अमेरिकी विदेश मन्त्रालयद्वारा संसारभरका लगभग सबै विदेशी सहायता तत्कालै स्थगित



प्रकाशित मिति : माघ १२, २०८१ शनिबार

अमेरिकी विदेश मन्त्रालयद्वारा संसारभरका लगभग सबै विदेशी सहायता तत्कालै स्थगित

राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमार्फत ९० दिनका लागि विदेशी सहायता रोक्ने निर्णय गरे लगत्तै अमेरिकी विदेश मन्त्रालयले संसारभरका लगभग सबै विदेशी सहायता तत्कालै स्थगित गरेको छ।

विदेशमन्त्री मार्को रुबियोले शुक्रबार सबै अमेरिकी कूटनीतिक कार्यालयहरूलाई सन्देश पठाउँदै विदेशी सहायता स्थगन गर्न निर्देशन दिएका हुन् । जसले अमेरिकाको विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएआईडीबाट विश्वव्यापी कार्यक्रमहरूका लागि आउने अर्बौं डलरको वित्तीय सहायता प्रभावित गर्नेछ।

कांग्रेसका रिपब्लिकनहरू र ट्रम्प प्रशासनका अधिकारीहरू लामो समयदेखि विदेशी सहायता रोक्ने पक्षमा थिए, यद्यपि यो सहायता अमेरिकी कुल बजेटको अत्यन्तै सानो हिस्सा मात्रै हो। कार्यकारी आदेश र त्यसपछि जारी गरिएको निर्देशनले मानवीय सहायता संस्थाहरूमाझ ठूलो चिन्ता पैदा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयद्वारा संसारभरका लगभग सबै विदेशी सहायता तत्कालै स्थगित
एपी फोटो/इभान भुची)

सन्देशमा हाल कार्यान्वयनमा रहेका विदेशी सहायता कार्यक्रमहरू तत्काल रोक्न र नयाँ सहायता रोक्न निर्देशन दिइएको छ। आगामी महिनामा ट्रम्प प्रशासनले सहायता कार्यक्रमहरू राष्ट्रपति ट्रम्पको विदेशी नीतिसँग मेल खाने नखाने समीक्षा गर्न मापदण्डहरू विकास गर्ने बताइएको छ।

कार्यक्रमहरू निरन्तरता दिने, परिमार्जन गर्ने वा रद्द गर्ने भन्ने निर्णय उक्त समीक्षापछि गरिनेछ । यो समीक्षा ८५ दिनभित्र पूरा गरिनेछ । अमेरिकी विदेश मन्त्रालयको आदेशले आपत्कालीन खाद्य सहायता तथा इजरायल र इजिप्टका लागि विदेशी सैन्य वित्तीय सहायतामा भने छूट दिएको छ।

तर, युक्रेन वा ताइवानजस्ता अन्य देशहरूलाई प्रदान गरिने सैन्य सहायता सम्बन्धी कुनै स्पष्ट उल्लेख गरिएको छैन। युएसएआईडीमार्फत हरेकबर्ष अमेरिकाले नेपालमा ठूलो रकम सहायता गर्दै आएको छ ।





Source link

Leave a Comment