आर्थिक–सामाजिक विकासमा भुम्लुको समाजवादी मोडल : RajdhaniDaily.com


काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष हुन्, प्रेमबहादुर भुजेल । नेकपा (माओवादी केन्द्र)का तर्फबाट निर्वाचित भुजेल भुम्लुलाई आत्मनिर्भर बनाउन कृषि र पर्यटनमार्फत समृद्धिको मौलिक मोडल निर्माण गरिरहेको बताउँछन् । जनजीविकाका सवाल हुन् या विकास, सदावहार जनताको घरदैलोमा भेटिने भुजेलले गाउँ बनाउने अभियान’bout राजधानीसँग गरेको कुराकानी ।

स्थानीय तहका नागरिकहरुलाई आत्मनिर्भर बनाउन आर्थिक विकासका कस्ता योजना बनाउनुभएको छ ?
विशेष गरी हाम्रो क्षेत्र कृषि र पर्यटनमा विकास गर्न सकिने सम्भावना भएको ठाउँ हो । हामीले कृषि र पर्यटनमार्फत स्थानीय समुदायले आयआर्जन गर्न सक्ने सम्भावनाहरुमा लगानी गरिरहेका छौं । स्थानीय समुदायलाई आवश्यक सामग्रीहरुको स्थानीय तहभित्रै उत्पादन गरी आत्मनिर्भर बनाउने र विक्रीयोग्य उत्पादनलाई न्युनत्तम लागत मूल्य तिरेर विक्री सुनिश्चित गर्ने कार्यक्रमहरु संचालन गरिरहेका छौं ।

किसानहरु उत्पादन गर्छन् तर बजार छैन भन्दै धमाधम गाउँवस्ती रित्तिँदैछन्, गाउँपालिकाले कृषि क्षेत्रमा कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
हामीले गाउँका खाली र बाँझो जग्गामा जडिबुटी तथा फलफुलका खेती गरिरहेका छौं । समूह निर्माण गरी खेती प्रवद्र्धनका लागि जमिन व्यवस्थापनमा सहयोग गर्न एक रोपनी बराबर एक हजार रुपैयाँ दिने कार्यक्रम बनायौं । सार्वजनिक जग्गामा ‘ग्रीन इन्टेलिजेन्स’ कार्यक्रमसंग सहकार्य गरेर २२ हजार फलफुलका विरुवा रोपेका छौं । वडा नं १ मा महिला समूहलाई कुखुरा पालनको लागि सहयोग गरेका छौं ।

महिला समूहले संचालन गरेको फार्मबाट दैनिक १ हजार ८ सय अण्डा उत्पादन भइरहेको छ । त्यो अण्डा पालिकाभर खपत भइकन बनेपासम्म पुग्छ । वडा नं १ मा नै किसानहरुको सामूहिक रुपमा केन्द्रीकृत फार्ममा ६० वटा भैंसी पालेर दूधबाट विभिन्न परिकार बनाइरहेका छौं । फापर प्रवद्र्धन कार्यक्रम मार्फत उत्पादनमा प्रतिकेजी ५ रुपैयाँ अनुदान दिएका छौं ।

भदौतिर सम्पूर्ण बाँझो जमिन लिजमा लिएर झुसेखेती गर्ने तयारीमा छौं । गाउँपालिकाले ‘बनबनमा पैयौं र चिउरी, घरघरमा एक घार मौरी’ नीति लिएर मौरी प्रवद्र्धन गरिरहेका छौं । मौरीका लागि चरन पनि हुने र प्रशोधित तेलको लागि पनि झुसेखेतीको तयारी गरेका हौं ।

सिजनमा उत्पादन बढी भएर विक्री नभएका साग मुलालाई खरिद गरी प्रशोधन केन्द्रमा गुन्द्रुक निर्माण गरी गुणस्तरीय गुन्द्रुक विक्री गर्दै आएका छौं । खाद्य तथा गुणस्तर विभागबाट गुणस्तर र मापदण्ड निर्धारण गरी यस्ता रैथाने उत्पादनहरुलाई व्यावसायिक बजारीकरणका कार्यक्रम गरेका छौं ।

हाम्रो गाउँपालिकामा कागती खेती पनि राम्रो हुने भएकाले मैले अध्यक्ष हुनु अगाडि नै २० रोपनी जग्गामा एक हजार कागतीका विरुवा लगाएको थिएँ । त्यसबाट वार्षिक सात आठ लाख रुपैयाँ आम्दानी भईरहेको छ । यही फार्म हेरेरै पनि अरुलाई प्रोत्साहन हुने नै भयो गाउँपालिकामा कागती खेती पनि बढीरहेको छ ।

आर्थिक विकासको अर्को महत्वपूर्ण पक्ष पर्यटन पनि भन्नुभयो, पर्यटनमा कस्ता काम गरिरहनुभएको छ ।

आर्थिक विकासमा हामीले कृषि र पर्यटनलाई साथसाथ लगेका छौं । कृषि पर्यटनको लागि हामीले नागीडाँडा र सल्लेमा चियाबारीको परिकल्पना गरेर २० रोपनी जग्गामा ७ हजार चियाका विरुवा लगाएर एउटा चिया बगान निर्माणको सुरुवात गरेका छौं । हाम्रो यस गाउँपालिकाको दोलालघाट क्षेत्र पर्यटकीय पहिचान बोकेकै ठाउँ हो । यहाँ सुनकोशी र इन्द्रावतीको संगममा कृत्रिम ताल निर्माण गरी बोटिङ र ¥याफ्टिङको पनि सञ्चालन गरेका थियौं ।

पानीको एकरुपता नभएकाले पुरै समय संचालन नभए पनि पर्यटकलाई मनोरञ्जन दिनका लागि डेष्टिनेसन प्रमोशनको काम भएको छ । दोलालघाट क्षेत्र माछा तथा लोकल कुखुरा खाने र काठमाडौं देखि छुट्टी मनाउन आउने भन्ने पर्यटकहरु धेरै हुन्छन् । पर्यटकलाई मन पर्ने लोकल कुखुरा, स्थानीय खाद्य सामग्रीहरु, माछा आदिको प्रवद्र्धनलाई कृषि पर्यटनको रुपमा जोडेर लगेका छौं भने । स्थानीय उत्पादन बृद्धि र उद्यमशिलता प्रवद्र्धनका लागि यी कार्यक्रमले आर्थिक विकासमा टेवा दिएका छन् । यससंगै हामीले भिमसेनथानमा ५० फिटको पाण्डवमूर्ति स्थापना गरेका छौं ।

पाण्डव मुर्ती स्थापना भएसंगैको क्षेत्र नजिकमा पहरी समुदायको वस्ती रहेको छ । त्यस समुदायको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन हुने गरी सामुदायिक होमस्टेको तयारी गरेका छौं । पाण्डव पार्क निर्माण भएसंगै यस क्षेत्रमा होमस्टे मार्फत पनि पर्यटन प्रवद्र्धन हुन्छ भन्ने हाम्रो विश्वास छ । पर्यटकलाई कोसेलीको रुपमा बाँसका सामानहरु लैजान सकिने गरी पहरी समुदायको सीपलाई आधुनिकीकरण गर्दै पर्यटक कोसेली उद्यम पनि सञ्चालन हुने सम्भावना बढेको छ ।

यस्ता उत्पादनलाई व्यावसायीकरण र औद्योगिकरण कसरी गर्नुहुन्छ ?
हामीले कच्चा पदार्थको उत्पादनमा किसानहरुलाई व्यक्तिगत र सामूहिक दुबै ढंगले गर्न प्रोत्साहन गरिरहेका छौं । तीनै तहका सरकारको सहयोग र सहकार्यमा प्रशोधन उद्योग संचालन तथा बजारीकरणका काम गर्नुपर्छ र उत्पादनशक्तिमा स्थानीय समुदायको सशक्त हस्तक्षेप हुनुपर्छ भन्ने मान्यतामा आधारित भएर अघि बढिरहेका छौं । हामीले गाउँगाउँमा जडिबुटी खेती गर्ने तथा तेल प्रशोधन केन्द्र स्थापना गरेका छौं ।

अहिले नै धसिंगरे र तितेपातीको तेल उत्पादन गरिरहेका छौं । यसको तेलसँगै पानीलाई प्राकृतिक चिकित्सा तथा आरोग्य केन्द्रको स्टीम बाथको लागि प्रयोग गर्न सकिएको छ भने छोक्राबाट जैविक मल निर्माणमार्फत कृषिमा सहयोग भएको छ ।

शिक्षा क्षेत्रमा कसरी काम गरिरहनुभएको छ ?
हामीले पहिलो कुरा शिक्षामा हाम्रो पूर्वाधार, शैक्षिक जनशक्ति र विद्यार्थीको सन्तुलन मिलाउँदै विद्यार्थीको भावना, जनशक्तिको क्षमता र हाम्रो आवश्यकता अनुरुप व्यावहारिक ढंगले विकास गरिरहेका छौं । विद्यार्थीलाई एकोहोरो पढाइले मात्रै हुँदैन भनेर खेलक्ुद, संगीत र योगको शिक्षक नियुक्ति गरेर अतिरिक्त सिकाइ सुरु गरेका छौं ।

सायद सामुदायिक विद्यालयमा योग शिक्षा सुरु गर्ने पहिलो विद्यालय हामी नै हुन सक्छौं । हामीले योग सिकाएको विद्यार्थी साजन जिसीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै पुरस्कार पनि जितेका छन् । विद्यार्थीहरु झोक्राउँदै स्कुल जाने र स्कुलमा भोकले ग्रस्त हुने कक्षा छोड्ने खालका समस्या भएकोले हामीले निजी विद्यालय सरहको पढाइ गर्न वाल कक्षाको लागि २० जना शिक्षक शिक्षिकाको व्यवस्था गरेका छौं । ४७ विद्यालयलाई समायोजन गरी बनाइएका ३६ वटा नै विद्यालय र १२ कक्षा सम्मकै विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरेका छौं । खाजाको गुणस्तरको लागि कुक तालिम र पौष्टिकताको लागि स्थानीय उत्पादन प्रयोगलाई जोड दिएका छौं ।

विद्यार्थीहरुलाई व्यावहारिक शिक्षामा लैजानुपर्छ भन्ने उद्धेश्यले पढ्दै कमाउँदै कार्यक्रम संचालन गरिएको छ । जनता माविमा भैंसीपालन गरी उत्पादन भएको दूधबाट विद्यार्थीहरुलाई सीप सिकाएर दूधका परिकार बनाउने कार्यक्रम छ भने सेतीदेवी रिस्ते माविमा मौरीपालन र शारदा माविमा अल्लोको धागोबाट कपडा तथा लोक्ताबाट नेपाली कागज बनाउने कार्यक्रम संचालन भईरहेको छ ।

विद्यार्थीहरुलाई छ्वालीबाट विभिन्न कलात्मक सामग्रीहरु बनाउन सिकाएका छौं । कार्यालय सजावट तथा कोसेलीमा प्रयोग हुने यस्ता सामग्रीहरुको व्यावसायिक उत्पादनमा पनि विद्यार्थीहरुलाई जोड्छौं । उनीहरुले उत्पादन गरेका सामग्री खरिद गरेर हाम्रा कार्यालय सजाएका छौं । हामी केही दिन अघि चीन जाँदा कोसेलीका रुपमा उनीहरुले बनाएका सामग्रीहरु लगेका पनि थियौं । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई पढ्न उत्साह आएको छ । उनीहरुको सिकाइ उपलब्धि बृद्धि भएको छ । विद्यालय ड्रप आउट रेसियो घटेको छ ।

ग्रामीण भेगमा स्वास्थ्य क्षेत्रमा कस्ता नयाँ कामहरु गर्नुभएको छ ?
स्वास्थ्यमा हामीले प्राकृतिक चिकित्सा तथा आरोग्य केन्द्रमार्फत ज्येष्ठ नागरिकहरुलाई बाथ तथा हाडजोर्नीको समस्या समाधानका निशुल्क उपचार गरिरहेका छौं । आफ्नै जडिबुटी प्रशोधन केन्द्र र प्राकृतिक चिकित्सा केन्द्र अनि विद्यालय र समुदायमा योग शिक्षाको पूवद्र्धनमार्फत हामी स्वास्थ्य प्रणाली नै आजको एलोपेथिक उपचार विधिका संकट र समस्याहरुतर्फ फस्नेभन्दा भिन्न ढंगले अगाडि बढाईरहेका छौं । अन्य इमर्जेन्सी केसहरुका लागि स्वास्थ्य केन्द्र संचालन व्यवस्थापन गर्न संघ र प्रदेश संगको सहकार्यमा स्वास्थ्य संस्था संचालन भईरहेका छन् ।

विपद जोखिम कस्तो छ ? भौगोलिक र पर्यावरणीय पक्षका चुनौतिहरु कस्ता छन् ?
हाम्रो गाउँपालिका ६० प्रतिशत जंगल क्षेत्र भएको पालिका हो । हामीले फलफुलका जंगल बनाउने कार्यक्रम बनाए पनि डँढेलोले ध्वस्त बनाउने भएपछि हामीले पालिकालाई डँढेलोमुक्त बनाउने अभियान सुरु ग¥यौं । एक वर्षमा स्थानीय समुदाय, प्रहरी, संघ संगठन, महिला समूह, विद्यार्थीहरुमार्फत जनचेतना जगाएर डँढेलोमुक्त बनायौं ।

म आफैं माइकिङ गर्दै पनि हिँडेँ । डँढेलोको गोप्य सूचना दिनेलाई १० हजार रुपैयाँ पुरस्कार दिने देखि प्रचलित कानुनअनुसार कार्वाही गरेर डँढेलो नियन्त्रण गर्न सफल भयौं । यसले हामीलाई विपद प्रतिकार्य र पूर्वतयारी गर्न सकिने रहेछ भन्ने लाग्यो । त्यसपछि हामीले मौसमजन्य विपदको पूर्वतयारी र प्रतिकार्यका लागि पनि स्थानीय समुदायको परिचालनको योजना बनाएका छौं ।

हामीले गाउँघरमा मकै रोपेपछि भल काटेर खेतवारी जोगाउने, करेसा सफा गर्ने र घरजग्गा क्षेत्रको माथिल्लो भागबाट खोल्सासम्म कुलो काटेर पानी नियन्त्रणका विधिहरु थिए । हिजो यस्ता विपत कम हुन्थे तर आज सबै काम गर्न सरकारको मुख ताक्ने परिपाटी अन्त्य गर्दै स्थानीय समुदायको परिचालनमा कुलो निर्माण र भल नियन्त्रण जस्ता रैथाने ज्ञानलाई पुस्तान्तरण गरी अहिले प्रयोगमा ल्याउने तयारीमा छौं ।

एकमुष्ट रुपमा पालिकालाई कसरी चिनाउन सकिन्छ त ?
हाम्रो गाउँपालिका नमूना समाजवादी अभ्यासमा रहेको गाउँपालिका भनेर चिनाउन सक्छौं । हाम्रा कार्यक्रमहरुको आधारमा हामीले ‘मैत्री, युक्त र मुक्त पालिका’ भनेर ब्राण्डिङ गरिरहेका छौं । जस्तै बेरुजुमुक्त, डँढेलोमुक्त, छुवाछुतमुक्त, खुला दिसामुक्त, महिला हिंसामुक्त, वालश्रममुक्त, खुला तारमुक्त गाउँपालिका । गाउँपालिकाले अभियान नै बनाएर वालमैत्री, योगमैत्री, प्राकृतिक चिकित्सामैत्री पालिका निर्माण गरिरहेका छौं ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment