प्रकाशित मिति : असार २८, २०८२ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि युरोपेली संघ र मेक्सिकोबाट आउने सबै आयातमा ३० प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्।
ट्रम्पले यी व्यापारिक साझेदारहरूले प्रतिशोधस्वरूप अमेरिका विरुद्ध शुल्क लगाए भने अझै उच्च दरमा ट्यारिफ बढाउने ट्रम्पले चेतावनी दिएका छन्।
२७ सदस्य राष्ट्र भएको इयु ले यसअघि यसै साता अमेरिकासँग अगस्ट १ भन्दा अघि सम्झौता गर्न चाहेको बताएको थियो। ट्रम्पले जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलका सामानहरूमा पनि अगस्ट १ देखि नै नयाँ ट्यारिफ लगाइने बताएका छन् ।
यसै साता उनले अन्य साना व्यापारिक साझेदारहरूलाई पनि यस्तै खालका पत्रहरू पठाएका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लेयनलाई पठाएको पत्रमा ट्रम्पले युरोपेली संघसँग व्यापार सम्बन्धबारे छलफल गर्न वर्षौं खर्च गर्यौं, तर तपाईंहरूका ट्यारिफ, गैर ट्यारिफ नीतिहरू र व्यापार अवरोधका कारण उत्पन्न दीर्घकालीन र स्थायी व्यापार घाटा अब अब सहनसक्ने अवस्था रहेन’ भनेर स्मरण गराएका छन ।
इयु र मेक्सिकोका नेताहरूलाई पठाएको पत्रमा ट्रम्पले अमेरिकी सामानमा ट्यारिफ लगाउने निर्णय भयो भने ३० प्रतिशत वा सोभन्दा बढी आयात शुल्क लगाउने बताएका हुन ।
२ अप्रिलमा ट्रम्पले इयु र अन्य धेरै देशहरूका सामानहरूमा २० प्रतिशत ट्यारिफको प्रस्ताव राखेका थिए । व्यापार वार्ता स्थगित भएपछि उनले इयुका लागि ट्यारिफ ५० प्रतिशत सम्म पुर्याउने धम्की दिएका थिए।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय अनुसार २०२४ मा इयु सँगको अमेरिकी व्यापार घाटा २३५.६ बिलियन डलर थियो ।
इयु आयोग अध्यक्ष उर्सुला भन डर लेयनले अझै पनि अगस्ट १ अघि सम्झौतामा पुग्न तयार रहेको बताइन । उनले युरोपेली संघ जस्तो खुला र निष्पक्ष व्यापार अभ्यास गर्ने अर्थतन्त्र संसारमा कमै रहेको दाबी गरिन ।
शनिबारसम्म ट्रम्प प्रशासनले २४ देशहरू र युरोपेली संघमाथि ट्यारिफ प्रस्ताव गरिसकेको छ । अहिलेसम्म ट्रम्पले बेलायत र भियतनामसँग भएका दुई सम्झौताको प्रारम्भिक खाका सार्वजनिक गरेका छन् ।