प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार
अमेरिका र रुसबीचमा अर्को साता वार्ताको संभावना देखिएको छ ।
अमेरिकासंगको वार्तामा सम्लग्न एकजना रुसी अधिकारीले दिएको जानकारी अनुसार विगत केहिदिन देखि रोकिएको शान्ति वार्ता अर्को साता हुने संभावना बलियो रहेको छ ।
यसअघिका वार्ताहरु साउदी अरबमा भएका थिए । अब वार्ता कहाँ र कसरी हुनेछ भनेर रुसका अन्तर्राष्ट्रिय अर्थतन्त्र प्रतिनिधि किरिल दिमित्रिएभले केहि खुलाएका छैनन ।
रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख दिमित्रिएभ गत हप्ता अमेरिका गएका थिए । रुसले युक्रेनमा आफ्नो सैन्य अभियान सुरु गरेपछि अमेरिका जाने उनी सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुन ।
दिमित्रिएभले रुस र अमेरिका बीचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका छन ।
फेब्रुअरीमा साउदी अरबमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारीहरूसँगको वार्ताको पहिलो चरणमा उनले भाग लिएका थिए ।
रुस युक्रेन युद्धलाई रोक्नका लागि अमेरिकाले युद्धविरामको लागि शान्ति वार्ताको अग्रसरता लिइरहेको छ ।
पछिल्ला दिनमा रुसी समकक्षी भ्लादिमिर पुटिन शान्ति वार्ताप्रति सकृय नदेखिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले रुसलाई शान्ति नै नचाहिएको र पुटिनले त्यसै अनुसारको व्यवहार देखाइरहेको आरोप लगाएका थिए ।
युक्रेन युद्ध विरामको लागि तयार भएको छ । तर रुसले युद्धविरामलाई लागू गर्नका लागि आफु विरुद्धका प्रतिबन्धहरु हटाउनु पर्ने शर्त राखेको छ ।
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि अमेरिका र रुसबीचको सम्वन्धमा नाटकीय सुधार आएको छ । त्यस्तै गरि अमेरिका र युरोपबीचको सम्वन्ध भने नाटकीय रुपमा कमजोर बनिरहेको छ ।
रुस र युक्रेनबीचको युद्धका विषयमा भइरहेका शान्ति वार्तामा अमेरिकाले अलग्याएको भन्दै युरोपेली संघले चित्त दुखाएको छ ।