अमेरिकाले १७ करोड ब्यारेल तेल बजारमा पठाउँदै, अभाव समाधान होला त ?



प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार

अमेरिकाले १७ करोड ब्यारेल तेल बजारमा पठाउँदै, अभाव समाधान होला त ?

फोटो : एपी/ रासस

अमेरिकाले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी सँगको समन्वयमा १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा तेलको अभाव कम गर्ने उद्देश्यले अमेरिकाले तेल आपूर्ति बढाउन लागेको बताए ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको समन्वयमा विश्व बजारमा तेल आपूर्ति सहज बनाउन १७ करोड २० लाख (१७२ मिलियन) ब्यारेल तेल सार्वजनिक गरिने भएको हो।

यसअघि एजेन्सीले सदस्य राष्ट्रहरूले संयुक्त रूपमा करिब ४० करोड (४०० मिलियन) ब्यारेल तेल बजारमा पठाउने घोषणा गरेको थियो, जसमध्ये करिब आधा हिस्सा अमेरिकाले उपलब्ध गराउने जनाएको छ।

अमेरिकी ऊर्जा विभागका अनुसार, यो तेल अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डारबाट निकालिनेछ।

तेलको आपूर्ति अर्को साताबाट सुरु भई करिब १२० दिनभित्र बजारमा पठाइसक्ने योजना रहेको छ। ऊर्जा विभागले आगामी एक वर्षभित्र २० करोड (२०० मिलियन) ब्यारेल तेल पुनः खरिद गरी भण्डारमा थपेर यो कमी पूर्ति गर्ने जनाएको छ।

सामान्यतया यस्ता भण्डार पुनः भर्न लाग्ने खर्च करदाताले बेहोर्नुपर्ने हुन्छ। तर, ऊर्जा विभागले भने यसपटक तेल भण्डार भर्ने प्रक्रियामा करदातालाई कुनै अतिरिक्त भार नपर्ने दाबी गरेको छ। यद्यपि, त्यसबारे थप विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

ऊर्जा विभागको तथ्यांक अनुसार मार्च ६ सम्म अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डारमा करिब ४१ करोड ५० लाख (४१५ मिलियन) ब्यारेल तेल मौज्दात छ।

उक्त भण्डारको कुल क्षमता भने ७० करोड (७०० मिलियन) ब्यारेल रहेको छ। इरानले तेल ढुवानीमा अवरोध गरिरहेकाले बजारमा तेलको अभाव हुन नदिन अमेरिकाले यो पछिल्लो निर्णय लिएको हो।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा आक्रमण सुरु गरेपछि इरानले पनि जवाफी हमला गरिरहेको छ। खासगरी इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा हमला केन्द्रित गरेको छ।





Source link

Leave a Comment