अमेरिकी सिनेटद्वारा ट्रम्पलाई इरानमाथिको हमला जारी राख्न अनुमति


अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको सैन्य कारबाही सीमित गर्न ल्याइएको प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत भएको छ।

उक्त प्रस्ताव ५३–४७ मतले खारेज भएसँगै अमेरिका र इजरायलद्वारा इरानमाथि भइरहेको आक्रमण जारी रहने सम्भावना बलियो भएको छ।

डेमोक्र्याट सांसदहरूले ट्रम्पले कंग्रेसलाई पन्छाएर युद्ध सुरु गरेको आरोप लगाएका थिए। उनीहरूले यस्तो युद्धका लागि कंग्रेसको अनुमोदन आवश्यक पर्ने भन्दै प्रस्ताव अघि सारेका थिए। तर अधिकांश रिपब्लिकन सांसदहरूले राष्ट्रपतिको निर्णयलाई समर्थन गर्दै डेमोक्र्याटहरूले ल्याएको प्रस्तावको विरोध गरे।

मतदानका क्रममा दुई जना सिनेटरले आफ्नै दलको निर्णयविपरीत मतदान गरेका थिए। पेन्सिलभेनियाका डेमोक्र्याट सिनेटर जोन फेटरमेनले प्रस्तावको विपक्षमा र केन्टकीका रिपब्लिकन सिनेटर रेन्ड पलले प्रस्तावको पक्षमा मतदान गरे।

यसैबीच अमेरिकी रक्षामन्त्री पेट हेगसेथले युद्ध करिब आठ हप्तासम्म चल्न सक्ने बताएका छन्। ट्रम्पले सुरुमा बताएको भन्दा यो अवधि लामो हो।

डेमोक्र्याट नेता चक सुमरले अमेरिकी जनता मध्यपूर्वको “अनन्त युद्ध” बाट थकित भइसकेको भन्दै प्रस्तावलाई समर्थन गर्न आग्रह गरेका थिए। अर्कोतर्फ, रिपब्लिकन नेताहरूले अहिले यस्तो प्रस्ताव पारित गर्दा इरानमा गलत सन्देश जाने तर्क गरेका छन्।

अमेरिकी कानुनअनुसार राष्ट्रपतिले आकस्मिक अवस्थामा युद्ध सुरु गर्न सक्छन्, तर त्यसको ४८ घण्टाभित्र कंग्रेसलाई जानकारी दिनुपर्छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रशासनले कानुनी प्रक्रिया पूरा गरेको दाबी गरेका छन्।

अब यही प्रस्ताव अमेरिकी प्रतिनिधि सभामा पनि मतदानका लागि लैजाने तयारी छ। तर, त्यहाँ पनि यो पारित हुने सम्भावना न्यून देखिएको छ।



Source link

Leave a Comment