आमा, हामी किन कुकुर भएर जन्मियौं ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • औसत १३ वर्षको छोटो आयु लिएर यस धर्तीमा आएका कुकुर पनि हामी जस्तै यो दुनियाँमा पहिलो पटक जीवनको अनुभव गरिरहेका छन्।
  • तर,  उनीहरूले कहिल्यै अघाउँजी खान पाउँदैनन्, न सजिलो बस्ने ठाउँ नै।
  • सधै सडकमा एक्लो र बेसाहरा जीवन बाँच्छन्।

मेरो आज मर्ने दिन थियो ।

साँच्चै मलाई कसरी मार्छन् होला ? अज्ञात भयले बेस्सरी विथोलिएको थिएँ । श्वास बढेको थियो, शरीर काँपेको थियो, खुट्टा लुला हुँदै थिए । चिसो भित्तामा अडेसिएर आफूलाई लुकाउन खोज्दै थिएँ । यतिबेला म एकदमै टिठलाग्दो देखिएको हुँदो हुँ ।

तर मेरो मनोदशालाई कसले बुझ्ने ?

यो धर्तीमा मलाई बुझ्ने मबाहेक अरु कोही थिएन । मेरो नातागोता, मेरो समाज, मेरो देश, मेरो भगवान कोही थिएनन् ।

म किन जन्मिएँ आमा ?

……………

आमा, मलाई तिम्रो तिर्सना लाग्योे । तर तिमी कस्ती थियौं ? देखिनँ । दृश्यमा तिमी थिएनौं, ध्वनिमा थिएनौं ।  केवल स्पर्शले तिमीलाई महसुस गर्थें ।

मलाई त लागेको थियो, आमाको शरीर नै मेरो धर्ती हो । त्यो न्यानो र नरम थियो । त्यहाँ अडेसिन्थें अनि कोल्टे फेर्दै निदाउथें । भोक लागेपछि ब्यूँझन्थें । खाना खोज्दै जसोतसो दूधको लाम्टामा मुख पुयार्‍उथेँ । तर, कसैले मलाई धकेल्थ्यो । म पनि धकेल्थेँ । यसरी होडबाजी गर्दै दूध चुस्न पाउँदा कम्ता स्वाद आउँदैनथ्यो ।

एक रातको कुरा हो ।

हुरी–बताससँगै भीषण झरी पर्‍योे । हामी बसेको ओडार सँघुरो अनि ओसिलो थियो । त्यहाँ पानी छिचोलिदै थियो र हामी लालाबाला डुब्दै थियौं ।

बिहानीपख आमाले गर्दनमा च्यापेर एक–एक गर्दै हामीलाई कुनै ओभानो ठाउँमा पुर्‍याइन् ।

आमा पानीले निथ्रुक्क भिजेकी थिइन् । तर, उनको पेट आगो जस्तै तातो थियो । आमाको काखीभित्र घुस्रिएर हामीले दूध चुस्न खोज्दा उनी लगलग काँप्न थालिन् । दूध निथ्रिसकेको थियो । किनभने सुत्केरी आमा केही दिनदेखि भोकै थिइन् । कमजोरी र ज्वरोले उनलाई सिकिस्त बनाएको थियो ।

आमा सकिनसकी उठिन् । बाहिर पानी दर्किरहेकै थियो ।  झरीमा भिज्दै लुरुक्क परेर खानेकुरा खोज्न निस्किइन् ।

एकक्षण आमा नहुँदा हामीलाई चिसो शून्यताले सतायो । उनको छाती हाम्रा लागि सबैभन्दा आनन्ददायक आश्रयस्थल थियो । त्यहाँबाट आउने ताप र गन्धमा ढुक्कले लुटपुटिएका हुन्थ्यौं । हामी आमाको गन्ध खोज्दै चलमलाउन थाल्यौं ।

अचानक कताकता मान्छेहरू कराए । हो–हल्ला मच्चियो । कतै दौडिए जस्तो, कतै चिच्याए जस्तो लाग्यो । त्यसैबेला असह्य वेदनाले भरिएको चर्को आवाज आयो, ‘कुँई..कुँई ..।’

त्यो क्रन्दन हाम्री आमाको थियो ।

……….

दिन गुज्रियो । झमक्कै साँझ पर्‍यो । आमा फर्केर आइनन् ।

हामी धेरैबेर करायौं । दूध खोज्यौं । भोकले व्याकुल भएर निदाएछौं ।

मध्यराततिर कसैको तातो–तातो सासले न्यानो बनायो । त्यो सास आमाको थियो र उनी हामीलाई चाटिरहेकी थिइन् । तँछाड–मछाड गर्दै हामी दूधको लाम्टा चुस्न हतारियौं । आमा झर्को मान्दै कारुणिक भावमा बिस्तारै कराइन् । उनको एउटा खुट्टाबाट आलो रगत बग्दै थियो ।

उनी कहिले दुखिरहेको आफ्नो घाउ चाट्थिन्, कहिले हामीलाई । भोक, ज्वरो र दुखाइले एकदमै थाकेकी थिइन् । उनी रातभर निदाउन सकिनन् । मसिनो स्वरमा कराइरहिन् ।

………….

आमा, जसलाई हामी विराट वात्सल्यले अनुभूत गरिरहेका थियौं तर नाङ्गो आँखाले देखेका थिएनौं । किनभने हामी जन्मिएको तीन साता हुँदै थियो र बिहानपख मात्र हाम्रो आँखाले अस्पष्ट आकृतिहरु देख्न थालेको थियो । पहाड जस्तै विशाल, धर्ती जस्तै सहनशिल ममतामयी आमालाई सायद आज देख्न पाउनेछौँ ।

त्यहीबेला सामुन्नेमा एक्कसी चट्याङ परेजस्तै चर्को ध्वनि सुनियो । त्यो कुनै पुरुषको कर्कश आवाज थियो ।

मेरी आमा झस्किइन् । उनी थर्रर काँप्दै सकिनसकी उठिन् र भाग्न खोजिन् । तर कसैले उनको ढाँडमा जोडसँग रड बजार्‍यो । आमा थचक्कै बसिन् । चरम पीडामा उनको गहिरो चित्कार सुनियो, ‘कुइँइँ……..।’

केही अधवैंशे मान्छे उफ्रिदै र छिल्लिदै आए । आमालाई कानमा समातेर घिसार्न थाले ।

आमा विवस थिइन्, लाचार थिइन् । अब उनीसँग आफ्नो दुःख सुनाउने एउटै भाषा थियो, आँसु । सन्तान वियोगको यो प्रलयमा उनले हामीलाई टुलुटुलु हेरिरहिन् र आँसु चुहाइरिहन् ।

‘ए चोर, खिच्चा’ एकदमै झोक्किएको पुरुषले उच्छृंखल आवाजमा भन्यो, ‘जिउँदै छाला काड्छु तेरो, चोर्छस् मासु ?’

उनीहरूले मेरी आमाको घाँटीमा डोरी लगाइदिए । रुखको हाँगामा झुन्ड्याए ।

सुत्केरी आमा तीब्र कष्टले छटपटाइन् । ती मान्छेहरूले क्रुर तमासा हेरे । अनि वनभोज खाएर फर्किए जसरी हाँसीमजाक गर्दै त्यहाँबाट हिँडे । असाध्य कष्टले आमा तड्पिइरहिन् ।

हामी टुहुरा भयौं ।

………..

कसैले मलाई च्याप्प समात्यो ।

म जोडबलले फुत्किन खोजें । डरले थुरथुर भएँ । किनभने ती मेरी आमा थिइनन्, जसलाई म दुई दिनदेखि भोकभोकै पर्खिरहेको छु ।

आमा नहुँदा हाम्रो घाँटी सुक्यो । दूधको कति तलतल लाग्यो । भोकले भौतारियौं । कोही झाडीमा फसे, कोही खाल्डोमा डुबे ।

आमा, तिमीले कष्ट सहेर जन्माएका, मनभरी माया दिएर चाटेका, सकिनसकी दूध चुसाएर हुर्काएका हामी बालबच्चा तितरबितर भयौं । बाँकी बच्चा कता गए ? म कहाँ पुगें ? थाहै भएन ।

पानी परिरहेको थियो । ओत लाग्ने ठाउँ भेटिनँ, भिजिरहेँ ।

थरथर काँपिरहेको बेला कसैले मलाई समातेर आफ्नो छाँतीमा राख्यो । ती स–सना कोमल हातहरूले मायालु पारामा सुम्सुम्यायो । त्यो स्नेहवती स्पर्श मेरी आमाको जस्तै थियो ।

उनी फुच्ची थिइन् ।

उनले सानो रुमाल झिकेर जानी–नजानी मेरा भिजेका रौंहरू यसरी पुछिदिए मानौं म उनको गुडिया हुँ । म अबोध प्रेमले मख्ख परें ।

उनले मलाई सकीनसकी बोकेर आफ्नो घरतिर लैजाँदै गर्दा क्षितिजमा इन्द्रेणी परेको थियो । सुस्त–सुस्त हावा चलिरहेको थियो । हावाको लहरसँगै फूलहरू भुइँमा झरिरहेको थियो । अनि वायुमण्डलमा फूलहरूको सुगन्ध फैलिएको थियो ।

हामी एउटा चिटिक्क परेको सुकिलो कोठामा पुग्यौं । उनले मलाई भुवादार एवं मुलायम ओछ्यानमा जतनसाथ राखिन् । म हार्दिकताले फुर्किएँ र पुच्छर हल्लाउँदै उनलाई चाट्न खोजें ।

त्यहाँ मेरा लागि थुप्रै खेल्नेकुरा थियो । पुग्दो खानेकुरा थियो । उनले मझौला कचौरामा दूध दिँदा मैले हतार–हतार मुख डुबाएर एकैछिनमा कचौरा रित्याएको थिएँ ।

म तृप्त भएँँ ।

उमंगले उफ्रिदै दौडन थालें । उनी पनि मसँग खेल्न थालिन् । खेल्दा–खेल्दै पिसाब आयो, मैले ओछ्यान भिजाइदिएँ । उनी अत्तालिइन् र विस्मयपूर्वक साना खुट्टाले लात हानेर मलाई एक बल्ड्याङ पल्टाइन् ।

थाहा छैन, खेल्दा खेल्दै कुनबेला हामी निदायौं ।

ब्यूँझदा घरमा लफडा भइरहेको थियो । फुच्ची रोइरहेकी थिइन् । एक अधबैंसे महिलाले दिगमिग मान्दै मेरो घित्रोमा समातेर ढोका बाहिर हुत्याइन् । म थचारिएँ ।

आखिर फुच्चीले मलाई त्यही ठाउँमा लगेर छाडिदिइन्, जहाँबाट ल्याएकी थिइन् । त्यो ओसिलो झाडीमा मलाई थपक्क राखेर मायाले स्पर्श गरिन् । अनि दौडँदै त्यहाँबाट गायब भइन् । मैले केही परसम्म उनलाई पछ्याएँ । तर, उनको तीब्रता र पाइलाहरू भेट्याउन सकिनँ ।

……………..

झमक्कै साँझ पर्‍यो ।

बस्ने ठाउँ चिसो थियो । एक्लो थिएँ । मलाई जाडो भयो, भोक लाग्यो । खानेकुरा कहाँ पाइन्छ ? थाहा थिएन । माटोमा, हिलोमा, झारपातमा सबैतिर खानेकुरा खोजिरहें ।

त्यहीबेला बाटोमा कुनै मान्छे हिँडेको जस्तो लाग्यो । पछ्याउँदै गएँ । तर, मलाई देख्नसाथ त्यो मान्छे दौडिएर केही पर पुग्यो । अनि स-सना ढुंगाले मलाई हिर्काउन थाल्यो । म झाडीभित्र लुकें । रातभर लुकिरहेँ ।

अर्को दिन फेरि बाटोमा मान्छेहरू हिँडेको जस्तो लाग्यो । डरले बिस्तारै पछाडि सरें, ताकि आफूलाई लुकाउन सकियोस् । तर मलाई कसैले समातेर जबरजस्ती बाहिर निकाले ।

मैले देखें, ती उही फुच्ची थिइन् ।

उनीसँगै एकै छिमलका दुई साथी थिए । उनीहरूले मलाई खोसाखोस गर्दै बोके । सुमसुम्याए । टिफिन बट्टाको खानेकुरा दिए । मैले भरपेट खाएँ ।

उनीहरूले स्याउला बटुलेर सानो घर बनाइदिए । अनि मेरो आँखामा हेरेर ‘लुसी..लुसी..’ भन्दै कराए । सायद यिनीहरूले मेरो न्वरान गरिसकेछन् ।

त्यसपछिका दिनहरूमा मैले मिष्ठान्न भोजन पाउन थालें । उनीहरू आउथे, मलाई खेलाउँथे । कहिले जंगलका फूलको माला बनाएर लगाइदिन्थे, कहिले साना भारी बोकाउँथे । एकदिन मेरो घाँटीमा नयाँ बेल्ट बाँधिदिए । रौं कोरिदिए । अनुहार पुछिदिए । अनि स्कुलमा लगे ।

त्यहाँ मलाई सबैले घेरा हालेर यति प्रेमपूर्वक पालैपालो बोक्न थाले मानौं म कुनै अनमोल ट्रफी हुँ ।

तर केही समयपछि त्यहाँ निकै भलाद्‍मी देखिने एक मोटो मान्छे आए । उनले सबैलाई ठूलो स्वरले हप्काए । अनि गेटमा उँभिएको मान्छेतर्फ हेरे । त्यो मान्छेले मलाई गाडीमा राखेर एकान्त ठाउँमा फुत्त फालिदिए ।

फेरि म सडकछाप भएँ ।

……………….

यति ठूलो धर्तीमा मेरा लागि कुनै ठाउँ थिएन ।

म जहाँ जान्थे, त्यहाँबाट भाग्नुपर्थ्यो । सडकमा मलाई देख्नसाथ झम्टन्थे । म भाग्दै कसैको घरको पेटीमा पुग्थेँ । त्यहाँबाट मलाई मान्छेले लखेट्थे । म भागिरहन्थेँ ।

म कति दौडिएँ, कति थाकें, कति डराएँ, कति भोकाएँ ।

दिनहरू बित्दै जाँदा कुकुरहरूले मलाई लखेट्न छाडे । केही त मसँग खेल्न थाले । हामी मिलुजुली बस्न थाल्यौं । अब म आफ्नै समुदायमा मिसिएको थिएँ । आफ्नै धरातलमा फर्किएको थिएँ ।

तर, त्यहाँ मबाहेक अरु कोही सद्दे थिएनन् । कसैको एउटा खुट्टा थिएन, कसैको छालमा रौं थिएन, कसैको आँखा थिएन ।

साइबेरियन हस्की जातकी एक बुढी कुकुर मर्नु न बाँच्नु हालतमा थिइन् । सानैदेखि मान्छेले उनलाई ब्रिडिङ सेन्टरमा थुनेर राखेछन्, वर्षैपिछे गर्भधान गराउँदै बच्चा बिक्री गरेछन् । बुढी भएपछि सडकमा ल्याएर छाडिदिएछन् । उनको यौनाङ्गबाट पिप र रगत बगिरहन्थ्यो ।

अर्को थियो, रक्की । घाँटीमा बेल्ट बाँधेको, अग्लो जिउडालको । तर, कुपोषणले उसको करङ देखिन्थ्यो । भुँडी सपक्कै सुकेको थियो । ल्याब्रोडर जातको उसको कहानी विश्वयुद्ध लडेर फर्किएको सैनिकको भन्दा कम मर्मस्पर्शी थिएन ।

केनाइन क्लबमा जन्मिएछन् । विशेष तालिम पाएछन् । अपराध अनुसन्धानमा खटिएर अपराधी पत्ता लगाएछन् । प्राकृतिक विपत्तिका बेला मान्छेको उद्धार गरेछन् । आखिरमा बुढो र अशक्त भएपछि उनी पनि लखेटिएछन् ।

सबैसँग यस्तै दर्दनाक कहानी थिए ।

एक साँझ कसैले मलाई काँचो मासुको टुक्राहरू दिए । मेरो गर्दनमा मुसारे । ‘भोटे’ भन्दै बोलाए । अनि डोरीले बाँधेर डोहोर्‍याउँदै एकलासे घरमा पुर्‍याए । त्यो निर्माणधीन घरका मालिकसँग रक्सीमा मलाई साटे ।

घर मालिकले मलाई छतमा लगेर मोटो साङ्लाले बाँधिदियो । त्यहाँ यत्रतत्र सरसामन राखिएका थिए । मेरो अघिल्तिर एक थाल मासुभात राखेर ऊ हिँड्यो ।

म टन्न खाएर बसें ।

मध्यराततिर आकाशमा बादल मडारिन थाल्यो । लगत्तै चट्याङ पर्न सुरु भयो । चर्को ध्वनिले मेरो कान भित्रैसम्म दुख्यो । म आत्तिएर लुक्न खोजें । तर, साङ्लाले मलाई अठ्याएको थियो । म यता भाग्न खोजें, उता दौडन खोजें । बेलाबेला भयानक हुरी चल्थ्यो । पानी दर्किन्थ्यो । भुइँ थर्कने गरी चट्याङ पर्थ्यो । तर म विवस थिएँ ।

टुक्रुक्क बसिरहें । पानीले रातभर भिजाइरह्यो ।

………………

बिहानपख झरी थामियो । घमाइलो दिन भयो । रात पर्‍यो । त्यहाँ कोही आएनन् ।

अर्को दिनभर म भोकभोकै बसें । तर, भोकले भन्दा मलाई तिर्खाले तड्पाएको थियो । प्रचण्ड घाममा बसिरहँदा असाध्यै तिर्खा लाग्यो । मेरो शरीर रापियो । मुख सुक्यो । छतको ठाउँ–ठाउँमा जमेको कति पानी सुकिसकेको थियो । बाँकी पानी म भेटाउन सक्दिनथें । मैले आफ्नै थुकले घाँटी भिजाइरहें ।

तीन दिन म त्यसरी नै बाँधिए । कति भोक लाग्यो, कति तिर्खा लाग्यो ।

चौथो दिन केही मान्छे आए र जुठो खानेकुरा दिए । त्यसपछि उनीहरूले साङ्ला निकालेर घरबाट बाहिर निकाले । म पानी खोज्दै यताउता भौतारिएँ । एक घुट्की पानी कतै पाइएन ।

पर सडकमा पानी जमेको रहेछ, दौडदै गएँ । त्यहीबेला कतैबाट आएको गाडीमा म नराम्ररी बजारिएँ । मेरो खुट्टाको मासु छिलियो, हड्डी टुक्रियो । म घिस्रिदै जसोतसो अर्को कुनामा पुगेर लुकें ।

दुखाइ, डर, थकान, भोक, तिर्खा एकै पटक सहनुपरेको थियो मैले । म सानो स्वरले रोइरहें ।

……………..

मध्यरातमा कसैले अचानक मेरो टाउको उठाउनै नसकिनेगरी थिच्न थाल्यो । भएभरको शक्ति लगाएर उम्कन खोजें ।

तर, त्यो धुस्रेफुस्रे केटोले मलाई बिस्तारै ‘खैरे…खैरे..’ भन्दै फकायो । सुमसुम्याए जस्तो गर्‍यो र फुर्तिसाथ मेरो ढाँडमा बस्यो । त्यसपछि भाँचिएको खुट्टामा होसियारसाथ कपडा बाँधिदियो ।

रात चकमन्न र चिसो थियो । उसले मलाई घिसार्दै मन्दिरको पेटीमा पुर्‍यायो । त्यो ओभानो ठाउँमा कार्टुन ओछ्याइएको थियो । कार्टुनमाथि जुटको बोरा राखेर ऊ त्यसैमा घुस्रियो । मलाई पनि बोराभित्र तानेर ढुक्कले निदायो ।

पुजारीले पानी छ्यापेर उठाउँदै गर्दा हाम्रो निद्रा पुगेकै थिएन । पुजारीले लात्ताले धकेलेर हामीलाई त्यहाँबाट अन्तै जान भने । केटोले मलाई कहिले उचाल्दै त कहिले घिसार्दै सडकको आडमा पुर्‍याए ।

गोजीबाट टुक्राटुक्री बिस्कुट निकालेर बराबारी दुई भाग लगायो । एउटा भाग मेरो थियो ।

कहिले ऊ एउटा केरा बोकेर आइपुग्थ्यो, कहिले नरिवल र स्याउका टुक्राहरू । जति ल्याउथो, बाँडीचुडी खान्थौँ । तर, उसलाई खानाको भन्दा मेरो घाउको चिन्ता थियो । घाउमा जम्दै गएको रगत र पिप पुछिदिन्थो । झिंगाहरू धपाइदिन्थो । कतैबाट पुराना र फ्याकिएका औषधि खोजेर घाउमा लगाइदिन्थो ।

ऊ थुप्रै पटक औषधि पसलसम्म पुगेर रित्तै हात फर्कियो । किनभने उसँग पुग्दो पैसा थिएन । यताउता दौडिएर केही पैसा ल्याउथो र राति चार–पाँच पटकसम्म गन्दै बस्थो ।

एक बिहान सडकमा साइरन बजाउँदै नगर प्रहरीहरू आइपुगे । हामी बोराभित्र सुतिरहेका थियौं । नगर प्रहरीले उसलाई जुरुक्कै उचालेर लगे । ऊ ‘खैरे..खैरे’ भन्दै तिखो स्वरमा कराइरहेको थियो । केही क्षणमै त्यो स्वर शहरको कोलाहालमा मधुरो हुँदै गयो ।

………….

मैले धेरैबेर उसलाई पर्खिरहें । घण्टा बित्यो, दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो । ऊ फर्केर आएन ।

एकदिन त ऊ आउनेछ । मलाई यस्तै लागिरह्यो ।

बिजुली र फूलमालाले शहर झिलिमिली हुँदै गर्दा म उराठलाग्दो रातहरू गुजाद्रै थिएँ । आतसबाजी र  पटकाको तिखो ध्वनिले मेरो संवेदनशील श्रवणयन्त्र घाइते बनाइसकेको थियो । कान खपिनसक्नु दुखेको थियो ।

त्यसमाथि खुट्टाको घाउले सताएको थियो । घाउमा स्याउँस्याउँ कीरा परेको थियो । सहन नसकेपछि सकीनसकी यताउता दौडन्थे । मलाई देखेर मान्छेहरू तर्सन्थे, तर्कन्थे । ढुंगाले हानेर लखेट्थे ।

नियतीले मेरो भागमा घिन, घृणा र डरबाहेक केही दिएको थिएन । सुस्ताउने सानो ठाउँ पनि । एकैछिन कतै सुत्न खोज्दा तातो पानी खन्याइदिन्थें, झटारो हान्थे, कानैमा पटका पड्काइदिन्थे ।

आमा, तिमीले त मलाई मायाको प्राकृतिक भाषा सिकायौं । तर दुनियाले मलाई क्रोध र बदलाको परेड खेलायो ।

……..

त्यो दिन,

टोलका मान्छेहरूले मलाई जालीले छोपेर शौचालय जस्तै साँघुरो ठाउँमा थुनिदिए । ‘यो बौलाह कुकुर’ भन्दै त्यहीभित्र मार्ने सुरसार गरिरहँदा म सम्भावित भयले कापिँरहेको थिएँ । मलाई थाहा थियो, मान्छेहरूको क्रुरता कति निर्मम र विभत्स हुन्छ भनेर । कठोर मृत्युको सामना गर्नुअघि म त्यहाँबाट दाउ छोपेर उम्किएँ ।

म भाग्दै थिएँ । मान्छेहरू मलाई लखेट्दै थिए ।

आमा मेरो घाँटी सुक्यो, शरीर रापियो । मांसपेशी गल्दैछ, हड्डी दुख्दैछ, खुट्टा थाकिसक्यो । तर, म कतै बस्न पाउँदिन । म कतै बस्न पाउँदिन आमा । भागिरहेको छु ।

उपसंहार

आमा ज्योतिमय छ सबैतिर । त्यहाँ सप्तरंगी इन्द्रेणीको भर्‍याङ छ । म त्यही भर्‍याङबाट उक्लदैछु । तर, मलाई कति पनि थकान छैन । शरीर दुखेको छैन । पेट भोको छैन । मलाई विश्वास छ, यो भर्‍याङ उक्लिएपछि तिमीसँग भेट हुनेछ । हैन त आमा ?

‘पृथ्वीमा कुकुर मात्र यस्तो प्राणी हो जसले आफूलाई भन्दा तिमीलाई बढी माया गर्छ।’ – जोश बिलिङ्स

लाइका : जसले वैज्ञानिकलाई अन्तरिक्ष अध्ययनको लागि बाटो खुलाइदिए

३ नोभेम्बर सन् १९५७ मा एउटा सडक कुकुरलाई सोभियत संघले अन्तरिक्षमा एक्लै पठाएको थियो । स्पुतनिक २ अन्तरिक्ष यानमार्फत ३ नोभेम्बर १९५७ मा पृथ्वीको कक्षमा पठाएको थियो। यो कुकुर पहिलो जीवित प्राणी बन्यो जसले पृथ्वीको कक्षमा परिक्रमा गर्‍यो । सोभियत वैज्ञानिकहरूले मानव अन्तरिक्ष यात्राको सम्भाव्यता जाँच्न लाइकालाई पठाएका थिए, किनकि त्यतिबेला अन्तरिक्ष यात्राको जैविक प्रभावबारे धेरै कुरा अज्ञात थियो ।

आमा, हामी किन कुकुर भएर जन्मियौं ?

टोगो : जसले महामारीमा लाखौं बच्चाको ज्यान बचाए

टोगो एक साइबेरियन हस्की कुकुर थियो, जसले सन् १९२५ मा अलास्कामा ‘डिप्थेरिया’ नामक महामारीको समयमा एकदमै जोखिमपूर्ण यात्रा गरे औषधि ढुवानी गरिदियो, जसले धेरै बालबालिकाको ज्यान जागियो ।

उमेरले बुढो टोगोले आफ्ना मालिक लियोनहार्ड सेप्पालासँग सबैभन्दा खतरनाक र लामो खण्ड (२६१ माइल) को यात्रा पूरा गरेको थियो । बरफले ढाकिएको बाटो, आँधीबेहरी र (३० डिग्रीको चिसोमा १२ वर्षको उमेरमा उनले स्लेज टोलीको नेतृत्व गरे ।

अस्थिर बरफमाथि दुई पटक यात्रा गरेर उनले औषधि पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । टोगोको साहस र बुद्धिमत्ताले धेरैको ज्यान बचायो ।

आमा, हामी किन कुकुर भएर जन्मियौं ?

स्मोकी : जसले घाइते सैनिकलाई आरम र खुसी दिए

यो सानो ‘यर्कशायर टेरियर’ नश्लको कुकुरले दोस्रो विश्वयुद्धपछि अस्पतालमा घाइते कुकुरहरुलाई थेरापी प्रदान गरेर कुकुर थेरापीको अवधारणा स्थापित गर्न मद्दत गरिन् ।

आमा, हामी किन कुकुर भएर जन्मियौं ?

रिन टिनटिन : जसले हलिउडलाई आर्थिक संकटबाट बचाए

प्रथम विश्वयुद्धपछि उद्धार गरिएको यो जर्मन सेफर्ड जातको कुकुर हलिउडको स्टार बन्यो । १९२० को दशकमा यसका फिल्महरूले वार्नर ब्रदर्स स्टुडियोलाई आर्थिक सङ्कटबाट बचायो र कुकुरलाई सांस्कृतिक प्रतीक बनायो ।

आमा, हामी किन कुकुर भएर जन्मियौं ?

हाची : जसले मान्छे र पशुको सम्बन्धलाई नयाँ आयममा परिभाषित गरे

अकिता इनु जातको यस कुकुरले मान्छे र कुकुरको सम्बन्धलाई नयाँ आयममा परिभाषित गरिदियो । १९२० को दशकमा आफ्ना मालिक हिदेसाबुरो उएनोलाई हरेक दिन रेल स्टेसनमा कुरिरहन्थे, जबकि मालिकको हृदयघातबाट मृत्यु भइसकेको थियो । जापानमा यस कुकुरको प्रतिमा बनाएको छ, जो एक पर्यटकिय गन्तव्यको रुपमा स्थापित छ । त्यस्तै यही कुकुरको कथालाई लिएर हलिउडले फिल्म निर्माण गरेको छ ।

आमा, हामी किन कुकुर भएर जन्मियौं ?

फ्रिडा : जसले भूकम्पमा पुरिएका मान्छेहरुलाई बचाए

फ्रिडा एक ‘ल्याब्राडर रिट्रिभर’ जातको मेक्सिकोको नौसेनाद्वारा प्रशिक्षित कुकुर हो । यसले सन् २०१७ को मेक्सिको भूकम्पमा फ्रिडाले भग्नावशेषमा फसेका ५२ जनालाई खोजेर उद्धार गर्न सहयोग गर्‍यो, जसमध्ये १२ जना जीवित थिए । उनको असाधारण घ्राणशक्ति र प्रशिक्षणले भूकम्प प्रभावित क्षेत्रमा जीवन रक्षा सम्भव बनायो । फ्रिडाले २०१० को हैटी भूकम्प र २०१३ को मेक्सिको ग्यास विस्फोटमा पनि उद्धार कार्यमा भाग लियो । उनको साहस र समर्पणले विश्वभर प्रशंसा पायो, र उनलाई मेक्सिकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरियो ।

आमा, हामी किन कुकुर भएर जन्मियौं ?

पेट्रोन : जसले रुस–युक्रेन युद्धमा घाइतेलाई खोज्न ज्यानको बाजी थापे

युक्रेन–रुस युद्धमा पेट्रोन नामक कुकुरले सयौँ बारूदी सुरुङ पत्ता लगाएर धेरैको ज्यान बचाए, जसले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिलायो । ज्याक रसेल टेरियर प्रजातिको यस कुकुरलाई ‘युद्धको हिरो’ उपमा दिइयो । उनीसँगै त्यहाँ खटिएका कुकुरहरुले घाइतेहरूलाई खोज्न र स्थानीय बासिन्दालाई भावनात्मक सहारा प्रदान गर्न पनि मद्दत गरेका थिए ।

आमा, हामी किन कुकुर भएर जन्मियौं ?

पाषण युगदेखिको नाता

मान्छे र कुकुरको सम्बन्ध पाषण युगबाट सुरु भएको हो । त्यसबेला शिकार र सुरक्षाका लागि मान्छेले कुकुरलाई आफ्नो साथी बनाए ।

आमा, हामी किन कुकुर भएर जन्मियौं ?





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School