प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार
विभिन्न देशहरूमा आधिकारिक कागजातबिना बसेका नेपालीहरूलाई स्वदेश फर्काउने क्रममा अमानवीय व्यवहार भएको भन्दै प्रतिनिधिसभा सदस्यहरूले आपत्ति जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विदेशमा कागजातविहीन नेपालीहरूलाई अमानवीय तरिकाले स्वदेश फर्काइएको भन्दै आपत्ति जनाएका हुन् । बैठकको आकस्मिक समयमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट मात्र नभई विश्वव्यापी रूपमा अवैधानिक तरिकाले बसेका नेपालीहरूलाई स्वदेश फर्काउने क्रममा अमानवीय व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “अमेरिकाबाट नेपालबाट होइन, विश्वव्यापी रूपमा अवैधानिक तरिकाले बसेकाहरूलाई फर्काउने चलन चलिरहेको छ र फर्काइराखिएको छ । नेपालीहरूलाई पनि फर्काइएको समाचार आएको छ । जो सुकैले गरेको भए पनि अमानवीय व्यवहार बन्द गरियोस् । विश्वव्यापी मानवअधिकारको मूल्य र मान्यताभित्र साथै मानवअधिकारका कानुनभित्र रहेर मानवीय व्यवहार गरियोस् ।”
बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले हालै अमेरिकाबाट देश निकाला भएका नेपालीहरूलाई अपमानजनक तरिकाले हातमा हतकडी र खुट्टामा नेल लगाएर स्वदेश फर्काइएको भन्दै आपत्ति जनाए । उनले मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्य र मान्यता विपरीत नेपालीहरूलाई फिर्ता गरिएको जिकिर गरे ।
उनले भने, “नेपालीहरूलाई निकै अपमान जनक तरिकाले हातमा हतकडी, खुट्टामा नेल लगाएर र मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्य र मान्यता विपरीत नेपालीहरूलाई फिर्ता गरियो ।”
उनले दुबईबाट दुई हजार पाँच सय, जापानबाट दुई जना र दक्षिण कोरिया, श्रीलङ्का, अजरबैजान लगायतका देशबाट नेपालीहरू फिर्ता आउने क्रम जारी रहेको बताउँदै विदेशमा रहेका नेपालीहरूलाई सुरक्षा गर्न र सहजतापूर्वक नेपालीहरूलाई फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।
अमेरिकाले बुधबार ८ जना नेपालीलाई जहाज चार्टड गरेर स्वदेश फर्काएको थियो । यस्तै, एक जना नेपाली नियमित जहाजमार्फत स्वदेश आएका थिए । नेपाल डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको थियो ।
ब्युरोले उनीहरूलाई बुधबार दिनभर सोधपुछ गरेर साँझ परिवारको जिम्मा लगाएको थियो । प्रहरीको सोधपुछको क्रममा उनीहरूले हातखुट्टामा हतकडी र नेल लगाएर नेपाल फर्काइएको बताएका थिए ।