इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते भएको खुलासा


इरानको राष्ट्रपति मसउद पेजेश्कियन गत महिना इजरायलले इरानमाथि गरेको आक्रमणको क्रममा सामान्य रूपमा घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ ।

इरानको रिभोल्युशनरी गार्डसँग निकट फार्स समाचार एजेन्सीले जनाएको अनुसार, जुन १६ तारिखका दिन राजधानी तेहरानको एक गोप्य भूमिगत सुविधा केन्द्रमा आयोजित आपतकालीन बैठकका क्रममा इजरायलले छ वटा बम प्रहार गरेको थियो ।

उक्त बैठक इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन सत्र थियो । जहाँ राष्ट्रपति पेजेश्कियन पनि सहभागी थिए।

फार्सको रिपोर्ट अनुसार, ती हमलाहरूले सो सुविधा केन्द्रका सबै प्रवेश तथा निकास मार्गहरू नष्ट गरे, साथै भेन्टिलेशन प्रणाली र विद्युत आपूर्ति पनि काटिएको थियो।

राष्ट्रपति पेजेश्कियनले भने आपतकालीन सुरुङमार्फत बाहिर निस्कन सफल भएको र उनको खुट्टामा सामान्य चोट लागेको जनाइएको छ । अहिले इरानले इजरायली एजेन्टहरूद्वारा भएको सम्भावित घुसपैठको अनुसन्धान गरिरहेको बताइएको छ।

यो रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन । इजरायली अधिकारीहरूले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेका छैनन्।

१२ दिनसम्म चलेको युद्धका क्रममा सामाजिक सञ्जालहरूमा देखिएका भिडियोहरूमा तेहरानको उत्तरपश्चिमी क्षेत्रमा रहेको पहाडमाथि गरिएको बारम्बार आक्रमणहरू देखिएका थिए।

युद्धको चौथो दिनमा भएको सो आक्रमण त्यही भूमिगत सुविधा केन्द्र लक्षित थियो । जहाँ सो समयमा इरानका शीर्ष नेताहरू उपस्थित थिए।

फार्स एजेन्सीका अनुसार, ती आक्रमणहरूले सबै छ प्रवेश–निकासमार्ग बन्द गरिदिएका थिए । राष्ट्रपति पेजेश्कियनले भने सकुशल बच्न सफल भए।

सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् इरानको सर्वोच्च नेता आयतोल्ला अली खामेनेईपछि सबैभन्दा उच्च निर्णय लिने निकाय हो । गत हप्ता राष्ट्रपति पेजेश्कियनले इजरायलले आफूलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए ।

तर इजरायली रक्षा मन्त्री इस्राएल काट्जले भने त्यसलाई अस्वीकार गर्दै “शासन परिवर्तन” युद्धको उद्देश्य नभएको बताएका थिए। युद्धको सुरुआतमा इजरायली आक्रमणले इरानका धेरैजसो शीर्ष आईआरजीसी र सेनाका कमान्डरहरूलाई समाप्त पारेको थियो ।



Source link

Leave a Comment