अषाढका एक दिन : कालिदासकी मल्लिका



झट्ट सम्झिँदा कालिदास कोही मान्छे या कोही कविको नामभन्दा पनि एउटा हाँस्यास्पद बिम्बको रुपमा मेरो मस्तिष्कमा गडेर बसेको छ । त्यो दृश्य छ, जहाँ कालिदास रुखको हाँगाको टुप्पातिर बसेर फेदतर्फको भाग काटिरहेका हुन्छन् । त्यहाँ कालिदास फगत एक पटमूर्ख सिवाय केही लाग्दैनन् । तर कालिदासबारे महाकवि देवकोटा आफ्नो महाकाव्यमा लेख्छन्–

कालिदास भनेर कोकिल अरू काला भए तापनि ।
कुज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ।।

शाकुन्तल, प्रथम सर्ग (२०)

इतिहासको कुनामा संस्कृत साहित्यका महाकवि कालिदासको जीवन कुनै दन्त्यकथा जस्तो सुनिन्छ– धेरै वर्षअघिको कुरा हो । भारतको उज्जैन शहर नजिकै एक राजा बस्थे, जसकी विद्योत नाउँ गरेकी अत्यन्त विदुषी छोरी थिइन् । राज्यका समस्त पण्डितहरू उनीसँग शास्त्रार्थमा पराजित भएका थिए । राजकुमारीलाई आफ्नो बौद्धिकतामा ठूलो गर्व थियो । पराजित भएका पण्डितहरू उनीसँग रिसाएका थिए ।

एक दिन जंगलको बाटो जाँदै गरेका पण्डितहरूले एउटा अनौठो दृश्य देखे– एक सुन्दर युवक रूखको हाँगाको टुप्पोतिर बसेर सोही हाँगाको फेदलाई काट्ने प्रयास गरिरहेको थियो । ती पटमूर्ख कोही नभएर कालिदास थिए । राजकुमारीसँग बदला लिने नियतले पण्डितहरूले उनको विवाह यही पटमूर्खसँग गराइदिने षड्यन्त्र रचे र कालिदासलाई लिएर राजकुमारीसमक्ष पुगे । विद्योतमाले आफूभन्दा ज्ञानी पुरुषसँग मात्र विवाह गर्ने निर्णय गरेकी थिइन् ।

पण्डितहरूले कालिदास एक अत्यन्तै विद्वान व्यक्ति हुन् र उनले महिना दिनदेखि मौन व्रत लिएको बताउँदै हातको इसाराबाट शास्त्रार्थ गर्न राजकुमारीलाई आग्रह गरे । कालिदासको ज्ञानको परीक्षा लिन भनी विद्योतमाले ‘ईश्वर एक मात्र छ’ भन्ने सङ्केतस्वरुप आफ्नो चोर औंला देखाइन् । कालिदासले त्यसको अर्थ एउटा आँखा फोडिदिन्छ भनेको हो भन्ने ठानेर आफ्ना दुईवटा औँला देखाए ।

कालिदासको जवाफलाई पण्डितहरूले ‘सत्यका दुई भाग हुन्छन्: परमात्मा र जीवात्मा’ भनेर व्याख्या गरिदिए । कालिदाको बुद्धिमताबाट छक्क पर्दै राजकुमारीले फेरि ‘पाँच इन्द्रीयहरूलाई बुझाउन’ आफ्ना पाँच औँलाहरू देखाइन् । कालिदासलाई लाग्यो कि उनले थप्पड हान्न खोज्दै छिन्, त्यसैले उनले आफ्नो मुड्की देखाए । जसको अर्थमा ‘पाँच इन्द्रीयहरूलाई नियन्त्रण गर्नाले परम आनन्द प्राप्त हुन्छ’ भन्ने बुझेर प्रभावित भएकी राजकुमारी कालिदाससँग विवाह गर्न राजी भइन्।

विवाहको केही समयपछि, एक रात बाहिर ऊँट कराइरहेको थियो । जब राजकुमारीले आफ्ना पतिलाई ‘त्यो के हो ?’ भनेर सोधिन् । उनले त्यसको विद्वतापूर्ण जवाफको अपेक्षा गरेकी थिइन् । तर कालिदासले संस्कृतमा ऊँट (उष्ट्र) भन्न खोज्दा भकभकाए । राजकुमारीले कालिदास कुनै विद्वान नभएर मूर्ख रहेछन् भन्ने वास्तविकता थाहा पाएपछि उनलाई अपमानित गरेर दरबारबाट निकालिदिइन् । त्यसबाट लज्जित भएका कालिदास सबथोक छाडेर अध्ययन र कालीको आराधना गर्न थाले । देवी कालीको आशीर्वादले कालिदास ज्ञान र बुद्धिले सम्पन्न भए । उनी सर्वकालीन संस्कृतका महाकवि र राजा विक्रमादित्यको दरबारका ‘नवरत्न’ मध्ये एक बने ।

उनै कालिदासको जीवनको एक काल्पनिक कथालाई केन्द्रविन्दु बनाएर सन् १९५८ मा हिन्दी आधुनिक नाटकका प्रणेता मोहन राकेशले एउटा नाटक लेखे– ‘अषाढका एक दिन’ । जसले हिन्दी साहित्यिक परिदृश्यमा एउटा गहिरो छाप छाड्नुका साथै हिन्दी रङ्गमञ्चलाई पनि उल्लेख्य रूपमा पुनर्जीवित गर्यो ।

यस नाटकको शीर्षक पनि कालिदासकै खण्डकाव्य ‘मेघदूत’ को पहिलो पंक्तिबाट लिइएको हो । यो नाटक कालिदासको ‘मेघदूत’ पढ्दा लेखक मोहन राकेशले महसुस गरेका भावना र अनुभवहरूको प्रतिफल हो । यद्यपि, यो कालिदासको वास्तविक जीवन चित्रण गर्ने ऐतिहासिक नाटक भने होइन । बरु, यसले संस्कृतका महान् कवि तथा नाटककार कालिदास र प्रेरणाका रूपमा उभिएकी उनकी प्रेमिका मल्लिकाजस्ता पात्रहरूमार्फत् तत्कालीन कला र राजनीतिबीचको द्वन्द्व तथा प्रेमका भावनाहरूलाई प्रस्तुत गरेको छ ।

सन् १९७१ मा भारतिय प्यारेलल सिनेमाका एक प्रवर्तक मनि कौलले सोही नाटकका कालिदास, उनकी प्रेमिका मल्लिका र उनीहरूको सम्बन्धको उत्तारचढावको कथालाई सुन्दर ढङ्गले खिचेर परम्परागत धारलाई तोड्दै सिनेमामार्फत् पुनर्कथन गरे । तीन अंकको नाटकमा आधारित ‘आषाढ का एक दिन’ले प्रसिद्ध संस्कृत कवि तथा नाटककार कालिदास र मल्लिकाको प्रेमलाई चित्रण गर्छ ।

फिल्ममा तीन मुख्य पात्रहरू छन्: कालिदास, उनकी प्रेमिका मल्लिका र दुवैका साथी र मल्लिकाप्रति आसक्ति राख्ने विलोम । हिमालयको काखमा अवस्थित एउटा सुन्दर गाउँमा कालिदास र मल्लिकाबीचको सामीप्यमा उनीहरूको प्रेम हुर्किरहेको छ । उनीहरूको सम्बन्ध मल्लिकाकी आमा र समाज दुबैलाई स्विकार्य हुँदैन ।

त्यतिकैमा, कालिदासलाई उज्जैन राज्यको ‘राजकवि’ बनाइने प्रस्ताव प्राप्त हुन्छ, जसले मल्लिका र राजसत्तालाई लिएर उनको मनमा द्विविधा उब्जिन्छ । यता, मल्लिका भने कालिदासलाई सफल भएको हेर्न चाहन्छिन् र उनलाई स्नेहको बन्धनबाट मुक्त गरिदिन्छिन् । उज्जैन र कश्मीर गएपछि कालिदास सत्ता र प्रभुत्वको बीचमा हराउँछन् । उनी लामो समयसम्म मल्लिकाकहाँ फर्केर आउँदैनन् र त्यहीँकी राजकुमारीसँग विवाह गरेर राजकाज सम्हाल्छन् ।

एउटा उदास कविता झैं यो फिल्म हाम्रो सामु आउँछ– काला बादलहरू मडारिरहेका छन्, बिजुली चम्किरहेको छ, लगातार वर्षा भइरहेको छ । फिल्मको कथालाई मल्लिकाको घरको परिधिभित्र सिमित राखिएको छ । त्यसैले यो फिल्म उनकै दृष्टिकोणबाट प्रस्तुत भएको छ । बाहिरको मौसमले मल्लिकाको मनोभावनालई दर्शाउँछ । उनी साँचो प्रेमको प्रतीक बनेर फिल्ममा उभिएकी छिन् । उनको प्रेम प्रेरणादायी छ, निसर्त छ । उनी समर्पित छिन् कालिदास र उनका रचनाहरूप्रति । र उनी बदलामा केही पनि माग्दिनन् ।

फिल्म हेरिसक्दा यसले हामीभित्र मल्लिकाको तृष्णा र स्वार्थहीन प्रेमको बिज रोपिदिन्छ । जुन भाव लामो समयसम्म मनको कुनामा फगत एउटा उदास साउती बनेर बसिदिन्छ– ‘जब जब मलाई तिम्रो नजिक हुने मन हुन्छ, तब पर्वतको शिखरमा पुग्नेछु र उडेर आएका बादलहरूले घेरिनेछु, सम्भवतः फेरि वर्षा हुनेछ ।’

यस फिल्मले प्रेमको गरिमा र लालित्यलाई अँगालेको छ । मल्लिकाका आँखाहरू अभिव्यक्त छन् । उनीभित्रको अन्तर्मनका भाव र अन्तर्द्वन्द्वले कालिदासप्रतिको उनको भक्ति र प्रेमलाई स्पष्ट पार्छ । उनले बुझेकी छिन् प्रेमको व्याख्या । उनी कालिदासका कविताहरू पढ्छिन् । उनका सोचहरू पनि प्रगतिशील छन् । फिल्मको सुरुवातमै मल्लिका प्रश्न गर्छिन्— ‘मल्लिकाको जीवन उसको निजी सम्पत्ति हो । यदि उनी त्यसलाई नष्ट गर्न चाहन्छिन् भने, कसैलाई त्यसमाथि आलोचना गर्ने के अधिकार छ ?’ यस फिल्ममा मल्लिकाको रूप र सौन्दर्यसँगै उनको चेतना पनि प्रष्फुटित भएको छ ।

यस कथाको मुख्य पात्र मल्लिका हुन् । यो उनको त्यागको कथा हो । कालिदासको प्रेरणाको कथा हो । फिल्मका दृश्यहरूबाट कालिदास लामो समयसम्म हराउँछन् र धेरै वर्षपछि जब उनी आफ्नो दरबारी जीवन त्यागेर मल्लिकालाई भेट्न फर्कन्छन्, तब परिस्थिति बदलिएको हुन्छ । नचाहँदा नचाहँदै पनि मल्लिकाको विवाह विलोमसँग भइसकेको हुन्छ र उनीहरूको एउटा सन्तान पनि हुन्छ ।

एउटा दृश्यमा विलोम कालिदासलाई भन्छन्– ‘विलोम को हो ? एक असफल कालिदास । अनि कालिदास ? एक सफल विलोम । हामी दुवै एक-अर्काको धेरै नजिक छौँ ।’ विलोम एक औसत व्यक्तिका बिम्बका रुपमा फिल्ममा देखा पर्छन्, जसमा प्रतिभाको कमी छ । त्यसैले उनी ईर्ष्यालु र तितो स्वभावका छन् । यही तितोपनका कारण उनले अरूलाई चोट पुर्याउने कुराहरू गर्छन् । जबकि कालिदास जस्ता प्रतिभाशाली व्यक्तिहरूले त्यही कुरालाई आकर्षक र मिठो शब्दहरूमा लुकाउँछन् ।

कालिदास फर्कदासम्म समयले आफ्नो एउटा चक्र पूरा गरिसकेको हुन्छ । अन्तिम दृश्यमा कालिदास मल्लिकालाई भन्छन्– ‘मैले भनेको थिएँ कि म फेरि नयाँ सुरुवात गर्न चाहन्छु । यो इच्छा र समय बीचको लडाइँ थियो । तर अहिले म देख्दैछु समय धेरै शक्तिशाली छ, किनभने.. यसले कसैलाई पर्खिँदैन ।’ फिल्म समय र परिस्थितिको द्वन्दमा गाँजिएको छ । समयसँगै सबथोक परिवर्तन भएको छ । कालिदास पनि पहिलाको जस्तो हुँदैनन् । उनले मल्लिकाको अघि स्वीकार गर्छन्– उनको अगाडि उभिएको मान्छे त्यो पुरानो कालिदास होइन जसलाई उनले चिन्थिन् । फिल्मले एउटा गहिरो सत्य आभास गराउँछ– समयले कसैलाई पर्खिँदैन ।

फिल्मको अन्त्यमा मल्लिकाले उनलाई खाली पानाहरूले बनेको पुरानो पाण्डुलिपि उपहार दिन्छिन् र कालिदासले आफ्नो जीवनको सबैभन्दा महान् महाकाव्य त्यही पाण्डुलिपि लेखेको हेर्न चाहन्छिन् । कालिदासको पर्खाइमा वर्षौंसम्म उनले आफ्नो छटपटी र निराशा तिनै खाली पानाहरूमा पोखेकी हुन्छिन् ।

ती पानाहरू जीर्ण छन्, ठिक उनीहरूको परिस्थितिजस्तै । ती कागजहरूमा अनगिन्ती आँसुका थोपाहरू बिलाएर गएका छन् । कालिदासलाई लाग्छ, शब्दहरूको कुनै पनि भण्डारले मल्लिकाको यो अनन्त पीडा र छटपटीलाई समेट्न सक्दैन । त्यो जीर्ण बनेको पाण्डुलिपिलाई हेर्दै उनी भन्छन्– ‘यो अहिलेसम्म लेखिएको सबैभन्दा महान् महाकाव्य हो!’

फिल्ममा आफ्नो दुखान्त प्रेमकथाको काव्यिक गहिराइलाई कालिदासले सुन्दर ढङ्गले यसरी एउटा वाक्यमा समेटी दिन्छन् । ‘आषाढ का एक दिन’ जीवन र प्रेम दर्शनको कुरा गर्छ । यो मनोवैज्ञानिक र चिन्तनशील संवादहरूमा भरिएको छ, जसले एकातिर पात्रहरूबीच अन्तरद्वन्द उत्पन्न गर्छ भने अर्कोतिर मल्लिका र कालिदासको प्रेम कथालाई आध्यात्मिक चेतनातिर ढकेल्छ ।

फिल्मका प्रत्येक दृश्यहरू मिनिमलिज्म शैलीका चित्रहरूजस्तै लाग्छन् । यहाँ पात्रहरूको भावनात्मक प्रभावलाई विशेष महत्त्व दिइएको छ । भावहरूको घनीभूत अभिव्यक्तिका लागि मनि कौलले फिल्ममा अधिकांश ‘क्लोज अप’ को प्रयोग गरेका छन् । बाहिरी वातावरणलाई भने अस्पष्ट र सेतो रङ्गको शून्यतामा छोडिएको छ ।

फिल्म दृश्य, प्रकाश, ध्वनिको संयोजन र परिवेशमा छाएको कोलाहलबीचको एउटा लयात्मक शान्ति जस्तो प्रतीत हुन्छ । मल्लिकाको प्रेम र त्यागसँगै सत्ताको मोह र एक महान् कविको आत्म-संघर्षको ऐतिहासिक पृष्ठभूमिमा उभिएको यस फिल्मको कथावस्तु जीवन्त लाग्छ । नाटकको मर्मलाई बुझेको फिल्म एकदम काव्यिक लाग्छ ।

फिल्म हेरिसक्दा यसले हामीभित्र मल्लिकाको तृष्णा र स्वार्थहीन प्रेमको बिज रोपिदिन्छ । जुन भाव लामो समयसम्म मनको कुनामा फगत एउटा उदास साउती बनेर बसिदिन्छ– ‘जब जब मलाई तिम्रो नजिक हुने मन हुन्छ, तब पर्वतको शिखरमा पुग्नेछु र उडेर आएका बादलहरूले घेरिनेछु, सम्भवतः फेरि वर्षा हुनेछ ।’

(यो लेखमा लेखककाे नाम अन्यथा परेकाले हामीले सुधारसहित प्रकाशन गरेका छौं ।)





Source link

Leave a Comment