अमेरिकी आतंकवादविरोधी केन्द्रका पूर्वनिर्देशक केन्टमाथि एफबिआईद्वारा अनुसन्धान सुरु



प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

अमेरिकी आतंकवादविरोधी केन्द्रका पूर्वनिर्देशक केन्टमाथि एफबिआईद्वारा अनुसन्धान सुरु

अमेरिकाको राष्ट्रिय आतंकवादविरोधी केन्द्रका पूर्वनिर्देशक जोय केन्टमाथि एफबिआई ले अनुसन्धान सुरु गरेको छ। यो अनुसन्धान गोप्य सूचना चुहावटसँग सम्बन्धित रहेको बताइएको छ।

स्रोतहरूका अनुसार यो प्रक्रिया यसै हप्ताको सुरुवातदेखि नै थालिएको हो। त्यतिबेला सम्म उनले राजीनामा दिइसकेका थिएनन्। केन्टले इरानसँगको युद्धको विषयलाई लिएर राजीनामा दिएका थिए।

केन्टले हालै राजनीतिक टिप्पणीकार टुकर कार्लसनसँगको अन्तर्वार्तामा अमेरिका–इजरायल संयुक्त अभियानमार्फत इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गरिएको घटनालाई “हामीले कहिल्यै गर्नु नपर्ने काम” भनी टिप्पणी गरेका थिए।

उनले इरानले तत्काल अमेरिकालाई कुनै क्षति पुर्‍याउन नसक्ने दाबी गर्दै इरानविरुद्धको युद्ध सही नभएको बताएका थिए।

इरानसँग भइरहेको युद्धको विरोध गर्दै केन्टले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट इरान युद्धका कारण राजीनामा दिने पहिलो तथा सबैभन्दा उच्च पदस्थ अधिकारी हुन्।

उनले आफ्नो राजीनामा पत्रमा विवेकअनुसार इरानमा जारी युद्धलाई समर्थन गर्न नसक्ने भएकाले पद छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।

केन्टले यो युद्ध इजरायल र त्यहाँको शक्तिशाली ‘लबी’ को दबाबका कारण सुरु भएको आरोप समेत लगाएका छन्।

केन्टलाई राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डका निकट सहयोगी मानिन्छ। इरानसँगको युद्ध सुरु भएदेखि गब्बार्ड सार्वजनिक रूपमा निकै कम देखिएकी छन्।





Source link

Leave a Comment