प्रकाशित मिति : माघ २९, २०८२ बिहीबार
बालबालिकालाई हुने हानिको लागि टेक कम्पनीहरूलाई जिम्मेवार ठहराउन खोजिएको ऐतिहासिक सामाजिक सञ्जाल मुद्दामा बयान दिन बुधबार लस एन्जलसमा पुगेका इन्स्टाग्रामका प्रमुख एडम मोसेरी । तस्वीर : मियन डोभार्नेस/एपी-रासस
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मले किशोर–किशोरीहरूको मानसिक स्वास्थ्यमा क्षति पुर्याएको भन्ने आरोप अस्वीकार गरेका छन्। उनले क्यालिफोर्नियाको अदालतमा बयान दिँदै सामाजिक सञ्जालको अत्यधिक प्रयोगलाई लत (एडिक्सन) सँग तुलना गर्न नमिल्ने बताएका हुन्।
लस एन्जलसमा सुरु भएको ऐतिहासिक मुद्दामा बयान दिने मोसेरी पहिलो उच्च तहका प्रविधि कम्पनीका कार्यकारी बनेका छन्। करिब ६ हप्तासम्म चल्ने अनुमान गरिएको यो मुद्दालाई युवा पुस्तामा सामाजिक सञ्जालको प्रभावबारे प्रविधि कम्पनीहरूलाई जिम्मेवार बनाउने कानुनी बहसको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।
इन्स्टाग्रामको मातृ कम्पनी मेटाका वकिलहरूले मुद्दाकी मुख्य उजुरीकर्ता के.जी.एम. लाई परेको मानसिक असर इन्स्टाग्रामका कारण नभई उनको व्यक्तिगत जीवनका अन्य कारणले भएको दाबी गरेका छन्। यस मुद्दामा युट्युब पनि समावेश छ भने स्न्यापच्याट र टिकटकले मुद्दा सुरु हुनुअघि नै सहमति गरेका थिए।
अदालतमा बयान दिने क्रममा मोसेरीले सामाजिक सञ्जाल प्रयोग कति समयसम्म उचित हुन्छ भन्ने कुरा स्पष्ट रूपमा निर्धारण गर्न नसकिने बताए। उनका अनुसार सामाजिक सञ्जाल प्रयोग समस्याजनक हुन्छ कि हुँदैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन सक्छ।
यद्यपि उनले इन्स्टाग्रामले प्रयोगकर्ताको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउनुपर्नेमा सहमति जनाए। बयानका क्रममा उनले आफू लतसम्बन्धी विषयका विशेषज्ञ नभएको पनि स्वीकार गरेका थिए।
मुद्दाका क्रममा मेटाको आन्तरिक सर्वेक्षणसम्बन्धी तथ्य पनि सार्वजनिक भएको छ। उक्त सर्वेक्षणअनुसार २ लाख ६९ हजार प्रयोगकर्तामध्ये ६० प्रतिशतले एक साताभित्र इन्स्टाग्राममा दुर्व्यवहार वा उत्पीडन देखेको वा भोगेको बताएका थिए। वकिलले उजुरीकर्ता के.जी.एम. ले पनि दुर्व्यवहारबारे ३०० भन्दा बढी उजुरी दिएको जानकारी दिएका थिए।
यसैबीच, मोसेरीलाई एक दिनमै १६ घण्टा इन्स्टाग्राम प्रयोग गरिएको घटनाबारे पनि प्रश्न गरिएको थियो। उनले यस्तो प्रयोग समस्याजनक हुन सक्ने स्वीकार गरे पनि त्यसलाई लत भने अस्वीकार गरे।
सुनुवाइका क्रममा सन् २०१९ मा मेटाका अधिकारीहरूबीच फोटोमा शारीरिक रूप परिवर्तन गर्न दिने फिल्टरको प्रभावबारे भएको इमेल आदानप्रदानको विषय पनि उठाइएको थियो। मेटाले मेकअपजस्तो प्रभाव नक्कल गर्ने बाहेकका फिल्टर हटाउने निर्णय गरेको मोसेरीले बताए, यद्यपि त्यसमा केही संशोधन गरिएको उनले स्वीकार गरेका छन्।
हाल मेटा, युट्युब, स्न्यापच्याट र टिकटकसहितका सामाजिक सञ्जाल कम्पनीविरुद्ध अमेरिकाभर हजारौँ मुद्दा दायर भएका छन्।
अदालत बाहिर मोसेरीलाई प्रदर्शनकारी र अभिभावकहरूको समूहले स्वागत गरेका थिए। तीमध्ये लन्डनका मारियानो जानिनले आफ्नी १४ वर्षीया छोरीको मृत्यु सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित रहेको दाबी गर्दै युवाहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्नुपर्ने बताएका छन्। यस मुद्दामा मेटाका प्रमुख मार्क जुकरबर्ग र युट्युबका प्रमुख कार्यकारी नील मोहनले पनि बयान दिने अपेक्षा गरिएको छ। – बीबीसीबाट
