प्रकाशित मिति : माघ १३, २०८१ आईतबार
इजरायलले सोमबारदेखि गाजाका मानिसहरूलाई उत्तरतर्फका घरहरूमा फर्कन अनुमति दिने बताएको छ ।
इजरायलको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो हप्ता हमासले छ बन्धकहरूलाई रिहा गर्ने बताएका छन । गाजाका मानिसहरुलाई उत्तरतर्फका घरहरुमा जान दिने र हमासले बन्धक रिहा गर्ने युद्धविराम सम्झौता अनुसार नै रहेको बताइएको छ ।
बन्धकहरूमा आर्बेल येहुड पनि छन् । जसको कारण इजरायलले गाजाका मानिसहरूलाई उत्तर गाजामा फर्काउने प्रक्रिया ढिलाइ गरेको थियो ।
हमासले शनिबार चार सैनिकहरूलाई रिहा गरेको थियो । तर येहुडलाई रिहा गरेको थिएन । इजरायलले हमासमाथि युद्धविराम सम्झौताका नियम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
सम्झौताअनुसार, इजरायली नागरिकहरूलाई पहिले रिहा गरिनुपर्ने शर्त राखिएको थियो । जसको बदला हमाससँग रहेका प्यालेस्टिनी कैदीहरू रिहा गरिन्थे ।
युद्धविराम सम्झौता लागु भएपछि सात बन्धकहरू र २ सय भन्दा बढी कैदीहरू रिहा भइसकेका छन् । हमासले शुक्रबार आर्बेल येहुड र दुई अन्य बन्धकहरूलाई रिहा गर्ने र शनिबार थप तीनलाई रिहा गर्ने बताएको छ ।
गाजाका मानिसहरूलाई उत्तर गाजा जान अनुमति दिने कार्यक्रम नेटजारिम करिडोर हुँदै हुनेछ । जसलाई इजरायलले नियन्त्रणमा राखेको छ ।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूले इजरायल र हमासबीचको विवाद समाधान गर्न मुख्य भूमिका खेलेका छन । इजरायलले हमाससँग सुश्री येहुड जीवित रहेको प्रमाण मागेको थियो । जुन प्रमाण इजिप्टलाई शनिबार साँझ मात्रै हमासले दिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका मानिसहरूलाई इजिप्ट र जोर्डनले आश्रय दिनुपर्ने धारणा व्यक्त गरेका छन् । तर, यो प्रस्तावलाई हमास, प्यालेस्टिनी प्राधिकरण, जोर्डन र इजिप्टले ठाडै अस्वीकार गरेका छन ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यस क्रममा करिब १ हजार २०० इजरायली मारिएका थिए । २५१ जना गाजामा बन्धक बनाइएका थिए ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४७ हजार २०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । जसमा अधिकांश सर्वसाधारण रहेका छन ।