इजरायली हमलामा लेबनानमा तीन पत्रकारको मृत्यु



प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार

इजरायली हमलामा लेबनानमा तीन पत्रकारको मृत्यु

दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकार मारिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मिडियाको सवारीसाधनलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा तीन लेबनानी पत्रकारको मृत्यु भएको हो।

जेज्जिन सहरमा भएको उक्त आक्रमणमा हिजबुल्लाहद्वारा सञ्चालित अल-मनार टिभीका रिपोर्टर अली शुएब तथा अल-मायादिनका रिपोर्टर फातिमा र मोहम्मद फेतोनीको ज्यान गएको छ।

लेबनानका राष्ट्रपति जोसेफ आउनलेले यस घटनालाई “स्पष्ट अपराध” भन्दै निन्दा गरेका छन्। उनले युद्धको समयमा पत्रकारहरूलाई अन्तर्राष्ट्रिय कानुनअनुसार संरक्षण गरिनुपर्ने कुरामा जोड दिए।

इजरायली सेनाले अली शुएबको मृत्यु भएको पुष्टि गरेको छ। तर, उसले उनीमाथि पत्रकारको आवरणमा हिजबुल्लाहको कार्यकर्ता रहेको आरोप लगाएको छ।

लेबनानमा युद्ध सुरु भएदेखि पत्रकारहरूलाई लक्षित गरिएको यो दोस्रो ठुलो घटना हो। गत हप्ता मात्र अल-मनार टिभीका चर्चित प्रस्तोता मोहम्मद शेरी र उनकी पत्नीको पनि लक्षित आक्रमणमा मृत्यु भएको थियो।

हालसम्म लेबनानमा इजरायली हवाई आक्रमणबाट १,१०० भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ, जसमा १२० बालबालिका र ४२ स्वास्थ्यकर्मी रहेका छन्।





Source link

Leave a Comment