मुकुदालाई पुर्ख्याैली घर पुर्याएबाट त्यो परिवारको मनोवृत्ति र त्यो उमेरको मनोकाङ्क्षालाई कुण्ठित पार्न खोजेको प्रसङ्गले सुरुमै जिज्ञासाको त्यान्द्रोलाई बलियो बनाएको छ।
त्यो उमेरमा हुने आकर्षण अनि पात्रलाई सुरुमै नमिठो झट्का लागेको कथानक प्रस्तुतिले अब के होला ? भन्ने बडो उत्कण्ठा जगाउँदै गर्दा कलेज लेभलमा फेरि दुवैजनाको भेट हुन्छ। त्यसपछि विज्ञान र मुकुदाको सम्बन्ध सुमधुर हुँदै जान्छ। कलेजको विद्यार्थी जीवन संघर्षपूर्ण हुने नै भयो। पढाइसँगै राजनीतिक असन्तुष्टिले विद्यार्थी संगठनमा लागेर आवाज उठाउने समयको माग थियो।
देशमा परिवर्तन ल्याएर समाज रूपान्तरण गर्ने क्रान्तिकारी विद्यार्थी मुकुदाले आन्दोलनमा ज्यान गुमाएपछि विज्ञान लोकसेवाको तयारीतिर जोडतोडले लागेको देखिन्छ। शाखा अधिकृतमा नाम निकालेपछि सामनासँग विवाह गराई लेखकले मुख्य पात्र विज्ञानलाई निजामती कर्मचारीका रूपमा प्रस्तुत गरेका छन्।
उपन्यास ‘९६ गड्डी’को सुरुमा पढ्दै जाँदा प्रेम कहानीले ओतप्रोत भएका रहस्यमय घटनाहरू होलान् जस्तो लाग्छ तर कथावस्तुले अर्कै मोड लिन्छ। भर्खर नियुक्ति भएको नयाँ कर्मचारी विज्ञानलाई कार्यालयमा घुलमिल हुन गाह्रो हुन्छ।
पदीय मर्यादा, हाकिमले गर्ने व्यवहार, दलमानलाई हाकिमनीले घरमा महिनावारी हुँदा पेटिकोटसमेत धुन लगाएको र फेरि सिडियोले हाकिमकै पक्ष लागेर जागिर चट पारेको कथावस्तुले पाठकलाई आक्रोशित बनाउँछ। नयाँ कर्मचारी विज्ञानले हाकिम नहुँदा हाकिमनीको उर्लंदो प्यास मेटाइदिन अस्वीकार गरेपछिको परिणामस्वरूप विज्ञानको सरुवा भएको घटनाबाट कर्मचारीहरू कहाँ, कोबाट, कसरी परिचालित हुँदा रहेछन् भन्ने देखाइएको छ।
सरकारी कार्यालयमा हाकिमदेखि हाकिमनीसम्म, कार्यकर्तादेखि नेतासम्म अनि तलदेखि माथिसम्मको सञ्जालभित्र झेलिएका कर्मचारीबाट कस्तो अपेक्षा गर्ने? जहाँको अफिसमा पनि कर्मचारीहरूसँग मिलेर भनेजस्तो भ्रष्टाचार गर्न नमान्दा सबै तहका कर्मचारीबाट हेलित हुनुपर्ने इमानदार कर्मचारीको दुर्दशा हुन्छ। त्यस्ता अनियमिततालाई विज्ञानले बुझ्दै गएपछि तलदेखि माथिसम्मको सेटिङ भत्काउन र सेवाग्राहीबाट रकम असुल्ने सञ्जाललाई तोड्न खोज्यो तर सकेन।
विज्ञानले जनताको पसिनाले लतपतिएको पैसा सित्तैमा लिन अस्वीकार गरिरह्यो, लडिरह्यो। घुसखोरीको जरा उखेल्ने सहिद मुकुदाको सपनालाई सम्झेर विज्ञान पछि हटिरह्यो तर अफिसको दबाब अचाकली आइरह्यो। सबै कर्मचारीको आँखाको तारो बन्दै गयो। त्यो सहन नसकेपछि विज्ञान मनोरोगको सिकार बन्छ र मुक्तिनाथ गएर ध्यान साधना गर्न थालेपछि उपन्यासमा विषयान्तर हुने हो कि भन्ने लाग्छ तर आख्यानकार तिवारीले प्रमुख पात्र विज्ञानलाई फर्काएर फेरि भ्रष्टाचारविरुद्घको आवाज उठाउन लगाउँछन्।
कार्यालय हाताभित्र भेडाको बथानमा गोरुजस्तो भएर विज्ञान आफूले आफैंलाई जोतिरहन्छ तर भेडा बनाउन चारैतिरबाट लागिरहेकामध्ये एउटा कर्मचारी लक्ष्मण अलि सकारात्मक स्वभावमा देखा परे पनि अन्तिममा जाकेरै छोड्छ। निजामती कर्मचारीलाई प्रदान गरिने उत्कृष्ट पुरस्कार विज्ञानलाई दिलाउने बहानामा कुटिलचाल चालिरहेका थिए। एकदिन घरमा बोलाएर एक्ली युवती सुशीलामाथि बलात्कारको आरोपमा फसाएरै छाडे।
कथानक प्रसङ्गले भ्रष्ट कर्मचारी, गुन्डा, नेता र हाकिमको वरिपरि घुमाइरहन्छ। फेरि सुशीलाको हत्या गुन्डा ठेकेदारकै समूहले गरेपछि अनुसन्धान गर्ने क्रम चहिरहन्छ तर हत्यारा पत्ता लगाउन नसक्दा सामनाले गुनासो गरिरहन्थी, विज्ञानसँग। श्रीमान्को अनुमतिमा सामनाले अर्कै रूप घारण गरेर रातिराति शंकास्पद नाइटक्लबतिर जान थाली। अनेक बहानाबाजी र ट्याक्सी ड्राइभरसँगको मिठा तर रहस्यमय संवादहरूले धेरै कुराको खुलासा गरेको छ।
नाइटक्लबमा जाँदाजाँदै सामनाले कर्मचारीका रूपमा त्यहीं काम गर्न थालेपछि अनुसन्धानमा सहज हुन्छ। त्यसपछि रूपकी खानी सामनासँग गुन्डा नाइके चमनलाल फस्दै गएपछि नाइटक्लबमा गजल सायरी खुब जमेको देखाउँछ। सुशीलाको हत्यारा नजिक पुगेकी सामनालाई सहयोग गर्ने कोही थिएन। चमनलालको ग्याङले सामनाको हत्या गर्न खोज्दा सपनालाई गोली लाग्छ र निधन हुन्छ।
यता विज्ञानको तलबले घरपरिवारका सबै आवश्यकता पूरा गर्न सकिरहेका थिएनन्। अरूको देखासिकी गर्ने र उकास्नेहरू हात घोएर लागेका थिए भने श्रीमतीले आफ्नो चाहनालाई सधैं खुम्चाएर राख्न सकिनन्। हाकिम शेखर, राजीव र विज्ञानले रेस्टुरेन्टमा गरेको कुराकानी, नेताको चर्को दबाबका कारण विज्ञान र लेखापाल मिलेर नक्कली बिल पेस गर्न बाध्य बनाएबाट विज्ञान पनि चोखो रहँदैन। एउटा कार्यालयभित्र घुसको जालो कसरी फैलिएको हुन्छ र त्यसलाई तोड्न कति कठिन हुन्छ भन्ने एउटा दृष्टान्त पाइन्छ। लेखकले हाकिम शेखरलाई बेसरी रक्सी पिलाएर भ्रष्टाचार ओकल्न लगाएको प्रसङ्गले एकपछि अर्को कुतूहल जगाइरहन्छ ।
पढ्दै जाँदा उपन्यासकारले विज्ञान र सामनालाई छुट्याउने हो कि भन्ने आशंका उत्पन्न पनि गराउँछ तर विषयगत प्रसङ्गलाई विचलन हुनबाट जोगाउने लेखनकला तारिफयोग्य लाग्छ। घुसको चलखेलमा टेकेर शेखर विभागीय प्रमुख भएपछि विज्ञानले पनि बढुवा र मालदार अफिसमा पुग्न ब्ल्याकलेभल र लाखलाखको गड्डी प्रमुखलाई चढाउन बाध्य हुन्छ। जतिजति उच्च कर्मचारीको सरुवा बडुवा हुन्छ, उतिउति माफिया, ठेकेदार गोतामे, तारानाथ, चैतन्य प्रधान, व्यापारी रामनारायणजस्ता पात्रले आफ्नो स्वार्थ पूरा गर्न घुसको होडबाजी चलाउँछन् अनि अनियमित छानबिन समितिमा पनि उनीहरूकै मनोमानी चल्ने यथार्थलाई बाहिर ल्याएको छ।
सहसचिव हुँदै भन्सार विभागको प्रमुख भएको विज्ञान घुसको लतमा मस्त हुँदा यता एसएसपी खरो एक्सनमा उत्रेको कथाशृङ्खलाले तानिरहन्छ। पार्वतमार्फत देह व्यापारमा लागेकी आराधना पनि सूचना चौतारीमा सामेल भएपछि गुन्डागर्दी गर्ने र भ्रष्टाचारीलाई तह लगाउन सहज हुँदै जान्छ। माथिको चर्को दबाबको कारण पनि एसएसपी आलोकले आफ्नो अभियानलाई रोकेन, सफलता हात लाग्दै गयो। लेखनशैली सरल र सरस हुँदाहुँदै पनि छोरी अरूणिमाको जन्म, आलोक एकैचोटि दाङ पुग्दा कताकता नमिलेजस्तो लागे पनि कथागत संरचना भने भत्केको देखिन्न। सहायक पात्रहरू धेरै भेटिन्छन्।
उपन्यासको मध्य भागलाई विस्तार गर्ने क्रममा नेता, ठेकेदार र प्रहरीको माथिल्लो निकायबाट गाली, डरत्रास र सरुवाको खेलसँगै अनेक झेल झेल्दै आफ्नो अधिकारको सही सदुपयोग गर्ने एसएसपी आलोकलाई कर्तव्यनिष्ठ राष्ट्रसेवक पात्रका रूपमा उभ्याइएको छ। भ्रष्टाचारको अकुत पैसा बोकेर गाउँमा टिका लगाउन जाँदा दाजुभाइ, परिवार भाँड्ने प्रसङ्ग उल्लेख गरेर समाजलाई सचेत गराएको पाइन्छ।
अन्तिम खण्डमा तस्कर, माफिया र घुसखोरीको ठुलो समूहलाई दाङबाट तहसनहस बनाउँदा घाइते चमनलालले सहिद सुशीलाकै घरमा शरण लिन्छ र आफू हत्यारा भएको स्वीकार्दै मुत्युवरण गरेको लेखनबुनोट अलौकिक लाग्छ।
रामनारायण र आराधनाले दिएको गोप्य सूचनाका आधारमा भ्रष्टाचारी विज्ञानलाई पैसाको गड्डीसँगै अफिसबाट पक्राउ गर्छ र जेल जान्छ। विज्ञान र सामनाबिच बाधक बनेको जेलको फलामे जन्जिरलाई समाएर गरेको प्रेमिल संवादमा प्रायश्चितको आभास भल्किन्छ। मुकुदाजस्ती अमर सहिदको रगत र प्रतिबद्घताले भ्रष्टाचारीलाई कठघरामा उभ्याउने उपन्यास ‘९६ गड्डी’ एउटा प्रमाण हो।
प्रकाशित: ३ जेष्ठ २०८२ ०९:१० शनिबार