प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार

ट्रम्प प्रशासन आइसकेपछिको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको पहिलो भिसा बुलेटिनले रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्ड र तेश्रो श्रेणीको अनस्कील्ड कामदारहरुका लागि ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति थोरै अगाडि बढाएको छ । यद्यपी युएससीआईएसले मार्चमा पनि रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगर्ने भएकाले अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा रोजगारमा आधारित तेश्रो स्कील्ड र चौथो श्रेणीको ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा बृद्धि भएको छ ।
युएसससीआईएसले मार्चमा पनि अमेरिकाभित्र हुनेहरुले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन फाइन गर्नका लागि भिसा बुलेटिनको फाइनल एक्सन मितिलाई प्रयोग गर्ने भएको हो । जनवरीमा भिसा बुलेटिनको फाइलिङ मितिलाई नै युएससीआईएसले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्ने मितिका रुपमा स्वीकार गरेको थियो । तर फेब्रुअरीदेखि भने फाइनल एक्सन मितिलाई प्रयोग गरिरहेको छ ।
मार्चमा पहिलो श्रेणीका सन्दर्भमा भने पहिले जस्तै ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ । मार्च महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।
रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि मार्चमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति १५ मे २०२३ रहेको छ , तर यो फेब्रुअरीमा १ अप्रिल २०२३ रहेको थियो । अमेरिकाबाहिर हुनेले पनि १५ मे २०२३ अगाडि प्राथमिकता मिति भएमा मार्चमा भिसा अन्तरवार्ता र आप्रवासी भिसा पाउनसक्नेछन् ।
तेश्रो श्रेणीको स्कील्ड ग्रिनकार्ड आवेदकका लागि १ डिसेम्बर २०२२ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा
मार्चमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । यो मिति फेब्रुअरीमा पनि १ डिसेम्बर २०२२ मा नै रहेको थियो । अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा १ डिसेम्बर २०२२ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले मार्चमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् । यो मिति मार्चको भिसा बुलेटिनमा टसमस नभएकाले प्रतिक्षा अवधि बढेको छ ।
रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा मिति १ फेब्रुअरी २०२१ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरुले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा मार्चमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । फेब्रुअरीमा यो मिति ८ डिसेम्बर २०२० रहेकोमा मार्चका लागि झण्डै २ महिना सरेको छ । जुन रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका लागि खुशीको कुरा हो ।
तर चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारका लागि भने फाइनल एक्सन मिति झण्डै डेढबर्ष पछाडि सर्दा प्रतिक्षा अवधि पनि झण्डै डेढबर्ष बढेको छ । फेब्रुअरीमा उनीहरुका लागि फाइनल एक्सन डेट १ जनवरी २०२१ रहेकोमा मार्चको भिसा बुलेटिनमा यो मिति १ अगस्त २०१९ मा पछाडि सरेको छ । अर्थात् मार्चमा १ अगस्त २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएकालेमात्र आप्रवासी भिसा पाउन वा अमेरिकाभित्रै भएको खण्डमा ग्रिनकार्ड आवेदन पेश गर्न पाउनेछन् ।