इन्जिनियर समुदायमा निर्वाचनको चटारो छ । यही भदौ २८ गते नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन हुँदै गर्दा साथीहरू विभिन्न एजेण्डा बोकेर प्रतिस्पर्धामा हुनुहुन्छ । ३४औं कार्यसमिति छनोट गर्ने गृहकार्यबीच एकातिर एशोसिएसनको औचित्यमाथि प्रश्न उठेको छ भने अर्कोतिर साझा पेशागत संस्था बन्न नसकेको एशोसिएसनप्रति नयाँ पुस्ताका इन्जिनियर साथीहरूको विकर्षण चिन्ताको विषय बनिरहेको छ ।
भूमिकाविहीन एशोसिएसन इन्जिनियर समुदायमाथि भारी परिरहेको छ । न यसले पेशागत हक–हितको सुरक्षा गर्न सकेको छ, न त इन्जिनियर समुदायप्रतिको गलत भाष्यलाई चिर्न कदम चालेको छ । अहिलेको एशोसिएसन केही सीमित व्यक्तिहरू चुनाव लड्ने र आफ्नो व्यक्तित्व बनाएर नियुक्ति खाने भाँडो बनेको छ, जुन हाम्रो लागि विडम्बनापूर्ण अवस्था हो ।
बदल्नैपर्ने गलत भाष्य
पक्कै पनि इन्जिनियर भनेको भौतिक र प्राविधिक विकासको महत्वपूर्ण संवाहक हो । अझ समृद्ध नेपालको सपनालाई साकार पार्न इन्जिनियर समुदायको विशिष्ट भूमिका रहन्छ । भौतिक विकास, प्रविधि विकास, अध्ययन अनुसन्धानमा आफ्नो दक्षता प्रदर्शन गरेर इन्जिनियरहरूले राष्ट्रलाई दिशा देखाउने काम गरिरहेका छन् । तर, नेपालमा इन्जिनियरको छवि धुमिल पार्ने प्रयास भइरहेको छ । यसमा साझा पेशागत संस्थाको रूपमा रहेको एशोसिएसनले कुनै भूमिका खेल्न सकेको छैन ।
केही व्यक्तिहरूले गलत मनसाय राखेर गरेका कामले आज सिङ्गो इन्जिनियरिङ समुदाय पीडित बनिरहेको छ । आम मानिस जस्तै आर्थिक रूपमा सम्पन्न हुन पाउनु, कानुनसम्मत धन आर्जन गर्न पाउनु संविधानले दिएको मौलिक अधिकार हो । हरेक इन्जिनियरले आफ्नो पेशा व्यवसाय गरेर आर्थिक रूपमा प्रगति गर्दा नोक्सान कसैलाई हुँदैन, एक नागरिक सम्पन्न हुनु राष्ट्रको लागि पनि राम्रै कुरा हो ।
तर, यहाँ इन्जिनियरको प्रगतिलाई समाजमा गलत भाष्य बनाउने काम भएको छ । एउटा पब्लिक सेक्टरमा काम गर्ने इन्जिनियर गाडी चढ्दा होस् वा एउटा आफ्नै घर बनाउँदा होस् समाजमा भ्रष्टाचार गरेरै चढ्यो, बनायो होला भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । पूर्वाग्राही रूपमा केही प्रतिनिधि घटनालाई सिङ्गो इन्जिनियरिङको मानकको रूपमा चित्रण हुनु हाम्रो लागि दुःखको विषय हो ।
गलत काम गर्ने इन्जिनियरलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने र खराब प्रवृत्तिलाई निरुत्साहन गरी पेशागत मर्यादा कायम राख्नु एशोसिएसनको दायित्व हो । सँगै निष्ठापूर्वक पेशागत मर्यादामा बसेर काम गर्ने इन्जिनियरहरूको मनोबल उच्च बनाउन भूमिका खेल्नु इन्जिनियर्स एशोसिएसनको प्रमुख कर्तव्य हो ।
आजको दिनसम्म त्यो दायित्वबोध गर्न नसकेको देखिन्छ । इन्जिनियरिङ समुदायको प्रतिष्ठामाथि आँच आउने गतिविधि हुँदा समेत निरीह भएर बस्ने एशोसिएसन हामीले खोजेको होइन ।
एशोसिएसनको भूमिका
इन्जिनियर्स समुदायको पेशागत हक–हितका लागि ७० वर्ष अगाडि स्थापना भएको नेपाल इन्जिनियर्स एशोसिएसनले ३४औं कार्यसमिति चुन्दैछ । ७० वर्षको अवधिमा ३० औं पटक लोकतान्त्रिक प्यानल र तीन पटक प्रगतिशील समूहले नेतृत्व लियो । यहाँसम्म आइपुग्दा एशोसिएसन जुन उद्देश्यसाथ स्थापना भएको थियो, त्यो हुनसकेको छैन ।
नेपाल इन्जिनियरिङ काउन्सिलमा करिब ८६ हजार इन्जिनियरहरू रजिस्टर्ड छन् । त्योमध्ये करिब ४० हजार इन्जिनियर मात्रै नेपाल इन्जिनियर्स एशोसिएसनमा साधारण सदस्य हुनुहुन्छ । त्योमध्ये पनि करिब १९ हजार इन्जिनियरहरू मात्र मतदाताको रूपमा हुनुहुन्छ ।
तथ्यांकले पनि विगतका तुलनामा मतदाताको संख्या किन घट्यो भन्ने बहसको विषय बनिरहेको छ । मुख्यतः एशोसिएसनको जुन मूल्य सिर्जना गर्नुपथ्र्याे, त्यो हामीले गर्न सकेनौं । रोजगारी सिर्जना गर्न सकेनौं, नेपाल सरकारसँग पुलको काम गर्न सकेनौं । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार पनि गर्न सकेनौं । साथसाथै सुरक्षाका विषयहरू कानुनी र पेशागत रूपमा उठान गर्न सकेनौं ।
अहिलेकै अवस्था रहने हो भने अब नेपाल इन्जिनियर्स एशोसिएसनको महत्व खारेज हुने स्थितिमा पुगेको गुनासो पनि सुनिन्छ । त्यसैले ७० वर्षको गौरवमय इतिहास बोकेको एशोसिएसनमा आमूल सुधारको जरूरी छ । एशोसिएसन अहिले जुन अवस्थामा छ, त्यसरी चल्दैन ।
संस्थाभित्र यति धेरै राजनीति गर्यौं कि यो आफैं थला परेको छ । अति राजनीतीकरण, सीमित तप्काले व्यक्तिगत लाभ लिने भर्याङ बनाइएकाले एशोसिएसन भूमिकाविहीन बन्न पुगेको हो । एशोसिएसनलाई राज्यको डेभलपमेन्ट सेक्टरको थिंक ट्यांकको रूपमा स्थापित गर्न अति आवश्यक छ ।
यसैगरी इन्जिनियर समुदायप्रति बनिरहेको गलत भाष्य चिर्नेदेखि पेशागत हकहितका सवालमा एशोसिएसनको भूमिका शून्य छ । पक्कै पनि एशोसिएसनमा केही आंशिक विषय त आए । तर रोजगारीको विषय समाधान भएन, न्यूनतम पारिश्रमिकको विषय जहाँको त्यहीं छ, बीस वर्ष अघिदेखि उठेको इन्जिनियरिङ स्टाफ कलेजको विषय उस्तै छ । निजी क्षेत्रमा काम गरेका इन्जिनियरहरूको समस्या पनि छ, समयमा तलब पाएको अवस्था छैन ।
बीमादेखि अन्य सुरक्षाको विषयहरू छन् । स्थानीय तहमा काम गर्ने इन्जिनियरको सुरक्षाको अवस्था विकराल छ । एउटै इन्जिनियरले पूरै स्थानीय तह धानिदिनुपर्ने अवस्था छ । त्यस्तै, अब राजनीतिक तहबाट पनि सुरक्षा खतरा छ । केही गाउँपालिकामा जनप्रतिनिधिले कुटपिट गरेको अवस्था छ ।
प्रदेशमा पनि यही खालको समस्या छ । संघमा पनि इन्जिनियरदेखि सचिवसम्मको दरबन्दी धेरै कम छ । प्राविधिक र प्रशासन छुट्टै कर्मचारीको रूपमा हेरिने गर्छ । वास्तवमा राज्यका विभिन्न तहमा काम गर्ने इन्जिनियरहरू पीडित भइरहेको अवस्था छ ।
इन्जिनियर्स दिवस र एशोसिएसनको निर्वाचनमा मात्र उठ्ने हाम्रा समस्याहरूमा समाधान खोज्ने भन्दा पनि आजसम्म एजेण्डाका लागि मात्र एजेण्डा रहे । यहाँनेर एशोसिएसनका नेतृत्वको भूमिका जरूरी छ । कार्यान्वयन गर्न सार्थक पहल आवश्यक छ ।
सरकारसँग समन्वय
एशोसिएसनको औचित्यमाथि चौतर्फी प्रश्न उठ्दै गर्दा नेपाल सरकारसँग समन्वयात्मक भूमिका खेल्न सकेको देखिंदैन । एकखालको ‘ग्याप’ नै छ भन्दा हुन्छ । सरकारले एशोसिएसनलाई चिनेको जस्तो देखिंदैन । राज्यको एउटा महत्वपूर्ण स्टेकहोल्डर भन्दा पनि एउटा सामान्य एनजिओको रूपमा व्यवहार गरिएको देखिन्छ । नीति निर्माण, बजेट, विपद् व्यवस्थापन, प्लानिङको विषयमा एशोसिएसनसँग सरकारले मिलेर काम गर्नुपर्ने हो, तर यहाँ त्यस्तो देखिंदैन ।
विषय उठान गरेर सधैं पन्छिने विगतका नेतृत्वको प्रवृत्तिले इन्जिनियरिङ समुदायले धेरै गुमाउनुपरेको अवस्था छ । राज्यका विभिन्न निकायसँगको सहकार्यमा रोजगारी सिर्जनाको विषयमा काम हुनुपर्ने हो त्यो भएन । यसकारण सबैभन्दा बढी प्राविधिक जनशक्तिमध्ये इन्जिनियरिङ जनशक्ति आज विदेश पलायन भएको छ ।
नवीनतम सीप, ज्ञान, क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरणमा एशोसिएसन चुकिरहेको छ । एशोसिएसनले जसरी अन्तर्राष्ट्रिय एक्सपोजरको रूपमा काम गर्नुपर्ने हो, अन्तर्राष्ट्रिय इन्जिनियर्स संस्थासँग भगिनी सम्बन्ध कायम गर्नुपथ्र्याे, त्यो गर्न सकेन । इन्जिनियर समुदायले प्राप्त गर्न नसकेका यी विषयहरूलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन अबको नेतृत्वले वातावरण बनाउन जरूरी छ ।
सुधारको पहल
नेपाल इन्जिनियर्स एशोसिएसनलाई आम इन्जिनियर साथीहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा विकास गर्न केही योजनाहरू अघि बढाउन एकदमै जरूरी छ । जस्तो, विद्यार्थीदेखि नै सदस्यता दिने । सदस्यता दिइसकेपछि पुस्तकालयमा पहुँच दिने, अन्य सेमिनार, तालिमहरू, अनुसन्धान र नवप्रवर्तनमा अवसर हुन्छ ।
पछि इन्जिनियरिङ पास गरिसकेपछि ती इन्जिनियरहरूलाई इन्टर्नसिपको व्यवस्था गर्ने, रोजगारीको समन्वय गर्न कुनै शाखा निर्माण गर्ने, शाखाले न्यूनतम पारिश्रमिक सहितको रोजगारी उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ ।
अहिले जुन एशोसिएसनमा साधारण सदस्य मात्र छन्, त्यो अवस्थालाई चार तहको सदस्यता बनाएर रिफर्म गर्न सकिन्छ । एउटा त विद्यार्थी, दोस्रो इन्टर्नसिप, तेस्रो साधारण सदस्य र चौथो व्यावसायिक इन्जिनियर गरेर चार तहको इन्जिनियर सदस्य बनाएर यसलाई रिफर्म गर्दा एउता भाइब्रेन्ट संस्था बनाउन सकिन्छ ।
अभिभावकीय संस्था
एशोसिएसन इन्जिनियरहरू र इन्जिनियरिङ पेशाको अभिभावक संस्थाको रूपमा रहनुपर्ने हो । अहिलेसम्म यो अभिभावकीय संस्था बन्न सकेन । अब यसलाई अभिभावकत्व ग्रहण गर्ने विषयमा र इन्जिनियरिङ समुदायको मातृ संस्थाको रूपमा अगाडि बढाउन जरूरी छ ।
एशोसिएसन पारदर्शी भएन भन्ने गुनासो आम इन्जिनियरहरूको छ । एशोसिएसनले वार्षिक कार्यतालिका कहिल्यै ल्याएको छैन । एशोसिएसन इन्जिनियर्स डे मनाउने र चुनाव गर्नेमै सीमित छ । अन्य गतिविधिहरू, आर्थिक गतिविधिको विषय अहिलेसम्म पारदर्शी छैन, जसलाई पारदर्शी बनाउनुको विकल्प छैन । एशोसिएसनको हरेक गतिविधि पारदर्शी हुनुपर्छ, वार्षिक क्यालेण्डर सहित आउनुपर्छ । सम्पूर्ण इन्जिनियरले गतिविधि थाहा पाउनुपर्छ, आफ्नो पेशाको अभिभावकीय संस्थाको हिसाबले सबै इन्जिनियरले सहभागी हुने अवसर पाउनुपर्छ ।
निष्कर्षमा पुग्दा मुख्यतः आसन्न निर्वाचनले एशोसिएसनको महत्व बढाउन सक्ने, आम इन्जिनियरमा आकर्षण ल्याउन सक्ने र अभिभावकीय संस्था बनाउन सक्ने नेतृत्व छनोट गर्नुपर्छ । इन्जिनियरहरू आफैं सदस्यता लिने, नवीकरण गर्ने र सक्रिय सहभागिता रहने गरी भ्यालु क्रियट गर्न आवश्यक छ ।
निरीह नेपाल इन्जिनियर्स एशोसिएसन होइन, शक्तिशाली एशोसिएसन बनाउन सक्ने नेतृत्व हामीले चाहेको नेतृत्व हो । तब मात्रै एशोसिएसनको सशक्त भूमिका देखिने इन्जिनियरहरूको शिर उँचो हुने वातावरण निर्माण हुनेछ । त्यसैले इन्जिनियर साथीहरूले विवेक प्रयोग गर्ने बेला आएको छ, निरीह बन्ने कि उच्च मनोबल सहित काम गर्ने ?
(ई. श्रेष्ठ नेपाल राष्ट्रिय इन्जिनियर संगठनका तर्फबाट नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हुन् ।)