प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार

फोटो: एएफपी/रासस
नर्वेको ओस्लोस्थित अमेरिकी दूतावास बाहिर बम विस्फोट गराएको आरोपमा तीन दाजुभाइ पक्राउ परेका छन्। प्रहरीले विस्फोटनसँग सम्बन्धित घटनामा संलग्न रहेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उक्त विस्फोट आइतबार राति दूतावासको प्रवेशद्वार नजिक राखिएको ‘अस्थायी विस्फोटक उपकरण’ का कारण भएको आशंका गरिएको छ। प्रहरीका अनुसार विस्फोटबाट दूतावासको भवनमा सामान्य क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन।
नर्वे प्रहरीका सरकारी वकिल क्रिश्चियन हात्लोका अनुसार पक्राउ परेका तीनै जना दाजुभाइ २० वर्ष वरपरका नर्वेली नागरिक हुन्। उनले ती दाजुभाइहरूको सम्बन्ध इराकसँग रहेको जानकारी दिएका छन्। पक्राउ परेकामध्ये एक जना प्रहरीले यसअघि तस्बिर सार्वजनिक गरेका व्यक्ति नै हुनसक्ने अनुमान गरिएको छ।
“उनीहरूलाई आतङ्कवादी विस्फोट गराएको आशंकामा पक्राउ गरिएको हो,” हात्लोले भने। उनका अनुसार ती तीनै जना यसअघि प्रहरीको निगरानीमा थिएनन्।
घटनाको उद्देश्यबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। यसमा कुनै विदेशी राज्यको संलग्नता हुनसक्ने सम्भावनाबारे समेत अध्ययन भइरहेको बताइएको छ। अनुसन्धानका क्रममा प्रहरीले घटनाको समयताका गुगल म्याप्समा प्रकाशित भएको एउटा भिडियोको पनि जाँच गरिरहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, हाल हटाइसकिएको उक्त भिडियोमा इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको दृश्य समावेश थियो। उनी गत महिना इरानमा भएको अमेरिका–इजरायल आक्रमणमा मारिएका थिए।
घटनास्थलको सूक्ष्म अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर, ड्रोन तथा हेलिकप्टरको प्रयोग गरेको थियो। नर्वे सरकारले यस घटनालाई “अस्वीकार्य” भन्दै कडा शब्दमा निन्दा गरेको छ। नर्वेका विदेशमन्त्री एस्पेन बार्थ आइडेले कूटनीतिक नियोगहरूको सुरक्षालाई आफ्नो देशले उच्च प्राथमिकता दिने बताएका छन्।