यो वर्ष पारिवारिक भेटको सिलसिलामा दुईपटक गरी दुई महिना अष्ट्रेलिया बस्ने मौका मिल्यो । विगतमा आफ्नो पेशागत कामको क्रममा तालीम, सेमिनारको लागि संसारका विभिन्न मुलुकको पटक–पटक छोटो भ्रमण गरेको भए पनि पारिवारिक भेटघाटको लागि र लामो समय अस्ट्रेलिया बस्ने मौका भने पहिलो पटक मिलेको थियो ।
अस्ट्रेलिया र अझ त्यसमा पनि सिड्नी शहर वरिपरिको घुमाइ, केही किनमेल र रमाइला भेटघाटका कारण दुई महिनाको समय बितेको पत्तै भएन । त्यो अवधिमा अस्ट्रेलियाको विकास, सरकारले आफ्ना नागरिकलाई हेर्ने दृष्टिकोण र नेपालीहरूको अस्ट्रेलिया बसाइ आदि बारे थोरै भए पनि जान्ने–बुझ्ने मौका मिल्यो ।
मैले यो बसाइका क्रममा भेटेका नेपालीहरू आठ–दश वर्ष अगाडि विद्यार्थीको रूपमा अस्ट्रेलिया गई आफ्नो मिहिनेतले उच्च शिक्षा पछि त्यहाँ राम्रो काम गर्दै गरेका र धेरैजसो त्यतैका नागरिकता लिइसकेकाहरू थिए । ती युवाहरू त्यतै बिहेवारी गरी बालबच्चा समेत हुर्काउँदै गरेका छन् । तसर्थ विद्यार्थीको रूपमा अझै संघर्ष गर्दै गरेकाहरूका कथा यो लेखले समेट्दैन ।
भ्रमणका क्रममा त्यहाँका फराकिला सडकहरू, सफा वातावरण, हाइटेक र दिनभरि घुमेर पनि नसकिने सपिङ मलहरू, क्यासलेस कारोबार, नियम पूर्ण रूपमा पालन गर्नुपर्ने प्रतिबद्धता आदिले प्रभाव पार्ने नै भयो । नगरपालिका जसलाई यहाँ काउन्सिल भनिंदो रहेछ, उसको कामको त जति प्रशंसा गरे पनि पुग्दैन ।
घर, सरसफाइ आदि नगरपालिकाले हेर्ने तथा विद्यालय शिक्षा र स्वास्थ्य सेवा प्रदेशले हेर्ने रहेछ । कक्षा १२ सम्मको शिक्षा पूरै निःशुल्क छ तर आफ्नो घर भएको वा आफू बसेको ठाउँको विद्यालयमा मात्रै आफ्नो बच्चा पढाउन पाइन्छ । अझ बच्चाको भर्ना स्कुल आफैंले गरेर घरमा चिठी पठाउँछ ।
बच्चा विद्यालय नपठाउने अभिभावक कानूनतः दण्डित हुन्छन् । स्वास्थ्य सेवा निःशुल्क छ । नगरपालिकाको मापदण्ड अनुरूप बनेको घरमा कुनै कारणले क्षति भयो भने त्यसको जिम्मेवारी विशेष समयमा नगरपालिकाले लिने गज्जबको अभ्यास रहेछ । एम्बुलेन्स, दमकल, हुलाक आदि सेवाको गुणस्तरको त अझ कुरै गर्नुपरेन ।
हरेकको घरमा अझ भनौं, व्यक्तिपिच्छे गाडी भए पनि बस, रेलले यहाँको अधिकांश भाग जोडेको छ ।
सरकार बन्ने र ढल्ने खेल त सामान्य नै भयो । त्यो देश पनि त्यो रोगबाट अपवादमा छैन । तर त्यो क्रमले सर्वसाधारणको जीवनमा केही फरक पर्दैन । आफ्नो नगरप्रमुख को छ र सांसद को छ भन्नेसम्म पनि धेरैलाई थाहा हुन्न र थाहा पाउनु जरूरी पनि छैन ।
प्रधानमन्त्री र मन्त्रीहरू विशेष समारोहमा बाहेक आफैं गाडी चलाएर कार्यालय जान्छन् । कहिलेकाहीं त साइकलमै पनि । सडकमा कतै प्रहरी देखिन्नन् । संसद् भवनको भित्र मात्रै हैन, छानासम्म पनि सर्वसाधारण र अझ पर्यटकले पनि जान पाउँछन् ।
सांसद जनताले चुनेर पठाएका प्रतिनिधि हुन्, उनीहरू भन्दा जनता माथि हुन् भनेर त्यसो गरिएको रे ! तर कोही जनता सांसद भेट्न, आफ्नो ठाउँमा बजेट पार्न, जागिर वा सरुवाको लागि सांसद भेट्न जानु भने पर्दैन र जाँदैनन् ।
अब प्रवेश गरौं त्यहाँका नेपालीहरूका बारेमा । अहिले संसारमा सबैभन्दा धेरै नेपाली भएको शहर अस्ट्रेलियाको सिड्नी हो । त्यहाँ मलमा, पार्कमा, हरेक जसो कार्यालयमा, रेलमा, बसमा जताततै नेपाली भेटिन्छन् । बिदाका दिनमा त अधिकांश पार्कहरूमा नेपालीका तीन पुस्ता एकैसाथ देख्न भेट्न पाइन्छ ।
यहाँ आएर बसेको पुस्ता, उसका साना बच्चाको पुस्ता र आफ्ना सन्तान र उनीहरूका सन्तान (नाति-नातिना) भेट्न आएका मेरा पुस्ता ।
मैले यो अवधिमा करिब ३० जोडी, उनीहरूका बच्चाहरू र कतिपयका म जस्तै अभिभावक भेटें । सबैसँग कुरा गरें, जान्ने प्रयास गरें, किन पढाइ सकेर नेपाल नफर्केको ? किन यताको नागरिकता लिएको ? अब फर्कने कि नफर्कने ? नेपालको बारेमा के धारणा छ ?
अष्ट्रेलिया जन्मेका नेपाली बच्चाहरूलाई नेपाल थाहा छ, केही शब्द नेपाली बोल्न आउँछ, वाक्य बनाउन आउँदैन, सरल नेपाली बुझ्छन्, फर्काउन सक्दैनन् । नेपाल र नेपालमा भएका घटना थाहा पनि छैन र बुझ्ने रहर पनि छैन । नेपालभन्दा बाली वा न्युजिल्याण्ड उनीहरूको अर्को वर्षको घुम्ने लिस्टमा हुन्छ ।
मेरो जिज्ञासामा सबैजसोको धारणा समान पाएँ । उनीहरूले यहाँको सुख–सयल र उच्चस्तरीय जीवनशैली भन्दा हामी नेपाली, मेरो र मभन्दा एकपुस्ता माथिले देश र जनतामाथि गरेको आर्थिक, सामाजिक अत्याचारबाट आफूलाई अलग गरेको पाएँ । उनीहरूको विचारमा के के रहेछन् त कारणहरू ?
अवसरको अभाव
नेपालमा आफ्नो उच्चशिक्षाको अध्ययन सकेपछि पढाइ अनुसार गर्ने काम छैन किनकि देशले विगत ३० वर्षमा पर्याप्त अवसर सिर्जना गरेन । पढाइ पछि काम खोज्नु सबैको अधिकार हो तसर्थ जहाँ काम छ त्यहाँ बस्नु अन्यथा भएन । पढाइ सकेर विदेशमै काम खोज्नुछ भने विदेशमै पढेर विदेशमै काम खोज्नु सजिलो हुने नै भयो ।
समृद्ध जीवन
अस्ट्रेलियामा चार वर्ष उच्चशिक्षा अध्ययन गरेर त्यतै काम गर्न थालेको मानिसको जीवन समृद्ध छ । जुन जीवनशैलीलाई नेपालमा उच्च मानिन्छ, त्यो अस्ट्रेलियामा सामान्य छ ।
घर, गाडी, बच्चाको उच्च गुणस्तरको शिक्षा, अत्याधुनिक स्वास्थ्य सेवा, वर्षको दुई वटा विश्वका जुनसुकै देशको भ्रमण, देश भित्र प्रशस्त मनोरञ्जन । त्यसमाथि केही बचत । के चाहियो अरू ? उनीहरू खुशी र सुखी दुवै छन् ।
सुरक्षा
जीवन, सम्पत्ति र बुढेसकाल । यी तीन वटैको सुरक्षा सरकारले गरेको छ । चोरी, गुण्डागर्दी छैन । रातिको त कुरै छाडौं घरबाट बाहिर निस्कँदा समेत घरमा ताल्चा मार्दै नमारे हुन्छ । कोही धेरै धनी छैनन्, कोही गरीब छैनन् अब के को डर ? सबैसँग बराबरी जस्तै सम्पत्ति छ र पुग्दो छ ।
जोसँग छैन, सरकारले हेर्छ, अनि किन चोर्नु ? सरकारले बुढेसकाल सुरक्षित गरेको छ, निश्चित वर्षपछि पेन्सन दिन्छ, छैन भने बस्न घर दिन्छ, खान दिन्छ र बिरामी पर्दा उपचार गर्छ ।
सन्तानको सुरक्षित भविष्य
विश्व राजनीतिक झगडाबाट टाढै रहेको त्यो देशका नागरिकको भविष्य सुरक्षित छ । आफ्ना नागरिक जन्मेको दिनदेखि सरकारले हेर्छ । शिक्षा, स्वास्थ्य, काम, वास सबै ।
अझ त्यहाँको उच्च गुणस्तरीय शिक्षाका कारण आफ्ना सन्तान विश्वमा जहाँ पनि बिक्छन् । यस्तोमा आफू पनि सम्पन्न र सन्तानको भविष्य पनि सुरक्षित, अनि किन नबस्ने त्यहाँ ?
नागरिकता
त्यताको नागरिकताले आफ्नो देशमा र विदेशमा पनि काम खोज्न सजिलो हुन्छ । राज्यका सबै अधिकार प्रयोग गर्न पाइन्छ र भविष्य सुरक्षित हुने उनीहरूको तर्क छ ।
अझ रमाइलो त के भने, उताको नागरिकता लिएपछि संसारका एकसय भन्दा बढी देशमा भिसा नलिई यात्रा गर्न सकिन्छ तर आफ्नै आमा–बा भेट्न नेपाल आउनुपर्यो भने भिसा लगाउनुपर्छ । यस्तो छ उनीहरूको विडम्बना ।
नेता र दलसँग बढी गुनासो
त्यहाँ बसेका नेपालीको नेपालसँगको गुनासो नेता र राजनीतिक दलसँग छ । गुनासो मात्र हैन अझ भनौं आक्रोश छ ।
एक जना भन्दै हुनुहुन्थ्यो, ‘अंकल मेरो दाइ विदेशमा हुनुुन्थ्यो, बा आमासँग म नेपाल बस्ने सोचाइमा थिएँ, तर १४ घण्टाको लोडसेडिङले मेरो जीवन पनि त्यस्तै अन्धकार हुन्छ भन्ने बुझेर म यहाँ आएको हुँ ।’
उनको विचारमा जे–जति घटना नेपालमा भइरहेका छन्, नेपालमा अझै अर्को एकसय वर्ष केही हुनेवाला छैन । उनी अहिले त्यहाँ सम्पन्न छन् ।
अर्को एकजना भन्दै हुनुहुन्थ्यो, ‘अंकल आजभन्दा २५ वर्ष अघि म केटाकेटी हुँदा काठमाडौं चितवन बसको यात्रा चार घण्टामा हुन्थ्यो, अचेल सात घण्टा भन्दा कममा हुँदैन । हामी अगाडि बढ्दैछौं कि पछाडि ?’
उनीहरूको विचारमा नेपालका अहिलेका राजनीतिक मूलधारका पार्टीका अहिलेको पुस्ता मात्रै नभई अब आउने दुई पुस्ता त नालायक नै छ । उनीहरूले नै देश चलाउने हो भने नेपालका गाउँ मात्रै हैन शहर पनि रित्तिन्छन् ।
न विकास प्रतिको दृष्टिकोण, न सोच, न अध्ययन न सिक्न खोज्ने चाहना । उनीहरूले कुर्सी, कार्यकर्ता र क्यास यी तीन ‘क’ बाहेक अरू केही चिन्दैनन् । अनि कसरी देश बस्न लायक हुन्छ ?
तर पनि यो पुस्ता अझै नेपालमा भएका घटनामा चासो राख्छ र आफ्ना मत अभिमत व्यक्त गर्दछ । त्यो पुस्ताले देउवा, ओली र प्रचण्ड मात्रै हैन, बालेन, रवि र हर्क पनि चिन्छ । टिकटक हेर्छन्, पार्कमा ‘पल्लारे साइँलाले …’ गीतमा नाच्छन् ।
त्यहाँ जन्मेका नेपाली बच्चाहरूलाई नेपाल थाहा छ, केही शब्द नेपाली बोल्न आउँछ, वाक्य बनाउन आउँदैन, सरल नेपाली बुझ्छन्, फर्काउन सक्दैनन् । नेपाल र नेपालमा भएका घटना थाहा पनि छैन र बुझ्ने रहर पनि छैन । नातामा आफ्नो घरबाहेक अरू थाहा छैन र हुने पनि छैन । नेपाल भन्दा बाली वा न्युजिल्याण्ड उनीहरूको अर्को वर्षको घुम्ने लिस्टमा हुन्छ ।
आफ्ना सन्तानका कारण वर्षेनि हजारौंका संख्यामा म जस्तै नेपाली अभिभावकहरू त्यहाँ जान्छन् । उनीहरू जताततै नातिनातिनालाई प्राममा वा हात समातेर डोर्याउँदै गरेका भेटिन्छन् । बाआमाहरू आफ्नो सन्तानले विदेशमा गरेको प्रगति देखेर र आफू विदेश घुम्न पाएकोमा मख्ख छन् ।
एक जना नेपाली अभिभावक पार्कमा भेट्दा मलाई भन्दै हुनुहुन्थ्यो, ‘यहाँ एक वर्ष बसेपछि ६ महिना नेपाल बस्नुपर्छ अनि फेरि आउने हो । आफ्ना सन्तान जहाँ, आफ्नो लागि घर त्यहाँ, हैन त ?’ मैले सहमतिमा टाउको हल्लाएँ ।
अस्ट्रेलियाले आफ्ना नागरिकका विदेशी आमा-बुवाको लागि पनि स्थायी बसोबास अनुमति पत्र लिन सक्ने व्यवस्था गरेको रहेछ । त्यसको लागि करीब ५० हजार अस्ट्रेलियन डलरको शुल्क रहेछ ।
त्यो भएपछि त्यहाँका नागरिक सरह सामाजिक सुरक्षा पाइने व्यवस्था रहेछ । मैले भेटेको एक युवा मलाई भन्दै थिए, ‘अंकल एप्लाई गर्ने हैन त ?’ मैले केही बोलिनँ तर दिमागमा एकैपटक धेरै कुराहरू आए ।
(नेपाल पूर्व बैंकर हुन् ।)