अमेरिका र चीनबीच व्यापार वार्ता सुरु, फलदायी बन्ने बेलायतको अपेक्षा



प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

अमेरिका र चीनका उच्चस्तरीय प्रतिनिधिमण्डलहरूबीच सोमबार लण्डनमा व्यापार विवादसँग सम्बन्धित वार्ता भएको छ ।

विवादले विश्वव्यापी अर्थतन्त्रलाई नराम्ररी प्रभावित बनाएको सन्र्दभमा दुई देशकाबीचमा वार्ता भएको हो । वार्ताको उद्देश्य हालको नाजुक व्यापार युद्धविरामलाई मजबुत बनाउनु रहेको छ ।

चीनका उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिक, अर्थमन्त्री स्कट बेसेन्ट, र व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग ल्यानकास्टर हाउसमा वार्ता गरेका हुन् । चीनका वाणिज्य मन्त्री वाङ वेनटाओ पनि वार्ता टोलीमा सहभागी थिए।

अमेरिका र चीनबीच व्यापार वार्ता सुरु, फलदायी बन्ने बेलायतको अपेक्षा

अमेरिका र चीनबीच व्यापार वार्ता सुरु, फलदायी बन्ने बेलायतको अपेक्षा

वार्ता मंगलबारसम्म पनि जारी रहन सक्ने अनुमान गरिएको छ । गत महिना जेनेभामा भएको वार्ताबाट दुबै देशबीच केही समयको लागि व्यापार युद्धमा विराम लागेको थियो ।

मे १२ मा अमेरिका र चीनले घोषणा गरेका १०० प्रतिशत भन्दा बढीका अधिकांश ट्यारिफहरू ९० दिनका लागि स्थगित गर्ने सहमति गरेका थिए । यो व्यापार युद्धले विश्व अर्थतन्त्रमा मन्दीको डर निम्त्याएको थियो।

अमेरिका र चीन विश्वका क्रमशः पहिलो र दोस्रो ठूलो अर्थतन्त्र भएका देशहरू हुन् । चिनियाँ व्यापार तथ्यांकअनुसार गत मे महिनामा चीनको अमेरिका निर्यात गत वर्षको तुलनामा ३५ प्रतिशत ले घटेको थियो।

जेनेभा वार्तापछि पनि दुवै देशबीच चिप निर्माण, चिनियाँ विद्यार्थीहरूका लागि भिसा, र ‘रेयर अर्थ’ खनिजहरूबारे वाकयुद्ध जारी रह्यो। यी खनिजहरू मोटर कम्पनीहरू र अन्य उद्योगहरूका लागि अत्यन्त आवश्यक हुन्छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो फोन वार्ता गरेका थिए । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत लन्डन वार्ता पुनः सुरु हुने जानकारी दिएका थिए।

अमेरिका र चीनबीच व्यापार वार्ता सुरु, फलदायी बन्ने बेलायतको अपेक्षा

वार्तामा ‘रेयर अर्थ’ खनिज विशेष ध्यानको विषय हुने अपेक्षा गरिएको छ। चीनले अप्रिलदेखि सातवटा रेयर अर्थ तत्त्वहरूको निर्यात गर्न उत्पादकहरूलाई लाइसेन्स अनिवार्य गरेको छ । यसको कारण विश्वभरका मोटर निर्माताहरू प्रभावित भएका छन् । गोदामहरूमा स्टक सकिन थालेपछि केही उद्योगहरू बन्द गर्नुपर्ने चिन्ता देखिएको छ।

चीनले शनिबार युरोपेली तथा अमेरिकी कम्पनीहरूबाट आएका गुनासाहरूलाई सम्बोधन गर्न लागेको संकेत दिएको थियो।

बेलायत सरकारले वार्ताको स्थल र व्यवस्थापनको जिम्मा लिएपनि वार्ताको प्रक्रिया भनेमा प्रत्यक्ष रूपमा संलग्न छैन। तर बेलायती मन्त्री राचेल रीभ्सले आइतबार अमेरिकी मन्त्री बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे सँग भेट गरिन् ।

बेलायती व्यापार मन्त्री जोनाथन रेयोल्ड्सले पनि चिनियाँ वाणिज्य मन्त्री वाङसँग भेट्ने कार्यक्रम तय गरिएको थियो। बेलायतले स्वतन्त्र व्यापारको पक्षपाती राष्ट्र भएको भन्दै व्यापार युद्ध कसैका लागि फाइदाजनक नहुने बताएको छ । बेलायतले वार्ताको स्वागत गरिरहने उल्लेख गरेको छ ।





Source link

Leave a Comment