आखिर मानव के चाहन्छ?

आखिर मानव के चाहन्छ?


कहिलेकाहीं मलाई आफ्नै जीवनका आरोह–अवरोहहरूले धेरै प्रश्न खडा गरेर व्यथित पारिदिन्छन्। जीवन, जगत्, मानवीय मन, भाव र व्यवहारलाई केलाउने जमर्को गर्छु अनि चिन्तनशील बन्न पुग्छु। म को हुँ? म के हुँ? म यहाँ किन छु? मेरो अस्तित्व के हो? जीवनको लक्ष्य र उद्देश्य के हो? जीवन र मृत्युको रहस्य के हो?

हातमा मृत्युको निमन्त्रणा कार्ड बोकेर म जन्मिएकी हुँ। जीवनको यो रंगमञ्चमा मलाई किन मृत्युदेखि भय उत्पन्न हुन्छ? किन म जीवित रहन चाहन्छु? कुन वस्तुको प्राप्तिका लागि मलाई अमर हुनुपरेको छ? मानव जीवनको परम लक्ष्य आखिर के हो? म कहाँबाट आएँ?

मरेपछि म कहाँ पुग्छु? जीवित हुनुको औचित्य के हो? श्वासको रहस्य के हो? निद्रा के हो? भोक के हो? शरीरको वृद्धि के हो? एउटा इच्छा पूरा भएपछि किन फेरि अर्को इच्छाको पछाडि मान्छे कुद्छन्? कुन कुरो प्राप्त भयो भने मान्छे सन्तुष्ट भएर भौंतारिँदैन होला? आखिर मान्छेले खोजेको वास्तविक पदार्थ के हो? यो अपूर्ण जगत्मा पूर्णता केमा छ? किन मानव अतृप्त, अशान्त र अधैर्य भएर भौंतारिएको छ कल्प कल्पदेखि? आखिर मानव के चाहन्छ?

बुझ्न खोज्छु विराट ज्ञानको अर्थ। पढ्न खोज्छु ज्ञानका पुस्तकहरू। गीतादेखि वेद, उपनिषद्को छेउ छेउ चहार्छु। म तुच्छ मनुवा असमर्थ छु अखिल ब्रह्माण्डको रहस्य बुझ्न। सीमित ज्ञानको धिपधिपे ज्योति बोकेर म खोज्न थाल्छु अनन्त ज्योतिपुञ्जको रहस्य। म प्रायः आफ्नै शरीर, आफ्नै जीवनलाई बुझ्ने कोसिस गर्छु।

मलाई लाग्छ, म मेरै जीवन त बुझ्न सक्दिनँ भने कसरी बुझ्न सक्छु विराट ब्रह्माण्डको रहस्य? आफ्नै शरीर विज्ञान त बुझ्न असमर्थ छु, कसरी बुझौं अज्ञेय ब्रह्म। कोसिस गर्छु, अतीतलाई वर्तमानमा ल्याएर जोड्न। हेर्न खोज्छु, अतीतमा छोडेका समयका धारहरू। केही मिल्दैन वर्तमानमा। मैले देखेको सत्य परिवर्तनशील छ।

म आफैंलाई प्रश्न गर्छु- तैंले सत्यलाई देखिस्? म अक्क न बक्क हुन्छु। भनिन्छ- सत्य दिक्कालसम्म सत्य नै हुन्छ। सत्य अपरिवर्तनीय हुन्छ। तटस्थ हुन्छ। म इन्द्रियभन्दा परको संसार बोध गर्न असमर्थ छु। मेरो चेतना सीमित छ। कसरी जानौं यो असीमित ज्ञानको सागरलाई? त्यो परम सत्यलाई? अचम्मित हुन्छु। हिजो जे सत्य थियो त्यो आज खोई? सत्य के हो? समय, भूगोल र स्वरूप सत्य भए त्यो किन परिवर्तनशील छ? हिजो सत्य होइन भने आज पनि पक्कै सत्य होइन। परिवर्तन भइरहने मेरो शरीर, सम्बन्ध पनि त सत्य होइन।

आखिर मान्छेको वास्तविक स्वरूप के हो? हिजो गर्भमा बन्धित थिएँ। बच्चा थिएँ, स्वतन्त्र भएँ। जवान छु, पुनः बन्धित छु। आखिर बन्धन के हो? मुक्त हुनु भनेको के हो? शरीर मुक्त भएर मान्छे मुक्त हुन्छ? वाद के हो? दर्शन के हो? वेद, उपनिषद् के हुन्? किन आवश्यक छ हामीलाई वेदान्त ज्ञान? कुन दर्शन ठिक, कुन बेठिक? कुन अपनाउने, कुन नअपनाउने? किन एउटै वाद स्थिर भएर बसिरहेन? किन यी भिन्न भिन्न वादको जन्म भयो?

यसै सन्दर्भमा प्राध्यापक कृष्ण गौतमको दार्शनिक उपन्यास ‘अद्वैत’पढ्ने सुअवसर प्राप्त भयो। अगम्य दर्शनलाई आख्यानका माध्यमबाट निकै सरल किसिमले बुझाउने कोसिस गरिएको छ यहाँ। अर्थपूर्ण नामधारी पात्रहरूमार्फत् तार्किक वादविवादको मञ्च निर्माण गरिएको छ। दर्शनजस्तो क्लिष्ट विषयलाई निकै सरल तरिकाले उदाहरणसहित व्याख्या गरिएको छ।

दर्शन पढ्न मान्छेलाई बोझ लाग्छ। अर्थपूर्ण मानव जीवनका लागि सञ्जीवनी स्तुुत्य दर्शनलाई गौतमले गुलियो क्याप्सुल बनाएर यहाँ राखिदिएका छन्। दर्शन, वेदान्त, ब्रह्म, ज्ञान, विज्ञान, धर्मको विशद विमर्श छ। ज्ञान मीमांसा, ब्रह्माण्ड मीमांसा, तत्व मीमांसा र मूल्य मीमांसालाई संवादमार्फत् कति मज्जाले स्पष्ट पारिएको छ। सबै वाद, धर्म र दर्शनको सबल, दुर्बल पाटाहरू पात्रहरूको विचार र धारणाका माध्यमबाट वादविवाद शैलीमा प्रस्ट पारिएको छ। सबै दर्शनको तर्क सुन्दा मलाई त यस्तो लाग्यो।

आखिर हरेक सिद्धान्त, दर्शन र वादहरूको गन्तव्य एउटै हो, मार्ग मात्र भिन्न भिन्न हो। जसरी दही, घिउ, पनिर, खुवा, बर्फी, पेडा जे जे भने पनि आखिर मूल त दुध नै हो। भाषाको विकास हुनुभन्दा अगाडि जुन सत्य विद्यमान थियो त्यही नै परम सत्य हो जस्तो लाग्यो। भाषाको उद्भवपछि नै यी वाद जन्मिएका हुन्। भाषा, वाद, दर्शन, वेदभन्दा अगाडि जे थियो, त्यही सत्य हो। भाषाको मात्र भेद हो। त्यो परम ज्ञान अद्वैत छ।

कृष्ण गौतम अद्वैतको व्याख्या यसरी गर्छन्, ‘अद्वैत एउटै नियममा विश्वस्त छ, जसद्वारा जगत् गतिमान हुन्छ। अद्वैत द्रव्य र शक्तिको म्याटर र इनर्जीको एकात्मक सङ्घन हो। अद्वैत मूल हो, जसबाट द्वैत र बहुलहरू निस्कन्छन्। अद्वैत मूलको पनि मूल हो, जसको कुनै मूल छैन।’ (पृष्ठ ६०)

पुस्तक पढ्दै जाँदा पाठकलाई यस्तो लाग्छ– यो त सामान्य जीवन दर्शन हो। गौतमले जटिल ज्ञानलाई दैनिक जीवनमा घट्ने घटनाहरू जोडेर नजिकै ल्याएर छर्लंग पारिदिएका छन्। पाठकलाई यस्तो लाग्छ– अहो ! यो त अद्वैतवाद पो रहेछ। अहो ! यो त द्वैतवाद पो रहेछ। यो त बहुलवाद पो रहेछ। पुस्तक पढ्दा यस्तो अनुभूत भयो– हामीले दैनिक जीवनमा गर्दै आएका कतिपय कर्महरू त कुनै न कुनै वाद, सिद्धान्त, धर्म र दर्शनसँग जोडिएर नै पो आएका हुँदा रहेछन्।

कृष्ण गौतम हरेक दर्शनलाई हाम्रै व्यवहारमा आउने घटनाहरूसँग जोड्दै स्पष्ट पार्छन्। अबोध शिष्यलाई सजिलै ज्ञान सागरमा डुबाइदिन्छन्। स्रष्टा गौतम अद्वैतलाई अझ यसरी बुझाउँछन्, ‘यो घटना सानैदेखि मेरो मनमा खाँदिएर रहेको छ। माग्ने, गरिब, असहायहरू देख्दा रित्तो भए पनि मेरो हात खल्तीतिर जान्छ। तिनीहरूका निम्ति आफूले केही गर्न नसक्ने देखेर कहिले त नैराश्यको कुनामा गुम्सँदै म आफूलाई सराप्ने गर्छु।’

प्राध्यापक गौतमको शिक्षण शिल्प बडो प्रभावकारी लाग्यो। मैले त दर्शनलाई यति सरल किसिमले बुझ्न सक्छु जस्तो लागेकै थिएन। जति जति गौतमलाई पढ्दै गएँ, म त विस्मित हुँदै गएँ। प्रकृति पूजाको रहस्य उद्घाटित हुँदै गयो।

अद्वैत नै मूल हो भनेर दंग परेकी थिएँ। सुरथ पात्रमार्फत् पुनः मेरो मन बिथोलियो। गौतम फेरि द्वैतवादको वकालत यसरी गर्छन्, ‘सबलाई मनले एकतामा राख्छ भनूँ भने मेरो मन कहिल्यै स्थिर भएर रहेन। जो आफैं अस्थिर छ, त्यसले अरू अंगलाई स्थिरतामा राख्न सक्ला?

मनले स्थिरतामा राख्छ भन्ने मान्यतामा भने हामी विश्वास गर्छौं। मन अस्थिर, चञ्चल र छालजस्तो भएकाले यसमा एकता पाइँदैन। बगिरहेको नदीको पानी उस्तै त देखिन्छ तर आउने र जाने पानीमा एकता छैन। यसकारण, म आफैं बहुल छु भने मेरो बृहत् रूप सृष्टि हो, जो बहुल नहुने करै भएन। (पृष्ठ ७२ )

ब्रह्मको पूर्णव्याख्या सायद असम्भव नै छ। आखिर यो अखिल ब्रह्माण्डलाई कसैले पनि पूर्णरूपमा हेर्न र बुझ्न सकेका छैनन्। सबै आआफ्ना ठाउँबाट ठिक छन्। मनको भावना नै शक्तिशाली रहेछ। भाव नै ठुलो रहेछ। भावले नै पत्थरमा पनि संवेदना सम्प्रेषित गर्न सक्दो रहेछ भन्ने बोध भयो। जीवनको आधारभूत आवश्यकता सबैको एउटै छ। कोरनाकालमा त थाहै भयो मानवको तुजुक। त्यो बेला जात, धर्म, वाद, भूगोल, दर्शन सबै फेल खाए। आखिर जीवन रहे सबै कुरा रहेछ।

अद्वैतको प्रस्तुति पृथक् छ। विषय रोचक छ। भाषा मिठो छ। सरल, सरस र साधारण ढंगबाट जटिल ज्ञानलाई बुझाउन खोजिएको छ। यो प्राध्यापक गौतमको पेसागत विशेषता नै होला। कोही पनि एउटा वादमा बाँधिएर बसिरहन नसक्दो रहेछ।

अबोध्य ज्ञानलाई आखिर हामीले आफ्नै शरीरमा धारण गरेर हिँडेका रहेछौं। हामी अद्वैतवादी हौं भनेर आफूलाई भने पनि हामी द्वैतवादी भइरहेका हुने रहेछौं। बहुलवाद मान्दिनँ भन्दा पनि मान्नुपर्ने अवस्था आउने रहेछ। यस्तै दर्शनले भरिएको ‘अद्वैत’ उपन्यास मात्र नभएर एउटा विशाल ग्रन्थ बनेको रहेछ।

प्रकाशित: १९ जेष्ठ २०८१ ११:१० शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School