विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकाको अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएका छन्। पछिल्लो प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर वार्षिक ४.३ प्रतिशत पुगेको छ, जुन अघिल्लो त्रैमासिकको ३.८ प्रतिशत भन्दा बढी हो।
यो दर पछिल्लो दुई वर्षकै सबैभन्दा बलियो वृद्धि हो। अमेरिकी सरकार बन्द (सरकारी शटडाउन) का कारण ढिला गरी सार्वजनिक गरिएको सो प्रतिवेदनले सकारात्मक संकेतहरू बाहिर ल्याएको हो।
प्रतिवेदनका अनुसार व्यापार र आप्रवासन नीतिमा भएका ठूला परिवर्तन, दीर्घकालीन मुद्रास्फीति तथा सरकारी खर्च कटौतीले अर्थतन्त्रमा केही सकारात्मक प्रभाव देखाएका छन्।
आयात–निर्यात जस्ता केही क्षेत्रमा ठूलो उतारचढाव देखिए पनि समग्र अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै सकारात्मक र बलियो गतिलाई निरन्तरता दिएको छ।
तेस्रो त्रैमासिकको समग्र आर्थिक वृद्धि विश्लेषकहरूको अनुमानभन्दा निकै बलियो देखिएको छ। अधिकांश विश्लेषकहरूले करिब ३.२ प्रतिशत वार्षिक वृद्धिको अपेक्षा गरेका थिए।
यस वृद्धिलाई मुख्य रूपमा उपभोक्ता खर्चले टेवा दिएको देखिन्छ। उपभोक्ता खर्च वार्षिक ३.५ प्रतिशत ले बढेको छ, जुन अघिल्लो त्रैमासिकमा २.५ प्रतिशत मात्र थियो। रोजगारी बजार केही सुस्त भए पनि घरपरिवारले विशेष गरी स्वास्थ्य सेवा क्षेत्रमा खर्च बढाएका छन्।
प्रतिवेदनले आयात निरन्तर घट्दै गएको देखाएको छ, जसले आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पारेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका अमेरिकी भन्सार कर (ट्यारिफ) का कारण सामानको मूल्य बढ्दा आयातमा कमी आएको हो। उता, अघिल्लो समय तीव्र रूपमा घटेको निर्यातमा भने सुधार देखिएको छ। निर्यात ७.४ प्रतिशत ले बढेको छ भने रक्षा खर्च बढेका कारण सरकारी खर्च पनि पुनः वृद्धि भएको छ।
अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अमेरिकी अर्थशास्त्री माइकल पियर्सले सन् २०२६ तर्फ प्रवेश गर्दा अमेरिकी अर्थतन्त्र राम्रो अवस्थामा रहेको बताए। कर कटौती र अमेरिकी केन्द्रीय बैंक (फेड) ले हालै गरेको ब्याजदर घटाउने निर्णयबाट अर्थतन्त्रले थप लाभ पाउने अपेक्षा गरिएको छ।
बैंक अफ अमेरिकाका वरिष्ठ अर्थशास्त्री आदित्य भावेले सन् २०२२ को सुरुवातदेखि नै अमेरिकी अर्थतन्त्रले नकारात्मक अनुमानहरूलाई चुनौती दिँदै आएको बताए।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत यी तथ्यांकहरूको स्वागत गर्दै यसका लागि आफ्ना ट्यारिफ नीतिहरू जिम्मेवार रहेको दाबी गरेका छन्।
पछिल्लो समय उपभोक्ता विश्वास कमजोर हुँदै जानु र अर्थतन्त्र सम्हाल्ने विषयमा जनअसन्तुष्टि बढ्नुले उनी दबाबमा थिए। तर, केही विश्लेषकहरूले भने बढ्दो मूल्यवृद्धिका कारण यो असाधारण आर्थिक वृद्धिको गति दीर्घकालसम्म कायम राख्न कठिन हुन सक्ने चेतावनी दिएका छन्।
