प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

पछिल्ला हप्ताहरूमा विमानस्थलमा भन्सार र सीमा संरक्षण सीबीपी एजेन्टहरूले यात्रुहरूको फोन सर्च गरेको आधारमा अमेरिका प्रवेश दिन अस्वीकार गरेका घटनाहरु बाहिर आइरहेका छन् । सीबीपीले एच १बी भिसामा रहेका एक डाक्टरको फोनमा हिजबुल्लाह नेताहरूको सहानुभूतिपूर्ण तस्बिर र भिडियो फेला पारेपछि लेबनान फिर्ता पठाएको घटना सेलाएको छैन ।
त्यस्तै एक फ्रान्सेली वैज्ञानिकका फोनमा उपकरण खोजीमा ट्रम्प प्रशासनको अनुसन्धान कार्यक्रम कटौतीको आलोचना गर्ने सन्देशहरू फेला परेपछि फर्काइएको अर्को घटना पनि चर्चामा आएको थियो । जसलाई अधिकारीहरूले ट्रम्पप्रति घृणा व्यक्त गरेको र आतंकवादको रूपमा लिन सकिने भन्दै अमेरिका प्रवेशमा रोक लगाएका थिए ।
फोनमा सर्च गर्न दिनका लागि तपाईले अस्वीकार गर्ने क्षमता तपाईंको आप्रवासी स्थितिमा फरक पर्छ । केही अवस्थामा तपाईं कहाँ र कसरी अमेरिका प्रवेश गर्दै हुनुहुन्छ भन्नेमा पनि निर्भर गर्छ। किनभने देशभरका अदालतहरूले प्रवेश बिन्दुहरूमा उपकरणहरु खोजीका सन्र्दभमा फरक फरक फैसला सुनाएका छन्। तर तपाईंको स्थिति जस्तोसुकै भए पनि तपाईंको डिजिटल गोपनीयता सुरक्षित गर्नका लागि सावधानीहरू अपनाउन भने सक्नुहुन्छ।
सीबीपीले फोन लगायतका उपकरण सर्चका घटना विगतमा निकै दुर्लभ थिए। २०२४ आर्थिक वर्षमा अन्तर्राष्ट्रिय यात्रुहरूको शुन्य दशमलव शुन्य १ प्रतिशतभन्दा कमको फोन, कम्प्युटर वा अन्य इलेक्ट्रोनिक उपकरणहरू सर्च गरिएको थियो। त्यो वर्ष सीबीपी अधिकारीहरूले ४७,०४७ उपकरण सर्च गरेका थिए । तर यो हालको घटनाहरूले यो सर्च बढेको संकेत गरेको छ ।
सर्वोच्च अदालतले २०१४ मा व्यक्तिहरूको सेल फोनको वारेन्टबिना सर्चले चौथो संशोधनको उल्लंघन गर्ने फैसला सुनाएको थियो । तर त्यस नियममा एउटा अपवाद छ, जसमा सीमामा हुने सर्चहरु समावेश छ । विमानस्थल वा सीमामा हुने सर्चलाई तार्किक मानिएको छ । अमेरिकामा विमानस्थलहरूलाई पनि सीमा क्षेत्र मानिन्छ।
चौथो संशोधनको सीमा खोजी अपवादले भन्सार अधिकारीहरूलाई लगेज जस्ता चीजहरू सर्च गर्न अनुमति दिएको थियो। तर आजकल धेरैजसो यात्रुहरूले आफ्नो खल्तीमा धेरै कुरा बोकेका हुन्छन् । फोनको हार्डवेयरमा भण्डारण भएको जानकारी मात्र होइन, डेटा जडानमार्फत पहुँचयोग्य सबै कुरा बोकेका हुन्छन् । यसले व्यक्तिको वित्तीय इतिहास, चिकित्सा इतिहास, डाक्टर र वकिलसँगको संचार लगायत देखाउन सक्छ।
यदि तपाईं अमेरिकी नागरिक हुनुहुन्छ भने तपाईलाई त्यस्ता सर्चहरु अस्वीकार गर्ने अधिकार छ । सीबीपी अधिकारीले अमेरिकी नागरिकलाई देशमा प्रवेश गर्नबाट रोक्न सक्दैनन् । अमेरिकी नागरिकले सर्च अस्वीकार गरेपनि सीबीपीले उनीहरुका फोन, ल्यापटप वा अन्य उपकरणहरू नियन्त्रणमा लिएर राख्न भने सक्छ ।
ग्रिनकार्डवाहकले पनि सर्चहरु अस्वीकार गर्न त सक्छन्, तर ग्रीन कार्ड भएका व्यक्तिले अमेरिकाबाट १८० दिनभन्दा बढी समय बाहिर बिताएमा उनीहरू फर्किंदा प्रवेश निषेधको जाँच गरिन्छ । ग्रीन कार्ड वाहकहरूको रेकर्डमा निश्चित अपराधहरू भएमा उनीहरुको ग्रिनकार्ड खारेजीको प्रकृया अगाडि बढ्न सक्छ । तर भिसा वाहकहरूको भने प्रवेश बिन्दुहरूमा कम अधिकार हुन्छ । सर्च अस्वीकार गर्दा उनीहरूलाई देशमा प्रवेश गर्न अस्वीकार गर्न सकिन्छ।
सीबीपी अधिकारीहरूले आधारभूत र फरेन्सिक वा उन्नत तरिकाले उपकरण सर्च गर्न सक्छन् । सरकारले तपाईंको फोन सामान्य रुपमा सर्च गरेर त्यसमा पहिले नै भएको कुरा हेर्नु र फोनलाई बाह्य उपकरणमा जडान गरेर उन्नत एल्गोरिदम प्रयोग गरेर खोज्ने भिन्न करा हुन् । आधारभूत खोजीका लागि वारेन्ट आवश्यक नपर्ने सरकारको दावी छ । यी खोजीहरूमा एजेन्टहरूले तपाईंको फोनलाई एयरप्लेन मोडमा राख्नुपर्छ र अफलाइनमा पहुँचयोग्य कुरा मात्र हेर्न सक्छन् ।
धेरैजसो अवस्थामा अदालतहरूले सीबीपीले व्यक्तिको फोन वा ल्यापटपको आधारभूत सर्च वारेन्टबिना नै गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नलाई टारेका छन्, जसले एजेन्सीलाई त्यसो गर्न अनुमति दिएको छ। तर यस नियममा एउटा भौगोलिक अपवाद छ। गत वर्ष न्यूयोर्कको एक संघीय न्यायाधीशले सीबीपीले यात्रुहरूको उपकरणहरूको कुनै पनि वारेन्टबिना खोजी गर्न नसक्ने फैसला गरेका थिए । यो फैसला देशको अन्यत्र लागू हुँदैन, तर न्युयोर्कमा रहेको जोन एफ केनेडी विमानस्थलमा लागु हुन्छ । यो फैसला आधारभूत र फरेन्सिक दुवै सर्चहरूमा लागू हुन्छ।
देशको अरु स्थानमा पनि न्यायाधीशहरूले उन्नत खोजीहरूमा केही सीमाहरू लगाएका छन्। वारेन्टबिना फरेन्सिक खोजीहरू केही ठाउँमा अनुमति छ भने केहीमा निषेध गरिएको छ, यो विभिन्न संघीय सर्किट अदालतहरूले कसरी फैसला गर्छन् भन्नेमा निर्भर गर्छ। सर्वोच्च अदालतले देशव्यापी रूपमा लागू हुने गरी यसबारे फैसला गरेको छैन ।
त्यसैले यात्रहरुको अधिकार पहिलो सर्किट अन्तरगतको बोस्टन लोगानमा उडान अवतरण गर्दा वा चौथो सर्किट अन्तरगतको रेगन डलेसमा उडान अवतरण गर्दा फरक फरक हुन्छ । त्यस्तै नवौं सर्किट अन्तरगतको एरिजोनामा वा दशौं सर्किट अन्तरगतको न्यू मेक्सिकोमा सीमा पार गर्दा फरक हुन्छ । अलास्का, एरिजोना, क्यालिफोर्निया, हवाई, आइदायो, मोन्टाना, नेभाडा, ओरेगन र वाशिंगटन समावेश नवौं सर्किट अदालतले वारेन्ट विनाका फोरेन्सिक सर्चहरूलाई निषेध गर्दछ जबसम्म अधिकारीहरूले बाल यौन दुर्व्यवहार सामग्री जस्ता डिजिटल तस्करी खोजिरहेका हुँदैनन्। मेरील्याण्ड, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, भर्जिनिया र वेष्ट भर्जिनियालाई समेट्ने चौथो सर्किटले वारेन्टविना फोरेन्सिक खोजीहरूलाई निषेध गर्दछ जबसम्म अधिकारीहरूले मानव तस्करी वा लागूपदार्थको तस्करी जस्ता चलिरहेको सीमा उल्लङ्घनसँग सम्बन्धित जानकारी खोजिरहेका हुँदैनन्।
२०२३ मा न्यूयोर्ककोसंघीय न्यायाधीशले सीमा सर्च अपवाद फोरेन्सिक सर्चहरूमा विस्तारित नहने फैसला गरेका थिए, जसको लागि वारेन्ट आवश्यक पर्दछ। यो मुद्दा न्यू जर्सीको नेवार्क लिबर्टी विमानस्थलमा फोन सर्चबारे समावेश थियो, जुन राज्य न्यूयोर्कभन्दा फरक संघीय सर्किटमा छ। डलास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको फोन फोन जफत गरेर वारेन्ट बिना नै सामग्रीहरू सर्च गरेपछि परेको मुद्दामा संघीय अदालतले वारेन्टविना खोजी गर्न सकिने फैसला सुनाएको थियो । लुजियाना, मिसिसिपी र टेक्सासलाई समेट्ने पाँचौं सर्किटका न्यायाधीशहरूले पनि सर्चका लागि वारेन्ट आवश्यक नपर्ने फैसला सुनाएका थिए ।
तपाईंको अध्यागमन स्थिति र तपाईं कुन विमानस्थलमा उडान गर्दै हुनुहुन्छ वा तपाईं कुन भूमि सीमा पार गर्दै हुनुहुन्छ भन्ने आधारमा तपाईंसँग के अधिकारहरू छन् भनेर खेल खेल्ने प्रयास गर्नुको सट्टा सीबीपीबाट तपाईंको उपकरणहरू सुरक्षित राख्ने उत्तम तरिका त्यस्ता उपकरणमा हुने सामाग्री सीमित गर्नु रहेको विज्ञहरुको सुझाव छ ।