आइटी क्षेत्रमा आकर्षक तलबसहित रोजगारीको अवसर रहेको भनी प्रलोभन देखाएर पछिल्लो समय सयौं नेपाली युवायुवतीलाई साइबर स्क्यामिङमा लगाउने गरिएको छ ।
गाउँका सोझा, इमानदार युवायुवतीलाई विदेशमा राम्रो तलब र सेवासुविधासहित आइटीमा रोजगारीको अवसर दिलाइदिने भन्दै एजेन्ट तथा दलालहरूले लाओस, म्यानमार, कम्बोडियाजस्ता विभिन्न देशमा पुर्याई साइबर स्क्यामिङमा लगाउने गरेका घटना बढ्दै गएका छन् ।
त्यहाँ पुर्याइएका नेपालीलाई आइटी कम्पनीमा काम नलगाई जबर्जस्ती साइबर स्क्यामिङजस्तो गैरकानुनी गतिविधिमा संलग्न गराउने गरिएको पाइएको हो । पीडितहरूलाई एआई प्रविधि तथा विभिन्न माध्यमको प्रयोग गरेर अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता विकसित मुलुकका नागरिकलाई लक्षित गरी अनलाइन म्यासेजमार्फत पैसा असुल्ने काममा लगाउने गरिएको छ ।
काठमाडौं उपत्यकाकै रामलाल सिलवाल (नाम परिवर्तन) लाई ८० हजारदेखि एक लाख रुपैयाँसम्म मासिक तलब पाइने प्रलोभन देखाएर म्यानमार पुर्याई अनलाइन ठगीमा लगाइएको थियो । गत वर्ष मंसिर पहिलो सातातिर वैदेशिक रोजगारीको खोजीमा रहेका रामलालले काठमाडौंस्थित एक खाजा घरमा राजनारायण महतोलाई भेटेका थिए ।
पछि उनको चिनजान राजनारायणका छोरा रञ्जितकुमार महतोसँग पनि भयो । काठमाडौं उपत्यकाकै रामलाल सिलवाल (नाम परिवर्तन) लाई ले आफू म्यानमारको ‘फ्युजन एन्ड रुद्र’ नामक चिनियाँ कम्पनीमा कार्यरत रहेको र उच्च आम्दानी भइरहेको भन्दै रामलाललाई पनि अनलाइन सेल्सको आकर्षक प्रस्ताव राखेका थिए ।
प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लागतमा सबै प्रक्रिया मिलाइदिने आश्वासन एजेन्ट रञ्जितकुमारले रामलाललाई दिए ।
एजेन्ट रञ्जितकुमारको विश्वासमा परेका रामलालले ऋण खोजेर दुई लाख ५० हजार रुपैयाँ नगद बुझाए । एजेन्टले रामलाललाई म्यानमार जाने सबै कागजात एयरपोर्टमै दिने भने । त्यसपछि उनलाई भारतको नयाँ दिल्ली हुँदै म्यानमार पुर्याइयो । टन्न पैसा कमाउने भन्दै गएका रामलालले म्यानमार पुगेपछि मात्र कामको वास्तविकता थाहा पाए ।
उनलाई अमेरिकी नागरिकलाई बिट क्वाइनमा लगानी गराउन फसाउने अनलाइन स्क्याम गर्न बाध्य पारियो । उनले कहिले पनि नसोचेको काम त्यहाँ भयो । आफूले लाखौंलाख पैसा हालेर यस्तो झुटो काम नगर्ने भन्दै उनी पन्छिए । तर सुख खोज्न गएका उनको दुःखको दिन यहीँबाट सुरु हुन्छ ।
उक्त काम गर्न अस्वीकार गरेपछि रामलालमाथि कुटपिट हुन थाल्यो । त्यति मात्रै होइन, उनले करेन्टको झट्का पनि सहनुपर्यो । काम नगरेको भन्दै उनलाई भोकभोकै राखियो । अन्ततः उनी उनी काम गर्न बाध्य भए । १४–१५ घण्टा जबर्जस्ती काममा खटिनुपर्दा उनी शारीरिक तथा मानसिक यातनामा पनि परे । उनलाई तलब पनि दिइएन । घर फर्किन खोज्दा उनीसँग उल्टै सात हजार डलर मागियो ।
आफ्नो वैदेशिक यात्रा नरकजस्तो हुँदै गएपछि नेपाल फर्कन पटक–पटक गुहार गर्दा पनि रञ्जितकुमार महतो र नेपालमा रहेका राजनारायण महतोले बेवास्ता गरेको उनी बताउँछन् । तर उनको दिन सधैं बन्द कोठामा मात्रै बितेन । सौभाग्यवश त्यो कोठामा उज्यालो किरण बनेर म्यानमारका सेनाहरू पुगे । उनीहरूले पीडितहरूको उद्धार गरे । रामलाल पनि उद्धारमा परे ।
उनले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बताएअनुसार म्यानमारका सेनाले कम्पनीमा छापा मार्दा त्यहाँ रहेका सयौं पीडितले मुक्तिको सास फेर्न पाएका थिए ।
‘हामीलाई धेरै शोषण थियो,’ पीडित रामलालले भने, ‘एकाएक त्यहाँको सेना आएपछि बल्ल बाँच्न सकिन्छ कि भन्ने आँट आएको थियो । त्यहाँ नेपाली मात्र नभएर अन्य देशका नागरिक पनि धेरै थिए । म्यानमार सेनाले छापा मारेपछि हाम्रो कम्पनीको सञ्चालक फरार भएको हो ।’
त्यसअघि कम्पनीमा काम गर्ने सबै कामदार पीडित नै भएर काम गर्ने गरेको उनले बताए । म्यानमार सेनाले जबर्जस्ती काममा लगाइएका सबै कामदारलाई उद्धार गरेपछि उनी पनि यही मंसिर २४ गते नेपाल फर्कन सफल भएका हुन् ।
यो घटना केवल वैदेशिक रोजगार ठगी होइन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार गम्भीर अपराध पनि हो । पीडित रामलाल नेपाल आउनेबित्तिकै ब्युरोमा आफूबाट असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कानुनी कारबाहीको मागसँगै उजुरी दिएका थिए ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसएसपी कृष्ण पंगेनीका अनुसार आइटी सेक्टर र होटेल क्षेत्रमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई नेपाल, भारत र थाइल्यान्ड हुँदै म्यानमार पुर्याई नेपाली युवालाई साइबर स्क्यामिङमा संलग्न गराउने घटना बढ्दो छ ।
आइटी सेक्टरमा रोजगारी दिने भन्दै साइबर तथा अनलाइन स्क्यामिङमा फसाइएका नेपालीको संख्या झन्डै दुई सयदेखि तीन सयको हाराहारीमा पुगेको उनको अनुमान छ । ‘यस किसिमका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन्, घट्ने कुनै संकेत देखिएको छैन,’ उनले भने, ‘पीडितहरू आउनेको संख्या कम छैन । त्यसअनुसार हामीले पीडकलाई पनि छाडेका छैनौं ।’
साइबर स्क्यामिङबारे पंगेनीका अनुसार पीडितहरूलाई दलाल तथा एजेन्टले थाइल्यान्डबाट करिब ३६ घण्टाको यात्रा गराई म्यानमारको ‘के के वान पार्क’ पुर्याउने गरेका छन् । त्यहाँ पुगेपछि उनीहरूलाई बिट क्वाइनमार्फत विभिन्न देशका मानिसहरूसँग कुराकानी गरी प्रेम सम्बन्धमा पारेर लगानीका लागि प्रेरित गर्ने काममा लगाइन्छ । कम्पनीभित्र कस्टोमर खोज्ने, च्याट कसरी रिप्लाई गर्ने, कसरी ग्राहकलाई ट्र्यापमा पार्ने भन्ने विषयमा तालिम दिइने गरेको ब्युरोका एसएसपी पंगेनीले नागरिकलाई बताए ।
‘त्यहाँ कामका क्रममा दैनिक टार्गेट तोकिने र टार्गेट पूरा गर्न नसके कडा शारीरिक सजाय दिइने रहेछ,’ उनले नागरिकसँग भने, ‘सजायस्वरूप पानीको जार बोकेर भर्याङ उक्लन–ओर्लन लगाउने, कुटपिट गर्ने, करेन्ट लगाउने, अँध्यारो कोठामा थुन्ने तथा फ्रग जम्प गर्न लगाउनेजस्ता अमानवीय व्यवहार गरिएको पाइएको छ ।’
काम छाड्न वा त्यहाँबाट निस्कन खोजे उल्टै आठ लाख रुपैयाँ तिर्नुपर्ने र नतिरेसम्म जान नदिने भन्दै बन्धक बनाउने र बाध्यकारी रूपमा काममा लगाउने गरिएको छ । साथै पीडितहरूलाई दिनको १८ घण्टासम्म काम गर्न बाध्य पारिएको अनुसन्धानबाट खुलेको ब्युरोले जानकारी दिएको छ । पीडितको जाहेरी दरखास्तका आधारमा सर्लाहीका पीडक रञ्जितकुमार महतोलाई मंसिर २४ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएको प्रहरी एसएसपी पंगेनीले बताए ।
त्यस्तै खोटाङका मणिराज राईलाई पनि सोही मितिमा पक्राउ गरी अनुसन्धानका क्रममा थुनामा राखिएको छ । दुवै प्रतिवादीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । ब्युरोको तथ्यांकअनुसार विगतका आर्थिक वर्षहरूमा साइबर स्क्यामिङसँग सम्बन्धित १६ वटा मुद्दा दर्ता भएका छन् ।
तीमध्ये म्यानमारसँग सम्बन्धित नौ, कम्बोडिया चार र लाओस तीन वटा मुद्दा छन् । अनुसन्धानपछि हाल म्यानमारबाट डिपोर्ट भई आएका ४७ जनामध्ये दुई जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ भने बाँकी व्यक्तिका हकमा थप अनुसन्धान भइरहेको ब्युरोको जानकारी छ ।
प्रकाशित: २८ मंसिर २०८२ २०:४२ आइतबार
