आंशिक शटडाउनका बीच तलब बिना काम गर्न बाध्य टीएसए कर्मचारीहरूलाई ट्रम्पले दिए धन्यवाद



प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार

आंशिक शटडाउनका बीच तलब बिना काम गर्न बाध्य टीएसए कर्मचारीहरूलाई ट्रम्पले दिए धन्यवाद

अमेरिकामा जारी आंशिक सरकारी शटडाउनका बीच राष्ट्रपति डोनाल्ड ट्रम्पले तलब बिना काम गर्न बाध्य यातायात सुरक्षा प्रशासन (टीएसए)का कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कर्मचारीहरूलाई ‘अमेरिकाका लागि लडिरहन’ र ‘काममा जाँदै रहन’ आग्रह गरेका हुन् ।

ट्रम्पले शनिबार पोस्ट गर्दै शटडाउनका लागि ‘कट्टर वामपन्थीहरू’ जिम्मेवार रहेको आरोप लगाए। उनका अनुसार कङ्ग्रेसबाट पारित भएको सम्झौतालाई विपक्षीहरूले स्वीकार नगरेकाले बजेट विवाद लम्बिएको हो।

फेब्रुअरी १४ देखि सुरु भएको अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)को बजेट अभावका कारण करिब ५० हजार टीएसए सुरक्षा अधिकृतहरू अहिले पनि तलब नपाई काम गर्न बाध्य भएका छन्। यसैबीच, अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार विमानस्थल सुरक्षा कर्मचारीहरूको अनियोजित अनुपस्थिति दोब्बरभन्दा बढी बढेको छ भने ३०० भन्दा बढी कर्मचारीहरूले जागिर छोडिसकेका छन्।

डिएचएस अधिकारीहरूले शटडाउन लम्बिँदै जाँदा थप कर्मचारीहरूले काम छोड्ने सम्भावना बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। एक सुरक्षा अधिकृतले भने, “हाम्रा बालबालिका, परिवार र घर—सबै कुरा अहिले जोखिममा छन्। हामी मौन रूपमा संकट झेलिरहेका छौँ।”

यस अवस्थाका कारण देशभरका विमानस्थलहरूमा सुरक्षा जाँचका क्रममा लामो लाइन देखिन थालेको छ। फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा टीएसएले एक सुरक्षा चेकपोइन्ट अस्थायी रूपमा बन्द गर्नुपरेको थियो भने ह्युस्टन होबी र न्यू अर्लिन्स विमानस्थलमा पनि लामो लाइन देखिएको रिपोर्ट गरिएको छ।

उता, तनावपूर्ण अवस्थाका बीच डलास लभ फिल्ड विमानस्थलमा एक व्यक्तिले टीएसए अधिकारीमाथि आक्रमण गरेको आरोप पनि लागेको छ। ओकल्यान्डका ३३ वर्षीय इड्रेस विनाय सोलोमनले पहिचान जाँचमा असफल भएपछि टीएसए र प्रहरी अधिकारीमाथि मुक्का प्रहार गरेको आरोप लगाइएको छ।

अमेरिकी अटर्नी रायन रेबोल्डले भने, “सार्वजनिक सुरक्षाको जिम्मेवारी निभाइरहेका अधिकारीमाथि हुने हिंसात्मक व्यवहार कदापि सह्य हुने छैन। यस्ता घटनामा कानुनको पूर्ण दायराभित्र कारबाही गरिनेछ।”





Source link

Leave a Comment