प्रकाशित मिति : पुस १५, २०८२ बुधबार

Photo: Global Residence Index
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ यात्रा प्रतिबन्ध सूचीमा थप देशहरू समावेश गरेपछि बुर्किना फासो, माली र नाइजरका सरकारले प्रतिकारस्वरूप अमेरिकी नागरिकहरूलाई आफ्नो देशमा प्रवेश निषेध गर्ने निर्णय गरेका छन्। उनीहरूले यो कदम पारस्परिकताको सिद्धान्तका आधारमा गरेको बताएका छन् । जुन अन्तर्राष्ट्रिय सम्बन्धमा समान व्यवहार सुनिश्चित गर्न प्रयोग हुने सिद्धान्त हो।
ती देशहरुमा अमेरिकी नागरिकहरूलाई अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमाबाट प्रवेश गर्न अनुमति दिइने छैन भने कूटनीतिक वा सरकारी भिसा भएका केही व्यक्तिलाई मात्रै छुट दिइनेछ। ती देशहरूले अमेरिकी नागरिकहरूका लागि जारी सबै विद्यमान भिसा पनि निलम्बन गरेका छन्। मानवीय उद्देश्य, सञ्चारकर्मी, र अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित व्यक्तिहरूलाई भने विशेष अनुमति प्रक्रियामार्फत हेरिने जनाइएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२५ को डिसेम्बरमा जारी गरेको नयाँ यात्रा प्रतिबन्ध अनुसार ३९ देशका नागरिकहरूलाई पूर्ण वा आंशिक रुपमा अमेरिका प्रवेश गर्न रोक लगाइएको छ । तीमध्ये बुर्किना फासो, माली र नाइजर पनि नयाँ प्रतिबन्ध सूचीमा थपिएका सात देशमध्येका हुन्, जसका नागरिकका लागि इमिग्रेन्ट र नन–इमिग्रेन्ट दुवै भिसा निलम्बन गरिएको छ।
यो कदमलाई धेरै अफ्रिकी र अन्तर्राष्ट्रिय निकायहरूले भेदभावपूर्ण भन्दै आलोचना गरेका छन्। पश्चिम अफ्रिकी क्षेत्रीय संगठन इकोवासले पनि यस्तो प्रतिबन्धले अफ्रिका र अमेरिकाबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ। पछिल्ला अमेरिका र पश्चिम अफ्रिकी देशहरूबीचको कूटनीतिक सम्बन्धमा तनाव उत्पन्न गराउन सक्ने देखिएको छ ।
सुरक्षा र विकास सहयोग कार्यक्रमहरूका साथै अमेरिकाको सहायतामा सञ्चालित आतंकवाद विरोधी अभियानमा पनि असर पर्ने देखिन्छ। अमेरिकी व्यवसायी, पत्रकार र गैरसरकारी संस्थाका कर्मचारीहरूका लागि यी देशहरूमा यात्रासम्बन्धी योजना स्थगित गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । अमेरिकाको नयाँ यात्रा प्रतिबन्धले विश्वभर विशेष गरी अफ्रिकी देशहरूमा प्रतिकार र कूटनीतिक असन्तुष्टि बढाएको देखिन्छ।