प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार
अमेरिकामा गोप्य पूर्व सूचना लिक प्रकरणमा उच्च नेतृत्वबाटै भुलवस गल्ती भएको निष्कर्ष आएको छ ।
ह्वाइट हाउसले गरेको छानबिनपछि यो घटना असाबधानी र भुलबस भएको भन्दै निष्कर्ष निकालेको हो ।
यमनमा रहेका हुथी विद्रोही विरुद्ध आक्रमणको योजना बनाइरहेको ग्रुप च्याटमा एकजना अमेरिकी पत्रकार जेफ्री गोल्डबर्गलाई अचानक जोडिएपछि यो घटना बाहिर आएको हो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले एक जना प्रमुख प्रवक्तालाई सिग्नल च्याटमा थप गर्ने प्रयास गर्दै गर्दा गल्तीले एट्लान्टिकका सम्पादक जेफ्री गोल्डबर्गलाई जोडिएको छानबिनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूले गोल्डबर्गको नम्बर वाल्ट्जको फोनमा राष्ट्रिय सुरक्षा प्रवक्ता ब्रायन ह्युजेसको वैकल्पिक सम्पर्कको रूपमा गल्तीले सुरक्षित गरिएको फेला परेको बताएका छन ।
सिग्नलको प्रयोग गरेर सैन्य योजनाहरू बारेमा भएको छलफलले गम्भीर आलोचना भोगिरहेको छ । अमेरिकी रक्षा मन्त्रालयको कार्यालयले रक्षामन्त्री पीट हेगसेथ र च्याट सेवाको प्रयोगबारे छानबिन गरिरहेको बताएको छ ।
तर आन्तरिक छानबिनका निष्कर्षहरू भने सार्वजनिक गरिएका छैनन् । गोल्डबर्गले धेरै पटक वाल्ट्जसँग भेटेका छन् भन्ने आरोपलाई अस्वीकार गरेका छन ।
सूचना लिक भएको विषयलाई वाल्ट्जले जिम्मेवारी लिएका छन । उनले आफुले बनाएको ग्रुपबाट सूचना लिक भएको घटनालाई लज्जाजनक भनेका छन ।
कांग्रेसका सांसदहरूले छानबिनको माग गरेका छन । च्याटका सहभागीहरूलाई सुनुवाइमा सोधपुछ गरेका थिए ।