प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार
अमेरिकाको अलास्का राज्यको दक्षिणी तटभरि फैलिएका समुदायहरूलाई दिइएको सुनामीको चेतावनी खारेज गरिएको छ ।
बुधबार शक्तिशाली भूकम्पपछि सुरक्षित उच्च स्थानमा जान उनीहरुलाई निर्देशन दिइएको थियो । तर अधिकारीहरूले छिट्टै सुनामीको चेतावनी घटाउँदै र अन्ततः खारेज गरेका छन । अहिलेसम्म कुनै ठूलो क्षतिको खबर आएको छैन।
अलास्का भूकम्प केन्द्रका अनुसार, ७.३ म्याग्निच्युडको भूकम्प स्यान्ड पोइन्ट सहरको दक्षिणतर्फ आएको थियो । यो सहर पोपोफ टापुमा रहेको र लगभग ६०० जनसंख्या समुदाय भएको सहर हो ।
भूकम्पपछि पहिलो तीन घण्टामा ४० वटा पराकम्प मापन गरिएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का ६०० माइल टाढाको एन्करेज सहरसम्म महसुस गरिएको थियो।
नेशनल सुनामी वार्निङ सेन्टरले स्यान्ड पोइन्टको दक्षिण पश्चिमतर्फ लगभग ४० माइलदेखि लिएर युनिमाक पास सम्म करिब ७०० माइल १ हजार १२७ किलोमिटर लामो क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो।
त्यस क्षेत्रमा पर्ने ठूला शहरमा करिब ५ हजार २०० मानिस बसोबास गर्छन्। स्यान्ड पोइन्टमा समुद्री सतहभन्दा करिब २.५ इन्च माथिसम्म पानी उठेको मात्र मापन गरिएको थियो ।
अमेरिकी मौसम विभागका अनुसार यो भूकम्पले अमेरिका र क्यानाडाका अन्य प्रशान्त तटीय राज्यहरु वासिङ्टन, ओरेगन र क्यालिफोर्नियामा कुनै सुनामी खतरा देखाएको छैन।
अलास्काको दक्षिणी भाग भूकम्प प्रवण क्षेत्र हो । यो क्षेत्रमा सन् २०२० यता पाँच वटा भूकम्प आइसकेका छन् ।
जसको तीव्रता ७ म्याग्निच्युडभन्दा बढी थियो । यो एक अलग भूकम्प होइन, यो केही वर्षदेखिको भूकम्पहरूको श्रृंखलाको हिस्सा हो। यो क्षेत्र अझै पनि ठूला भूकम्पहरू र सम्भावित विनाशकारी सुनामी उत्पन्न गर्न सक्ने क्षमता राख्दछ ।