आफ्नै उम्मेदवारसँग लड्यो कांग्रेस


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा मात्र जित निकाल्दा पार्टीको संसदीय इतिहासमै सबैभन्दा कमजोर नतिजा आएको छ।
  • कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीभित्रको आन्तरिक कारणले २०/२१ निर्वाचन क्षेत्रमा हारको मुख्य जिम्मेवारी देखाएको छ।
  • निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेस पाँच हजारभन्दा कम मतान्तरले कोशी, सुदूरपश्चिम, बागमती, कर्णाली, गण्डकी, मधेश र लुम्बिनी प्रदेशका २० क्षेत्रहरूमा पराजित भएको छ।

९ चैत, काठमाडौं । नेपाली कांग्रेस पछिल्लो समय वाह्य प्रतिस्पर्धाभन्दा बढी आन्तरिक किचलोका कारण चर्चामा रहँदै आएको छ । पार्टीभित्रको गुटबन्दीका कारण लामो राजनीतिक विरासत बोकेको कांग्रेसको साख दिन–प्रतिदिन खस्किँदै गएको छ ।

कांग्रेसमा संस्थापन र इतर समूहबीचको प्रतिस्पर्धाको इतिहास लामै भए पनि पछिल्लो समय यो प्रतिस्पर्धा स्वस्थ राजनीतिक बहसभन्दा बढी गुटगत शक्ति प्रदर्शनमा परिणत भएको देखिन्छ ।

आवधिक निर्वाचनमा जाँदा पार्टीले अघि सारेका आधिकारिक उम्मेदवारविरूद्ध असन्तुष्ट नेताहरूले स्वतन्त्र उम्मेदवारी दिनेदेखि निर्वाचनमा असहयोग गर्ने प्रवृत्ति कांग्रेसमा बढ्दै गएको छ ।

जसको प्रत्यक्ष असर २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिविम्बित भएको छ । १६५ स्थानमा प्रत्यक्षतर्फ उम्मेदवार खडा गरेको कांग्रेसले मात्र १८ क्षेत्रमा मात्रै जित निकालेको छ ।

जुन कांग्रेसको संसदीय निर्वाचनको इतिहासमै सबैभन्दा कमजोर नतिजा हो । अहिलेको नतिजा आउनुमा कांग्रेसको संस्थापन पक्ष र निवर्तमान संस्थापन पक्षले एक–अर्कामाथि दोष थोपरिरहेका छन् ।

निर्वाचनको प्रारम्भिक समीक्षाका लागि दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीभित्रकै अन्तर्घातका कारण २१ निर्वाचन क्षेत्रमा पार्टीले पराजय भोगेको निष्कर्ष निकालेको छ ।

बैठकमा भएको समीक्षाबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले पाँच हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको बताए ।

‘पाँचदेखि तीन हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ,’ प्रवक्ता चालिसेले आइतबार भनेका थिए, ‘ती सिट संख्याहरू २०/२१ वटा निर्वाचन क्षेत्रहरू छन् ।’

देवराज चालिसे/फाइल तस्वीर

चालिसेको भनाइपछि अनलाइनखबरले निर्वाचन परिणाम केलाउँदा कांग्रेस १६५ मध्ये २० निर्वाचन क्षेत्रहरूमा पाँच हजारभन्दा कम मतले पराजित भएको पाइएको छ ।

कांग्रेस कोशी र सुदूरपश्चिम प्रदेशका पाँच–पाँच, बागमती र कर्णालीका तीन–तीन, गण्डकीका दुई, मधेश र लुम्बिनीका एक–एक निर्वाचन क्षेत्रमा पाँच हजारभन्दा कम मतले पराजित भएको हो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेस कोशी प्रदेशअन्तर्गत पर्ने ताप्लेजुङ, संखुवासभा, धनकुटा, खोटाङ र ओखलढुंगामा पाँच हजारभन्दा कम मतले पराजित भएको देखिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका दार्चुला, बझाङ, बैतडी, अछाम–२ र कैलाली–१ मा पनि कांग्रेसका उम्मेदवारहरू पाँच हजारभन्दा कम मतान्तरले हारेको तथ्यांकले देखाउँछ ।

त्यसैगरी बागमती प्रदेशका सिन्धुली–१, नुवाकोट–१ र सिन्धुपाल्चोक–२, गण्डकी प्रदेशका स्याङ्जा–२ र बागलुङ–२, कर्णाली प्रदेशका डोल्पा, दैलेख–२ र रुकुम पश्चिम तथा लुम्बिनी प्रदेशको गुल्मी–२ र मधेश प्रदेशको धनुषा–१ मा कांग्रेस पाँच हजारभन्दा कम मतले हारेको छ ।

ताप्लेजुङमा कांग्रेस उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बू नेकपा एमालेका क्षितिज थेबेसँग दुई हजार २५१ मतले हारेका छन् ।

थेबे १३ हजार ९६२ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा लिम्बू ११ हजार ७११ मत पाएर दोस्रो भएका थिए ।

संखुवासभामा कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठ एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीसँग दुई हजार ३६५ मतले पछि परेका छन् । कार्की १५ हजार ६३६ मतसहित विजयी हुँदा तेस्रो भएका श्रेष्ठले १३ हजार २७१ मत ल्याएका थिए ।

कांग्रेसले धनकुटामा उठाएका उम्मेदवार दिनेश राई एमालेका राजेन्द्रकुमार राईसँग तीन हजार ८७५ मतले पराजित भएका छन् । एमाले १८ हजार १३२ मतसहित विजयी हुँदा कांग्रेसको पक्षमा १४ हजार २५७ मत खसेको थियो ।

खोटाङमा कांग्रेस उम्मेदवार वीरकाजी राई श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईसँग चार हजार ६५५ मतले पछि परे । आरेन १६ हजार ६१२ मतसहित सांसदमा चयन हुँदा वीरकाजी ११ हजार ९५७ मतसहित तेस्रो भएका थिए ।

ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइटेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलसँग मात्र पाँच मतले पराजित भएका छन् । रास्वपाका पोखरेल १३ हजार ९५३ मतका साथ विजयी हुँदा लुइटेलले १३ हजार ९४८ मत प्राप्त गरेको आयोगको तथ्यांकले देखाउँछ ।

मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले धनुषा–१ मा मात्रै पाँच हजार भन्दा कम मतले हारेको देखिन्छ । यहाँ कांग्रेस उम्मेदवार रामपल्टन साह ९२८ मतले नेपाली कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवसँग पराजित भएका छन् । यादवले १० हजार ४३० र साहले नौ हजार ५०२ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ ।

बागमती प्रदेशमा पर्ने सिन्धुली–१ मा कांग्रेस नेता उज्ज्वलप्रसाद बराल रास्वपाका धनेन्द्र कार्कीसँग एक हजार ८९ मतले पराजित भएका छन् । कार्की १६ हजार ६५९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा १५ हजार ५७० मतका साथ बराल तेस्रो भएका छन् ।

नुवाकोट–१ मा कांग्रेस नेता डा. प्रकाशशरण महत चार हजार १२ मतले पछि परेका छन् । रास्वपाका विक्रम तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी हुँदा महतले १८ हजार ५९७ मत पाएका थिए ।

सिन्धुपाल्चोक–२ मा कांग्रेस उम्मेदवार वंशलाल तामाङ साढे दुई हजार मतले पराजित हुन पुगेका छन् । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल २१ हजार ६९९ सहित निर्वाचित हुँदा कांग्रेसका तामाङले १९ हजार १४६ मत पाएका छन् ।

गण्डकी प्रदेशअन्तर्गत पर्ने स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्ल रास्वपाका झविलाल डुम्रेसँग साढे चार हजार मतले पछि परेका देखिन्छन् । आयोगका अनुसार २५ हजार ३५४ मत ल्याएर डुम्रे विजयी हुँदा मल्लको पक्षमा २० हजार ८४० पाएका थिए ।

कांग्रेस पाँच हजारभन्दा कम मतले पराजित हुने निर्वाचन क्षेत्रमा बागलुङ–२ पनि पर्दछ । यहाँ कांग्रेसका टेकराज पौडेल ७७९ मतले मात्रै पराजित भएका छन् । विजयी रास्वपा उम्मेदवार सोम शर्माले १२ हजार ६४७ र दोस्रो भएका पौडेलले ११ हजार ८६८ मत पाएका थिए ।

यस्तै लुम्बिनी प्रदेशमा पर्ने गुल्मी–२ मा कांग्रेसका भुवनप्रसाद श्रेष्ठ पनि पाँच हजारभन्दा कम मतले पराजित भएका छन् । उनी रास्वपाका गोविन्द पन्थीसँग दुई हजार ५३३ मतले हारेका हुन् । यहाँ पन्थी १६ हजार ९६७ मतसहित विजयी हुँदा श्रेष्ठ १४ हजार ४३४ मत पाएर तेस्रो भएका थिए ।

कर्णाली प्रदेशको डोल्पामा कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बुढा तीन हजार ८५५ मतले पराजित भएका छन् । डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा छ हजार ८०२ मत ल्याएर विजयी हुँदा सहमहामन्त्री बुढा दुई हजार ९४७ मत पाएर तेस्रो भए । धनबहादुर र कर्णबहादुर सहोदर दाइभाइ हुन् ।

दैलेख–२ मा कांग्रेस उम्मेदवार दिक्पालकुमार शाही एमालेका लक्ष्मीप्रसाद पोखरेलसँग चार हजार ३३७ मतले हारेका छन् । १३ हजार ८८९ मतसहित पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उपविजेता बनेका शाहीले नौ हजार ५५२ मत पाएका छन् ।

कर्णाली प्रदेशकै रुकुम पश्चिममा कांग्रेस उम्मेदवार राजु केसी झन्डै पाँच हजार मतले पराजित भएका छन् । यहाँ विजेता नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा २१ हजार ६०९ मत ल्याएर विजयी हुँदा केसीको पक्षमा १६ हजार ६६१ मत आएको आयोगको तथ्यांकमा देखिन्छ ।

सुदूरपश्चिम प्रदेशको दार्चुलामा कांग्रेस धर्मानन्द जोशी एमालेका गणेशसिंह ठगुन्नासँग तीन हजार ६५ मतले पछि परे । ठगुन्ना १८ हजार ८९१ मत ल्याएर सांसद चुनिँदा जोशीले १५ हजार ८३६ मत पाएका छन् ।

बैतडीमा कांग्रेस उम्मेदवार चतुरबहादुर चन्द दुई हजार ९४० मतले हारेका छन् । रास्वपा हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी हुँदा उनले १८ हजार १९४ मत पाएका थिए ।

यस्तै बझाङमा कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ दुई हजार २३९ मतले पछि परे । एमालेका ऐनसिंह महर १८ हजार ५४३ मत ल्याएर निर्वाचित हुँदा रसाइलीको पक्षमा १६ हजार ३०४ मत आएको थियो ।

अछाम–२ एमालेका यज्ञबहादुर बोगटीले कांग्रेस उम्मेदवार पुष्पबहादुर शाहलाई मात्र ४७२ मतले पराजित गरेका छन् । यहाँ विजयी बोगटीले नौ हजार ५१८ र शाहले नौ हजार ४६ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कैलाली–१ मा कांग्रेस उम्मेदवार जनकराज चौधरी चार हजार ९५९ मतले हारेका छन् । यहाँ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी हुँदा चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् ।





Source link

Leave a Comment