अहिले विश्वको अर्थतन्त्र शिथिल अवस्थामा रहेकाले नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । हाल यहाँका बैंकहरूमा पैसा थुप्रिएका भए तापनि यहाँका उद्यमी–व्यवसायीले चाहे जति ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गरी मुनाफा गरेर बैंकको ऋण तिर्ने अवस्था छैन । फलतः यहाँको अर्थतन्त्र चलायमान हुन सकेको छैन ।
हुन त हाल यहाँको आयात केही घटेको छ । तर, आयातभन्दा निर्यात बढी घटेकाले यहाँको अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन ।
यहाँ विगतमा जस्तै चालू खर्च बढे पनि पुँजीगत खर्च तथा राजस्व अपेक्षाअनुरूप बढाउन सकिएको छैन । यहाँ विभिन्न विकास कार्यहरू सञ्चालन गर्न आवश्यक वैदेशिक ऋण लिन सरकारले नै ऋण लिनुपरेको छ । यस तथ्यबाट यहाँको अर्थतन्त्र संकटमा रहेको प्रतीत हुन्छ । यस्तो अवस्थामा आर्थिक सुधारका लागि पर्यटन विकासले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
पर्यटकहरू विश्वका विभिन्न देशमा मनोरञ्जन एवं अध्ययन अनुसन्धानका लागि भ्रमण गर्छन् । यसरी भ्रमण गर्दा उनीहरूलाई आनन्द मात्र प्राप्त हुँदैन, ज्ञानोपार्जन पनि हुन्छ ।
कोभिड–१९ को महामारीपछि विश्वको पर्यटन उद्योग केही खस्किए पनि यसबाट हुने वार्षिक आम्दानी सरदर ८ सय अर्ब डलर छ । जसमध्ये नेपाललगायत अन्य दक्षिण एसियाली देशहरूले एक प्रतिशत मात्र आर्जन गर्छन् । केही वर्षयता छिमेकी राष्ट्र चीनले पर्यटनबाट निकै फाइदा प्राप्त गर्न थालेको छ ।
विश्वमा हवाई यातायातको धेरै विकास भएको छ । यस्तो यातायातका साधन छिटोछरितो एवं आरामदायक भएकाले धेरैजसो पर्यटकहरू वायुसेवा रुचाउँछन् । यही कारणले सन् १९९० को दशकदेखि हवाई सेवा रुचाउने पर्यटकहरूको संख्या प्रचुर मात्रामा बढेको छ ।
एक आधिकारिक तथ्यांकअनुसार विश्वका डेढ अर्ब पर्यटकहरू हवाई मार्गबाट भ्रमण गर्छन् । यसले हवाई यातायात विकासको शुभसंकेत गर्छ ।
वर्तमान समयमा एसिया र प्रशान्त क्षेत्रका हवाई सेवा कम्पनीहरूले आफ्ना पारवहन क्षमता १० प्रतिशत बढाएका छन् । विश्वव्यापी अनुमानअनुसार यी कम्पनीहरूले सम्पूर्ण पर्यटकहरूमध्ये झन्डै ८० प्रतिशतलाई सेवा प्रदान गरी प्रशस्त आम्दानी गर्छन् । यसबाट पर्यटन उद्योगको प्रवद्र्धनमा ठूलो सघाउ पुगेको छ ।
कोभिड–१९ को महामारीपछि विश्वको पर्यटन उद्योग केही खस्किए पनि यसबाट हुने वार्षिक आम्दानी सरदर ८ सय अर्ब डलर छ । जसमध्ये नेपाललगायत अन्य दक्षिण एसियाली देशहरूले एक प्रतिशत मात्र आर्जन गर्छन् । पर्यटकहरू विश्वका विभिन्न देशमा मनोरञ्जन एवं अध्ययन अनुसन्धानका लागि भ्रमण गर्छन् । यसरी भ्रमण गर्दा उनीहरूलाई आनन्द मात्र प्राप्त हुँदैन, ज्ञानोपार्जन पनि हुन्छ
हाल विश्वको विभिन्न देशमा आवतजावत गर्ने पर्यटकहरूको संख्या तीव्र रूपले बढिरहेको छ । त्यसैले यी देशहरूमा उजागर नभएका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक आदि तथ्यहरू पत्ता लगाई प्रचार–प्रसार गर्ने प्रतिस्पर्धा बढिरहेको छ ।
भौगोलिक विविधताको सम्बन्धमा नेपाल अन्य देशहरूको तुलनामा कम छैन । यहाँ विश्वकै उच्च हिमशिखर ८ हजार ८ सय ४८ मिटरको उचाइमा अवस्थित सगरमाथालगायत ८ हजार मिटरमाथिका ८ वटा हिमाल छन् । यसबाहेक यहाँ मधेस र समथर मैदान, भित्री मधेस, स–साना मैदान, उपत्यका, टार र खोंचहरू प्रशस्त छन् । यिनीहरूले पर्यटकहरूलाई आकृष्ट गर्छन् ।
भूगोलविद्हरूका अनुसार नेपालले विश्वको कुल भूभागको शून्य दशमलव शून्य एक प्रतिशत भूमि ओगटेको छ भने एसिया महादेशको शून्य दशमलव तीन प्रतिशत भूभाग ओगटेको छ । जहाँ प्रशस्त मात्रामा प्राकृतिक चीजहरू पाइन्छन् । जसले पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्छन् ।
नेपाल विभिन्न किसिमका जडीबुटीजन्य वनस्पतिका लागि प्रसिद्ध छ । सन् १९७० देखि सन् १९८० सम्म गरिएको एक अध्ययनअनुसार यहाँ ५ हजार ६७ प्रकारका वनस्पति छन् । जसको हालसम्म पनि उपयुक्त किसिमबाट सदुपयोग गर्न सकिएको छैन । यिनीहरूको संरक्षण गर्न सकेमा भविष्यमा यहाँ आउने पर्यटकहरूको संख्या निकै नै बढ्ने कुरा नकार्न सकिँदैन ।
वस्तुतः नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताको संगमस्थल हो । यहाँको सांस्कृतिक एवं धार्मिक विरासत शताब्दिऔं पुराना मात्र नभई अनुपम पनि मानिन्छ । यहाँको समाजको संरचना विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको महत्वपूर्ण समझदारी एवं सहकार्यमा जीवन्त रहेको छ । यहाँका संस्कार, दिनचर्या र सहिष्णुता अन्य देशहरूका लागि उदाहरणीय मात्र नभई अनुकरणीय पनि हुन सक्छन् ।
यहाँ विद्यमान विभिन्न जातजाति तथा समुदायको पहिचान र रहनसहन उनीहरूको नाचबाट प्रतिविम्बित हुन्छन् । योबाहेक सो सम्बन्धमा यहाँको कला, शिल्प, लोकगीत, बाध्यवादन, भाषा, साहित्य, दर्शन, धर्म, उत्सव, खाना र पेयपदार्थहरूबाट पनि मुखरित हुन्छन् ।
विश्वमा एक ठूलो उद्योगको रूपमा अंगीकार गरिएको पर्यटन उद्योग नेपाल सरकारको प्राथमिकतामा हालसम्म पनि पर्न नसक्नु विडम्बना हो । वास्तवमा सो उद्योगको विकासका लागि यहाँका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको सम्वर्धन तथा प्रवद्र्धन गर्न आवश्यक छ ।
खर्चको हिसाबले नेपाल एक सस्तो देश मानिन्छ । तर, प्रचार–प्रसारको कमीले यहाँ सोचेअनुरूप पर्यटकहरू आउँदैनन् ।
वस्तुतः नेपाल अविकृत चीजहरूले भरिएको एक स्वतन्त्र देश हो । जहाँ प्रकृतिलाई नजिकबाट नियालेर हेर्न सकिन्छ । यहाँ पदयात्रा, जलयात्रा, तालतलैया विहार, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जंगल सफारी, गुफाको यात्रा आदि गर्न सकिने भएकाले प्रत्येक वर्ष प्रचुर मात्रामा पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ ।
हाम्रो पुर्खाले आर्जेका र प्रकृतिले दिएको प्रचुर सम्पदाको सदुपयोग गर्न सके भविष्यमा नेपालमा पर्यटन उद्योगबाट धेरै फाइदा लिन सकिन्छ । परन्तु, यसका लागि यहाँको राजनीतिक नेतृत्वमा दूरदर्शी सोच एवं दृढ इच्छाशक्तिका आवश्यकता छ ।
भविष्यमा यहाँको ठोस पर्यटन विकासका लागि एकातिर ऐतिहासिक पर्यटकीय स्थल, गढी, किल्ला, दरबार आदिको सम्बन्धमा व्यापक प्रचार–प्रसार गर्न आवश्यक छ भने अर्कोतिर संरक्षण एवं सहज पहुँचका लागि व्यवस्था गर्न पनि उत्तिकै जरुरी छ । योबाहेक यहाँ पर्वतीय पयर्टन, ग्रामीण पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, खेल पर्यटन आदिको विकास गर्न पनि आवश्यक छ ।
यथार्थतः नेपाल एक कमजोर आर्थिक अवस्था भएको देश हुनाले यहाँ आधुनिक संरचनाको विकास गरी बढी पर्यटकहरू आकर्षित गर्न सम्भव छैन । वास्तवमा यहाँ उपयुक्त ठाउँमा बाटो, होटल, सुरक्षित वातावरण आदिको सुनिश्चित गर्न सके यहाँको पर्यटन उद्योग विकासमा निकै टेवा पुग्न सक्छ । यति मात्र नभई यहाँको परम्परा, लोपोन्मुख भाषा, कला, संस्कृति आदिको संरक्षण एवं प्रवद्र्धनका लागि एक राष्ट्रिय स्तरको र सात प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्रहालयहरू स्थापना गर्न सके यस उद्योगको विकासमा थप सघाउ पुग्नेछ ।
कोभिड–१९ को महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा यहाँ विदेशी पर्यटकहरूको आगमन २ प्रतिशतले बढेको थियो भने उनीहरूको औसत बसाइ अवधि १५ दशमलव १ प्रतिशत पुगेको थियो । योबाहेक उनीहरूको प्रतिदिन खर्च विगतको तुलनामा केही वृद्धि भई ६५ अमेरिकी डलर पुगेको थियो ।
तर, कोभिड–१९ को चरणबद्ध महामारीपश्चात् सन् २०२० मा विदेशी पर्यटकहरूको आगमनमा झन्डै ८१ प्रतिशत कम भएको कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रकाशित एक तथ्यांकले इंगित गरेको छ । सो अवधिमा हवाईमार्ग र स्थलमार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकहरूको संख्या २ लाख ३० हजारमा सीमित भयो । यसबाट यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव प¥यो ।
हाल कोरोना कमजोर हुँदै गए पनि नेपाल पर्यटन बोर्डले केही समयअघि सार्वजनिक गरेको एक आँकडाअनुसार यहाँको पर्यटन क्षेत्रले प्रतिदिन सरदर १० अर्ब बराबरको क्षति बेहोर्नुपरेको थियो । यति मात्र नभई उक्त क्षेत्रमा संलग्न लगानीकर्ता तथा कामदारहरूको भविष्य अझसम्म सुनिश्चित बन्न सकेको छैन ।
आगामी दिनहरूमा कोरोनाको महामारी पूर्ण रूपले रोकिए पनि यसको प्रभावबाट पर्यटन क्षेत्रलाई उकास्न तीनदेखि पाँच वर्षसम्म लाग्न सक्ने कुरा सम्बन्धित विज्ञहरूले बताएका छन् । तसर्थ, सो क्षेत्रको पुनरुत्थान गर्ने काम कम चुनौतीपूर्ण छैन ।
नेपाल सरकारले वर्षौंदेखि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आए पनि पर्यटकीय पूर्वाधारहरूको कमी, आर्थिक कूटनीतिको न्यून उपयोग, नयाँ सम्भावित क्षेत्रहरूको खोजी एवं विस्तार नहुनु र हार्डवेयरमा बढी ध्यान दिई सफ्टवेयर ओझेलमा पर्नाले यस क्षेत्रको विकासमा समस्याहरू देखा परेका छन् ।
नेपालमा पर्यटन विकासका धेरै सम्भावना भए पनि यसलाई ग्रामीण स्तरसम्म पु¥याउन नसक्नाले अपेक्षाअनुसारको फाइदा लिन सकिएको छैन । योबाहेक पर्यटन क्षेत्रलाई विविधीकरण गर्न नसक्दा धेरैजसो विदेशी पर्यटकहरू काठमाडौं, चितवन, पोखरा, लुम्बिनी र जनकपुरमा केन्द्रित छन् भने बाँकी पर्यटकीय स्थलहरू ओझेलमा परेका छन् ।
एकातिर यहाँ विदेशी पर्यटकहरूका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरूको संख्या एवं गुणस्तर दुवै कमजोर छन् भने अर्काेतिर यहाँको प्रमुख गन्तव्यस्थल सुविधायुक्त यातायात प्रणालीले जोड्न सकिएको छैन । बेलाबेलामा गरिने बन्द, हडताल र कमजोर शान्ति सुरक्षाको कारण यहाँको पर्यटन विकासमा समस्या थपिएको छ ।
यहाँ बेलाबेलामा विदेशी पर्यटकहरू लुटिएका, कुटिएका र मारिएका घटनाहरू सञ्चार माध्यमहरूमा प्रकाशमा आउँछन् । जबसम्म उनीहरूको सुरक्षाको प्रत्याभूत हुँदैन, तबसम्म उनीहरूको संख्या एवं बसाइ अवधि बढ्न सक्दैन र यो देशलाई खासै फाइदा हुँदैन । आगामी दिनहरूमा यस सम्बन्धमा सुधार नभएमा विकराल समस्याको रूपमा देखा पर्नेछ ।
नेपालमा भरपर्दो सूचना प्रवद्र्धन केन्द्रहरूको कमीको कारण यहाँका कला, संस्कृति एवं प्राकृतिक दृश्यहरूको ’boutमा राम्ररी प्रचार–प्रसार गर्न सकिएको छैन । त्यसैले यहाँको पर्यटन उद्योगमा सोचेअनुरूप विकास गर्न सकिएको छैन ।
वस्तुतः यहाँको मौलिक संस्कृतिको प्रचार–प्रसार एवं प्रवद्र्धनको तुलनामा विदेशी छाडापन र खुलापनको नक्कलले यहाँका सामाजिक तथा सांस्कृतिक विकृतिहरू बढिरहेका छन् । सोबाहेक यहाँ पर्यटकहरूका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरूको संख्या एवं गुणस्तर कम छ । जसले यहाँको पर्यटन विकासमा समस्याहरू थपेका छन् ।
प्रत्येक १० लाखको लगानीबाट उद्योग तथा कलकारखानाले १३, कृषिले ४५ र पर्यटन उद्योगले ८९ रोजगारी सिर्जना गर्ने तथ्य प्रकाशमा आएको छ । तसर्थ, पर्यटन उद्योगमा गरिएको लगानीले सर्वसाधारणको जीवनस्तरमा तत्काल सकारात्मक प्रभाव ल्याउन सक्ने कुरामा दुईमत नहोला ।
देश र जनताको लागि महत्वपूर्ण मानिएको पर्यटन उद्योगमा सहज पहुँच (एयर कनेक्टीभीटी) को समस्यालाई समाधान गर्न हामीले आजसम्म पहल गर्न सकेका छैनौं । यहाँ न त हवाईमार्गको समस्या राम्ररी समाधान गर्न सकिएको छ न त फुल फ्लेज्ड अन्तर्राष्ट्रिय विमानस्थलको पहल अगाडि बढ्न सकेको छ ।
एक आधिकारिक तथ्यांकअनुसार नेपालमा पर्यटकहरूको सालाखाला बसाइ १५ दशमलव ५ दिन छ । सन् २०२० मा यहाँ प्रतिपर्यटकले प्रतिदिन ६५ डलर खर्च गरेका थिए । सन् २०२१ मा उक्त रकम ४८ डलर मात्र थियो ।
वस्तुतः पर्यटकहरूको बसाइ र उनीहरूले गर्ने खर्चले यहाँको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्छ । त्यसैले एकतर्फ यहाँ पर्यटकहरूको संख्या बढाउनुका साथै उनीहरूको बसाइ लम्ब्याउन आवश्यक छ भने अर्कोतर्फ प्रतिपर्यटकले गर्ने दैनिक खर्च बढाउनेतर्फ सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरूको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ । यसैगरी, अरू देशहरूले पाँच रुपैयाँ नपर्ने कामलाई हजारौं रुपैयाँमा बिक्री गर्न जानेझैं नेपालले पनि आफ्नो पर्यटकीय प्रस्तुतिलाई सुधार्दै झोले पर्यटकहरूलाई दुरुत्साहन गर्न आवश्यक छ भने उच्चस्तरका पर्यटकहरूलाई प्रोत्साहन दिन जरुरी छ ।
(Visited 12 times, 1 visits today)