यतिखेर अमेरिकी जनता आफ्नो ४७औं राष्ट्रपति छनौट गर्न मतदान गरिरहेका छन् । निर्वाचनको मिति अर्थात् नोभेम्बर ५ सम्म ५० प्रतिशत भन्दा धेरै मतदाताहरूले अग्रिम मतदान गरिसक्ने अनुमान गरिएको छ । नोभेम्बर ३ सम्म साढे ७ करोड अमेरिकी मतदाताले मतदान गरिसकेका छन् । अमेरिकामा यो निर्वाचनमा सहभागी हुन नाम दर्ता गराएका कुल १६ करोड ६४ लाख मतदाताहरू रहेका छन् ।
अमेरिकी निर्वाचन प्रणालीको विशेषता, अमेरिकामा पहिलो महिला राष्ट्रपति निर्वाचित हुने सम्भावना र निर्वाचन पश्चातको विश्व राजनीतिको बारेमा थोरबहुत चर्चा भए पनि समग्र अमेरिकी राजनीतिलाई समेटेर गरिने विश्लेषणमा हामीले अझै पनि ज्यादै न्यून ध्यान दिएका छौं। अमेरिकी निर्वाचन मात्रै होइन हाम्रो देशको लागि महत्वपूर्ण मानिने चीन, भारत जस्ता देशहरूका आन्तरिक राजनीतिक घटना र शक्ति संघर्षको विश्लेषणमा पनि हामीले यथेष्ट ध्यान न दिने गरेका छौं न दिन सकेका छौं । त्यसको लागि हामीसँग पर्याप्त संस्था, कार्यक्रम र विज्ञहरूको पनि अभाव छ ।
अनिश्चितताको वर्तमान विश्व राजनीतिमा सावधानपूर्वक राष्ट्रिय स्वार्थ पूरा गर्न शक्ति राष्ट्रहरूको आन्तरिक मामिलाको बारेमा हामी हरबखत चनाखो र अपडेट रहनुपर्दछ । यो आलेखले अमेरिकी निर्वाचनको सन्दर्भमा हामीले नजिकबाट नियाल्नुपर्ने दुई विषयमा चर्चा गर्नेछ ।
लोकतान्त्रिक मन्दीको भविष्य
सन् २०१५ को जनवरी महिनामा प्रकाशित जर्नल अफ डेमोक्रेसीमा लोकतन्त्रको क्षेत्रमा लामो समय अनुसन्धान गरेका ल्यारी डायमण्डले संसारभर लोकतान्त्रिक मन्दी रहेको तर्क अगाडि सारे र त्यसमा धेरैले समर्थन जनाए । उनले मन्दीको व्याख्या गर्न लोकतान्त्रिक भनिएका देशहरूमा लोकतान्त्रिक विधि र लोकतान्त्रिक विधिबाट निर्वाचित जनप्रतिनिधिप्रति विश्वास कम हुँदैजानु, गैरलोकतान्त्रिक मुलुकहरू आर्थिक विकासमा अब्बल देखिनु र साना एवं भर्खर लोकतन्त्रको अभ्यास गरेका देशहरूमा गैरलोकतान्त्रिक शासकहरूको उदय जस्ता आधारहरू प्रस्तुत गरेका थिए ।
सन् २०१८ मा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक डेनियल जिव्ल्लेट र स्टेभेन लेभिछिकीले एक अर्कालाई शत्रु देख्ने राजनीतिक दलहरू, राजनीतिक ध्रुवीकरण, मूल्य र मान्यताको विनाश र मिडियालाई आक्रमण गर्ने निर्वाचित जनप्रतिनिधिका कारण लोकतन्त्र अवसान उन्मुख भएको निष्कर्ष निकाले । अहिले हामीले सर्वाधिक चासोका साथ हेर्नुपर्ने विषय भनेको केही दिन पश्चात सार्वजनिक हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रक्रिया, नतिजा र नतिजाको स्वीकारोक्तिको अवस्थाले लोकतान्त्रिक मन्दीलाई अन्त्य गर्ने दिशामा लैजान्छ कि यो मन्दी झन्-झन् जटिल बन्दै जान्छ भन्ने नै हो ।
झट्ट हेर्दा यो अमेरिकाको आन्तरिक मामिलाको विषय जस्तो देखिए पनि यसले नेपालको आन्तरिक राजनीतिमा ठूलो अर्थ राख्दछ । अहिले नै पनि आम नागरिकहरूले लोकतन्त्रभित्र आफ्नो सुन्दर भविष्यको परिकल्पना गर्न कठिन अवस्था छ । धेरै युवाहरू अहिलेको व्यवस्थामा आफ्नो आवाज सुन्ने पद्धति, संस्कार र नेता नभेट्दा दुःखित छन्, क्रोधित छन् । राजनीतिक दल र नागरिक समाजले त्यस्तो विश्वास सिर्जना गर्ने गरी जनतालाई प्रष्ट चित्र वा मार्ग देखाउन सकेका छैनन् ।
कतै लोकतान्त्रिक व्यवस्था सञ्चालन गर्न कठिन हुने/भएको त होइन भन्ने तर्कले झन्-झन् धेरै समर्थन पाउँदै गएको देखिन्छ । यस्तो अवस्थामा लामो समय लोकतन्त्रको हिमायतीको रूपमा रहेको अमेरिकामा नै यो व्यवस्थाप्रति अविश्वास बढ्दा त्यसको विश्वव्यापी प्रभाव हुन्छ । नेपालमा पनि त्यसको बाछिटा निश्चित रूपमा आउँछ ।
हामी लोकतान्त्रिक अभ्यासमा पूर्ण परिपक्व हुने प्रक्रियामा नै छौं । विश्वभर लोकतन्त्र धरमराउन थाल्यो भने हाम्रो प्रक्रियाले आन्तरिक एवं बाह्य वैधता साथै ऊर्जा पनि गुमाउँछ । अहिले अभ्यासमा रहेको लोकतन्त्रलाई सबल बनाउने, संस्थागत गर्नेभन्दा पनि यसको विकल्पको बहसले प्राथमिकता पाउने खतरा वृद्धि हुन्छ । यस्तो राजनीतिक अवस्थालाई बुद्धिमत्तापूर्ण ढंगले सम्हाल्न सकेनौं भने देश अर्को राजनीतिक दलदलमा फस्न सक्छ ।
खासगरी अमेरिकाले आन्तरिक अर्थतन्त्र सुधारका लागि रस्ट बेल्टमा लगानी वृद्धिको आह्वान गर्दा लामो समयदेखि आर्थिक एवं राजनीतिक सहकार्य गरिरहेका देशहरूले कस्तो प्रतिक्रिया दिन्छन् र त्यसमा चीनको कस्तो प्रतिक्रिया रहन्छ भन्नेमा हामी चनाखो रहनुपर्दछ
त्यति मात्रै होइन, अमेरिकी राष्ट्रपति निर्वाचनले लोकतन्त्रको भविष्यमाथि थप जटिलता थप्यो भने हाल अभ्यासमा रहेको सिङ्गो विश्व व्यवस्थाको रूपान्तरणको आवाज झन्-झन् ठूलो हुँदै जान्छ । अहिलेको उदारवादी विश्व व्यवस्थामा लोकतन्त्र, मानवअधिकार, कानुनी शासन, स्वतन्त्र व्यापार एवं बजार अर्थतन्त्रमा केन्द्रित एउटा विश्वव्यापी प्रणाली विकसित भएको छ । शक्ति राष्ट्र एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूले आफ्ना स-साना परियोजनादेखि युद्धसम्मका गतिविधिहरू यस्तै मूल्य र मान्यतामा आधारित भएर वैधता दिने गरेका छन् । हामीले पनि जान अन्जान यो व्यवस्थाप्रतिको झुकावलाई अन्तर्राष्ट्रिय जगतमा देखाएका छौं । यदि यो व्यवस्था धरमराउन थाल्यो भने हामी कुन मूल्य र मान्यताको लाइनमा उभिंदा हाम्रो राष्ट्रिय स्वार्थ पूरा गर्न सहज हुन्छ गम्भीर विश्लेषण र पूर्वतयारी आवश्यक छ ।
निर्णायक रस्ट बेल्ट
सन् २०२४ को अमेरिकी निर्वाचनमा उत्तरमा रहेका मिचिगन, पेन्सिलभेनिया र विस्कान्सिन राज्य अर्थात् रस्ट बेल्ट निर्णायक हुने पक्कापक्कि भएको छ । अमेरिकाको एबीसी टिभीले सार्वजनिक गरेको अन्तिम सर्वेक्षण अनुसार राष्ट्रिय रूपमा दुवै उम्मेदवारले ४९-४९ प्रतिशत मत अर्थात् झन्डै बराबर प्राप्त गर्ने देखिएको छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस अश्वेत, ३० वर्ष मुनिका युवा र विश्वविद्यालयका डिग्री भएकाहरू माझ लोकप्रिय देखिएकी छन् भने रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई श्वेत, ग्रामीण क्षेत्र र विश्वविद्यालयका डिग्री नभएकाहरूको धेरै समर्थन रहेको देखिएको छ ।
तर अमेरिकीका राष्ट्रपति निर्वाचित हुन राष्ट्रिय रूपमा सर्वाधिक मत मात्रै पर्याप्त हुँदैन । अमेरिकाको ५० राज्यबाट मतभारका आधारमा कुल ५३८ इलेक्टोरल कलेज अर्थात् निर्वाचक मण्डल छनौट हुन्छन् र उनीहरूले राष्ट्रपति छनौट गर्दछन् । राष्ट्रपति निर्वाचित हुन् कम्तीमा २७० इलेक्टोरल कलेज मत आवश्यक हुन्छ । हरेक राज्यमा छुट्टाछुट्टै मतगणना हुन्छ र जुन उम्मेदवारले राज्यभित्र धेरै मात प्राप्त गर्दछ सो राज्यलाई प्रतिनिधित्व गर्ने सबै इलेक्टोरल कलेज उसैको हुन्छ । जस्तै, मिचिगन राज्यबाट कुल १५ इलेक्टोरल कलेज छनौट हुने व्यवस्था छ । यहाँ जुन उम्मेदवारले धेरै मत प्राप्त गर्छ १५ इलेक्टोरल कलेज सबै उसैको हुन्छ । हाम्रो समानुपातिक जस्तो प्राप्त मतको आधारमा इलेक्टोरल कलेज बाँडफाँड गर्ने भन्ने हुँदैन ।
औद्योगीकरणको शिथिलताको भोगिरहेका रस्ट बेल्टका राज्यहरू त्यस मध्ये पनि मिचिगन, पेन्सिलभेनिया र विस्कान्सिन राज्यका मतदाताहरू यो निर्वाचनमा निर्णायक हुने देखिन्छ । यहाँ प्रयोग भएको रस्ट अर्थात् खिया फलाममा लागेको खिया हो । कुनै समय फलाम एवं सवारी साधन उत्पादनको केन्द्रबिन्दुमा रहेर अमेरिकी औद्योगिकीकरणको नेतृत्व गरेका फलाम खानीहरू धेरै रहेको उत्तरी क्षेत्रका राज्यहरूमा विगतको त्यो विरासत देख्न कठिन छ ।
अहिले धेरै उद्योगहरू सञ्चालनमा छैनन् वा कम सञ्चालनमा छन् । खिया लागेका छन् । त्यहाँका नागरिकहरूको जीवन पनि धेरै कष्टकर भएको छ । मोटर सिटी भनेर चिनिने मिचिगनको डीट्रोइट एउटा ज्वलन्त उदाहरण हो । कुनै समय त्यहाँ फोर्ड, क्रिसलर, जीएम सबै गाडी कम्पनीहरूको केन्द्रीय कार्यालय रहने गर्थ्यो । सन् २००८ को आर्थिक मन्दीमा क्रिसलर र जीएम राज्यबाट पुनरुत्थान सहयोग प्राप्त गरे पनि आफूलाई जोगाउन सकेनन् । सिङ्गो स्थानीय अर्थतन्त्र धराशायी भयो । सन् १९५०को तुलनामा डीट्रोइटमा अहिले दुई तिहाइ जनसंख्या घटेको छ ।
यस्ता क्षेत्रका जनताको असन्तुष्टि सम्बोधन अमेरिकी राष्ट्रपति निर्वाचनको सबैभन्दा प्रमुख मुद्दा बनेको छ । अर्थात्, अहिलेको विश्व व्यवस्थाबाट पीडित भएको अनुभूति गर्ने, यसको परिवर्तनको पक्षमा उभिएका रस्ट बेल्ट क्षेत्रका मतदाताहरू अमेरिकाको राष्ट्रपति निर्वाचनको निर्णायक मतदाता बनेका छन् ।
निर्वाचन प्रचारप्रसारको क्रममा दुई उम्मेदवारले सबैभन्दा धेरै पटक भ्रमण गरेको क्षेत्र पनि त्यहीँ हो । यो परिदृश्य सन् २०२४ को राष्ट्रपति निर्वाचनको मात्रै भने कदापी होइन । सन् २०१६ मा यो क्षेत्रका जनतालाई नयाँ सपना देखाउँदै डोनाल्ड ट्रम्पको उदय भएको थियो । सन् २०२० मा रस्ट बेल्टका मतदाताले जो बाइडेनलाई साथ दिंदा उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यस्ता मतदाताहरूको मत प्राप्त गर्न दुवै प्रमुख उम्मेदवारहरू अमेरिकाभित्र उद्योग धेरै स्थापना गर्ने, उत्पादन उद्योगमा आधारित रोजगारी सिर्जना गर्ने प्रतिबद्धताहरू व्यक्त गरिरहेका छन् । समग्रमा ट्रम्पले गाडी जस्ता पुराना उद्योगहरूको पुनरुत्थानमा र ह्यारिसले नयाँ प्रविधिमा आधारित उद्योगको स्थापना र प्रवर्द्धनमा प्राथमिकता दिए जस्तो देखिए पनि केही समय राज्यको सक्रिय सहभागितामा अमेरिकी उद्योगलाई प्रोत्साहन गर्ने र अमेरिका भित्रको औद्योगिक उत्पादन वृद्धिलाई प्राथमिकता दिने नीतिले अमेरिकी राजनीतिलाई डोर्याउने देखिन्छ ।
अमेरिकाभित्रको यस्तो अवस्था, त्यसप्रति अमेरिकामा सम्भावित लगानीकर्ता देशहरूको प्रतिक्रियाले विश्व अर्थराजनीतिक व्यवस्थाको नयाँ भविष्य निर्धारण गर्नेछ । खासगरी अमेरिकाले आन्तरिक अर्थतन्त्र सुधारका लागि रस्ट बेल्टमा लगानी वृद्धिको आह्वान गर्दा लामो समयदेखि आर्थिक एवं राजनीतिक सहकार्य गरिरहेका देशहरूले कस्तो प्रतिक्रिया दिन्छन् र त्यसमा चीनको कस्तो प्रतिक्रिया रहन्छ भन्नेमा हामी चनाखो रहनुपर्दछ ।