प्रकाशित मिति : असार २१, २०८२ शनिबार
इजरायलले गाजा युद्धविराम र बन्धक साटासाट प्रस्तावमा हमाससँग अप्रत्यक्ष वार्ता गर्न कतारमा वार्ता टोली पठाउने निर्णय गरेको छ।
प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको कार्यालयले निम्तो स्वीकार गर्दै आइतबार वार्ता टोली कतार पठाउन लागेको बताएको हो । यद्यपि हमासले प्रस्तुत प्रस्तावमा गर्न खोजेका केही संशोधनहरूलाई इजरायलले “अस्वीकार्य” भनेको छ ।
हमासले ६० दिनको युद्धविराम प्रस्तावमा ‘सकारात्मक प्रतिक्रिया’ दिएको र वार्ताका लागि तयार रहेको बताएको थियो ।
तर एक प्यालिस्तीनी अधिकारीका अनुसार हमासले प्रस्तावमा केही संशोधनको माग पनि राखेको छ । स्थायी युद्धविराम वार्ता असफल भए पनि पुनः आक्रमण नहुने अमेरिकी ग्यारेन्टी हमासले चाहेको संशोधनमा उल्लेख छ।
गाजामा हमास नियन्त्रित सिभिल डिफेन्स एजेन्सीका अनुसार, शनिबार इजरायली आक्रमण र गोलीबारीमा कम्तीमा ३५ जना प्यालिस्तीनीको मृत्यु भएको छ।
शनिबार राति नेतन्याहूको कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, “हमासले गर्न खोजेका परिवर्तनहरू इजरायलका लागि अस्वीकार्य छन्।”
https://www.youtube.com/watch?v=videoseries
इजरायली अधिकारीले हमासको प्रतिक्रियामा काम गर्न मिल्ने केही आधार देखिएको बताएका छन । वार्ता कतारको दोहामा हुनेछ । मध्यस्थकर्ताहरू कतार, अमेरिका, मिस्रले बाँकी विवाद समाधान गर्न प्रयास गर्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनहरूमा सम्भावित सम्झौताका विषयमा आशावादी धारणा दिएका छन् । उनले सम्भवतः अर्को साता गाजा सम्झौता हुन सक्ने बताएका छन । सोमबार ट्रम्पले नेतन्याहूसँग भेट गर्ने कार्यक्रम छ ।
शनिबार राति तेल अविभमा हजारौं मानिस सहभागी ¥यालीमा बन्धक परिवारहरूले सरकारलाई सम्झौता गर्न आह्वान गरेका थिए । नेतन्याहूले सबै बन्धकको रिहाइ र हमासको सैन्य तथा शासकीय संरचना पूर्ण रूपमा नष्ट नभएसम्म युद्ध नरोकिने बताएका छन ।
इजरायली सैन्य अभियान हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणपछि सुरु भएको थियो । जसमा १ हजार २ सय इजरायलीको मृत्यु भएको थियो । २५१ जना बन्धक बनाइएका थिए।
गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा कम्तीमा ५७ हजार ३३८ मानिस मारिएका छन्।



